भक्तपुर, ८ भदौ । नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले राजनीति देश र जनताको इमानदारीपूर्वक गर्नु सेवा हो, गुण्डागर्दी र बलमिचाइ होइन भन्नुभयो । उहाँले मानिस सामाजिकसँगै राजनैतिक प्राणी हो । यसकारण, मानिसले राजनीति गर्नु जरुरी हुन्छ । निर्वाचनमा मत हाल्नु राजनीति नै हो । शिक्षक, कर्मचारी र प्राध्यापकहरूले राजनीति गर्न नहुने भनाइ उपयुक्त होइन । राजनीति पशुपक्षीले मात्र नगर्ने हो । समाजवादी दलहरूले सरकारमा गएर आफ्ना मान्छेलाई निःशुल्क दिनु गुण्डागर्दी वा बलमिचाइ हो भन्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीले देश र जनताले दश र जनताको इमानदारीपूर्वक सेवा गर्दै आएको छ । यसकारण, प्रतिक्रियावादीहरूले प्रवास (भारत) र नेपालको यो पार्टीहरूविरुद्ध षड्यन्त्र गरेका हुन् । तर, सत्यको जीत हुनेछ, षड्यन्त्र चकनाचुर हुनेछ । २०४५ सालको भक्तपुर काण्ड यसरी नै चकनाचुर भएको बताउनुभयो ।
“एकताका साम्राज्यको नाइके बेलायत थियो भने फ्रान्सको साम्राज्य पनि कमजोर थिएन, अहिले अमेरिकी साम्राज्यवादले यी दुवै देशलाई तह लगाउँदै छ । अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता नेपालको संसद्मा बहुमतबाट पारित गरिएपछि नेपाल पनि अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पुँजीको नवउपनिवेशजस्तै भयो । यसका दोषी संसदवादी दलहरू नै हुन् ।” उहाँले बताउनुभयो ।
सचिव सुवालले अगाडि भन्नुभयो, “प्रतिक्रियावादीहरूको षड्यन्त्रबारे नयाँ पुस्तालाई जानकारी गराएर सचेत पार्नु जरुरी छ । विद्यालय र कलेजबाट नयाँ पुस्तालाई देशभक्त बनाउनु आवश्यक छ । कक्षा १२ उत्तीर्ण भएका नेपालीहरूलाई विदेश अध्ययन वा रोजागरीमा पठाउने सरकारहरू नै हुन् । युवाले आफ्नो देशमा रोजगारी नपाएसम्म देश विकास हुने छैन । कम्युनिस्ट सरकारले जनताको खाने, बस्ने, रोजगारी, स्वास्थ्य, शिक्षाको जिम्मेवारी लिन्छ, नेपालमा कम्युनिस्टको नाममा सरकार गएका दलहरू यथार्थमा कम्युनिस्ट होइनन् । यो विषयमा मजदुर, किसान, युवा विद्यालय, महिला सबैलाई सचेत बनाउनु जरुरी छ ।”
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपालाई समूल नष्ट गर्ने नियतले भक्तपुर काण्डको षडयन्त्र गरिएको स्पष्ट पार्दै षड्यन्त्रकारी निरङ्कुश पञ्चायती व्यवस्था आफै समाप्त भएको बताउनुभयो ।
उपाध्यक्ष फोजूले चाँगुनारायण नगरपालिकामा विकास निर्माणको ठेक्का, महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका नागरिकको हितमा काम नगरी व्यापक भ्रष्टाचार भइरहेको बताउनुभयो ।
नेक्राकिसङ्घ चाँगुनारायण नगर समितिका अध्यक्ष नारायणभक्त न्हेमाफुकीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष गणेशराम सुवाल, कुमार प्रसुले पनि भक्तपुर काण्डबारे चर्चा गर्नुभएको थियो ।