काठमाडौँ, ११ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा समसामयिक विषयमा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले आफ्नो खुट्टामा उभिएर आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विदेशीको भरमा आन्दोलन गरे जुनसुकै बेला धोका हुनसक्नेतर्फ सजग गराउँदै उहाँले भन्नुभयो, “योग्य हुनलाई देश र विदेशको विषयबारे जानकार हुनु जरुरी छ ।”
सचिव सुवालले भन्नुभयो, “सरकारको नेतृत्व गर्नेले युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त गर्नुपर्छ, युवा मेला लगाएर रमाउने होइन । हामीले हाम्रो देशको अर्थतन्त्र बलियो बनाउन लाग्नुपर्छ । एसईई खारेज भए शैक्षिक गुणस्तर झन् खस्किनेछ । शिक्षाको स्तर राम्रो भएमात्र देश अगाडि बढ्छ ।”
अन्यायको विरोध गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिँदै सचिव सुवालले भन्नुभयो, “पाठ्यपुस्तकमा देशभक्तिका विषयहरु समावेश हुनु जरुरी छ । सिंहदरबारको अधिकारलाई विकेन्द्रीकरणकरण गर्नु जरूरी छ । सरकारले झापामा १५० करोडको भ्यू टावर बनाउनुको सट्टा विश्वविद्यालय र अस्पताल बनाएको भए देश र जनताको सेवा हुने थियो ।”
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षामा सरकारले कम्तीमा २४ प्रतिशत बजेट छुट्याउनुपर्ने आवश्यकता औँल्याउँदै दोस्रो विश्व युद्धपछि जापानले ५० प्रतिशत बजेट छुट्याएर प्रगति गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सरकारी कर्मचारी र सार्वजनिक पद धारण गरेकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउनुपर्ने वातावरण बनाउनु जरुरी छ ।”
नेक्राविसङ्घका पूर्वअध्यक्ष रवीन्द्र ज्याख्वले भन्नुभयो, “आफ्नो हक–अधिकारको माग गर्दा अरूको अधिकारको पनि ख्याल राख्नुपर्छ । सङ्घीयताले दिएको विकेन्द्रीकरणको अधिकार समाप्त पार्न खोज्नु प्रतिगामी कदम हो । विद्यार्थी भर्ना, परीक्षा, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनको समयमा शिक्षकहरूले आन्दोलन गर्नु उचित होइन ।”
अहिले सबभन्दा बढी पीडामा गरिब विद्यार्थी र उनका अभिभावकहरू परेको धारणा राख्दै उहाँले भन्नुभयो, “सरकारी विद्यालय बन्द गरेर निजीको पक्षपोषण गर्नु गलत हो । शिक्षामा व्यापारीकरण बन्द गर्नुपर्छ । शिक्षाको सबै दायित्व सरकारले लिनुपर्छ ।”
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङको सभापतित्वमा भएको कार्यक्रममा सचिव दिनेश खड्गीले पनि बोल्नुभएको थियो ।