विचार र सिद्धान्त नमिल्ने शासक पार्टीहरूको गठबन्धन अप्रजातान्त्रिक


काठमाडौँ, १९ कार्तिक । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं. ९ निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यालय उद्घाटनपछि घरदैलो कार्यक्रम गर्दै लगनटोलमा भएको निर्वाचन सभामा केन्द्रीय सदस्य गोसाईले देश र जनताको निःस्वार्थ सेवा गर्नेबाहेक नेमकिपाको कुनै स्वार्थ नभएको बताउनुभयो ।
प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष भइसके पनि कामदार जनताको जीवनस्तरमा कुनै तात्विक भिन्नता नआएको स्पष्ट पार्दै उहाँले यसबारे शासक पार्टीका कार्यकर्ताहरूले मूल्याङ्कन गर्नुपर्र्ने बेला आएको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “शासक पार्टीका कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थमा लाग्ने नेतृत्वको गुलामी गर्न छोडेपछि देशमा प्रजातन्त्रको मिर्मिरे बिहानी आउनेछ ।”
उहाँले भन्नुभयो, “नेमकिपाले शासक पार्टीहरूलाई विरोधको लागि विरोध नगरी तिनीहरूले गरेका जनविरोधी र देशघाती तथ्य÷तथ्याङ्कलाई प्रमाणसहित विरोध गर्दछ ।”
“विचार र सिद्धान्त नमिल्ने शासक पार्टीहरूको गठबन्धन अप्रजातान्त्रिक र अपवित्र छ । देउवा र ओली नेतृत्वको चुनावी गठबन्धनले देशमा गाईजात्राको प्रहसन भइरहेको छ । आफ्नो पार्टीको लागि नभई अरूको पार्टीको लागि मत माग्नु राजनीतिक बेइमानी हो, राजनीतिक ठगी हो”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशको सार्वभौमिकता रक्षा गर्नु अहिलेको महत्वपूर्ण सवाल हो । एमसीसी पारित गरेर भारत र संरा अमेरिकाले नेपाललाई उपनिवेश बनाउने प्रपञ्च गरिरहेका छन् । एसपीपी (नेपाल र संरा अमेरिकाको युटाहा राज्यबीच भएको) को समझदारी देशको सार्वभौमिकताविपरीत छ । यसतर्फ नेपाली जनता बेलैमा सचेत हुनुपर्छ ।”
सार्वभौमिकता रक्षाको लागि नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्नु जरूरी रहेको धारणा राख्दै उहाँले ठूला शक्तिको अगाडि नेमकिपा कहिल्यै आत्मसमर्पण गर्दैन† बरू अन्तिम श्वास बाँकी रहेसम्म जनतालाई राजनीतिकरूपमा सचेत पार्ने अभियानमा नेमकिपा लागिरहनेछ भन्नुभयो ।
सच्चा नेपालीलाई नागरिकता दिनुपर्ने तर नागरिकता विधेयक ल्याएर कुनै गैरनेपालीलाई नागरिकता दिन नहुने स्पष्ट पार्दै केन्द्रीय सदस्य गोसाईले ८० लाख नेपालीलाई विदेश जान बाध्य बनाई त्यत्तिकै सङ्ख्यामा विदेशीलाई नागरिकता दिने शासक पार्टीहरूको प्रपञ्च सच्चा नेपाली जनतालाई सह्य नहुने बताउनुभयो ।
देशभक्तिपूर्ण आन्दोलन अगाडि बढाउन नेमकिपाले ५८ जिल्लाबाट सङ्घ र प्रदेशसभाको लागि उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले निर्वाचन राजनीतिक पार्टीहरूबिचको घोषणपत्रको लडाइँ भएकोले मतदाताहरूले सबै पार्टीहरूको निर्वाचन घोषणापत्र अध्ययन गरी मतदान गर्नु जरूरी रहेको बताउनुभयो ।
देश र जनताको पक्षमा कानुन बनाउन नेमकिपाका प्रतिनिधिहरूले संसद् र सडकमा सङ्घर्ष गर्ने स्पष्ट पार्दै उहाँले आफ्नो अमूल्य मत मादल चिन्ह्मा मतदान गरी नेमकिपाका उम्मेदवारहरूलाई जिताउन आग्रह गर्नुभयो ।
शासक पार्टीहरूको विकासे नारा र झूटो आश्वासनबाट मतदाताहरू सचेत हुने बेला आएको जिल्ला अध्यक्ष महर्जनले बताउनुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ का नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार सुमन महर्जनले नेमकिपाले स्थाापनाकालदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरूद्ध जनतालाई राजनीतिकरूपमा सचेत पार्दै जनताको इमानदारीपूर्वक सेवा गर्दै आइरहेको छ भन्नुभयो ।
शिक्षा, स्वास्थ्य निःशुल्क गर्न र विदेशी हस्तक्षेपबाट देशलाई बचाउन नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
नेमकिपाको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ (२) प्रदेशसभाका उम्मेदवार राजेन्द्र श्रेष्ठले परिर्वतनको बाहकको रूपमा नेमकिपा रहेको धारणा राख्दै शासक पार्टीहरू देश र जनताको सेवामा असफल भइसकेको बताउनुभयो ।
नेमकिपाको तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ (१) प्रदेशसभाका उम्मेदवार राजु कपालीले शासक पार्टीहरूले देश र जनतालाई धोखा दिँदै आएको हुनाले मतदाताहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनु जरूरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय दामोदर कारञ्जित र रमेश डंगोलले पनि बोल्नुभएको थियो ।
नेमकिपाका समानुपतिक उम्मेदवारहरूको उपस्थिति रहेको उक्त सभामा चन्द्रबहादुर श्रेष्ठले प्रगतिशील गीत प्रस्तुत गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार