काठमाडौँको फोहरमैला व्यवस्थापन जटिल कसरी भयो ?


काठमाडौँ, १६ साउन । सहरी विकास मन्त्री सीता गुरुङको संयोजकत्वमा गठित काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन समितिको उच्चस्तरीय समितिले काठमाडौँ उपत्यकाका प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य र फोहरमैलाबाट प्रभावित हुने धुनीबेँसी नगरपालिकाका प्रमुख र ककनी गाउँपालिकाका अध्यक्षसँग मन्त्रालयमा मङ्गलबार छलफल ग¥यो ।
मन्त्री गुरुङले मन्त्रिपरिषद्को निर्णयअनुसार समितिले १० दिनभित्र सुझाव दिनुपर्ने तर सम्बन्धित पक्षसँग सुझाव लिनुपर्ने हुँदा विलम्ब भइरहेको उल्लेख गर्दै सांसदहरूलाई तीन दिनभित्र काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनको सुझाव मन्त्रालयलाई उपलब्ध गराउन अनुरोध गर्नुभयो ।
मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठले संविधानमा फोहरमैला व्यवस्थापनको जिम्मा स्थानीय पालिकाको हुने उल्लेख भएको चर्चा गर्दै नेपवेस्ट कम्पनी प्रात्ेट लिमिटेडलाई प्रतिपरिवार मासिक २४८ रुपैयाँ शुल्क बुझाउने गरी काठमाडौँ उपत्यकाका १८ मध्ये १० नगरपालिकाले फोहर उठाउन लगाउने सम्झौता गरेको उल्लेख गर्नुभयो ।
फोहर व्यवस्थापन कार्ययोजना २०८० का आयोजना निर्देशक रवीन्द्र बोहराले फोहर थान्को लगाइने ठाउँका पीडित जनताले आफूहरूलाई मुआब्जा दिएर स्थानान्तरण गर्न आग्रह गरेको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले मात्र आफ्नो फोहर आफँै व्यवस्थापन गरी नमुना कार्य गरेको बताउनुभयो ।
धुनीबेँसी नपाका प्रमुख बालकृष्ण आचार्यले फोहर राखिने ठाउँमा झुल राखेर खाना खानुपर्ने अवस्था भएको उल्लेख गर्दै भक्तपुर नगरपालिकाले मात्र सिसडोल र बञ्चरे डाँडामा फोहर नपठाउने पत्र पठाएको बताउनुभयो ।
ककनी गापाका अध्यक्षले एक वर्षमा तीन जना सहरी विकासमन्त्री फेरिएको तर सहमतिअनुसार काम नभएको उल्लेख गर्दै मानिस र फोहर एकै ठाउँमा रहन नसक्ने बताउनुभयो ।
नेकाका सांसद अर्जुन नरसिंह केसीले आफू सहरी विकासमन्त्री हुँदा फोहरमैला व्यवस्थापन सङ्घीय मामिला मन्त्रालयमा परेको उल्लेख गर्दै फोहरमैला व्यवस्थापन जटिल समस्या भएको उल्लेख गर्नुभयो ।
रास्वपाका सांसद गणेश पराजुलीले फोहरमैला व्यवस्थापन विषय पालिकालाई पन्छाएर राज्य पन्छिन नहुने बताउनुभयो ।
नेकाका प्रदेश सांसद मधुकुमार श्रेष्ठले फोहर राखिएको ठाउँमा माटो नहालिएको र पक्राउ भएकालाई रिहा नगरिएको बताउनुभयो ।
नेकाका प्रतिनिधिसभा सदस्य रामनाथ ढकालले सिसडोल र बञ्चरे डाँडाको फोहर पानी कुडुले र गल्छीसम्म बग्ने बताउनुभयो ।
माओवादीका सांसद हितबहादुर तामाङले कम्पोस्ट मल आ–आफ्नो स्थानीय तहमा बनाउने कि बञ्चरे डाँडामा ल्याएर बनाउने भनी प्रश्न गर्नुभयो ।
एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले काठमाडौँका ६५ लाख जनताको फोहरमैला दुई स्थानीय पालिकाले जिम्मा लिन नसक्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फोहरमैलाबाटै सरुवा रोग फैलिने र अस्पतालको फोहरमैला झन् जोखिमपूर्ण हुने उल्लेख गर्दै घर घरबाट कुहिने र नकुहिने फोहर छुट्याउने व्यवस्था हुनुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराउनुभयो ।
देशको सन्तुलित विकास नगरी काठमाडौँमा बसाइँसराइ बढाइएको हुँदा फोहरमैला, खानेपानी, सडकजाम, प्रदूषण बढेको उल्लेख गर्दै सांसद सुवालले भक्तपुर नगरपालिकाले फोहरमैला व्यवस्थापन आफँै गर्ने गरेको बताउनुभयो ।
सांसद सुवालले अगाडिको काठमाडौँ उपत्यका विकास कार्यान्वयन समिति र हालको काठमाडौँ विकास प्राधिकरणले फोहरमैला र फोहर ढल व्यवस्थापन नै नगरी बस्ती विकास गरेको हुँदा अहिले समस्या जटिल भएको उल्लेख गर्नुभयो ।

पार्टी गतिविधिहरु
समाचार