जुम्ला, दैलेख र सुर्खेतका विभिन्न स्थानमा देशघाती नागरिकता विधेयकविरुद्ध सभा


जुम्ला, १९ जेठ । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै शुक्रबार विरोधसभाको आयोजना ग¥यो ।
त्यस्तै नेमकिपा जुम्लाले जिल्लाका प्रायः सबै स्थानीय तह र सदरमुकाममा नागरिकता विधेयकको विरोध गर्दै जुलुस र सभाहरू गरे । जुम्लाको सदरमुकाम खलङ्गामा भएको जुलुस र कोण सभामा नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य शिवलाल डाँगीले नागरिकता विधेयकले देशलाई सिक्किम बनाउने भएकोले विधेयक प्रमाणीकरण खारेजी गर्नुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका पूर्वअध्यक्ष नरबहादुर घर्तीले नागरिकता विधेयक पारित गर्ने शासक पार्टीहरूलाई एक दिन जनताले सजाय दिने बताउनुभयो ।
कार्यक्रम नेमकिपा जुम्ला जिल्ला अध्यक्ष पूर्णलाल खत्रीको अध्यक्षतामा भएको थियो ।
कनकासुन्दरी गाउँपालिकामा विरोध सभा
नेमकिपा कनकासुन्दी गाउँपालिकाको आयोजनामा गोठीज्यूलोमा भएको विरोधसभामा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले देशघाती नागरिकता विधेयकले देशलाई विस्तारै सिक्किमीकरण बनाउने भएकोले यसको खारेज गर्नुपर्छ भन्नुभयो ।
भारतीय विस्तारवादको पुच्छर भएर देशघाती विधेयकको प्रमाणीकरण गर्ने राष्ट्रपति र भारतकै सूत्रमा राज्य सञ्चालन गर्ने प्रधानमन्त्री प्रचण्ड दुवै देशको शत्रु भएको धारणा राख्नुभयो ।
आयोजक समितिका माधवप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा गजेन्द्रबहादुर कार्कीले पनि बोल्नुभएको थियो ।
सिँजामा विरोधसभा
सिँजा गाउँपालिकाको नराकोटमा पनि विरोध सभा भयो । उक्त सभामा पार्टी जिल्ला सचिव लालबहादुर बुढाले नागरिक विधेयक प्रमाणीकरणको विरोध गर्नुपर्नाको कारणबारे प्रस्ट पार्नुभएको थियो ।

हिमा गाउँपालिकामा सभा
नेमकिपा हिमा गाउँपालिकाको आयोजनामा पनि नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा सभा भयो ।
जिरबहादुर शाहीको अध्यक्षतामा भएको सभामा दीपराज शाही र भरतबहादुर शाहीले बोल्नुभएको थियो ।
त्यसै गरी तिला गाउँपालिकामा उक्त विधेयकको विरोधमा नारा, जुलुस र कोण सभा गरी जनतालाई सचेत गर्ने काम भयो ।

दैलेख । देशघाती नागरिकता विधेयकको प्रमाणीकरण र नेपालको लुम्बिनी र कपिलवस्तु गाभेर तयार गरिएको भारतको नक्साको विरोधमा नेपाल मजदुर किसान पार्टी, दैलेख जिल्ला समितिले शुक्रबार विभिन्न पालिकाहरूमा प्रदर्शन तथा सभाको आयोजना गरेको छ ।
नेमकिपाले चामुण्डाविन्द्रासैनीको जम्बुकाँध, डुङ्गेश्वर गापाको डुङ्गेश्वर, गुराँस गापाको रानीमत्ता, महाबु गापाको गैँडाबाजमा विरोध प्रदर्शन भएको हो ।
जम्बुकाँध
जम्बुकाँधमा आयोजित जुलुसपछिको सभामा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ लाई संसद्को अनुमतिबिना वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेको संसद्को सर्वोच्चता र संसदीय परम्पराविपरीत छ भन्नुभयो । उहाँले संसद छलेर सो विधेयक प्रमाणीकरणको लागि वर्तमान राष्ट्रपतिसमक्ष अनुरोध गरेको अनाधिकार र प्रजातन्त्रविपरीत हो भन्दै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका विदेशी व्यक्तिले समेत वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने विधेयकको प्रावधान नेपालीको हितमा छैन भन्नुभयो ।
कार्यक्रममा चाविनपा, वडा नं ७ का वडाध्यक्ष इन्द्रप्रसाद चौलागाईँले राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण अविलम्ब खारेज हुनु जरूरी छ भन्नुभयो ।
चाविनपा, वडा नं ३ का वडाध्यक्ष दीपबहादुर शाहीले नागरिकता विधेयकमा भएको प्रमाणीकरणको विरोध गर्नुभयो ।
डुङ्गेश्वर गापा
डुङ्गेश्वर बजारमा आयोजना गरिएको विरोध सभामा पार्टी जिल्ला अध्यक्ष जगत ओलीले भारतीय विस्तारवादले नेपालको लुम्बिनी र कपिलवस्तुसमेत गाभेर तयार गरेको र जेठ १४ गते भारतको संसद् भवनमा राखेको नक्सा नेपालको सार्वभौमिकता र भूअखण्डतामाथि भारतीय विस्तारवादको हस्तक्षेप हो भन्नुभयो ।
कानुन अध्ययन समाजका शिवराज दाहालले भारतले तयार पारेको नयाँ नक्सा खारेज गर्न गराउन जरूरी छ भन्नुभयो ।
गुराँस गापा
गुराँस गाउँँपालिकाको रानीमत्तामा आयोजित कार्यक्रममा नेमकिपा दैलेख जिल्ला समिति सदस्य हस्त घलेगुरूङले राष्ट्रपति पौडेलले नागरिकता विधेयकमा प्रमाणीकरण गरेको संसद्को सर्वोच्चता र संसदीय परम्पराविपरीत भएकोले खारेज हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा हस्त गुरूङले भारतले तयार पारेको नयाँ नक्सा खारेज नभएसम्म देशभक्त नेपाली जनताले भारतीय विस्तारवादविरूद्ध सङ्घर्ष चालू राख्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा रेशम शाहीले देशको सार्वभौमिकता रक्षाको आन्दोलन अगाडि बढाउनुपर्ने भनाइ राख्नुभयो ।
महाबु गापा
महाबु गापाको गैँडाबाजमा आयोजित विरोध कार्यक्रममा नेमकिपाका पूर्वजिल्ला सदस्य बमबहादुर सिंहले नेपाल फिजी बन्ने सम्भावना भएको भन्दै देशभक्त नेपाली जनता एक हुनुपर्ने भनाइ राख्नुभयो ।
नेमकिपा, दैलेख जिल्ला समिति सदस्य दुर्गबहादुर थापामगरले पटकपटक जन्मको आधारमा नागरिकता वितरण गर्नु गलत हो भन्नुभयो ।

सुर्खेतमा विरोध जुलुस तथा कोणसभा
सुर्खेत । नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा देशघाती नागरिकता विधेक प्रमाणीकरण तथा कपिलवस्तु र लुम्बिनी भारतीय नक्सामा समावेश गरेको विरोधमा शुक्रबार विरोध ¥यालीसहित कोणसभा सम्पन्न भयो ।
सुर्खेतको एरिचोकमा भएको कोणसभामा नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरूङले ठूला भनिएका शासक पार्टीहरूले गरिब जनताको हितमा काम गर्नको लागि नभएर भ्रष्टाचार, कमिसन र देशघात गर्नकै लागि सरकारमा गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देश बर्बादी हुनुमा अहिलेसम्म सरकारमा जाने सबै शासक पार्टीहरू जिम्मेवार छन् । सरकारले नागरिकता विधेयक प्रमाणीकरणको गैरकानुनी निर्णय गर्नु र राष्ट्रपतिबाट प्रमाणीकरण हुनु गैरसंवैधानिक कदम हो । नेपाली लेन्डुप बन्न आतुर प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै दिन नागरिकता विधेयक पास गर्नु, यतिबेला नै भारतले नेपालको कपिलवस्तु र लुम्बिनीसमेत समावेश गरी आफ्नो अखण्ड भारतको नक्सा जारी गर्नुले सरकारको चरित्र उदाङ्गिएको छ । अब आम देशभक्त नेपाली जनताले देशद्रोहीहरू विरूद्ध आन्दोलन गर्नुको विकल्प छैन ।”
कोणसभामा नेमकिपा सुर्खेतका संयोजक हरिबहादुर बोहरा, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य निरकबहादुर शाही, नेमकिपा सुर्खेतका सदस्य शेरबहादुर शाही र गणेश खड्काले पनि कोणसभामा सम्बोधन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार