“साम्राज्यवाद र जातिवादको विरोध गर्नु प्रत्येक देशभक्त स्वाभिमानी नेपाली जनताको दायित्व हो” – अध्यक्ष बिजुक्छेँ


भक्तपुर, ९ मङ्सिर । साम्राज्यवाद र जातिवादको विरोध गर्नु प्रत्येक देशभक्त स्वाभिमानी नेपाली जनताको दायित्व हो । देशको स्वाधीनता तथा अस्तित्वको निम्ति सङ्घर्षरत प्यालेस्टिनी जनताको आन्दोलनप्रति समर्थन तथा ऐक्यबद्धता जनाउनुपर्छ । साम्राज्यवादी देश अमेरिकाको सहयोेग र साथमा प्यालेस्टाइनबाट प्यालेस्टिनी जनता सबैलाई विस्थापित या नरसंहार गर्ने कार्यको निन्दा र विरोध गर्नुपर्छ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ४३ औँ नेपालभाषा साहित्य तः मुंज्या र सांस्कृतिक कार्यक्रममा प्रस्तुत नृृत्य, एकाङ्की, ख्यालमा पुरस्कृत तथा सहयोगी महानुभावहरूलाई पुरस्कार तथा मायाको चिनो वितरण कार्यक्रममा शनिबार व्यक्त गर्नुभएको हो ।
४३ औँ नेपालभाषा साहित्य तः मुंज्या आयोजक समितिद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले प्यालेस्टिनी जनतालाई नामेट पार्न जातीय सफाया गर्ने योजनासहित इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर आक्रमण र नरसंहारको विरोधमा आवाज उठाउनु प्रत्येक देशभक्त र अन्तर्राष्ट्रवादीहरूको कर्तव्य हो भन्नुभयो ।
प्यालेस्टिनी जनताको सङ्घर्षशील भावनाको सम्मान गर्दै मुक्तिको निम्ति गरिएको आन्दोलनमा जनतालाई साथ र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले यसबारे नयाँ पुस्तालाई पनि सुसूचित गर्नु आवश्यक छ भन्नुभयो ।
प्यालेस्टिनी जनताको न्यायपूर्ण आन्दोलनको पक्षमा विद्यालयका विद्यार्थीहरूले गरेको आन्दोलन समय सान्दर्भिक भएको उल्लेख गर्दै अध्यक्ष रोहितले यसबारे नयाँ पुस्तामाझ अवगत गराउन आन्दोलन, सङ्घर्ष, पुस्तक प्रकाशन र लेखमार्फत सुसूचित गरिरहेको बताउनुभयो ।
देशको स्वाधीनता, सार्वभौमिकता, जनताको समस्याबारे आन्दोलन गर्ने क्रान्तिकारीहरूको प्रशंसा भइरहेको चर्चा गर्दै उहाँले साम्राज्यवादी देशहरूले भियतनाम, कोरिया, लावस, कम्पुचिया (कम्बोडिया), लिविया, क्युवा, चिली, बोलिभिया, अफगानिस्तान आदि देशमाथि गरिरहेको हमला, दबाब, आर्थिक नाकाबन्दी, सेना तैनाथ आदिको विरोधमा नेमकिपाले सङ्घर्ष गरेको स्मरण गराउनुभयो ।
देश र जनताको पक्षमा सङ्घर्ष गर्ने या रातो झन्डा फरफराउने क्रान्तिकारीहरूको योगदानको स्मरण भइरहने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “शोषित पीडित जनतामाथि भइरहेको दमन, थिचोमिचो, अत्याचारको निन्दा गर्नुपर्छ, अन्यायमा पर्दा पीडितको पक्षमा साथ दिनुपर्छ ।”
अमेरिकाले भियतनाममाथि गरेको आक्रमणको विरोधमा पनि नेमकिपाले सङ्घर्ष गरेको उल्लेख गर्दै उहाँले अमेरिकी सेना नेपाल पस्ने, देशको अस्मितामा आँच पुग्ने एमसीसी सम्झौताको विरोध गरेर फर्काउनुपर्नेमा उल्टो पास गरेर देशलाई बर्बाद बनाउनेतर्फ लागेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
प्यालेस्टिनी जनता नै सखाप पार्ने उद्देश्यले बालबालिका, बुढाबुढी र चिकित्सकमाथि बम प्रहार गरेर इजरायली सेनाले नरसंहार गरिरहेको हुँदा सोको विरोध गर्नुपरेको चर्चा गर्दै उहाँले अन्याय, दमन र नरसंहारको विरोधमा सबै एकजुट भएर उठ्नुपर्छ, सबैलाई जागृत गर्नुपर्छ । यस्तै घटना नेपालमा पनि हुनसक्ने भएकोले अहिलेदेखि सबै चनाखो हुनुपर्छ, अध्यक्ष रोहितले भन्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले प्यालेस्टिनी भूमि इजरायल घोषणा गरिएको ७५ वर्ष पुगेको उल्लेख गर्दै भन्नुभयो, “गएको असोज ५ गते इजरायली प्रधानमन्त्री नेतन्याहुले संरा सङ्घको महासभामा प्यालेस्टिन भूमि मेटेर नयाँ मध्यपूर्वको नक्सा देखाए । असोज २० गते प्यालेस्टिनीहरूको लडाकु सङ्गठन हमासले इजरायललाई जवाफ दियो । सो घटनामा इजरायलमा ‘सिक्ने र कमाउने’ काममा पठाइएका १० जना नेपाली विद्यार्थीको ज्यान गुम्यो भने १ जना बेपत्ता छन् । युद्धभूमि इजरायलमा नेपाली विद्यार्थी र युवालाई रोजगारीमा पठाउने सरकारका प्रम, मन्त्री, सचिव र म्यानपावर कम्पनीका सञ्चालकहरू इजरायलमा नेपाली विद्यार्थी मृत्युका दोषी हुन् ।”
उहाँले भन्नुभयो, “कार्तिक १ गते अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगेर ‘तिमी एक्लो छैनौ अमेरिकी सरकार पछाडि छ’ भनेर प्रम नेतन्याहुलाई उक्साएको र हतियार पठाएको थियो । त्यसपछि नेतन्याहुले अमेरिकी बम–बारूद बोकाई आफ्नो सेनालाई प्यालेस्टिनी भूमि गाजापट्टीमा आक्रमणमा पठाए । नेतन्याहुको जङ्गली र असभ्य कारबाहीले गाजाको ५० प्रतिशत घर ध्वस्त भए, ६ हजार केटाकेटीको मृत्यु भयो, ५० हजारभन्दा गर्भवती महिलाहरू असुरक्षित छन्, इजरायली सेनाले गाजाको अस्पतालमा आक्रमण गरी डाक्टर, नर्ससमेतको ज्यान लियो । यसकारण अमेरिका, क्यानडा, बेलायत, फ्रान्स, अष्ट्रेलियामा लाखौँ लाख मानिस सडकमा ओर्लिएर प्यालेस्टिनी जनताको समर्थन गरे ।”
“नेपालमा सत्तापक्ष र प्रमुख विपक्षीले प्यालेस्टिनी जनताको समर्थन गर्ने आँट नगरेको तर नेमकिपाका युवा, विद्यार्थीले कार्तिक १७ गते प्यालिस्टनी जनताको समर्थनमा काठमाडौँमा प्रदर्शन र सभा गरेका थिए । त्यस्तै मङ्सिर ८ गते विद्यार्थी हित समितिले भक्तपुरमा अमेरिकी र इजरायलीको प्यालेस्टिनमा युद्धको विरोध ग¥यो† नेपालभाषा साहित्य तःमुंज्याको दब्बु, न्हूदँमा भिन्तुनामा पनि प्यालेस्टिनी जनताको जीवन रक्षा र सार्वभौम अधिकारको समर्थनमा आवाज उठ्यो”, सचिव सुवालले भन्नुभयो ।
केही व्यक्तिहरूले न्हूदँ र विद्यार्थी हित समितिमा समेत प्यालेस्टिनी जनताको समर्थन गरियो भनी असन्तुष्टि पोखेकोमा स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “इजरायली हमासमा प्यालेस्टिनी महिला र केटाकेटीसहित हजारौँको मृत्यु भएको अवस्थामा नेपाली जनता चुप बस्नु हुँदैन । यसकारण, हामीले युद्धको विरोध गरेका हौँ ।”
उहाँले भन्नुभयो, “कतिपय जनता अमेरिकी कफी, खानेकुरा र फिल्म निर्माण कम्पनीलाई बहिष्कार गर्दै छन् । इजरायलले प्यालेस्टिनमा पड्काइरहेको बम अमेरिकी सहयोगकै हो । अमेरिकाले संसारका ५०० भन्दा बढी ठाउँमा सैन्य हस्तक्षेप गरेको सूची तयार भएको छ । मङ्सिर ८ गतेबाट चार दिनको लागि युद्ध विराम गरिएको छ । युद्ध विराम स्थायी शान्तिमा परिणत हुनु जरूरी छ । संसारका जनताले नदीदेखि समुद्रसम्म प्यालेस्टाइन स्वतन्त्र हुने, बाइडेन आज कति केटाकेटी मारियो, नेतन्याहु भाग्न सक्दैन, तिमीलाई जातीय नरसंहारको मुद्दा लगाउने आदि नारा लगाउँदै छन् ।”
प्यालेस्टिनीहरूको घर–जग्गा यहुदीवादीहरूले किनेका थिए । नेपालमा पनि काठमाडौँ उपत्यकामा रैथानेहरूको जग्गा किन्नेहरू पसेका छन् । काठमाडौँको खेतीपातीको लागि बाँकी जग्गासमेत आवास विस्तार गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणले नक्सा तयार गरेको छ । हामीले यसको विरोध गर्नुपर्छ र देशको सन्तुलित विकास गर्न सरकारलाई घच्घच्याउनु जरूरी छ, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “ख्वप कलेजहरूले नयाँ पुस्तालाई उच्च शिक्षा प्रदान गरिरहेका छन् । ख्वप विश्वविद्यालय स्थापना गरेर चिकित्सा शिक्षा पनि दिने हो । तर, सरकारमा गएका प्रम र मन्त्रीहरूले ख्वप विश्वविद्यालयको विधेयक पारित गरेका छैनन् । शासक दलहरूमा राणा शासनको छाप देखिन्छ ।”
सरकार सिंहदरबारमा खुम्चिँदा खुला सीमामा नेपालको भूमि अतिक्रमण बढ्दो छ । अहिले दाल, चामल, तरकारी भारतसँग किनेर खानुपर्ने अवस्था छ । सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्छ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन्तुलित र समानुपातिक विकासमा भनपा प्रस्ट रहेको विचार व्यक्त गर्दै काममा बाधा हाल्न अनेक दुःख दिइरहेको कारण कति योजना अघि नबढेको बताउनुभयो ।

विगतमा पनि विश्वविद्यालय खोल्ने काममा बाधा पु¥याएको प्रसङ्ग उल्लेख गर्दै उहाँले सङ्कटको बेलामा नै शत्रु र मित्र चिनिन्छ भन्नुभयो ।
एकातिर सरकारले ख्वप अस्पताललाई दिनुपर्ने बीमा रकम उपलब्ध गराइरहेको छैन भने अर्कोतिर वाग्मती प्रदेशले विशेष अनुदानअन्तर्गत दिनुपर्ने सहयोग रोकेर विकासमा बाधा दिइरहेको बताउनुभयो ।
भक्तपुर नपाले गरेको कामको प्रशंसा देश विदेशबाट भइरहेको बेला केही मान्छेले खुट्टा तान्ने काम गरिरहेको उल्लेख गर्दै उहाँले भक्तपुरलाई नमुना बनाउन अझ जिम्मेवारीपूर्वक काम गरिरहने विश्वास व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भाषा, साहित्य र कलाको विकास र संरक्षण गर्न तथा समाज परिवर्तनको निम्ति बाटो तयार गर्ने काम निरन्तर भइरहने बताउनुभयो ।
सही सिद्धान्त र सही विचार जनतामाझ पु¥याउने काम चालु रहने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायमा भएका न्यायपूर्ण आन्दोलनको समर्थन र ऐक्यबद्धता जनाउनुपर्ने खाँचो औँल्याउनुभयो ।
अराजनीतिक क्रियाकलाप गर्ने, झूटको खेती गर्नेहरूदेखि सावधान रहन आग्रह गर्दै उहाँले एमसीसी सम्झौता र नागरिकता विधेयक पारित गर्दा नबोल्ने दल र अभियन्ताहरू आज भ्रम छरेर जनताको सङ्घर्षलाई अन्यत्र मोड्ने काम गरिरहेको बताउनुभयो ।
अन्यायको विरोधमा विश्वभर विरोध प्रदर्शन तथा सभा भइरहे पनि नेपाली शासकहरूले बोल्ने आँट नगरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेमकिपाले प्यालेस्टिनी जनताको आन्दोलनप्रति ऐक्ताबद्धता जनाउँदै अन्तर्राष्ट्रिय धर्म निर्वाह गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना सैजुले साहित्य तः मुंज्याले पनि जातीय नरसंहारको विरोध गर्दै वर्गीय चेतना जगाइरहेको बताउनुभयो ।
प्यालेस्टिनी जनताको देश नै नामेट पार्न खोजिएको हुँदा इजरायली आक्रमणको निन्दा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले उक्त आक्रमण संसारकै क्रूर हमला र युद्ध अपराध हो भन्नुभयो ।
महाशक्ति बन्न आक्रमण गर्ने साम्राज्यवादी देश अमेरिका एक दिन पतन अवश्यम्भावी छ, उहाँले भन्नुभयो ।
नेपालभाषा साहित्य तः मुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारको सभापतित्वमा भएको सो सभामा ख्वप अस्पतालका डा. मजेशप्रताप मल्ल, आयोजक समितिका अध्यक्ष बलराम सिबंजार र आयोजकका कोषाध्यक्ष पुरूषोत्तम तमखुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा सभाका अतिथिहरूले ख्याल, एकाङ्की र नृत्यमा पुरस्कृत टोली, मूल्याङ्कन समितिका सदस्य, हूदँ ¥यालीमा सहभागी बाजागाजा तथा नाचगान टोली र अन्य सहयोगी महानुभावहरूलाई पुरस्कार, प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
सभामा नेमकिपाका अध्यक्ष बिजुक्छेँले तःमुंज्याको स्मारिका पनि विमोचन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार