जनआन्दोलनबाट प्राप्त अधिकार उपयोग गर्दै नेमकिपा समाजवादी प्रचार अभियानमा


(पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना या राजनीतिक र मौलिक अधिकार प्राप्त गर्न २०४६ साल फागुन ७ गतेदेखि संयुक्त जनआन्दोलन भएको थियो । वाम मोर्चा र नेकाको संयुक्त आयोजनामा भएको उक्त आन्दोलनको क्रममा फागुन ८ गते नेपाल बन्द थियो । नेपाल बन्द सफल पार्न नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समितिको नेतृत्वमा भक्तपुरमा जुलुस प्रदर्शन तथा सभा भएको थियो । त्यस आन्दोलनकै सेरोफेरोमा रहेर नेक्राविसङ्घ जिल्ला समिति भक्तपुरका तत्कालीन अध्यक्ष रवीन्द्र खर्बुजासँग भएको कुराकानीको सङ्क्षिप्त जानकारी यहाँ प्रस्तुत छ ।–सं)

२०४६ फागुन ८ गतेको पृष्ठभूमिबारे केही बताइदिनुहुन्छ कि ?
नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि नै पञ्चायती व्यवस्थाको विरोधमा थियो । नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको सेवा गर्न पञ्चायती चुनाव उपयोग गर्दै आएको थियो । कानुनी र गैरकानुनी सङ्घर्षमार्फत पञ्चायती व्यवस्थाविरुद्ध जनतालाई सचेत र सङ्गठित गर्ने काममा नेमकिपा लागेको थियो । नेमकिपाले २०३६ चैत १२ गते पञ्चायती व्यवस्थाको विरोध एवम् बहुदलीय व्यवस्थाको प्रचार गर्न भक्तपुर–काठमाडौँसम्म ¥याली गरेको थियो । नेमकिपाले यसरी पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेको हुँदा पञ्चायती सरकारले भक्तपुरलगायत पञ्चिमाञ्चलका जुम्ला, दैलेख, कालीकोट जिल्लामा निर्मम दमन गरेको थियो । २०४५ सालमा पार्टी नै समूल नष्ट हुने गरी राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको थियो । उक्त काण्डमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सहित ६७ जनालाई ज्यानको मुद्दा लगाइएको थियो । २०४६ फागुन ७ गतेदेखि वाममोर्चा र नेकाको संयुक्त जनआन्दोलन भएको थियो । आन्दोलन उचाइमा पुग्यो र पञ्चायती व्यवस्था अन्त्य भयो ।

२०४६ फागुन ८ को घटना विवरणबारे जानकारी दिनुहुन्छ कि ?
संयुक्त जनआन्दोलनको पहिलो चरणको कार्यक्रमअनुसार फागुन ८ गते नेपाल बन्द थियो । आन्दोलन सफल पार्न फागुन ७ गते विभिन्न जिम्मा दिइएको थियो । त्यस जिम्माअनुसार बन्द सफल पार्न बिहानदेखि साथीहरू सक्रिय थिए । भक्तपुर नगरभित्र तत्कालीन पञ्चहरू बन्द असफल बनाउन पसल खोल्दै थिए । बन्द सफल पार्न फागुन ८ गते बिहान साथीहरू सूर्यमढी पुगे । सूर्यमढीबाट सानो कोणसभापछि जुलुस सुरु भयो । अर्काे कोणसभा तलातुंछीमा पनि भयो । पसल बन्द गर्न अनुरोध गर्दै प्रदर्शनकारीहरू दत्तात्रय हुँदै वाचु टोलनेर पुगेपछि प्रहरी भ्यान आयो । प्रहरीहरू छेउमा लागे । जुलुस गोल्मढी र सुकुलढोकामा पुग्दा प्रहरीले जुलुस रोक्ने प्रयास गरे पनि असफल भयो । तौमढीमा पुगी आधी प्रदर्शनकारी नासमनातर्फ गइसकेपछि प्रहरीले गोली चलायो । गोलीबाट राजकुमार सुवाल र हरिकृष्ण भुजु त्यही ढले, सहिद भए र दर्जनौँ घाइते भए । साकोठामा कृष्णराम दुवाल र त्रिपुरासुन्दरीमा निर्मलकुमार शाक्यलाई गोली लाग्यो र सहिद भए । नासमनामा सभा गरी जुलुस सम्पन्न भयो । तर पनि ठाउँ–ठाउँमा गोली चलाइयो । गोलीबाट दुई दर्जन जति घाइते भए । प्रहरीहरूले घरको ढोका फोड्दै छाना छानासम्म पुगेर आतङ्कित पारे । उक्त दिन रातिसम्म प्रदर्शनकारीहरूले प्रहरीसँग भिड्दै थिए ।

शान्तिपूर्ण जुलुसमा गोली चलाउनुपर्ने कारण के थियो ?
शान्तिपूर्ण जुलुसमा गोली चलाउनुपर्ने स्थिति देखिँदैन । तर, त्यस शान्तिपूर्ण प्रदर्शनमा प्रतिबन्धित गोली चलाइयो । यसमा दोषी पञ्चायती शासकहरू नै थिए ।

सहिद र घाइतेहरूको स्थिति के कस्तो थियो ?
गोली लागी सहिद भएकाहरूको शव कहाँ लग्यो, कसैलाई थाहा थिएन । दोस्रो दिन फागुन ९ गते वीर अस्पतालमा शव राखिएको हल्ला भयो । हामी वीर अस्पतालमा पुग्यौँ । तर, त्यहाँ देखाइएन । घाइतेहरू अस्पतालमा थिए । डाक्टरसँग मेरो परिचय भयो । घाइतेहरूको स्थिति बुझ्न के थालनी भएको थियो प्रहरीहरू कोठातिर आए । मलाई ढोकाबाट बाहिर लान प्रहरीले दबाब दियो । प्रहरी र डाक्टरबिच वादविवाद भयो । बिरामी भएको ठाउँमा डाक्टरको अनुमति बेगर आउन नपाउने डाक्टरले भने । तर, प्रहरी जवान ‘अपराधी’ हरूलाई जे पनि भन्न र गर्न सक्छु भनी जङ्गिए । केही दिन घाइतेहरूलाई अस्पतालमै राखे । कतिलाई सेन्ट्रल जेल पठाइयो भने कति हिरासतमै राखियो । अन्ततः बहुदल स्थापना भयो र चैत २७ गते सेन्टर जेलमा रहेका र हिरासतमा रहेका साथीहरू छुटे ।

फागुन ८ को गोलीकाण्डबाट जनआन्दोलनमा कुनै असर परेन ?
फागुन ८ गते भक्तपुरमा चलेको गोलीले चारजना युवा–विद्यार्थीहरू सहिद भएको समाचार एक कान दुई कान मैदान हुँदै जिल्लाजिल्लामा फैलियो । जिल्लाजिल्लामा आन्दोलन अगाडि बढ्यो । आन्दोलन विफल पार्न पञ्चायती सरकारले केन्द्रीय आन्दोलन प्रतिकार समिति बनायो† जिल्ला–जिल्लामा तत्कालीन जिल्ला सभापतिको अध्यक्षतामा आन्दोलन प्रतिकार समिति गठन गरेको थियो ।
आन्दोलन भक्तपुर, काठमाडौँ, ललितपुर, धनुषा, जनकपुर, विराटनगर हुँदै देशभर फैलिँदै थियो । धनुषा र काठमाडौँलगायत अन्य स्थानमा पनि गोली चलाइयो र प्रहरी दमन गरियो । आन्दोलनको समयमा १९ जना सहिद भए । अन्ततः पञ्चायती व्यवस्था ढल्यो र देशमा प्रजातन्त्र पुनःस्थापना भयो ।

फागुन ८ गतेको घटनापछि भक्तपुरको आन्दोलनको अवस्था कस्तो रह्यो ?
अकल्पनीय घटना घट्दा जनतामा सन्त्रास पैदा हुनु स्वाभाविक थियो । आन्दोलनमा सहभागी दलहरूको भूमिगत बैठक हुन्थ्यो । पार्टी प्रतिबन्धित अवस्थामा रहेको हुँदा त्यसबेला विद्यार्थी सङ्गठनको बैठक हुन्थ्यो । आन्दोलन रोकिएन । बरु आन्दोलनले व्यापकता पायो र पञ्चायती व्यवस्था नढाली हुँदैन भनी आन्दोलनकारीहरू लागे ।
हो, बहुदलीय व्यवस्थामा दल खोल्न पाइन्छ, सभा सङ्गठन गर्न पाइन्छ । तर, बहुदलीय व्यवस्थाले पनि बहुमत जनताको हित गरेन । दलहरू सत्तामुखी भए । जनतामा ऋणको बोझ बढ्यो । कलकारखाना निजीकरण गरियो । रोजगारीको नाउँमा युवाहरू बिदेसिँदै छन् । पुँजीवादी व्यवस्था पुँजीपतिवर्गको सञ्चालक समिति रहेछ भन्ने थाहा भयो । भ्रष्टाचार पुँजीवादको छाया साबित भयो । बहुदलको एक चम्चा पानीले जनताको समस्या समाधान नहुने ठानेरै आन्दोलनबाट प्राप्त अधिकार उपयोग गर्दै नेमकिपा समाजवादी प्रचार अभियानमा लाग्यो र लाग्दै छ ।

पार्टी गतिविधिहरु
समाचार