चवालिसौँ नेपालभाषा साहित्य तःमुंज्या उद्घाटन अध्यक्ष बिजुक्छेँद्वारा जनकवि श्रेष्ठ र सम्पदा अभियान्ता प्रधान सम्मानित
भक्तपुर, २८ असोज । चवालीसौँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) स्थानीय लाम्हुगः टोलमा सोमबारबाट सुरु भएको छ । सांस्कृतिक गुरु एवं किसान आन्दोलनका अग्रज पुनवीर गैडाद्वारा उद्घातित उक्त तःमुंज्यामा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनकवि दुर्गालाल श्रेष्ठ र सम्पदा संरक्षणका अभियन्ता भागवतनरसिंह प्रधानलाई भादगाउँले टोपी, पुष्पमाला, बेताली, दोसल्लाका साथ सम्मानपत्रबाट सम्मान गर्नुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेले तःमुंज्या स्मारिका र लक्ष्मणराज जोशीद्वारा लिखित ‘प्रतिपक्षी कलम भाग – २’ को पनि विमोचन गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो, “तःमुंज्या कामदार वर्गको मञ्च हो । भाषा हाम्रो पहिचान हो । संस्कृति हराए जाति पनि हराउँछ । जर्मनीका संस्कृतिविद्ले भक्तपुरलाई संसारको महत्वपूर्ण खुला सङ्ग्रहालय भन्नुभएको छ ।”
उहाँले अगाडि भन्नुभयो, “भनपाका जनप्रतिनिधिहरूले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार कार्य गरिरहेका छन् । ख्वप विश्वविद्यालय सञ्चालन गर्ने कार्यमा हामी निरन्तर लागिरहेका छौँ । नेपाल ट्रष्टको नाममा रहेको भक्तपुर सल्लाघारीको १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भनपाको योजना रहेको छ ।”
भनपाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थी र अभिभावकको रोजाइअनुसारका नयाँ नयाँ विषयहरू सञ्चालनको लागि त्रिभुवन विश्वविद्यालयमा ताकेता गर्दा पनि अनुमति नदिएको हुँदा चाहेर पनि नयाँ विषयहरूको कक्षा सञ्चालन गर्न नसकेको प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो ।
भनपाले शिक्षा–स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलाई प्राथमिकतामा राखी कार्य गरिरहेको स्पष्ट पार्दै प्रमुख प्रजापतिले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्न शैक्षिक ऋणको व्यवस्था गरिरहेको जानकारी दिनुभयो ।
वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीले भक्तपुर र नेमकिपाले जस्तै अरूहरूले पनि गरेको भए देश आज स्वर्ग हुने थियो† तर, आज शासकहरूले देश नर्क बनाए भनी आक्रोश व्यक्त गर्नुभयो ।
प्राकृतिक स्रोत साधनमा देश धनी भएर पनि नेपालीहरू गरिब हुनु परेको विडम्बना भएको चर्चा गर्दै उहाँले सरकारी अकर्मण्यताले आमाबाबु देशमा रुँदै छन् भने युवा छोराछोरीहरू विदेशमा रुँदै छन्† खेत बाँझिएका छन् भन्नुभयो ।
