कुत्सित मनसाय बोकेको साम्राज्यवादी अमेरिकालाई चिन्नु जरुरी


मध्यपुर, २४, मङ्सिर । इजरायली फासीवादले प्यालेस्टिनमा गरेको नरसंहारविरूद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आइतबार मध्यपुर थिमिमा प्रदर्शन तथा सभा आयोजना ग¥यो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले अमेरिकी साम्राज्यवादले रूसको मस्कोलाई चुनौती दिन युक्रेनमा युद्ध गराएको उल्लेख गर्दै चीनको पेइचिङलाई पनि कमजोर पारेर विश्वको एकमात्र शक्तिशाली मुलुक बन्ने कुत्सित मनसाय बोकेको अमेरिकी साम्राज्यवादलाई नेपाली जनताले चिन्नु जरूरी रहेको बताउनुभयो ।

कुत्सित मनसाय बोकेको साम्राज्यवादी अमेरिकालाई चिन्नु जरुरी
“अमेरिकाले इजरायली फासीवादलाई हतियार दिएर प्यालेस्टिनी जनताको नरसंहार गर्न लगाएको हो । अमेरिकाको बमले १७ हजार ५०० प्यालेस्टिनको मृत्यु भयो भने ६५ हजार जनता अपाङ्ग बने । यो युद्धमा २९१ जना स्वास्थ्यकर्मीहरूको हत्या भइसकेको छ भने संरा सङ्घका १३२ जना कर्मचारीको पनि निधन भइसकेको छ । २३ लाख मानिसको बसोबास रहेको गाजापट्टीमा १९ लाख जनतालाई घरवारविहीन बनाई अमेरिका र इजरायलले युद्ध अपराध गर्दै छन् । यो अपराध मध्यपूर्वका देशहरूलाई कमजोर पारेर त्यहाँको तेलखानी कब्जा गर्ने नियतले गरिएको हो” सांसद गोसाईले भन्नुभयो ।
प्रदेश सांसद गोसाईले भन्नुभयो, “प्यालेस्टिनी जनतामाथि भएको बर्बर जातीय सफायाविरूद्ध नेपालका कुनै पनि शासक दलले बोलेनन् । नेपालको सरकार पनि अमेरिकी साम्राज्यवादको कठपुतली साबित भयो । शासक दल र नेपाल सरकारले यो बर्बरताको विरूद्धमा नबोले पनि शान्तिकामी नेपाली जनताको तर्फबाट नेपाल मजदुर किसान पार्टी न्यायको पक्षमा बोल्दै छ ।”
“यही शुक्रबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को विशेष बैठकमा गाजामा युद्धविराम गर्ने प्रस्तावमाथि अमेरिकाले फेरि पनि भिटो लगाएपछि मानवीय युद्धविराम गर्ने प्रयास विफल भएको छ । यो साम्राज्यवादी अमेरिकाको जघन्य अपराध हो । विश्वका न्यायप्रेमी जनताले अमेरिकाको यो अपराधलाई क्षमा दिने छैनन् । नेपाली जनताले पनि अमेरिकाको सामान बहिष्कार गरेर युद्ध अपराधी अमेरिकालाई जवाफ दिनु जरूरी छ” गोसाईले भन्नुभयो ।
अमेरिकी साम्राज्यवादको दबाबमा नेपालमा हिन्द–प्रशान्तीय रणनीतिअन्तर्गतको एमसीसी सम्झौता पारित भइसकेपछि एसपीपी साझेदारीलाई पनि अगाडि बढाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रदेश सांसद गोसाईले नेपाल अमेरिकी सेनाको क्रिडास्थल बन्न सक्नेतर्फ नेपाली जनता सजग हुनु जरूरी रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिसका सहसचिव रमेश वैद्यले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अमेरिकाको कठपुतली बनेर बालबालिकाको नरसंहार गरेको उल्लेख गर्दै इजरायली आक्रमणको कारण प्यालेस्टिनमा मानव बस्ती उजाड हुनुका साथै उद्योगधन्दा, खेतीपाती ध्वस्त भई प्यालेस्टिनी जनता भोकभोकै परेको बताउनुभयो ।
“इजरायलमा १८ वर्ष उमेर पुगेकालाई अनिवार्य सैनिक तालिमको बन्दोबस्त छ । तर, इजरायलले अनिवार्य सैनिक तालिम आफूभन्दा कमजोर छिमेकीमाथि आक्रमण गर्न दुरूपयोग ग¥यो । नेपाल मजदुर किसान पार्टीले पनि आफ्नो देशको सार्वभौमिकता रक्षाको निम्ति अनिवार्य सैनिक तालिमको विषय उठाएको हो, इजरायली फासीवादले जस्तै अरू देशलाई आक्रमण गर्न होइन” सहसचिव वैद्यले भन्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका वीरकृष्ण प्रजापति, रूकेश कर्माचार्य र सुरोज प्रजापतिले पनि प्यालेस्टिनी जनताको पक्षमा बोल्नुभएको थियो ।
बोडे खोपालाबाट सुरू भएको प्रदर्शन बोडे परिक्रमा गर्दै भिमसेन चोक, चपाचो, दुईपोखरी हुँदै बालकुमारीमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा प्यालेस्टिनी जनतालाई बाँच्न दे !, प्यालेस्टिनमा जातीय सफाया बन्द गर !, अमेरिकी दलाल नेतन्याहु मुर्दावाद !, युद्ध सरदार बाइडेन मुर्दावाद !, इजरायली फासीवाद मुर्दावाद !, प्यालेस्टिनी स्वतन्त्रता जिन्दावाद ! नारा लगाइएको थियो ।

पार्टी गतिविधिहरु
समाचार