पार्टीका कार्यकर्ताहरू कुनै लोभमा नलागी जीवनभर पार्टीमा लाग्ने प्रण गर्नु जरूरी


काठमाडौँ, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा शुभ दीपावली, नेपाल संवत् ११४४ न्हू दँ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवाद एवं बधाई कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पार्टीका कार्यकर्ताहरू कुनै लोभमा नलागी जीवनभर पार्टीमा लाग्ने प्रण गर्नु जरूरी रहेको बताउनुभयो ।
माक्र्स र एङ्गेल्सलगायत मजदुरवर्गका गुरूहरूले जीवनभर काम गर्नुभएको चर्चा गर्दै माक्र्सकी श्रीमती जेनी माक्र्स पनि जस्तोसुकै कठिन जीवन बिताउनु परे पनि विचलित नभएको र एङ्गेल्सले आफ्नो उद्योगधन्दा बेचेर माक्र्सलाई सहयोग गरी आफू ‘नर्क’ बाट मुक्त भएको बताउनुभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “१०६ वर्षअगाडि रूसमा अक्टोबर समाजवादी क्रान्ति भएको थियो । अक्टोबर क्रान्तिअघि रूसमा फेब्रुअरी क्रान्ति अर्थात् पुँजीवादी क्रान्ति भएको थियो । लेनिन नेतृत्वको बोल्शेभिक पार्टी पुँजीवादी सरकारमा गएन, अक्टोबर समाजवादी क्रान्तिको तयारीमा लाग्यो ।”
“नेमकिपाका अध्यक्षले २०४६ सालमा बहुदल पुनःस्थापना भएको आन्दोलनलाई ‘एक चम्चा पानीले जनताको प्यास नमेटिने’ उल्लेख गरी तत्कालीन माले, माक्र्सवादी र संयुक्त (मानन्धर समूह) को पार्टीलाई पँुजीवादी सरकारको भागबन्डा खान नहुने, अक्टोबर समाजवादी क्रान्तिजस्तै अर्को क्रान्तिको तयारीमा लाग्नुपर्ने सचेत गराउनुभएको थियो । कम्युनिस्ट दाबी गरेका पार्टीहरू पुँजीवादी सरकारमा गएको हुँदा अहिले देश र जनताले दुःख पाएको हो”, सचिव सुवालले बताउनुभयो ।
पार्टी विश्वविद्यालयजस्तै भएको धारणा राख्दै उहाँले भन्नुभयो, “पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन गरी आफ्नो राजनीतिक, सांस्कृतिक स्तर उठाउनु जरूरी छ । धर्म मानव जातिको कर्तव्य हो, अन्धविश्वास होइन । धर्मको नाममा तप होममा सम्पत्ति खेर फाल्नुभन्दा विद्यालय र पुस्तकालय स्थापनामा सहयोग गरी नयाँ पुस्तालाई सुसंस्कृत बनाउन जोड दिनु जरूरी छ ।”
“अमेरिकी साम्राज्यवादले युक्रेन र इजरायललाई हतियार सहयोग पठाएकै कारण प्यालेस्टिन र युक्रेनमा लडाइँ भइरहेको हो । विश्वको एक एक घटनाले लासको थुप्रो अग्लिँदै छ । तेस्रो विश्व युद्ध एसियामा हुने खतरा बढ्दो छ । यसकारण नयाँ नेपाल संवत ११४४ को अवसरमा हुने कार्यक्रमहरूलाई युद्धविरोधी दब्बुको रूपमा सम्पन्न गर्नु आवश्यक छ”, सचिव सुवालले बताउनुभयो ।
शोभालाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जन, सजीव श्रेष्ठ, मदन श्रेष्ठ र शैलेस डंगोलले पनि बोल्नुभएको थियो ।

 

पार्टी गतिविधिहरु
समाचार