भक्तपुर, ९ भदौ । निरङ्कुश पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टीविरुद्ध रचिएको षड्यन्त्र ‘भक्तपुर काण्ड’ (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम आइतबार नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेक्रामहिला सङ्घ केन्द्रीय समितिको मुखपत्र ‘केटीहरू’ भक्तपुर काण्डको विशेष अङ्क १७ विमोचन गर्नुभयो । ३६ वर्ष पहिले भक्तपुर काण्डमा भूमिगत, जेल, प्रवासमा पर्नुभएका पार्टी अग्रज कार्यकर्ताहरूको भोगाइ र सङ्घर्षसँगै भक्तपुरमा महिलाहरूले भोग्नुपरेको मानसिक यातना र सङ्घर्षका श्रृङ्खलाहरूबारे कार्यक्रममा चर्चा भयो ।
कार्यक्रममा अध्यक्ष रोहितले भन्नुभयो, “भक्तपुर काण्डलाई दुःखका रूपमा होइन सङ्घर्षको रूपमा स्मरण गर्नुपर्छ ।”
इतिहास फरक ढङ्गले दोहोरिन सक्ने सम्भावनाप्रति सचेत बनाउँदै इतिहासको सत्यतथ्य प्रकाशन र प्रकाशित पुस्तकहरूको प्रचार नयाँ पुस्तामाझ व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देश र जनताको निःस्वार्थ सेवा गर्ने नेमकिपाको राजनीति व्यवहार र अडानविरुद्ध पञ्चहरूले योजनाबद्ध ढङ्गले षड्यन्त्र गरेको उल्लेख गर्दै उहाँले भक्तपुर काण्डपछि राजासँगको भेटबारे चर्चा गर्नुभयो ।
राजासँगको भेटमा भएको कुरा अध्यक्ष बिजुक्छेँले राख्नुभयो, “पृथ्वीनारायण शाहको भक्तपुर आक्रमणपछि राणाहरूको १०४ वर्षको शासनमा पनि त्यति दमन भएको थिएन जति २० महिनामा भक्तपुरवासीमाथि दमन गरियो । युद्ध अपराधीलाई झैँ व्यवहार गरियो† २० महिनासम्म भक्तपुर खुला बन्दीगृह अर्थात् यातनागृह बन्यो† नेमकिपा जहाँ छ त्यहाँ देशैभरि दुःख दियो । ”
राजनीतिमा षड्यन्त्र अक्षम्य हुन्छ । आफ्नो विचारको स्वतन्त्रता हुन्छ । कम्युनिस्टहरू आफ्नो उद्देश्य लुकाउँदैनन् । व्यक्तिसँग रिसइवी राख्दैनन् बरु विचारको सङ्घर्ष गर्छन् । व्यक्तिहत्याको विरोध गर्छन् कम्युनिस्टहरू । त्यसकारण हामीले आफ्नो विचार जेल होस् या प्रवासमा कहिल्यै लुकाएनौँ । हामी कहिल्यै झुकेनौँ, उहाँले थप्नुभयो ।
कार्यक्रममा अध्यक्ष रोहितले त्यतिबेला पत्रकार र कानुन व्यवसायीहरूले गर्नुभएको सहयोग सम्झनुभयो, “अदालतका बहसहरू राजनीतिक कक्षाजस्तो लाग्थ्यो । राजाविरुद्ध देश विदेशको तर्क राख्दै न्यायाधीशहरूले राजाको पक्ष लिन नहुने भनी गरेको तटस्थ तर्क साँच्चिकै रोचक थियो ।”
पार्टी गतिविधिबारे दरबारलाई भारतीय गुप्तीहरूले बनाएको र ‘रोहित भारतको समर्थक’ भन्ने बुझाइ दरबारले राखेको सन्दर्भ षड्यन्त्रको जड हुनसक्ने विश्लेषण अध्यक्ष रोहितले गर्नुभयो ।
उहाँले भन्नुभयो, “आनन्देव भट्ट, कमलराज रेग्मी, लक्ष्मण राजवंशीहरूको त्यो भ्रम हाम्रा साहित्य र प्रकाशनहरूले चि¥यौँ । हामी भारतीय विस्तारवाद र एकाधिकार पँुजीको विरोधी र भारतीय जनताका पक्षपाती रहेको पछि बुझे ।”
अध्यक्ष बिजुक्छेँले अन्तर्राष्ट्रिय घटना र परिस्थिति जोड्दै राज्यले कुनै पनि क्षेत्र, जाति र भाषाको आधारमा दमन गर्न नहुनेमा जोड दिनुभयो । भक्तपुर काण्डलाई त्यो खालको फासीवादी दमनको दृष्टिकोणबारे पनि अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
शासक दलहरूले नराम्रो काम गरेकै कारण जनताले दुःख पाएको सन्दर्भ उल्लेख गर्दै उहाँले राजनीतिक कार्यकर्तासँग सबै विषयमा सुझबुझ हुनुपर्ने र आफ्नो स्वार्थको निम्ति, पद र पैसाको निम्ति होइन सेवाको निम्ति आफूलाई समर्पित गर्नुपर्ने मार्गनिर्देश गर्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “शोषण त्यसबेलासम्म रहन्छ, जबसम्म समाजवाद र साम्यवाद आउँदैन । नथाकीकन निरन्तर शोषणविरुद्ध लड्न छोड्नुहुन्न ।”
कार्यक्रममा श्रष्टा समाजका अध्यक्ष लक्ष्मण जोशीले आफू भूमिगत रही लेखन कार्य गर्दाको अनुभव सुनाउँदै भन्नुभयो, “भक्तपुरमा प्राकृतिक भूकम्पपछि राजनीतिक भूकम्प गयो । ”
उहाँले त्यतिबेला अन्य पत्रिकाहरूले भक्तपुर काण्डबारे गलत प्रचार गरेको र विशेषगरी ‘विमर्श’ पत्रिकाले अत्यन्त झूट लेखेको हुँदा सोही पत्रिकामा सत्यतथ्य छपाउन गरेको सङ्घर्ष सुनाउनुभयो ।
पत्रपत्रिकामा अध्यक्ष रोहितको मार्गदर्शनमा सत्य तथ्य लेख्नु पनि एक खाले सङ्घर्ष थियो । उहाँले इतिहास बाङ्गो हुन सक्नेप्रति सचेत बनाउनुभयो । अध्यक्ष रोहितसहित सम्पूर्ण बन्दीहरूलाई जनआन्दोलनको विजयले रिहा गरेको इतिहास सही इतिहास हो ।
उहाँले भन्नुभयो, “यसर्थ उहाँहरू २०४७ वैशाख ५ गते रिहा हुनुभएको हो, ६ गते होइन । वैशाख ५ गते भनेको लोकेन्द्रबहादुर चन्दको अन्तिम सरकार थियो भने वैशाख ६ गते नयाँ अन्तरिम सरकार बनिसकेको थियो । दाइहरू जेलबाट ६ गते छुटेको कहीँकतै उल्लेख छ । वैशाख ६ हुनासाथ कसैको निगाहमा या बक्सिसमा छुटेको अर्थ पनि लाग्छ । त्यसकारण, दाइहरू जनआन्दोलन सफल भएकै कारण वैशाख ५ गते जेलबाट छुट्नुभएको हो ।”
कार्यक्रमका अतिथि चन्द्रबहादुर उलकले भूमिगत रहँदा र भारत प्रवास बस्दाको अनुभव सुनाउनुभयो । भक्तपुर काण्डको शिक्षाको रूपमा उहाँले बताउनुभयो, “नेतृत्वमा बसेको र जनताले विश्वास गरेका साथीहरू पनि वर्गशत्रु हुन सक्ने रहेछ । कार्यकर्तामा सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको कमी भएमा गलत बाटोमा जान सक्दो रहेछ । जनताको अगाडि घमण्ड गरेमा जनता लगामविनाको घोडा बन्दोरहेछ । वर्ग शत्रुहरू सदासर्वदा अवसर ढुकिरहने रहेछ ।”
उहाँले भारत प्रवासमा रहँदा पार्टीको निर्देशनअनुसार काम गरेको र भारतीय जनताको व्यवहार अध्ययन गरेको सन्दर्भ कोट्याउनुभयो ।
शिक्षक श्रीकृष्ण किसीले जेलभित्र भोगेको निर्मम यातना र सङ्घर्ष सुनाउनुभयो ।
नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले नेमकिपा र पार्टी अध्यक्षविरुद्ध भदौ ९ षड्यन्त्र पहिलो होइन भन्नुभयो । त्यसको १० वर्षअघि २०३५ भदौ १५ गते अध्यक्षज्यू भारत प्रवासमा रहँदा गोरखपुरमा गोली हानी हत्या गर्न खोजिएको थियो । भक्तपुर काण्डपछि २०४६ सालको जनआन्दोलनमा सबैभन्दा पहिला गोली भक्तपुरमा चल्दा ४ जना सहिद बने । त्यसपछि २०५५–५६ सालतिर पनि भक्तपुरमा गोली चल्यो । यी घटनाहरूले राज्य नेमकिपाको विचार र आन्दोलनहरूबाट आत्तिएको प्रतीत हुन्छ भन्नेविचार सांसद गोसाईको हो ।
नेक्रामहिला सङ्घष केन्द्रीय कोषाध्यक्ष रोशनमैयाँ सुवालले त्यतिबेला महिला र महिला कार्यकर्ताले निर्वाह गरेको भूमिका प्रस्ट्याउनुभयो । महिला कार्यकर्ता राज्यश्वरी प्रजापतिले सङ्कटको समयमा शत्रु र मित्र पहिचान हुने अनुभव सुनाउनुभयो ।
आयोजक समितिका अध्यक्ष सृजना सैंजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सङ्घका सचिव सरस्वती सिंख्वाल र कोषाध्यक्ष गङ्गा वैद्यले पनि बोल्नुभएको थियो ।