नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध बाँकेमा सभा


बाँके, जेठ १८ । नेपाल मजदुर किसान पार्टी बाँकेले संसद् छलेर राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण र लुम्बिनी र कपिलवस्तु गाभेर सार्वजनिक गरिएको भारतीय नक्साविरुद्ध पुष्पलाल चोकमा सभा ग¥यो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टी बाँकेका अध्यक्ष बखतबहादुर थापाले देशघाती नागरिकता विधेयकबारे प्रस्ट पार्दै राष्ट्रपतिको गैरसंवैधानिक कदम फिर्ता हुनुपर्ने बताउनुभयो । उहाँले देशघाती नागरिकता विधेयक कुनै हालतमा स्वीकार्न नहुने प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकता विधेयक पारित भएपछि बहुमत भारतीय नागरिकले नेपाली नागरिकता प्राप्त गर्नेछन्; नेपाली जनताका प्रतिनिधिहरू अल्पमतमा पर्नेछन् ।”
लेण्डुप डोर्जेले सिक्किमलाई भारतमा विलय गराएजस्तै नेपाल पनि भारतमा विलय हुनेमा चिन्ता व्यक्त गर्दै उहाँले देशको सार्वभौमिकता, भूअखण्डता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान कायम गर्न, असमान सन्धि सम्झौता र देशघाती विधेयक खारेज गर्न देशभक्त नेपाली जनता एकजुट हुनुपर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी बर्दियाका अध्यक्ष हरिलाल न्यौपाने, नेमकिपा बाँके जिल्ला सचिवालय सदस्य अंजिरबहादुर शाही, नेक्रा किसान सङ्घका केन्द्रीय सदस्य रसिद अहमदले देशघाती नेपाली नागरिकता विधेयक खारेजको माग गर्नुभएको थियो । कार्यक्रममा बाँकेका सचिव नवीनकुमार शाहीले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार