“पुँजीवादी सरकारहरूबाट बहुसङ्ख्यक कामदारवर्गको हित हुँदैन”


काठमाडौँ, १० माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा प्रज्ञा भवनमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेपालको कम्युनिस्ट आन्दोलनलाई संशोधनवाद र अवसरवादबाट जोगाउन २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिस्टहरू पुँजीवादी क्रान्तिलगत्तै समाजवादी क्रान्तिको लागि तयारी गर्छन् । रूसमा फेब्रुअरीको पुँजीवादी क्रान्तिपछि लेनिन नेतृत्वको बोल्शेविक पार्टी पुँजीवादी सरकारमा गएन र अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । पुँजीवादी सरकारमा गएको रूसको मेन्सेविक पार्टी समाप्त भयो ।”
२०४६ सालको जनआन्दोलनमा नेपालमा नेकाको नेतृत्वमा पुँजीवादी सरकार गठन भयो । कम्युनिस्ट दाबी गरेको, तत्कालीन माले, माक्र्सवादी र नेकपा (संयुक्त मानन्धर) लाई समाजवादी क्रान्तिको तयारीमा लाग्न सुझाव दियो । तर, नेमकिपाले कम्युनिस्ट दाबी गरेका तत्कालीन माले, माक्र्सवादी (सहाना प्रधान), संयुक्त (विष्णुबहादुर मानन्धर) नेका नेतृत्वको सरकारमा गयो । यसकारण, नेपालमा कम्युनिस्ट आन्दोलन कमजोर भयो, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुँजीवादी सरकारमा कम्युनिस्टहरू भागबन्डा खान जानु घुस खानुजत्तिकै हो । नेपालमा अहिले यही भइरहेको छ । किनभने, पुँजीवादी सरकारबाट कामदारवर्गको हित हुँदैन ।”
नेमकिपाले लेनिनवादी नीतिअनुसार निर्वाचनलाई उपयोग गर्ने र पुँजीवादी सरकारमा नगई देश र जनताको पक्षमा सडक र संसद्मा सङ्घर्षरत छ, देश र जनताको सेवा गर्दै छ, उहाँले भन्नुभयो ।
जनतालाई राजनीतिकरूपले शिक्षित र सङ्गठित वा भित्री तयारी नपुगेको आन्दोलन सफल हुँदैन । यसकारण, २०४६ र २०६२÷६३ सालको आन्दोलनबाट कामदारवर्गको हित नभएको हो, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “कामदारवर्गको सरकार, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, योग्यताअनुसार काम र कामअनुसार ज्याला, शोषण गर्न नसक्ने व्यवस्था समाजवाद हो । यस अर्थमा नेकाको प्रजातान्त्रिक समाजवाद, एमाले र माओवादीको ‘कम्युनिस्ट’ आवरण देखाउने दाँत हो । समाजवादी दाबी गर्ने सबै शासक पार्टीहरू पुँजीवादी पार्टीको भागबन्डा खाँदै छन् ।”
एमाले प्रमुख विपक्षीको भूमिका निर्वाह गर्ने र संसदीय व्यवस्थाको मूल्यमान्यताअनुसार सरकारको विकल्प दिनेभन्दा पनि गठबन्धन सरकारसँग न्यायाधीशहरू भागबन्डा खाने, संवैधानिक नियुक्तिमा भागबन्डा लिने र संसदीय समितिको सभापति भागबन्डा खानेमा लाग्यो, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता र अमेरिकी सेना आएर नेपालको सैनिक व्यारेक कब्जा गर्ने एसपीपी साझेदारीको समर्थन गर्नेहरू कम्युनिस्ट हुनसक्दैनन् । जन्मको आधारमा विदेशीलाई नेपालको नागरिकता दिने र ती विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने ऐन पारित गर्नेहरू कम्युनिस्ट हुनेछैनन् ।”
उहाँले भन्नुभयो, “लेनिन पुँजीवादको विकास भइनसकेको नेपालजस्तो अर्धसामन्ती र अर्धउपनिवेश देशमा सोझै समाजवादी क्रान्तिमा जान सक्ने बताउनुभएको छ । एमाले र माओवादीलगायत कम्युनिस्ट दाबी गरेका पार्टीहरूले पुँजीवादी क्रान्तिको कुरा गरेको हुँदा तिनका कतिपय कार्यकर्ता ठेकेदारको पछि लाग्ने र उपभोक्ता समितिमा बसेर खानेमा लागेका छन् ।”
सचिव सुवालले भन्नुभयो, “हमासको प्रत्याक्रमण हुँदा इजरायलमा ‘सिक्न र कमाउन’ पठाइएका १० जना नेपाली विद्यार्थीको ज्यान गुम्यो भने एक जना विद्यार्थी बेपत्ता अवस्थामा छ । ७५ वर्षदेखि युद्ध भूमि इजरायलमा विद्यार्थी र युवालाई पठाउने प्रधानमन्त्री, मन्त्री, सचिव र सल्लाहकारहरू जिम्मेवार हुन् ।”
उहाँले भन्नुभयो, “प्यालेस्टिनको तेल र ग्यास खानी कब्जा गर्न इजरायली फासीवादले अमेरिकी साम्राज्यवादको हातहतियार ल्याएर प्यालेस्टिनी भूमि कब्जा र जातीय नरसंहार गरेको हो ।”
नेपालको नदीनाला, जलविद्युत्, जङ्गल, खानी, गिटी ढुङ्गा कब्जा गर्न भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेपाली भूमि कब्जा र नेपालीको संहार गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । भारतीय एकाधिकार पुँजीले नेपालको जङ्गल कब्जा गरिसक्यो, चुरेको गिटी ढुङ्गा कब्जा गर्दै छ । चुरे दोहन भए नेपालको तराई मरूभूमिमा परिणत हुनेछ, उहाँले भन्नुभयो ।
सरकारले गोर्खाभर्तीमार्फत नेपाली युवालाई बेलायती र भारतीय सेनामा भर्ना गर्न पठाएकोमा नेपाली जनताको विरोध भइरहेको छ । अहिले नेपाली युवालाई युक्रेन, फ्रान्स, इजरायल, अमेरिका र रूसको सेनामा पनि पठाइएको सार्वजनिक भयो । यसरी पठाइएकाहरूमा अवकाश प्राप्त र बिचमा छोडेका नेपाली सेना पनि छन् । सरकारको जानकारबिना नेपाली सेनाका जवानहरू विदेशी सेनामा जाने थिएन । नेपाली युवाहरूलाई १७१ देशको बहुराष्ट्रिय कम्पनीहरूको लागि सस्तो ज्यामी बन्न पठाइएको छ । नेपाली युवा विदेशी भाडाको सेना बन्न र बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न जन्मेका होइनन् । वैदेशिक रोजगारीमा गएका नेपाली युवाको दैनिक ८–१० लास फिर्ता आइरहेको छ । यसकारण, वैदेशिक रोजगारी र गोर्खाभर्ती खारेज गरी नेपाली युवालाई स्वदेशमा रोजगारी दिनु आवश्यक छ । पर्यटक भिसामा विदेश गएर रोजगारीमा लागेकाहरू पनि ठगिएका छन्, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले बिजुली उत्पादन नगरी नदीनाला भारतलाई दिनु पनि देशघात हो । भारतसँग खाना पकाउने ग्यासलगायत पेट्रोल, डिजेल र कोइला आयात गर्ने र बिजुली भारतलाई दिने पनि देशघात नै हो । ६ महिना यता ४ अर्ब रूपैयाँको तरकारी आयात गरियो । दाल, चामलसमेत खर्बौँ रूपैयाँको आयात गरिन्छ । कृषिप्रधान देशमा खाद्यान्न, तरकारी आयात गर्नु पनि देशघात हो ।”
सरकारले स्वास्थ्य बीमा गरेका नेपालीले तिरेको अर्बौँ रूपैयाँ अस्पतालहरूलाई भुक्तानी गरेको छैन । माघ १ गतेदेखि स्वास्थ्य बीमामार्फत उपचार गर्न बिरामीले १० प्रतिशत नगद बुझाउनुपर्ने सरकारी निर्णयले गरिब बिरामीको उपचार नपाएर मर्नेछन्, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “राजनीतिक पार्टी एउटा विश्वविद्यालयजस्तै हो । नेमकिपाले कार्यकर्ता र शुभेच्छुकहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा शिक्षित गर्न प्रकाशनलाई जोड दिइरहेको छ । भर्खरै यही कार्यक्रममा हामीले ‘स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा’ पुस्तक सार्वजनिक ग¥यौँ । एकडेढ वर्षयता पार्टी र जनवर्गीय सङ्गठनहरूले ‘समाज विकासको एक झलक’, ‘भारतीय लेखकहरूको दृष्टिमा भारत’, अमेरिकी ‘प्रजातन्त्र’, ‘युक्रेनमा अमेरिकी साम्राज्यवादको छद्म युद्ध’, ‘एमसीसीविरुद्ध नेपाल मजदुर किसान पार्टीको सङ्घर्ष’ लगायत पुस्तकहरू प्रकाशित गरे ।”
नेमकिपाको ५० औँ स्थापना दिवसमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लगायत कार्यकर्ताहरूलाई बधाई दिनुहुने नेपालसमेत हेर्ने प्रजग कोरियाका महामहिम राजदूत चोई हुई चोललाई धन्यवाद दिन चाहन्छु, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले कम्युनिस्ट नाम राखेर जनतामाझ भ्रम सृजना गर्ने अवसरवादी र संशोधनवादीहरूलाई जनतामाझ उदाङ्ग्याउँदै जानुपर्ने बताउनुभयो ।
उहाँले नेपाली जनता सचेत भइसकेको अवस्थामा अब सत्तामा बसेर छलछाम गर्न नसक्ने र त्यस्ता पार्टीलाई जनताले कारबाही गर्नेछन् भन्नुभयो ।
पार्टी स्थापनाको ५० औँ वर्षको सुअवसरमा नेपालसमेत हेर्ने प्रजग कोरियाको महामहिम राजदूत चोई हुई चोलले पठाउनुभएको बधाई सन्देश पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले वाचन गर्नुभएको थियो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले नेपालका शासक दलहरू नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायत पार्टीहरू पुँजीवादी पार्टीमा परिणत भएको बारे प्रस्ट पार्नुभयो ।
प्राध्यापक समाजका प्रकाशकुमार श्रेष्ठले इन्डोनेसियाको कम्युनिस्ट पार्टीको शिक्षाबाट नेपालका कम्युनिस्टहरूले शिक्षा लिनुपर्ने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका नरेश खत्रीले कम्युनिस्ट घोषणापत्रबारे व्याख्या गर्दै समाजमा आमूल परिवर्तनको लागि वर्गसङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
इन्जिनियरिङ समाजका सुजन माकले फासीवाद र नाजीवादबारे प्रस्ट पार्दै कुनै पनि किसिमको फासीवाद र नाजीवाद देशको पक्षमा नहुने भएकोले जनता सचेत भई फासीवादविरूद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले प्यालेस्टिनी जनतामाथि इजरायली नरसंहार र अमानवीय सफायाको विरोध गर्नुभयो ।
कार्यक्रममा अधिवक्ता अनिता जधारीले नेमकिपा स्थापनाका आधारहरूबारे प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्लाका विश्वक डंगोलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ केन्द्रीय समितिबाट प्रकाशित ‘स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा’ पुस्तक प्रमुख अतिथि पार्टी सचिव सुवालले विमोचन गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार