समाज विकासकाे एक झलक


वरिष्ठ राजनीतिज्ञ एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको साहित्यिक नाम हरिबहादुर श्रेष्ठ हो । उहाँका दर्जनौँ साहित्यिक एवम् वैचारिक कृतिहरू प्रकाशित छन् । स्रस्टा समाज नेपालद्वारा प्रकाशित ‘समाज विकासको एक झलक’ मानव समाजको विकासक्रमबारे जानकारी दिने मौलिक कृति हो । सन् १९७० को दशकमा भारत प्रवासमा रहँदा किसान कार्यकर्तालगायत सर्वसाधारण जनतालाई राजनीतिक र वैचारिक कक्षा सञ्चालनको निम्ति तयार पारिएको अध्ययनको टिपोटबाट तयार गरिएको पुस्तक ‘समाज विकासको एक झलक’ हो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिकरूपमा दृढ एवम् वैचारिकरूपमा स्पष्ट नेताको छवि बनाउनुभएका बिजुक्छेँले प्रवास जीवनको प्रतिकूलताबिच गहन अध्ययन गरेर यो पुस्तकको आधार तयार गर्नुभयो । आफूले गर्नुभएको सैद्धान्तिक अध्ययन जनतामाझ पु¥याउने उद्देश्यले प्रकाशित यो पुस्तक दीर्घकालीन महत्वको छ ।
मानव समाजको विकासक्रमलाई माक्र्सवादी दर्शनको आधारमा विश्लेषण गरिएका कृतिहरूमध्ये हरिबहादुर श्रेष्ठको ‘समाज विकासको एक झलक’ पुस्तकले विशेष महत्व राख्दछ । पुस्तकमा विशेषतः पृथ्वीको उत्पत्ति, मानवको उद्विकास, समाज विकासका चरणहरू आदिम साम्यवाद, दास युग, भूदास युग, सामन्तवाद, पुँजीवाद र समाजवादबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट चर्चा गरिएको छ । औद्योगिक क्रान्तिपछि मजदुरवर्गको दयनीय र कारूणिक अवस्था, त्यसप्रतिको असन्तोषबाट जन्मेको मजदुर आन्दोलन तथा समाजवादी चिन्तनको आशामा यो पुस्तक टुङ्गिएको छ ।
मानिसको सामाजिक र राजनीतिक स्थितिबारे थप अध्ययन गर्न र वर्गसङ्घर्षलाई घच्घच्याउने उद्देश्यले प्रकाशित पुस्तकमा ऐतिहासिक कालखण्डको व्याख्या गरिएको छ । इतिहासका विभिन्न कालखण्डको विकासक्रम, विशेषता र पतनको व्याख्या गर्दै त्यसबेलाका श्रमिक र उत्पीडितवर्गमाथिको शोषण र उत्पीडनबारे पुस्तकमा चर्चा छ । नेपाल, भारत, बेलायत, फ्रान्स, इटाली, अस्ट्रेलिया, दक्षिणपूर्वी एसिया, अफ्रिकी देशहरूको सन्दर्भ जोडेर वैज्ञानिक र विश्लेषणात्मक तर्क पुस्तकमा प्रस्तुत गरिएको छ । नेपालको मानव समाजको इतिहासबारे भौतिकवादी दृष्टिकोणबाट उदाहरणसहित विश्लेषण गरिएको छ ।
‘समाज विकासको एक झलक’ पुस्तक राजनीतिशास्त्र, समाजशास्त्र र मानवशास्त्र विषयका अध्येताका निम्ति महत्वपूर्ण पाठ्यसामग्री हो । अझ यही विषयका विद्यार्थीहरूको लागि त अमूल्य सन्दर्भ सामग्री हुनेछ ।
पुस्तक ८ वटा शीर्षक र विभिन्न उपशीर्षकमा विभाजित छ । पहिलो लेखमा पृथ्वीको उत्पत्ति, पृथ्वी, तारा र ब्रम्हाण्ड, जीवको उत्पत्ति र विकासबारे सन्दर्भसामग्री र तस्बिरसहित जानकारी दिइएको छ ।
मानिसको विकासक्रम शीर्षकको लेखमा मानिस जङ्गली अवस्थामा रहँदाको खानपान र जीवनशैलीबारे व्याख्या गरिएको छ । श्रमसँगै भाषाको उत्पत्ति भई मस्तिष्क र अरू ज्ञानेन्द्रीयहरू र बुद्धिको विकास हुन थालेको सन्दर्भ जोडिएको छ । यसबाट विस्तारै वनमान्छेबाट मानिसमा रूपान्तरण गर्दै अगाडि बढेको देखिन्छ । यसै लेखमा जाभा मानव, पेकिङ मानव र हाइडलवर्ग मानवको बारेमा व्याख्या गरिएको छ ।
तल्लो ढुङ्गेयुगको जाभा मानिस, पेकिङ मानिसदेखि लिएर हाइडलवर्ग मानिससम्मको अवधिलाई आदिम साम्यवादी समाजमा राखिएको छ । त्यसबेला व्यक्तिगत सम्पत्ति भन्ने थिएन । उत्पादनका सबै साधनहरू सामूहिक हुन्थे । राज्यसत्ताको उदय भइसकेको थिएन ।
‘आदिम साम्यवाद’ शीर्षकको लेखमा मातृसत्ताको उदय र पतनको बारेमा विस्तृत र गहन व्याख्या छ । त्यसबारे यहाँ सङ्क्षिप्त चर्चा गरिन्छ । आदिम समाजमा कुनै जाति वा वर्गको लोग्नेमानिस वा स्वास्नीमानिसको सत्ता थिएन । उत्पादनको स्रोत सीमित भएकोले सबैले एकै ढङ्गले काम गर्नुपथ्र्यो । शिकार गर्नुका साथै माछा मार्नुपथ्र्यो । जङ्गली जनावर वा प्राकृतिक विपत्तिसँग मिलेर सङ्घर्ष गर्नुपथ्र्यो । मानिसहरू सामूहिक श्रमले मात्रै आफ्नो जीवन रक्षा गर्न सक्ने हुनाले बगाल वा समूहमा बस्थे ।
पछि वंश, कुल वा गोत्रको उत्पत्ति भई समाज अघि बढ्यो । एउटै आमाका छोराछोरीबिच विवाह गर्ने चलन हटेर गयो । एक जातका सबै आइमाई अर्को जातका सबै लोग्नेमानिसको सामूहिक विवाह हुँदा छोरा वा छोरी बाबुको नामले नचिनिकन आमाको नामले मात्र चिनिन्थे ।
एउटा समूहका मानिस अर्को समूहको सम्पर्क वा एउटा समूहले अर्को समूहलाई लडाइँमा जित्दा सम्पत्तिको उत्पति भयो । ‘तेरो–मेरो’ को भावना सुरु भयो । सामूहिक सम्पत्तिको ठाउँमा व्यक्तिगत अधिकारको बीउ रोपियो । यसबाट मानिसको घुमन्ते जीवनमा ¥हास आयो र अस्थायी बस्तीहरू बसाल्न थाल्यो ।
स्वास्नीमानिसले घरमा केटाकेटी स्याहार्ने र पशुहरू हेर्नु पर्दा श्रम विभाजनको अभ्यास सुरु भयो । महिलाहरूले पशुको निम्ति घाँसपात गर्न थाले । त्यसबेला छोराछोरीको जानकारी आमाबाटै हुन्थ्यो भने घरको सामान र बारीको हर्ताकर्ता आमा नै हुन्थे । यसले गर्दा मातृसत्ताको जग बस्यो ।
नयाँ ढुङ्गेयुगमा खेतीपाती र पशुपालनको तीव्र विकास भयो । मानिसहरू बाली, घाँसे चौर र पानी भएको ठाउँमा स्थायी ढङ्गले बसोबास गर्न थाले । स्वास्नीमानिसले कृषि र वस्तुभाउसँगै घरेलु कलाको विकास गरे । कपासको बोटबाट कपास टिपेर धागो बनाए र त्यसको कपडा बुने । आइमाईहरूले नै बुनाइ र सिलाइ, टोकरीहरू, माटाका भाँडाकुँडा बनाउने, काठको काम र घर बनाउने कला अगाडि बढाए । उनीहरूले घरबारको व्यवस्था मिलाए । मातृसत्तात्मक समाजमा विस्तारै पुरूष ‘पाल्तु जनावर’ जस्तै बनाइयो ।
सिकारी युगमा आइमाईहरू सिकार खेल्नेबाहेक सबै काम गर्थे । स्वास्नीमानिसहरू केटाकेटी जन्माउँथे, तिनीहरूको पालनपोषण गर्थे, झोपडी वा घरको रेखदेख गर्थे र मर्मत पनि गर्थे । जङ्गल र मैदानबाट खानेकुरा बटुल्थे, त्यसलाई पकाउँथे र लोग्नेमानिसको निम्ति कपडा र जुत्ता बनाउँथे । लोग्नेमानिस सिकारको कामबाहेक अरू बेला आराम गर्थे ।
आइमाईहरू सुरुमा भूमिसँग सा¥है नजिक भएका कारण सम्भवतः वैद्यको काम सबभन्दा पहिले आइमाईले सुरु गरेका थिए भनी लेखक अनुमान गर्नुहुन्छ । किनकि, उनीहरूलाई बिरूवा र जडीबुटीबारे राम्रो जानकारी हुन्थ्यो । सुरुदेखि नै लामो समयसम्म आइमाईहरूले नै चिकित्साको काम गर्थे ।
मानिसले ढुङ्गाको हतियार तीव्ररूपमा बनाउन थाले । जनसङ्ख्या बढ्यो । खेतीको विकासबाट श्रमको महत्व बुझ्न थाले । उत्पादन पद्धतिमा विकास हुनासाथै सामाजिक सम्बन्धमा हेरफेर आयो । अलि अलि गर्दै लोग्नेमानिसले खेतबारीको काम आफ्नो हातमा लिन थाल्यो । कृषिकै कारण आइमाईले आर्थिक नेतृत्व पाएको थियो । लोग्नेमानिसले पाल्तु बनाएका जनावरहरूलाई कृषि कार्यमा लगायो । आइमाईले कोदालीले खेत खन्थ्यो । हलो बनेपछि बढी शारीरिक शक्तिको खाँचो प¥यो । लोग्नेमान्छेले आफ्नो श्रेष्ठता देखाउने मौका पायो । पुरूषले आइमाईलाई आफ्नो नियन्त्रणमा राख्यो । आफ्नो सम्पत्ति सन्तानलाई दिने प्रबन्ध मिलाइयो । पछि पितृत्वले स्वीकृति पायो ।
यसप्रकार उत्पादन स्थितिमा परिवर्तन भएपछि मातृसत्तात्मक व्यवस्थामा परिवर्तन आयो । पशुपालनको विकास, हलो र कमाराले गर्दा खेतीको मुख्य उत्पादनकर्ता महिला रहेनन् । धेरै लोग्ने राख्ने चलनबाट महिलाहरूमा हुने शारीरिक बोझ, सम्पत्तिमा आइमाईको अधिकारले गर्दा परिवारमा हुने बेमेल र अस्थिरता, नयाँ उत्पादन शक्तिलाई राम्ररी सञ्चालन गर्न नसकेको हुँदा समाजमा मातृसत्ता ¥हास भएर पितृसत्ता सुरु भयो ।
पितृप्रधान समाज आइमाईको लागि निकै घातक सिद्ध भयो । पछि आइमाईलाई कमारालाई किनेजस्तै किन्न थालियो । लोग्ने मरेपछि आइमाई पनि जलाइन्थे वा गाडिन्थे । जसलाई सतीप्रथा भनिन्थ्यो । नेपालमा राणाकालसम्म यो प्रथा चल्थ्यो । आइमाईलाई दासजस्तै व्यवहार गर्न थालियो । पुस्तकमा दिइएको फिजीको उदाहरणले समाजको उतारचढावबारे बुझ्न सजिलो बनाउँछ । फिजीमा लोग्नेले चाहेको खण्डमा आफ्नी स्वास्नी नै बेच्न सक्थ्यो । त्यहाँ मन्दिरमा कुकुर लैजान मिल्थ्यो तर आइमाई जान मिल्दैनथ्यो । यसबाट पितृसत्तात्मक समाज स्थापना भएपछि महिलाले आफ्नो अस्तित्व गुमाउन प¥यो ।
दास समाज शीर्षकको विस्तृत आलेखमा दासको उत्पत्ति, सभ्यतामा दासहरूको देन, विभिन्न देशमा दासहरूको दयनीय स्थिति, दास विद्रोह किन–कसरी भए ?, ग्रीस, रोम, चीन, भारतलगायत विभिन्न देशमा भएका दास विद्रोहका रूपहरूबारे व्यापक अध्ययनको सार प्रस्तुत गरिएको छ । नेपालको प्राचीन इतिहास, लिच्छविकाल, मल्लकाल र शाहकालसम्ममा दास प्रथा कसरी कायम भएको थियो भन्ने कुरा उदाहणसहित प्रस्ट्याइएको छ । विशेषतः नेवार समाजमा दासप्रथाबारेको जानकारी अझ रोचक छ । साथै नेपालमा नेवारलगायत अन्य जातजातिमा भएको दासप्रथाको इतिहास र विकासक्रम र अन्त्यबारे प्रस्तुत गरिएको छ ।
त्यस्तै, दासप्रथाबाट सामन्तवादमा सङ्क्रमण, सामन्ती समाजको वर्गीय विभाजन, सामन्तवादको विकास, सामन्तवादको चरम अवस्था र पतनका बारेमा ‘सामन्तवादी समाज’ शीर्षकको लेखमा विस्तृत चर्चा छ ।
बेलायतमा पुँजीवादको विकास, पुँजीपतिवर्गको उदय, मजदुरहरूको स्थिति, मजदुर आन्दोलन र औद्योगिक क्रान्तिबारे जानकारी ‘पुँजीवादी समाज’ शीर्षकमा उल्लेख छ । साथै फ्रान्स, जर्मनीलगायत अन्य देशमा पुँजीवादको विकास र त्यहाँका मजदुरहरूको दयनीय, कहालीलाग्दो र कारूणिक अवस्थाबारे प्रस्तुत छ ।
एकछत्र राजतन्त्रको विजय नै सामन्तवादी व्यवस्थाको अन्तिम अवस्था थियो । लगभग एक हजार वर्षको सामन्ती युद्धका कारण एकले अर्कोलाई खाँदा स–साना राज्यहरू ठूूला भए । यसले उत्पादन केन्द्रित भयो । यातायात र व्यापारको विकास भयो । कूटनैतिक, प्रशासनिक, र रणनीतिक ज्ञानको विकास भयो । कला, कौशलमा नयाँ नयाँ प्रयोग तथा समन्वयले नयाँ संस्कृतिको उत्थान भयो । व्यापार बढ्यो । व्यापारले पुँजी बढायो । पुँजीले कलकारखाना झन्झन् ठूलो बनायो । समाजको सबै क्षेत्रलाई पुँजीको ग्रहणले ढाक्न थाल्यो । बढ्दो पुँजीले कारखानाको आकार ठूलो हुँदै गयो । पुँजीवादी हावाले धावा बोल्न थाल्यो । यसप्रकार मध्ययुगीन सामन्ती समाजमा जोसँग जति जग्गा हुन्थ्यो, उसको हातमा त्यति नै राजनीतिक शक्ति रहन्थ्यो भने अब जोसँग जति पुँजी भयो, उसले उति नै राजनीतिक शक्ति दाबी गर्न थाल्यो ।
कलकारखानाको वृद्धिसँगै नाफाको निम्ति श्रम कम र आय वृद्धि हुनेखालका मेसिनहरूको निर्माण हुन थाल्यो । सुरु सुरुमा मानिसले मेसिन चलाउँथ्यो भने पछि गएर मेसिनले मानिसलाई चलाउन थाल्यो । मानिसको श्रमको महत्व घटेर पुँजी र मेसिनको महत्व बढ्न थाल्यो । उत्पादन तीव्ररूपमा वृद्धि हुन थाल्यो ।
यसप्रकार सयौँ यन्त्रहरूको आविष्कारले उद्योग, कृषि, यातायात, बैङ्क, व्यापार आदि क्षेत्रमा मात्र होइन, राजनीतिक र सामाजिक क्षेत्रमा पनि ठूल्ठूला परिवर्तनहरू सम्भव बनायो । जसलाई औद्योगिक क्रान्ति भनिन्छ । औद्योगिक क्रान्तिले पुँजीवादको तीव्र विकास भयो । पुँजीवादको जति जति विकास भयो मजदुरहरूको अवस्था पनि त्यति नै दयनीय बन्यो ।
कलकारखानाहरूमा मजदुरहरूलाई सस्तोमा काम गर्न लगाइन्थ्यो । मजदुरहरूले आफूले पाउने ज्यालाले परिवारको पेट पाल्न सक्दैनथे । पुँजीपतिहरूले महिला र केटाकेटीलाई सस्तोमा काममा लगाउँथे । ठूला मानिसहरू घुस्न नसक्ने ठाउँमा केटाकेटीलाई काममा लगाउँथे । छिटो छिटो काम गराउन माथि चिम्नी सफा गरिरहँदा तलबाट आगो बालिदिन्थे । खरानी र धुलोले निसास्सिएर केटाकेटीहरू तल खसेर मर्थे । कामको समय १२ घण्टादेखि १८ घण्टासम्म पनि हुन्थ्यो । केटाकेटीहरू ४–५ बजे उठेर काममा जान्थे । रातको ८–९ बजेमात्र घर पुग्थे । थकाइले गर्दा केटाकेटी खानै नखाई सुत्थे । कोही सबेरै उठेर हिँड्दा र कारखानामा काम गर्दा उँघिरहेका हुन्थे ।
कार्ल माक्र्सले ‘पुँजी’ मा लेख्नुभएको एउटा घतलाग्दो सन्दर्भ जोड्नु उपयुक्त होला । ‘७ देखि १३–१४ वर्षका केटाकेटीलाई १८ घण्टा काम गराइन्थ्यो । तिनीहरूलाई कोर्राले पिट्थ्यो । सिक्रीले बाँध्थ्यो । कसैकसैले पीडा सहन नसकेर आत्महत्या नै गर्थे । कारखाना मालिकहरूको कृपामा बाँच्ने ती निर्दोष, असहाय केटाकेटीहरू मुटु छेड्ने निर्दयताको सिकार हुन्थे ।
पुँजीवादको चरम विकाससँगै पुँजीपतिवर्ग र सर्वहारावर्ग गरी समाज दुईवर्गमा विभाजित भयो । पुँजीपतिहरूले मजदुरहरूलाई सा¥है शोषण गर्न थालेपछि सर्वहारावर्गको उदय भयो । सर्वहारावर्गले पनि आफ्नो राजनीतिक सत्ताको लागि विद्रोह गर्न थाल्यो । माक्र्सले ‘मजदुरवर्ग पुँजीपतिवर्गको चिहान खन्ने राजनीतिक शक्ति हो र सर्वहारावर्गको हुकुम अनिवार्य छ’ भन्ने टुङ्गो लगाउँदै त्यसको लागि मजदुर पार्टीको आवश्यकता महसुस गर्नुभयो । यसरी माक्र्सवाद र वैज्ञानिक समाजवादको उदय भयो ।
पुस्तकको अन्तमा काल्पनिक समाजवादीहरू सेन्ट साइमन, चाल्र्स फ्युरिये, रोबर्ट आवेन लगायतको विचारको चर्चा गरिएको छ । परिशिष्ट खण्डमा पेरिस कम्युनबारे छोटकरीमा उल्लेख छ । वैज्ञानिक समाजवाद र साम्यवादबारे थप चर्चा गरिएको भए पाठक थप लाभान्वित हुन्थे ।
यस पु्स्तकले मानव समाजका विभिन्न कालखण्डमा शासकवर्गले शोषितवर्गलाई शोषण गर्ने, मालिकवर्गले तल्लोवर्गलाई उठ्न नदिने भएकोले सर्वहारावर्गको सत्ता स्थापनाको लागि समाजवाद र साम्यवादको लागि सङ्घर्ष गर्न उद्घोष गरेको छ । यसको लागि व्यापक कामदार जनतालाई सचेत र सङ्गठित पार्न र वर्गीय भावनाले ओतप्रोत बनाउन पुस्तक सहयोगीसिद्ध हुनेछ ।
तस्बिरहरूले पुस्तकको आकर्षण बढाएको अनुभूत हुन्छ । गाता पृष्ठले पुस्तकभित्र के छ भनेर अनुमान गर्न सजिलो बनाउँछ । पुस्तकमा दिइएका टिपोट, सन्दर्भ सामग्री र परिशिष्ट खण्डले पुस्तकको ओज बढाएको छ । पुस्तक पठनीय र जानकारीमूलक छ । पुस्तकको मूल्य रु. ३०० त्यति महँगो होइन ।
प्रकाशक र लेखकप्रति हार्दिक आभार ।
धन्यवाद ! 

सुलोचना छ्वाजू

पार्टी गतिविधिहरु
समाचार