इजरायलले प्यालेस्टिनीहरूको भूमि कब्जा गर्न जातीय सफाया गर्दै छ


भक्तपुर, १७ जेठ । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा कसिमला पाँय प्रतियोगिता बिहीबार सम्पन्न भयो ।
२ वडाब्यापी भएको उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, अनुशासन र मित्रताको लागि हुनुपर्ने धारणा राख्दै कसिमला पाँय प्रतियोगितामा सहभागी हुने खेलाडी र आयोजक ख्वप बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
“राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति जटिल अवस्थामा छ । इजरायलले प्यालेस्टिनीहरूको भूमि कब्जा गर्न जातीय सफाया गर्दै छ । इजरायली आक्रमणमा दसौँ हजार प्यालेस्टिनीहरूको मृत्यु, लाखौँ घाइते, हजारौँको सङ्ख्यामा बेपत्ता छ । २३ लाख जनसङ्ख्या भएको प्यालेस्टिनीहरूको गाजा क्षेत्रको आधाभन्दा बढी घरहरू ध्वस्त भएका छन् भने ८० प्रतिशत व्यापारिक भवनहरू भत्किए । ८५ प्रतिशत विद्यालय भवन, ३६ मध्ये १७ अस्पताल भत्किए, ६५ प्रतशित सडक सञ्जाल र ६५ प्रतिशत कृषि भूमिमा क्षति भयो”, उहाँले भन्नुभयो ।
सचिव सुवालले थप्नुभयो, “मारिएकामध्ये आधा प्यालेस्टिनी बालबालिका छन् भने १२५ जना पत्रकारलगायत हजारौँको सङ्ख्यामा डाक्टर, नर्स, इन्जिनियर, लेखक, खेलाडी, कलाकारहरूको मृत्यु भयो । इजरायलले केही दिनअघिदेखि लेबनानविरूद्ध लडाइँ सुरू ग¥यो । संसारमा तेस्रो विश्व युद्ध हुने त होइन, आशङ्का बढ्दो छ ।”
अमेरिकी सरकारले संसारका ९०२ ठाउँमा सेना र हतियार तैनाथ गरेको सार्वजनिक भएको उल्लेख गर्दै सांसद सुवालले अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता नेपाल सरकारलाई गराइएपछि नेपालमा पनि अशान्तिको खतरा थप बढ्दै गएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बेलायती उपनिवेशवादले संरा अमेरिकालाई दुई सय वर्ष शासन गरेको थियो । अमेरिकी जनताले बेलायती उपनिवेशवादविरूद्ध सङ्घर्ष गरेर विजय प्राप्त गरेका थिए । भारतीय जनताले पनि दुई सय वर्षको बेलायती उपनिवेशविरूद्ध सङ्घर्ष गरेर विजय प्राप्त गरेका थिए । अमेरिकी सरकार र भारतीय सरकारमै बेलायती उपनिवेशवादको छायाँ देखिएको छ ।”
नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती सम्झौता र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नु जरुरी भएको सांसद सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायत भ्रमणबाट फिर्तापछि अङ्गे्रजभक्त भएका थिए । माक्र्सले जङ्गबहादुर राणालाई बेलायतको पाल्तु कुकुर भएको समेत उल्लेख गर्नुभएको थियो ।”
“पृथ्वीनारायण शाहले बेलायती भारत सरकारसँग बन्दुक सहयोग लिएर काठमाडौँ उपत्यकामा आक्रमण गरेका थिए भने आफ्नै मित बुबालाई विश्वासघात गरी भक्तपुर कब्जा गरेका थिए । पृथ्वीनारायण शाहको आक्रमणयता काठमाडौँ उपत्यकामा उल्लेखनीय विकास भएन बरु देशको सन्तुलित विकास नहुँदा विनास भयो । काठमाडौँ, ललितपुर र भक्तपुरको वास्तुकला, दरबार क्षेत्र लिच्छवी र मल्लकालीन विकास हो”, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “चाडपर्वमा स्वास्थ्यलाई ध्यान दिई खानु जरूरी छ । चाडपर्वको भोजपछि बिरामीको सङ्ख्या बढ्ने अस्पतालहरूको अभिलेख छ । धुमपान, मद्यपानबाट टाढा रहनु स्वास्थ्यको लागि हितकर हुनेछ । गुणस्तरहीन तयारी पत्रु खानेकुरा खानुभन्दा घरमा बनाएर खानु स्वास्थ्यकर हुनेछ ।”
ख्वप साकोस अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक हरिप्रसाद बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार लघु, नेमकिपा २ वडा इन्चार्ज रत्नकाजी नातरी, नेमकिपा ब्यासी ईकाई समितिका अध्यक्ष गणेशप्रसाद सुवाल, अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्य अजेन्द्र कुमार लघुलगायतले समसामयिक राजनीति र कसिलामला पाँय खेलको महत्वमाथि प्रकाश पार्नुभयो ।
नेमकिपा २ वडा ब्यासी एकाई समिति इन्चार्ज गणेशप्रसाद सुवालले कसिमला पाँयको खेल सामग्री निर्णायक रोशनराज तुईतुईलाई हस्तान्तरण प्रतियोगिता उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा संस्थाका अध्यक्ष राजकुमार लघु, निर्णायक रोशनराज तुइतुई, अतिरिक्त क्रियाकलाप उपसमितिका सदस्यहरू विश्वराम सुवाल, साजन लघुलगाायतले बोल्नुभएको थियो ।
प्रतियोगितमा राजिमी लासिवा पहिलो, रिजा सुलु (बासु मावि) दोश्रो र कृषल पक्का (शारदा मावि) तथा कैलास सुवाल (ख्वप साकोस) संयुक्त रूपमा तेश्रो भएका थिए ।

​​​​​​​

पार्टी गतिविधिहरु
समाचार