परिवर्तन ल्याउन जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित गर्न आवश्यक


भक्तपुर, ३० चैत । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा बिहीबार अगुवा कार्यकर्तामाझ कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “हामीले माक्र्सवादबारे अध्ययन, अन्तरक्रिया र छलफल गर्दै आइरहेका छौँ । अध्ययन गरेका पुस्तकबारे पटक–पटक छलफल गर्नु आवश्यक छ ।”
सचिव सुवालले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारबारे व्यापक कामदार जनतालाई शिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउँदै कम्युनिस्ट नामधारी एमाले, माओवादीलगायतका पार्टीहरूले माक्र्सवाद त्यागिसकेका छन्, अब व्यापक कामदार जनतालाई माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचार जनतामाझ लग्ने जिम्मेवारी नेमकिपाको काँधमा आएको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा क्रान्ति गर्न गाउँ–गाउँ पुगेर कामदार जनतालाई राजनैतिकरूपले सचेत र सङ्गठित गर्नु आवश्यक छ ।”
नेपालको नदी नाला कब्जा गर्नु, नेपालमा उद्योगधन्दा भारतको निर्देशनमा निजीकरण गरी ध्वस्त गर्नु र देशलाई भारत निर्भर गराई दाल, चामल र फलफुल एवम् तरकारीसमेत भारतबाट आयात गर्ने काम नेपाली काङ्ग्रेसले गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ नेपाली जनता नेपाली काङ्ग्रेसबाट सचेत नभए नेपालको स्वाधीनता र सार्वभौमिकतामा आँच पुग्नेछ ।”
“अहिले गाउँगाउँमा म्यानपावर कम्पनीका दलालहरू पठाएर सामान सङ्कलन गरेझैँ युवा–युवती सङ्कलन गरी १७१ देशमा सस्तो ज्यामीको रूपमा बेचिरहेको अवस्था छ । ८० लाखभन्दा बढी युवा–युवती बिदेसिन बाध्य पारिएको छ । साढे तीन लाख नेपाली युवतीहरू विदेशमा पीडित छन्् वा नारकीय जीवन व्यतीत गर्दै छन् । यसर्थ, देशभित्रै रोजगारको व्यवस्था गर्न जरुरी छ र गोर्खाभर्तीलगायतका विदेशीको लागि कार्य अविलम्ब रोक्नु आवश्यक छ,” उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले भन्नुभयो, “पार्टीका विभिन्न समितिहरूले त्रैमासिक वा चौमासिक कार्य योजना बनाई जनताको सेवा गर्ने कार्य गर्नु आवश्यक छ । शासक दल सङ्ख्या पु¥याउन जुनसुकै अपराध गर्न तयार देखिएको छ । तर, हामी सिद्धान्त, मूल्यमान्यता, राजनैतिक नैतिकता, इज्जत, मान सम्मानमा असर पर्ने गरी कुनै सम्झौता गर्दैनौँ । साहित्यलाई एक राजनैतिक हतियारको रूपमा प्रयोग गर्र्छाैँ, साहित्यिक तथा सांस्कृतिक गतिविधिबाट जनतालाई सचेत र सङ्गठित गर्ने कार्य गर्छौँ ।”
उहाँले नयाँ पुस्तालाई खेल, साहित्य, कला, सांस्कृतिक गतिविधि, अन्तरक्रिया र नयाँ–नयाँ प्रविधिको प्रयोग गरी सैद्धान्तिक र व्यवहारिक शिक्षा दिने कार्य गरी जनताको सेवक बनाउने कार्य नेमकिपाले गरिरहेको बताउनुभयो । उहाँले अरू पार्टीका कार्यकर्ताहरू पैसा, लोभ, पद बाँडेर वा सरकारी र गैरसरकारी संस्थामार्फत व्यक्तिगत र स्थानीय समस्यामा साथ दिने वचन दिँदै फकाउने र फसाउने कार्य गर्दै छन्, त्यसैले हामी सजग हुनुपर्दछ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरका एन.वी. दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुरुषोत्तम तमखुले नेमकिपा शोषण वा नाफाको आधारमा चलेको पुँजीवादी गणतन्त्रलाई विस्थापित गरी समाजवादी बन्दोबस्त स्थापना गर्ने आमूल परिवर्तनको पक्षमा रहेको बताउनुभयो ।

पार्टी गतिविधिहरु
समाचार