दूतावास घटाउने होइन, मित्र देशमा बढाउँदै जाने हो
काठमाडौँ, ९ साउन । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बुधबार सभापति सांसद राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न भयो । बैठकमा नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालमा २०८० जेठ १७ गतेदेखि २० गतेसम्मको भारत भ्रमणमा भएको ७ बुँदाको समझदारीपत्र, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको २०८० पुस १९ र २० गते भएको भारत भ्रमणमा भएको चारबुँदे समझदारीपत्र तथा प्रधानमन्त्री दाहालको २०८० भदौमा भएको चीन भ्रमणको १२ बुँदाको समझदारीपत्र, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको २०८० कार्तिक र फागुनमा भएको चीन भ्रमणमा भएका चार बुँदाको समझदारीपत्र, नेपाल र चीनबिच परराष्ट्र सचिवबिचको २०८१ असारमा भएको सो¥हौँ कूटनीतिक परामर्श बैठकमा भएको छलफल, बङ्गलादेशमा भएको हिंसात्मक घटना र नेपाली विद्यार्थीको सुरक्षा, रूस–युक्रेनको अवस्था, इजरायल–प्यालेस्टिनको युद्ध र नेपाली विपिन जोशीको अवस्थाबारे स्पष्टीकरण दिनुभयो ।
मन्त्री राणाले बङ्गलादेशमा नेपाली विद्यार्थीको समस्या र रूस तथा युक्रेन सेनामा नेपाली युवाको भर्ती, घाइतेबारे आपूmले अमेरिकी राजदूतसँग पनि राखेको उल्लेख गर्दै सोही इजरायली राजदूत र केही दिनपछि यूएईका राजदूतसँग भेट्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली विद्यार्थीहरूलाई घरखेत बेचाएर, ऋणमा डुबाएर हजारौँ सङ्ख्यामा बङ्गलादेशमा पढ्न पठाएको बेठीक भएको उल्लेख गर्दै नेपालका कलेजहरूमा विद्यार्थीहरू घटेको हुँदा सरकारले विद्यार्थीहरूलाई नेपालमै पढ्न दिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
इजरायलमा सिक्न र पढ्न पठाइएका विद्यार्थीहरूमध्ये केहीको मृत्यु र विपिन जोशी बेपत्ता भएको तर्फ सरकार गम्भीर नभएको उल्लेख गदैं सांसद सुवालले दलालले भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेविया, कुवेत, ओमानलगायतमा नेपाली महिलालाई कामदारको नाममा मानव तस्कर गरिरहेको हुँदा वैदेशिक रोजगारीमा पठाइने श्रम स्वीकृति खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषमार्फत साम्राज्यवादी देशहरूले संसारका गरिब देशलाई नवउपनिवेश बनाएको र एमसीसीले नेपाललाई पनि नवउपनिवेश बनाउने उल्लेख गर्दै सांसद सुवालले अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसीको अनुदान सित्तैमा दिएको विषजस्तै भएको हुंदा खान नहुने स्पष्ट गर्नुभयो ।
सरकारहरूले नेपालीलाई २४ खर्ब रूपैयाभन्दा बढी ऋण बोकाए तर विकास कतै भएन, सांसद सुवालले थप्नुभयो ।
संयुक्त राष्ट्र सङ्घका महासचिव गुटर्रेसले ‘मानव बेचबिखन पीडितमध्ये एकतिहाइ बालबालिकालाई श्रम शोषण, दुलहीको रूपमा बेचिएको, सिपाहीको रूपमा भर्ती वा आपराधिक गतिविधिमा संलग्न गराइएको बताएको प्रसङ्ग उल्लेख गर्दै सांसद सुवालले बढ्दो आर्थिक असमानता र भूमण्डलीकरणले मानव तस्करी सञ्जाल बढेको, अनलाइन सञ्जालले मानव तस्करी र अन्य सामान तस्करी गर्ने दलाललाई सीमा वारपार कम गर्न सहज बनाएको महासचिव गुटेर्रेसको भनाइ सार्वजनिक भएको उल्लेख गर्नुभयो ।
कुनै पनि बच्चा र वयस्क पीडित हुनुभएन, बेलायतमा बालिका र महिलाविरूद्ध हिंसा १२ जनामध्ये १ हिंसामा परेको तथा ८५ प्रतिशत हिंसा अनलाइनसँग सम्बन्धित भएको खुलेको छ, सांसद सुवालले बताउनुभयो ।
खाडी मुुलुकमा नेपाली महिलालाई सडकमा उभ्याएर बेचबिखनजस्तै गरिएको सांसद प्रभू साह यो समितिको सभापति हुँदाको संसदीय टोलीको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख भएको चर्चा गर्दै सांसद सुवालले मन्त्री राणालाई सो प्रतिवेदन अध्ययन गरी सो अनुसार काम गर्न सुझाव दिनुभयो ।
वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली महिला बिरामी हुँदा उपचार नपाएको, यता नेपालमा घर परिवार बिग्रिएको, बच्चाबच्ची टुहुरा भएको उल्लेख गर्दै सांसद सुवालले सात सालको परिवर्तनसंगै नेपाली चेली भारतमा तस्करी सुरू भएको र दुबईमा मात्र हाल दैनिक २५० नेपाली महिला तस्करी भइरहेको तर्फ मन्त्री राणाको ध्यानाकर्षण गराउनुभयो ।
“नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि खारेज गर्नु जरूरी छ । समनिकटताको नाउँमा खुला सीमा भारतबाट अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता लिने र नेपालको नक्सामा समेटिएको लिम्पियाधुरासम्म नेपालको सरकारको उपस्थिति गराउनु जरूरी छ”, सांसद सुवालले जोड दिनुभयो ।
“विदेशी पुँजी र ऋणमा होइन नेपाली देशभक्तहरूको पुँजी परिचालन गरी नेपालमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु आवश्यक छ । नेपालको गरिबी अन्त्यको निम्ति चीनबाट सिक्न सक्नेतर्फ सरकारको ध्यान जानु जरूरी छ । बीआरआई मानव जातिको साझा भविष्यसँग जोडिएको हो । चीन कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र कतै सैनिक अखडा नराख्ने, जीत–जीत संस्कृतिको विकास गर्ने देश हो”, सांसद सुवालले भन्नुभयो ।
“१७० देशमध्ये नेपालको १२५ देशसँग व्यापार घाटा छ । सबभन्दा बढी भारतसँग ८ खर्ब बढी व्यापार घाटा छ । दाल, चामल, तरकारीसमेत भारतबाट आयात गरिने सरकारको आर्थिक कूटनीतिक गलत हो । नेपालीलाई देशभित्र रोजगारी दिने कूटनीति जरूरी छ”, सांसद सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयो, “युक्रेनमा रूसविरूद्ध अमेरिकी सरकारको छद्मयुद्ध हो । रूस र युक्रेनमा नेपाली सेना र प्रहरीसमेतबाट राजीनामा गराई लड्न पठाउने साधारण होइनन् । यही सिंहदरबारको मिलेमतो हुनुपर्दछ ।”
सांसद सुवालले भन्नुभयो, “इजरायलले प्यालेस्टिनमा जातीय नरसंहार र भूमि कब्जा गरेको हो, यो सन् १९१७ को बेलायतको बालफोर घोषणाबाट सुरू भएको हो । इजरायल र युक्रेनमा हतियार बिक्री गर्ने अमेरिकी सरकार र नाटो देशहरूलाई जिम्मेवार बनाउनु पर्दछ ।”
“विदेश जानुअघि प्रम र मन्त्रीलाई यो समितिमा विषय प्रवेश गराई सुझाव लिन लगाउनु जरूरी छ । मित्र देशमा दूतावास बढाउँदै जाने हो, घटाउने होइन”, सांसद सुवालले जोड दिनुभयो ।