नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न


चितवन, २५ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनले शनिबार अनुराधा थापामगरको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय समिति सर्वसहमत निर्वाचित ग¥यो ।
नेक्रामसङ्घको सम्मेलनले नेपाललाई युद्धभूमि बनाउने गरी संरा अमेरिकाले अघि बढाएको देशघाती एमसीसी सम्झौता–मिलिनियम च्यालेन्ज (कम्प्याक्ट) खारेज गर्न जोडदार माग गर्दै एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने, पारित गराउन सहयोग गर्ने र पारित गराउने देशघाती सरकार एवं शासक दलहरूको विरोध र भत्र्सना गरेको छ ।
विदेशी नागरिकलाई सजिलै नेपालको नागरिकता दिई देशलाई सिक्किमीकरण र फिजीकरणको बाटोमा लाने गरी अघि बढाएको देशघाती नागरिकता विधेयक तत्काल खारेज गराउन तथा विदेशीलाई दिएको नागरिकता छानबिन गरी खारेजी गराउन सो सम्मेलनले माग गरेको छ ।
नेपाल–भारत खुला सीमाका कारण चेलीबेटी बेचबिखन, लागुपदार्थ ओसारपसार तथा तस्करजस्ता अपराध बढिरहेको उल्लेख गर्दै सम्मेलनले ती सबै समस्या नियन्त्रण गर्न तथा देशको सुरक्षा एवम् सार्वभौमिकता रक्षाको लागि नेपाल–भारत खुला सीमा नियमित गर्न वा बन्द गर्न माग गरेको छ ।
नेक्रामसङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट पारित राष्ट्रिय अन्तर्राष्ट्रिय १४ बुँदे प्रस्तावमा महँगीको मारमा परेका बहुमत जनतालाई एकातिर मिटरब्याजीहरू र अर्कोतिर लघु वित्तहरूले आर्थिक शोषण गरिरहेको उल्लेख गर्दै ती मिटरब्याजी र लघु वित्त सञ्चालकहरूलाई सरकार र शासक दलहरूले नै संरक्षणमा राखेको हुँदा मिटरब्याजी र लघु वित्तहरूबाट ठगिएका जनतालाई न्याय दिलाउन र ठग मिटरब्याजी र लघु वित्तहरूलाई कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरेको उल्लेख छ ।
अन्धविश्वास र कुप्रथाको रूपमा रहेको बोक्साबोक्सी, छाउपडी, छुवाछूत, बालविवाह आदि अन्त्य गर्नको निम्ति विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग जोडदार माग गर्दै सम्मेलनले गणतन्त्र स्थापना भएको १५ वर्ष नाघिसक्दा पनि अन्धविश्वास र कुप्रथा अन्त्य नगर्ने सरकार र मन्त्रीहरूको विरोध एवम् निन्दा गरेको छ ।
सम्मेलनले बलात्कारी, महिला बेचबिखनलगायत गम्भीर महिला हिंसाका अपराधीलाई मृत्युदण्डको बन्दोबस्त गर्न पनि जोडदार माग गरेको छ ।
यसअघि बसेको सम्मेलनको बन्दसत्रमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले नेमकिपाको सैद्धान्तिक आधारहरूबारे प्रशिक्षण दिनुभयो । नेमकिपाले जनताको प्रजातन्त्र स्थापना गर्न सङ्घर्ष गरिरहेको चर्चा गर्दै सचिव सुवालले गरिब र दुर्गम तथा पिछडिएको क्षेत्रका जनताले व्यक्तित्व विकासमा समान अवसर नपाएसम्म प्रजातन्त्र सुदृढ हुँदैन भन्नुभयो ।
चुनाव हुँदैमा जनताको प्रजातन्त्र नहुने जिकिर गर्दै सचिव सुवालले पैसा खर्च गरेर चुनाव जितेपछि पैसा खर्च गरिदिनेको पक्षमा मात्र काम गर्ने र तिनीहरूलाई पुँजीपतिवर्गले लगानी गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पुँजीपतिवर्गले नाफाको लागि नक्कली सामान उत्पादन गर्दा क्यान्सर रोगहरू भयावहरूपमा फैलिएको उल्लेख गर्दै पुँजीवादी व्यवस्था नै क्यान्सरको जन्मदाता हो भन्नुभयो । प्रजग कोरियामा क्यान्सर तथा कोभिडलगायत रोगहरू नफैलिएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले पुँजीवादी व्यवस्थामा जे उत्पादन गरे पनि विषालु हुने र समाजवादी व्यवस्थामा जे उत्पादन गरे पनि अमृतजस्तै हुन्छ भन्नुभयो ।
बन्द सत्रमा समाजवादी र पुँजीवादी देशका महिलाहरूको स्थितिबारे नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सिर्जना सैंजु, स्थानीय निकायमा नेमकिपाको भूमिकाबारे भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, मानव समाजको विकास विषयमा प्रकाशकुमार श्रेष्ठ, महिला स्वास्थ्य विषयमा नेपाल नर्सिङ समाजका अध्यक्ष देविका दनेखु, कानुनमा महिला अधिकारबारेमा कानुन अध्ययन समाजका अधिवक्ता अनिता जधारीले प्रशिक्षण दिनुभयो ।

पार्टी गतिविधिहरु
समाचार