गाजामा नाकाबन्दी गरी अन्तर्राष्ट्रिय मान्यता र मानव अधिकार हनन


भक्तपुर, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ६ एकाइ समितिको आयोजनामा नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा बुधबार १०६ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले फेब्रुअरी क्रान्ति सम्पन्न भएपछि मेन्सेविक पार्टीका पुँजीवादी नेता करेन्स्की सत्तामा गएर समाजवादी क्रान्तिलाई पछाडि धकेल्न खोजेको चर्चा गर्दै नेपालको राजनैतिक इतिहासमा २०४६ सालको आन्दोलन फेब्रुअरी क्रान्तिजस्तै पुँजीवादी क्रान्ति भएको बताउनुभयो । नेपालका शासक नेताहरूलाई भारतले हातमा लिई नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको उल्लेख गर्दै उहाँँले इजरायल र प्यालेस्टाइनबिच भइरहेको हालको युद्धमा अमेरिका र बेलायतको सहयोग लिएर इजरायलले हमासमाथि आक्रमण गरी विध्वंस मच्चाइरहेको बताउनुभयो ।
अमेरिकाले युक्रेनलाई भन्दा इजरायललाई दब्बल हतियार सहयोग गर्दै आएको चर्चा गर्दै उहाँले इजरायलले हमासलाई अमेरिकाको सहयोग लिएर आक्रमणमात्र गरेको नभई औषधि, खाद्यान्न, इन्धनलगायत सम्पूर्ण वस्तुहरू गाजामा नाकाबन्दी गरी अन्तर्राष्ट्रियरूपमै मानव अधिकारको उल्लङ्घन गर्दै आएकोले यसतर्फ सम्पूर्ण नेपाली सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले ख्वप अस्पताल जनतालाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सुविधा दिनको लागि स्थापना भएको चर्चा गर्दै ख्वप अस्पतालमा दैनिक सात आठ सय बिरामीहरू स्वास्थ्य परीक्षण गरी कम शुल्कमा धेरै जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले मजदुर किसानले पनि सत्ता चलाउन सक्ने उदाहरण सोभियत सङ्घको अक्टोबर क्रान्तिले प्रमाणित गरेको बताउनुभयो । उहाँले राजनीतिक कार्यकर्ताहरूमा राजनीतिक संस्कारको विकास गर्नुपर्ने चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि लक्ष्मीभक्त लासिवाले सोभियत सङ्घमा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएको चर्चा गर्दै यस क्रान्तिले सोभियत सङ्घका मजदुर र किसानहरूलाई राजनैतिक अधिकार दिनको लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मजदुर र किसानहरू सङ्गठित भएर आन्दोलन अगाडि बढाएको खण्डमा एकदिन हरेक देशमा क्रान्ति सफल हुने कुरा सोभियत सङ्घमा भएको अक्टोबर क्रान्तिले सिकाएको उहाँले चर्चा गर्नुभयो ।
नेमकिपा ६ वडा एकाइ समितिका सहसचिव हरिराम सुवालले अक्टोबर क्रान्ति र यसको परिणाम सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोपीकृष्ण चाँगुभारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जीआर थुसाले पनि मन्तव्य राख्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार