कामदारवर्गको मुक्तिको साहित्य कामदारवर्गले नै लेख्न जरूरी


ललितपुर, १८ चैत । ललितपुरको महालक्ष्मी न.पा. ६ थसि देवननी टोलमा तेस्रो नेपालभाषा साहित्य तःमुंज्या शनिबार सम्पन्न भयो ।
नेपालभाषा साहित्य तःमुंज्या यलको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले साहित्य राजनीतिको हतियार भएको चर्चा गर्दै भन्नुभयो, “कामदारवर्गको मुक्तिको साहित्य कामदारवर्गले नै लेख्न जरूरी छ । रूसका गोर्की, चीनका लु सुन, भारतका राहुल साँकृत्यायनले कामदारवर्गको सङ्गठनमा बसेर साहित्य लेख्नुभएको थियो ।”
“नेपालमा १२५ भन्दा बढी भाषाभाषी छन् । ती भाषा बोल्ने जनता जीवित भएमात्र तिनको भाषा रहनेछ । यसकारण, जनता बाँचेमात्र भाषा रहनेछ”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “सिद्धान्तहीन गठबन्धनले देश र जनताको हित गर्दैन । नेका–माओवादीको सत्ता गठबन्धन एमाले–माओवादीमा बदल्न ३ महिना अगाडि युगान्डामा भारतीय विदेशमन्त्री एस. जयशङ्कर र नेपालका प्रम पुष्पकमल दाहालबिच सहमति भएको सार्वजनिक भयो† जुन राम्रो लक्षण होइन ।”
उहाँले भन्नुभयो, “सन् १८१६ को सुगौली सन्धिमा नेपालको तर्फबाट गएका गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले बेलायती–भारतसँग भारतमै जग्गा घुस लिएर नेपाललाई धोखा दिएका थिए । पृथ्वीनारायण शाहले भक्तपुरका राजा रणजित मल्लको छोरासँग मित लगाएर उपत्यकामा आक्रमण गरी मितघात गरेको बताउनेहरू पनि धेरै छन् । जङ्गबहादुर राणा बेलायत भ्रमण गएपछि अङ्ग्रेजभक्त भएका थिए ।”
सिंहदरबारमा गएकाहरूले सित्तैमा आउने भनी अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता बहुमतबाट पारित गरेकोविरुद्ध नेपाल मजदुर किसान पार्टीले एमसीसीबारे जनतालाई सचेत गरिरहेको चर्चा गर्दै उहाँले सित्तैमा आएको भनी विष खान नहुनेतर्फ सचेत गराउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सिंहदरबारकै कमजोरीको कारण ललिता निवासको सरकारी जग्गा २९९ रोपनी, थबहीको ५८ रोपनी कमलपोखरी र बगैँचासमेत व्यक्तिको नाममा दर्ता भएको हो । सम्पत्ति धेरै कमाएका चौधरीले बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी सरकारी जग्गा निजी बनाए । २०४३ सालयता सरकारमा गएकाहरूले सार्वजनिक संस्थानहरू सस्तोमा बिक्री गरे । परिणाम सार्वजनिक ऋण २४ खर्ब पुग्यो, व्यापार घाटा १८ खर्ब नाघ्यो ।”
उहाँले भन्नुभयो, “सरकारले ८० लाख युवालाई वैदेशिक रोजगारीमा पठाएको हुँदा दाल, चामल, तरकारीसमेत भारतीय एकाधिकार पुँजीसँग किन्नुपर्ने भयो । ३५ वर्षयता सरकारमा गएकाहरूलाई नेपाल मजदुर किसान पार्टीले देश र जनताको हितमा काम गर्न धेरै सुझाव दिएको थियो । तर, शासक दलहरू कागलाई नुहाएर हाँस नहुने भनेजस्तै भए† यसकारण, जनता सचेत हुनु जरूरी छ ।”
सचिव सुवालले भन्नुभयो, “अमेरिकी रक्षामन्त्रीले युक्रेनमा हतियार बेचेर नाफा कमाएको पत्रकार सम्मेलनमा बताए । प्यालेस्टिनी जनताको भूमि कब्जा र जातीय नरसंहार गराउन इजरायललाई अमेरिकाले नै हतियार दिएको थियो । पहिलो र दोस्रो विश्वयुद्ध साम्राज्यवादीहरूले बजार र नाफाको लागि गरेका थिए । नेपाली जनताले युद्धको विरोध गर्नु जरूरी छ । विनाशकारी हतियार उत्पादनमा भइरहेको खर्च मानव जातिको शिक्षा, स्वास्थ्य, खाद्यान्न, आवास व्यवस्थाको लागि गर्नु जरूरी छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले संस्कृति र सम्पदामा धनी काठमाडौँ उपत्यकामा रहेका कला, संस्कृति जगेर्ना गर्न ध्यान दिनुपर्ने सरकारले द्रुत मार्गजस्तो अरबौँ रकम चाहिने परियोजना ल्याएर यहाँको संस्कृति सम्पदा म्हास्ने कामको विरोध गर्नुभयो ।
तीन दशकभन्दा बढी समय शासन सत्तामा पालैपालो राज गर्ने शासक दलको नेतृत्वको पछि लागेर देश बचाउन वा विकास गर्न नसकिने उहाँले बताउनुभयो ।
सांसद गोसाईले भन्नुभयो, “सडक, सदन र सबै ठाउँमा सांस्कृतिक दमन र अतिक्रमणविरूद्ध सङ्घर्षलाई निरन्तरता दिँदै जानु आवश्यक छ ।”
प्यालेस्टिनमाथि इजरायलको नरसंहारको विरोधमा संसारभर प्रदर्शन भइरहेको चर्चा गर्दै उहाँले इजरायलको नरसंहारविरुद्ध नेमकिपाले जनतालाई सचेत गर्दै आएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “प्राकृतिक प्रकोप, भूकम्प, बाढी, पहिरो होस् वा कोरोना महामारी जुनसुकै समयमा पनि गरिब कामदारवर्गका जनता मर्नुपरेको स्थिति छ । पुँजीवादी व्यवस्थाको विकल्प समाजवादी व्यवस्था नै हो ।”
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पुँजीवादी दलहरूले गरिब जनताको हितमा कहिल्यै काम नगर्ने हुनाले क्रान्ति वा आमूल परिवर्तनका लागि क्रान्तिकारी साहित्यहरूको रचना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयोे ।
उहाँले भन्नुभयो, “अन्याय, अत्याचारविरूद्ध लड्ने भावनाले काम गर्न नसकेसम्म कामदार जनताको मुक्ति सम्भव छैन । जबसम्म ठग, भ्रष्टहरूलाई शासन सत्तामा पु¥याउने जनता राजनीतिक र वर्गीयरूपमा सचेत हुनेछैनन् । पैसा वा अन्य लोभ प्रलोभनमा नपरी जनताका सच्चा उम्मेदवारहरू चुनावमा जिताउने छैनन् तबसम्म देश र जनताले दुःख पाउनेछन् ।”
सुविता महर्जनको सभापतित्वमा भएको उक्त साहित्य सम्मेलनमा महालक्ष्मी नगरपालिका वडा नं ६ का वडाध्यक्ष धर्म महर्जनले पनि बोल्नुभएको थियो ।

कामदारवर्गको मुक्तिको साहित्य कामदारवर्गले नै लेख्न जरूरी
गायक चन्द्रबहादुर श्रेष्ठ, कलाकारहरू एवम् साहित्यकारहरू सरस्वती डंगोल, रमेश डंगोल, सुवर्ण महर्जन, नरमान महर्जन, सुवर्ण महर्जन, ममिता श्रेष्ठ, रमेशमान महर्जन, रूपा महर्जन, मदन श्रेष्ठ, लक्ष्मीनारायण दुवाल, प्रेम प्रजापति, हरिसुन्दर पोतामहा, सुनिता गाइसी, नेक्रायुसङ्घ बुङ्गाका अध्यक्ष महेन्द्र ब्रमचार्यलगायतले देशका समसामयिक विषयबारे आफ्ना रचनाहरू वाचन गर्नुभयो । सोही अवसरमा इन्द्रेणी भजन खलःका कलाकारहरूले प्रगतिशील गीत सङ्गीत प्रस्तुत गरे । त्यस्तै, प्रभात ई. स्कूल भक्तपुर, परिणति ई.स्कूल, काठमाडौँका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

पार्टी गतिविधिहरु
समाचार