नागरिकता विधेयक पारित गर्नेहरू लेन्डुपका नयाँ अवतारहरू हुन्


काठमाडौँ, २१ जेठ । नेपाल मजदुर किसान पार्टीको आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण र नेपालको लुुम्बिनी र कपिलवस्तु गाभेर बनाइएको भारतीय नक्साको विरोधमा आइतबार माइतीघर र कोटेश्वरबाट छुट्टाछुट्टैबाट सुरू भएको विरोध जुलुस नयाँ बानेश्वर र मिनभवनमा पुगी सभामा परिणत भयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको नेतृत्वमा माइतीघरबाट सुरू भएको विरोध जुलुस ‘नेपाली लेन्डुपहरू मुर्दावाद ! देशभक्त नेपाली एक होऔं ! देशघाती नागरिकता विधेयक प्रमाणीकरण खारेज गर !’ नाराका साथ अगाडि बढेको थियो ।
सभामा केन्द्रीय सदस्य प्रजापतिले नागरिकताजस्तो संवेदनशील विषयलाई जथाभावी वितरण गर्नु भनेको नेपाललाई फिजीकरणको बाटोमा अगाडि बढाउनु हो भन्दै नेपाली जनताले देशको रक्षार्थ निरन्तर देशघाती नागरिकता विधेयकविरूद्ध आन्दोलन जारी राख्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले नागरिकता विधेयक पारित गर्ने शासक दलका नेताहरू लेन्डुप दोर्जेका नयाँ अवतार भएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने, नेपाली पुरूषसित विवाह गरेका विदेशी महिलालाई तत्काल नेपाली नागरिकता दिने र गैरआवासीय नागरिक (एनआरएन) लाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार प्रदान गर्नेलगायत ३ वटा बुँदा आपत्तिजनक र गम्भीर प्रकृतिको भएकोले राष्ट्रपतिको असंवैधानिक कदमको विरूद्ध देशभक्त जनता एक हुनुपर्ने बताउनुभयो ।
नेपालको सार्वभौमिकता र स्वतन्त्रता बचाइराख्न नागरिकता विधेयक खारेज गर्नुको विकल्प नरहेको स्पष्ट पार्दै उहाँले नागरिकताजस्तो अत्यन्त संवेदनशील विषयलाई सामान्यरूपमा लिएमा वा हेलचेक्र्याइँ गरेको खण्डमा नेपालमै नेपालीहरू अल्पमतमा परेर शरणार्थी जीवन बिताउनुपर्ने अवस्था आउने सम्भावना छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिले नेपाललाई कहिले पनि स्वतन्त्र र सार्वभौम देशको रूपमा स्वीकार गर्न नचाहेको बताउँदै भारतको इसारामा चल्ने शासक दलका नेताहरू जे गरेर पनि भारतीय शासक वर्गलाई खुसी पार्न देशघाती कदम चाल्न अग्रसर भइरहेको उल्लेख गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले विदेशीलाई नेपाली नागरिकता दिइएमा नेपालको राष्ट्रिय पुँजी ध्वस्त हुने र भारतकै इसारामा शासक दलहरू चल्ने बताउनुभयो ।
ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले विदेशी दलालकै कारण आज नेपाल सङ्कटमा परिरहेको धारणा राख्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित गर्न अस्वीकार भएको विधेयक प्रमाणीकरण गर्ने काम असंवैधानिक भएको बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले नेपाली सार्वभौमिकता र संविधान मिच्ने काम शासक दलहरूबाटै हुँदै आएको र विदेशीलाई नागरिकता दिने काम नेपालीहरूको लागि अस्वीकार्य भएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेक्रा महिला सङ्घ केन्द्रीय समिति सदस्य ममिता महर्जनले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेमकिपाले निकालेको अपिल वाचन गर्नुभएको थियो ।
कोटेश्वरबाट सुरू भएको जुलुस मिनभवनमा पुगी सभामा परिणत भएको थियो ।
उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशघाती नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति पौडेल नालायक र देशघाती भएको धारणा राख्दै त्यस्ता व्यक्तिबाट देशभक्त नेपाली जनता शासित हुन नसक्ने बताउनुभयो ।
नागरिकता विधेयकको विरोधमा नेमकिपाले गर्दै आएको विरोध एवं आन्दोलन आज सत्य साबित भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “कमजोर र शारीरिक रूपमा अशक्त व्यक्तिलाई राष्ट्रपतिमा ल्याउनुको कारण खुल्दै गएको र अझै खुल्दै जानेछ ।”
“राष्ट्रपतिबाट देशघाती नागरिकता विधेयक प्रमाणीकरण गर्नु अक्षम्य अपराध होे, यस्तो अक्षम्य अपराध गर्ने व्यक्तिको पुस्तौँ पुस्तालाई नेपाली जनताले धिक्कार्ने छन्”, उहाँले भन्नुभयो ।
कमजोर र शारीरिक रूपमा अशक्त व्यक्तिलाई राष्ट्रपतिमा ल्याउनुको कारण खुल्दै गएको र अझै खुल्दै जाने धारणा उहाँले राख्नुभयो ।
राष्ट्रपति पौडेललाई नागरिकता विधेयकमा हस्ताक्षर गर्न बाध्य पार्ने भारतीय दलालमध्ये एक प्रचण्ड भएकोले प्रचण्ड पनि देशघाती भएको उहाँले बताउनुभयो ।
प्रचण्ड हिजो भारतीय विस्तारवादको घोडा थियो, आज भारतीय दलाल बनी काम गरिरहेको छ, भारतीय दलाल प्रचण्डलाई नेपाली जनताले त्यसको जरूर बदला लिनेछ, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
नयाँ नेपाली पुस्ता भारतीय दलाल र अमेरिकी साम्राज्यवाद शासित हुनेछैन । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध सङ्घर्ष गर्ने नयाँ पुस्ता तयारी गर्ने लक्ष्यसहित नेमकिपा अगाडि बढिरहेको छ, उहाँले भन्नुभयो ।
अहिले देश आर्थिकरूपमा टाँट पल्टाइको स्थितिमा छ, भ्रष्टाचार, कमिसनतन्त्र र ठेकेदारीतन्त्रको कारण देश बर्बाद हुँदै छ, यो स्थिति आउनुमा आजसम्म सरकारमा गएका पार्टीहरू जिम्मेवार छन्, उहाँले भन्नुभयो ।
सभामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य हरिराम सुवाल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियार, केन्द्रीय सदस्य दिनेश खड्गी, नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय संयोजक मिनबहादुर बाटालगायतले बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार