nwpp@ntc.net.np +1 6610026
“कला–संस्कृति तथा सम्पदाहरू संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्य ठान्दै छ”

“कला–संस्कृति तथा सम्पदाहरू संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्य ठान्दै छ”

नेपाल पूर्वको एक प्राचीन देश हो । आजसम्म नेपाल र नेपाली जनताले देशका विभिन्न भाषा, कला, संस्कृति, साहित्य तथा आफ्नोपनलाई जोगाएका छन् र संवद्र्धन गर्ने काममा निरन्तरता दिँदै छन् । यस पुनित कार्यमा भक्तपुर नगर र जिल्लाका जनता निरन्तर सहभागी भइरहेका छन् । भक्तपुरका जनताले आफ्नो मूर्त तथा अमूर्त कला–संस्कृति, भाषा र साहित्यलाई पनि जीवन्तता प्रदान गर्दै छन् ।
हरेक भाषा, संस्कृति, भेषभूषा एवं खानपान तथा वास्तुकलामा समेत तत् ठाउँको भूगोल र सभ्यताको छाप पाइन्छ । भक्तपुरको वर्तमान कला–संस्कृति तथा सम्पदाहरू संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नयाँ पुस्ताले आफ्नो कर्तव्य ठान्दै छ । यसकारण, कला र संस्कृतिको मर्मत, सम्भार, पुनःनिर्माण र प्रवद्र्धन कार्यमा भक्तपुर नगरका जनता श्रमदान र आ–आफ्नो गच्छेअनुसार चन्दासमेत प्रदान गरी दिनरात सक्रिय छन् । यी कार्य गर्ने प्रेरणाको स्रोत ऐन–कानुन, नाफा र लोभलालच होइन बरु ‘देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने’ कर्तव्यबाट घच्घच्याइएको मानवीय भावना हो ।
सिद्धान्ततः स्थानीय पालिकाहरू प्रजातन्त्रका आधार हुन् । स्थानीय पालिकाका जनता र जनप्रतिनिधिहरू ‘देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने’ भावनाबाट प्रेरित नभएका गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रका अनेक निकाय, कार्यालय, विभाग र मन्त्रालयहरूमा भ्रष्टाचार, अनियमितता र अख्तियार दुरूपयोगका अनेक कानुनी र नैतिक प्रश्नहरू उठ्दै छन् । नेपाली जनताका आफ्ना अनुभवहरूले नै बताउँछन्– राजनैतिक दल र नेताहरूजस्तै शिक्षालय र शिक्षकहरू जहिलेसम्म सङ्कीर्ण स्वार्थहरूबाट निर्लिप्त हुँदैनन्, तबसम्म देश र जनताको इच्छा र आकाङ्क्षालाई मूर्तरूप दिन सक्ने छैनन् ।
देशका केही अर्थशास्त्रीहरूले अरुसँग मागेर देश विकास गर्ने कल्पना गर्छन् तर सो नीति २०–२५ वर्ष पहिले नै नेपालमा असफल भइसकेको हो । मित्र राष्ट्रहरूले नेपाल र नेपाली जनतालाई प्रदान गरेका दर्जनौँ आधुनिक कल–कारखाना, उद्योग र सेवाका साधन एक एक गरेर बेच्दै र दुरूपयोग गर्दै निजीकरण गर्दा नेपाली जनतालाई पछुताउनुपर्ने स्थितिमा पु¥याएको ताजा उदाहरण हामीसँगै छ ।
गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रले समेत नेपाल र नेपाली जनतालाई आफ्नो देशलाई आत्मनिर्भर बनाउने भावनाबाट प्रेरित नगरी विदेशीको भर र भनाइमा काम ग¥यौं भने ८० लाख युवाहरू मात्रै विदेसिनुपर्ने होइन बरु योभन्दा अझ बढी दुर्दशा भोग्नुपर्ने अवस्था आउने सम्भावना छ ।
