कालीकोट, १८ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कालीकोट जिल्लाका पार्टी कार्यकर्ताहरूको भेलालाई बिहीबार अनलाइनमार्फत सम्बोधन गर्नुभयो ।
सम्बोधनमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “शासक दलहरूले देश र जनताको हितमा काम गर्न सकेनन् । उनीहरूले जनतासँग माफी मागेर नयाँ चुनावमा जानुको विकल्प छैन । नेपाली जनताले निर्वाचनमा शासक दलहरूको सामान र पैसा लिएर भोज खाएर मत दिनु भएन । सरकारमा गएका नेताहरू बेइमान भए भ्रष्टाचार बढ्छ । ३५ वर्षयता शासक दलहरू कमिसन पाएमात्र काममा लागेको पुष्टि भएको छ ।”
विद्यालय शिक्षक, सहकारी संस्थामा बचत ठगीमा परेका र मिटरब्याज पीडितहरू सडकमा ओर्लेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुँजीवादी सरकारमा गएकाहरू नामका कम्युनिस्ट हुन्, विदेशी पुँजीका दलालजस्तै हुन्, देशलाई २७ खर्ब रुपैयाँभन्दा बढी ऋण बोकाउने योग्य नभएकाहरू हुन् । नेपाली युवालाई विदेशमा सस्तो ज्यामी बन्न पठाउने म्यानपावर कम्पनीका सञ्चालकजस्तै हुन् ।”
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “नेपाली युवालाई गोर्खा भर्तीमा पठाउने शासकहरूले बेलायतबाट पैसा पाएका थिए । नेपालको संसद् र सरकारमा पनि जनतालाई घरखेत बेचाएर वैदेशिक रोजगारीमा पठाउनेहरू भएको सार्वजनिक भइरहेको छ । युवालाई देशभित्र रोजगारी नदिने प्रधानमन्त्री र मन्त्रीहरू नालायक हुन् ।”
पार्टी कार्यकर्ताहरूको कक्षा पनि विद्यालय र कलेजको कक्षाहरूजस्तै व्यवस्थित हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले धेरै अगाडिदेखि नै शासक दलहरू पैसा र जागिरको लोभ देखाएर जनतालाई आफूतिर तानिरहेको हुँदा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरू दुःख पीडा भए पनि निःस्वार्थरूपमा जनताको सङ्गठनमा लाग्न जरुरी भएको स्पष्ट पार्नुभयो ।
विद्यालय र कलेजमा योग्य शिक्षकहरूलाई जिम्मेवारी दिनुपर्ने, नक्कली शैक्षिक प्रमाणपत्र र अयोग्यलाई जिम्मेवारी दिन नहुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले विद्यार्थीलाई राम्रोसँग पढाउनुपर्ने, परीक्षामा नक्कल गराई उत्तीर्ण गराउन नहुने र विद्यार्थी राम्रो भए देश राम्रो हुने बताउनुभयो ।
सोभियत सङ्घका नेताहरूमा पुँजीवादी विचार प्रवेश भएसँगै व्यापक जनताको हितमा ठडिएको कम्युनिस्ट पार्टी पछि हट्नु परेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले मजदुर सङ्घका कार्यकर्ताहरू सारा मजदुरसम्म पुगेर सङ्गठन गर्नुपर्ने र संरा अमेरिकाको शिकागो सहरमा उठेको मे १ को आन्दोलनबाट सिकेर नेपाली मजदुरहरूले देश र जनताको हितमा निःस्वार्थरूपमा सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिबारे सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “‘सपनाको देश’ भनिएको संरा अमेरिकामा पचास वटै राज्यमा जनताको ठुलठुला प्रदर्शन भइरहेका छन् । राष्ट्रपति ट्रम्पको सन्तुलित मनस्थिति छैन । संरा अमेरिका ३६० खर्ब डलरभन्दा बढी ऋणमा परेको छ ।”