nwpp@ntc.net.np +1 6610026
“अर्थतन्त्रमा आत्मनिर्भर नभएको देश सार्वभौम हुँदैन”

“अर्थतन्त्रमा आत्मनिर्भर नभएको देश सार्वभौम हुँदैन”

भक्तपुर, २६ असोज । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको प्रकाशन संस्था ‘जनप्रकाशन गृह’ द्वारा प्रकाशित पुस्तक ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ को शनिबार एक समारोहबिच सार्वजनिकीकरण भयो । पुस्तक सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालसँग भएका प्राकृतिक स्रोत र मानवीय स्रोतमध्ये प्राकृतिक स्रोत एकएक गर्दै विदेशीको कब्जामा गएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्राकृतिक स्रोत पनि एकतिहाइ त विदेशमा गयो ।”
निजीकरणका कारण नेपालका सरकारी कलकारखाना प्रत्यक्ष–परोक्षरूपमा विदेशीको हातमा पुगेको बताउँदै उहाँले भन्नुभयो, “नेपालको पुँजीपतिवर्गले आफ्नै कारखाना पनि चलाउन सकेन ।” नेपालको राजनीतिक नेतृत्व पनि विदेशीकै इच्छा अनुकूल सत्तामा पुगेको उहाँले बताउनुभयो ।
सहकारी संस्थालाई ‘बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ भन्न नहुने भन्दै अध्यक्ष बिजुक्छेँले ऋण दिने संस्था बैङ्क वा सुदखोर हुने कटाक्ष गर्नुभयो । सहकारीले समाजवादी देशमा ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याएको स्मरण गर्दै उहाँले भन्नुभयो, “तीनखम्बे नीति ठग नीति हो । यसकारण, एमालेको विरोध गर्नुपर्छ ।”
आत्मनिर्भर अर्थतन्त्रमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले पर्यटनको विकासले नै देशको विकास हुन्छ भन्ने दाबी सही नभएको बताउनुभयो । छिमेकी देश भारत अथवा चीनमा असर परे पर्यटक घट्न सक्ने बताउँदै उहाँले सचेत पार्नुभयो, “एउटै स्रोतमा निर्भर हुनुहुँदैन ।”
देशको अर्थतन्त्र धराशायी हुनुमा शासक दलका नेता मात्र दोषी नभई पिठ्यूँपछाडि तिनलाई गाली गर्ने तिनका कार्यकर्ता पनि उत्तिकै दोषी हुनाले शासक कार्यकर्ताहरूसँग सैद्धान्तिकरूपमा सङ्घर्ष गर्न विमोचित पुस्तकले सघाउने उहाँले विश्वास लिनुभयो ।
कार्यक्रममा पुस्तकको समग्र समीक्षा गर्दै स्रष्टा समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीले विमोचित पुस्तक आत्मनिर्भरता र अर्थतन्त्रबारे सरल एवम् सहज भाषामा लेखिएको बताउनुभयो ।
पञ्चायतकालदेखि नै नेपालका शासकहरूले विकासका लोभलाग्दा नारा दिएर जनतालाई ठग्दै आएको तर व्यवहारमा जनता झन्झन् वैदेशिक ऋणको चपेटामा परेको उहाँले चर्चा गर्नुभयो । सत्ताधारीहरूको मगन्ते बुद्धिकै कारण देश अर्थतन्त्र, सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनतामा झन् तल भासिएको बताउँदै जोशीले सरकारलाई घच्घच्याउन यो पुस्तकले मार्गदर्शन गर्ने विचार राख्नुभयो ।
पुस्तकबारे परिचर्चा गर्दै वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैँजूले पुस्तकमा सङ्ग्रहित संरा अमेरिका, सोभियत सङ्घ, प्रजग कोरिया तथा चीन–अमेरिका–भारतको आर्थिक तुलनाबारे अध्ययन प्रस्तुत गर्नुभयो ।
पुस्तकले विशेषगरी सार्वभौम अर्थतन्त्र निर्माणमा जोड दिएको बताउँदै उहाँले संरा अमेरिकाजस्ता देशले अन्य देशलाई ऋणको पासोमा पार्दै तिनको अर्थतन्त्र कब्जा गरेको बताउनुभयो । उहाँले सोभियत सङ्घ, प्रजग कोरिया तथा चीनजस्ता समाजवादी देशबाट आत्मनिर्भरताको पाठ सिकेर संरा अमेरिका र भारतका एकाधिकार पुँजीविरुद्ध सङ्घर्ष गर्नुपर्ने पुस्तकको मूल सन्देशतर्फ औँल्याउनुभयो ।
विमोचित पुस्तकमा समाविष्ट बेलायत, फ्रान्स, जर्मनी र जापानको आर्थिक विकासक्रमबारे बोल्दै नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले यी देशहरू आफ्नै स्रोतसाधनले मात्र विकसित नभएको बताउनुभयो । विज्ञानको सहायताले ती देश अघि बढेको उहाँले चर्चा गर्नुभयो । उहाँले ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तक समाजवादी क्रान्तिपछिको विकासको मार्गचित्र हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा विमोचित पुस्तकको ‘आत्मनिर्भरताको प्रश्न’ खण्डबारे विचार राख्दै ख्वप कलेजका उपप्राध्यापक राजन फाजुले विमोचित पुस्तकमा लेखकले कृषिको विकासबाट उत्पादन बढाउँदै पुँजी निर्माणमा जोड दिएको औँल्याउनुभयो । नेपाली अर्थतन्त्रले आफ्नै बाटो तय गर्नको लागि पुस्तकले सिँचाइ, सडक निर्माण तथा जलविद्युत्मा जोड दिएको उहाँले बताउनुभयो । विदेशी ऋण अनुत्पादक क्षेत्रमा प्रयोग भइरहेको बताउँदै पुस्तकमा आन्तरिक ऋणलाई विकल्पको रूपमा अघि सारिएको उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रम जनप्रकाशन गृहका संयोजक दिनेश खड्गीको अध्यक्षता तथा नेक्राविसङ्घ केन्द्रीय सदस्य विमल सुवालको सञ्चालनमा भएको थियो ।

पार्टी गतिविधिहरु
समाचार