नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् सम्पन्न



भक्तपुर, १० पुस । नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका प्रस्ताव र निर्णयहरूसहित आइतबार सम्पन्न भयो ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको ४९ औँ स्थापना दिवस २०७९ माघ १० गतेको अवसरमा एक हप्ताअगाडि र एक हप्तापछाडि दुई हप्ता जिल्लाको पालिका र वडा तहसम्म पार्टी प्रकाशन अध्ययन र अन्तरक्रियालगायतका गतिविधि गर्ने गराउने निर्णय गरेको छ ।
नेमकिपाका केन्द्रीय समितिका पदाधिकारी, जिल्ला समितिका अध्यक्ष प्रतिनिधि, जनवर्गीय सङ्गठनका अध्यक्ष तथा प्रतिनिधि, विभिन्न पेशागत सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिसहितको तीनदिनसम्म भक्तपुरमा बसेको पार्टीको केन्द्रीय परिषद्ले माक्र्स, एँगेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङ र विश्वका कम्युनिस्ट आन्दोलनका क्रान्तिकारी नेता र नेतृहरूको जन्मदिवसको अवसरमा नयाँ पुस्तालाई उहाँहरूको जीवनी तथा कृतिबारे अध्ययन र अन्तरक्रिया गर्ने गराउने निर्णय पनि गरेको छ । त्यस्तै नेमकिपाले अक्टोबर समाजवादी क्रान्ति, चिनियाँ जनक्रान्ति, क्युवाली समाजवादी क्रान्ति, कोरियाली समाजवादी क्रान्तिलगायत विश्वका प्रसिद्ध मजदुर र कम्युनिस्ट आन्दोलन तथा मुक्ति आन्दोलनहरूबारे युवा–विद्यार्थीसमेतलाई संलग्न गराई अध्ययन र अन्तरक्रिया चालु राख्ने निर्णय गरेको छ ।

नेमकिपाको केन्द्रीय परिषद्ले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा ३ प्रतिशत मत प्राप्त गरेका राजनीतिक दललाई मात्र राष्ट्रिय दलको मान्यता र समानुपातिक निर्वाचनको स्थान प्राप्त हुने तथा प्रदेशसभाको समानुपातिक चुनावमा एक स्थान प्राप्त गर्न समानुपातिक चुनावमा एक दशमलव पाँच प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रजातन्त्रविपरीतको कानुनी व्यवस्था खारेज गराउन सडक र संसद्मा सङ्घर्ष चालु राख्ने निर्णय गरेको छ ।
नेमकिपाले अमेरिकी स्वार्थको लगानी तथा वर्तमान र भविष्यको अमेरिकी कानुन एवम् नीतिसमेत पालना गर्नुपर्ने र नेपाललाई अमेरिका अनि भारतको नवउपनिवेश बनाउने देशघाती एमसीसी सम्झौता खारेज नभएसम्म जनताको समेत साथ लिएर सडक र सदनमा सङ्घर्ष चालु राख्ने† नेपालको सैनिक ब्यारेकलाई अमेरिकी सेनाले कब्जा गर्ने गरी नेपालले अमेरिकी राज्य ‘युटा’ सँग गरेको सैन्य साझेदारी (एसपीपी कार्यक्रम) खारेज गराउन सङ्घर्ष चालु राख्ने बताएको छ ।
त्यस्तै, नेमकिपाले गएको मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेमकिपालाई आफ्नो अमूल्य मत दिने सम्पूर्ण मतदाता र अन्य सहयोगी एवम् शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
नेमकिपाले पुँजीवादी सरकारको लुछाचुँडीको लागि सिद्धान्तहीन निर्वाचन गठबन्धन र चुनावी तालमेल गरेका, नगद र सामान बाँडेका, भोजभतेर खुवाएका तथा आचारसंहिता उल्लङ्घन गरेका शासक दलहरूको दुईदलीय तानाशाही र फासीवादी नीतिको विरोध एवम् भत्र्सना कार्यक्रमलाई चालु राख्ने, देश हितविपरीतको नागरिकता विधेयक खारेजीको लागि सडक र सदनमा सङ्घर्ष चालु राख्ने निर्णय गरेको छ ।

पार्टी गतिविधिहरु
समाचार