नगरपालिकालाई विकास भई नसकेको राणाकालको सेरोफेरोको पालिकाहरूसँग दाज्नु अत्यन्त अनुदारवादी विचार देखिने छ । साथै ‘नगर राज्य’ बारे विश्वविद्यालय र महाविद्यालयहरूको विकास स्वयं खुला पुस्तककै विषय हो । यसकारण, भक्तपुरका जनता ख्वप विश्वविद्यालयको माग गर्दै आएको लामो समय भयो । यसबारे बुद्धिजीवीहरूबिच छलफल चलाउनु जरुरी छ ।
मानव सभ्यताको अध्ययनको निम्ति विश्वविद्यालयका प्राध्यापकहरू म्युजियम वा सङ्ग्रहालयमा कक्षा सञ्चालन गर्छन् । जीवशास्त्रको अध्ययनको निम्ति चिडियाघर वा जू पुग्छन् । चित्रकला, वास्तुकला र संस्कृतिको अध्ययनको निम्ति ‘सांस्कृतिक नगर’ मा अध्ययन भ्रमण गर्ने गर्दछन् । तारा मण्डल, ग्रह र आकाशगङ्गाको अध्ययनको निम्ति हरेक नगरमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशालाको निर्माण आवश्यक हुन्छ ।
२०४८ सालदेखि नै संसद्मा भक्तपुरलाई ‘सांस्कृतिक नगर’ घोषणा गर्ने र सम्भव भएका नगरहरूमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशाला बनाउनु पर्नेबारे चर्चा चलेको थियो । ‘सांस्कृतिक नगर’ घोषणा नगरेसम्म भवन निर्माणमा सबै नगरमा लागु हुने ऐन–कानुनबाहेक निश्चित शैली र मापदण्ड लागु गर्न जनतालाई शिक्षित गर्नुपर्ने हुन्छ । छलफल र अनुभवको कमीको कारण यसबारे देशले आवश्यक ऐन कानुनको तर्जुमा गर्न पछि परेको अनुमान हुन्छ ।
स्थानीय तहका विकास निर्माण कार्यहरूमा ठेक्का दिँदा ठेकेदारहरू स्थानीय कला–संस्कृति एवं प्राचीन (ऐतिहासिक) सम्पदाबारे ज्ञान नहुने र नाफालाई नै केन्द्र बनाई ठेक्का दिँदा भक्तपुर, अन्य नगर र जिल्लाका कला र सम्पदाहरू अङ्गभङ्ग हुने र म्हासिने सम्भावना धेरै छन् । त्यसका उदाहरणहरूमध्ये एक यहीँ पशुपति महादेव मन्दिर पनि हो । यसकारण, यसबारे सरकारका सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
अन्तमा, भक्तपुर नगरपालिकाका मेयर, जनप्रतिनिधि साथीहरू, कर्मचारी र सहयोगी सम्पूर्ण साथीहरूलाई पाँचदिने भक्तपुर महोत्सवको आयोजना गरी विदेशी मित्र, देशका विभिन्न सङ्घ संस्थाका साथीहरूलाई समेत भक्तपुर नगरको कला, संस्कृति र सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्दै गरेका धरोहरहरूको अध्ययन भ्रमणको अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छु । आशा एवं विश्वास छ– भक्तपुर नगरपालिकाले जनतासँग एकाकार भई अझ आफ्नो सेवा, कर्तव्य एवं विकास निर्माण कार्यमा नयाँ नयाँ उपलब्धिहरू प्राप्त गर्ने कार्यमा सफलता प्राप्त गर्नेछ ।
भक्तपुर नगरपालिकाको ‘सांस्कृतिक महोत्सव’ को सिलसिलामा देश र विदेशका धेरै मित्र र साथीहरूसँग भेटघाट गर्ने अवसर दिनुभएकोमा भक्तपुर नगरका मेयर, जनप्रतिनिधि साथीहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

(भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सवको उद्घाटन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले मङ्सिर २८ गते व्यक्त गर्नुभएको मन्तव्यको सार – सं.)

पार्टी गतिविधिहरु
समाचार