सुन तस्करीमा संलग्न प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि कारबाही हुनु जरुरी


काठमाडौँ, १० साउन । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्नुभयो । उक्त बैठकमा उहाँले राख्नुभएको मन्तव्यको सार –
दस वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४११७ किलो सुन कसरी तस्करी भयो ? बहुदल र गणतन्त्रको ३४ वर्षयता ठमेलको सार्वजनिक कमलपोखरीमा छायाँ कम्प्लेक्स भवन कसरी निर्माण भयो ? ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता कसरी भयो ? नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी कसरी बनाइयो ?
कुन – कुन प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको पालामा के कति सुन तस्करी भए ? भारतीय शासक वर्गले नेपालमा प्रधानमन्त्री बनाउने विषय पनि सार्वजनिक भएजस्तै कुन कुन शासक दलका नेताहरूले सुन तस्करलाई दुहुनो गाई बनाए ? यसको छानबिन गरी दोषीमाथि कारबाही हुनु जरुरी छ ।
एक दशकयता देशको तीन गुणा सार्वजनिक ऋण र तीनगुणा व्यापार घाटा बढ्यो, के विकास यही हो र ? कुन कुन सरकारको पालामा कति कति व्यापार घाटा र सार्वजनिक ऋण बढ्यो ? छानबिन गरी दोषीमाथि कारबाही हुनु जरुरी छ ।
संसद् बैठक चालू रहेको बेला संसद्ले बनाएको ऐनको व्यवस्थालाई सरकारले बाधा अड्काउ फुकुवाको नाममा परिवर्तन गर्नु संसदीय सर्वोच्चताविपरीत हो । यससम्बन्धी आजको यो कार्यसूचीमा राखिएको विषय हटाउनु जरूरी छ ।
गत हप्ता नेपाल आएका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले एमसीसी परियोजना कार्यान्वयन ढिलो भई बढ्ने लागत नेपालीलाई तिराउने दबाब र धम्की दिएको सार्वजनिक भयो । प्रमलगायत शासक दलका को – को नेताहरूले अमेरिकी सहायकमन्त्री लुसँग भेटे ? अमेरिकी मन्त्रीलाई संसद्मा एमसीसी पारित व्याख्यात्मक घोषणा अमेरिकी सरकारबाट अनुमोदन नभएकोबारे किन सोधिएन ?
सेनाबाट देशको सार्वभौमिकता रक्षा र सीमा सुरक्षा गर्न महत्वपूर्ण योगदान पुग्छ । नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्ताव देशको हितमा छैन । नेपाली सेनाको पर्याप्त सङ्ख्या पु¥याएर विकास निर्माणको काममा समेत सेनालाई खटाउनु जरुरी छ । तर, सेनालाई योजनाको ठेक्का दिनु हुँदैन ।
सुन तस्करीबारे अन्य सांसदहरूको भनाइ
सुन तस्करीबारे रास्वपाका रवि लामिछानेले भन्नुभयो, “भरियामार्फत मालिकसम्म पुग्न सकिन्थ्यो होला नि त ? मालिकलाई समात्ने प्रयास किन गरिएन ? यसमा ठूलो सेटिङ छ ।
भुटानी शरणार्थी, ललिता निवास, सुन काण्डको जरो कहाँ छ, सबै सरकारलाई थाहा छ । केही कर्मचारीहरूलाई थुनेर फाइल खोलेजस्तै गरेर फाइल गन्न सुरु गरे सरकारको दिन गन्ति सुरु हुन्छ ।”
राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले भन्नुभयो, “विदेशीले सूचना र दबाब दिएपछिमात्र सुन तस्करी पक्राउ पर्न थालेको भन्ने कुरा सार्वजनिक भयो । केही भरियालाई पक्रेर सुन तस्करका नाइकेहरूलाई संरक्षण गर्ने काम भएको छ । छानबिन आयोग बनाएर अनुसन्धान प्रक्रिया अगाडि बढाउनुपर्छ ।”
माओवादीका देवेन्द्र पौडेलले प्रश्न गर्नुभयो, “सरकारले केही गर्न खोज्दा सबैले चिच्याएर विरोध गरेर छानबिन गर्ने प्रक्रियालाई किन रोक्न खोजिएको हो ?”
नेकाका रामहरि खतिवडाले भन्नुभयो, “सरकारले भरियालाई समातेर मुख्य नाइकेलाई जोगाउने खेल खेल्नु हुन्न ।”
नेकाका सुनिलकुमार शर्माले भन्नुभयो, “गृहमन्त्री र अर्थमन्त्रीले थाहा छैन भन्ने नैतिक अधिकार गुमाइसक्नुभयो । उहाँहरूले कति समय लिने हो, निश्चित समयभित्र मुख्य व्यक्तिलाई पक्रनुप¥यो, होइन भने अनुसन्धानलाई सहज बनाउनको निम्ति राजीनामा गरेर प्रजातान्त्रिक व्यवस्थाको कदर गर्नुप¥यो । निश्चित समयमा पनि मुख्य व्यक्ति पक्राउ नगरी भरियामात्र पक्रियो भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु ।”

पार्टी गतिविधिहरु
समाचार