“हाम्रो देश हामीले नै बनाउनुपर्छ । देशमा प्रजातन्त्र माफिया र पुँजीवादीहरूको लागि मात्र आएको छ । कामदार जनतालाई अझै प्रजातन्त्र आएको छैन । नयाँ क्रान्तिको आवश्यकता भएको छ”, उहाँले भन्नुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले बीपी राजमार्ग सुरुमा डब्बल लाइनको बन्ने तय गरिएकोमा भारतको दबाबमा एकल लाइनको बनाएको जानकारी दिँदै जापान सरकारकै सहयोगमा खोलाभन्दा धेरै माथिल्लो भेगबाट र डब्बल लाइनको सडक बनाउन सरकारी पहल हुनुपर्ने सुझाव दिनुभयो ।
गोकर्ण रिसोर्टको भाका बाँकी हुँदै आगामी २५ वर्षको लागि म्याद थप्न नेपाल ट्रस्टलाई सरकारले दिएको अधिकार कानुनी डकैती हो, उहाँले भन्नुभयो । त्यस्तै अर्को उदाहरण गिरिबन्धु टी स्टेटको पनि उहाँले चर्चा गर्दै एमाले सरकारको आलोचना गर्नुभयो ।
सम्पदाविद् एवं प्राध्यापक सुदर्शनराज तिवारीले ऐतिहासिकरूपले पनि महत्व भएकोले पनि नेपालभाषा बचाइराख्नुपर्ने चर्चा गर्दै ‘मु लां गः’ बाट ‘लां मु गः भएको हुनुपर्ने तर्क राख्नुभयो ।
सम्मानित व्यक्तित्व जनकवि दुर्गालाल श्रेष्ठले नेता बिजुक्छेँबाट आफू सम्मानित हुन पाउनु आफ्नो लागि वरदानसरह भएको उल्लेख गर्दै अन्यत्र अर्कै तरिकाले दसैँ मनाए पनि भक्तपुरमा साहित्य सम्मेलन गरी दसैँ मनाउने परम्परा अत्यन्त प्रशंसनीय छ भन्नुभयो ।
संस्कृतिको महत्वमाथि प्रकाश पार्दै जनकवि श्रेष्ठले भन्नुभयो, “संस्कृतिबिना देश बाँच्नै सक्दैन ।”
देश बहुभाषी, बहुसंस्कृतिको भएकाले कुनै एउटामात्र भाषा, जाति, संस्कृतिको बाहुल्य भए त्यहाँ वास्तविक प्रजातन्त्र हुन नसक्ने चर्चा गर्दै उहाँले सबै भाषा, जाति संस्कृतिमा आफ्नो पहिचान प्रदर्शन गर्ने क्षमता हुनुपर्नेमा पनि जोड दिनुभयो ।
एक अर्को प्रसङ्गमा उहाँले भक्तपुरमा भईआएका नेपालभाषाका दुई सम्मेलन एउटै हुुनुपर्नेमा विशेष आग्रह गर्नुभयो ।
अर्का सम्मानित व्यक्तित्व सम्पदा संरक्षण अभियन्ता प्रधानले ऐतिहासिक महत्वले पूर्ण भक्तपुर (ख्वप्रिङ) मा आएर बोल्न पाएकोमा गौरवान्वित भएको बताउँदै भाषा संस्कृतिको अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।
लिच्छवीकालको राजकीय भाषा संस्कृत भएको चर्चा गर्दै उहाँले नेपालभाषाको विकास मल्ल कालमा भएको र त्यसबेला भाषिक उदारता भएकाले नेपाली भाषामा पनि अनुवाद भएको देखिन्छ भन्नुभयो ।
उहाँले पृथ्वीनारायण शाहको उदयसँगै खस भाषालाई प्राथमिकता दिएको र पञ्चायती संविधानमा सरकारी कामकाजको भाषा देवनागरी भाषाको हुने भनी उल्लेख भएदेखि अरू भाषामाथि दमन भएको बताउनुभयो ।
नेपाल र नेपालीको पहिचान नै हाम्रा सम्पदाहरू हुन्† त्यसको संरक्षण हुनुपर्नेमा सरकारी स्तरबाटै मास्ने काम भएकोमा उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
काठमाडौँको थँबहीमा अवस्थित कमलपोखरी म्हासेर छायाँदेवी कम्प्लेस बनाएकोमा त्यसको विरूद्ध विगत १२ वर्षदेखि कानुनी लडाइँ लडिरहेको बताउँदै उहाँले न्यायपालिकाबाट सम्पदा संरक्षणको पक्षमा फैसला हुने अपेक्षा गर्नुभयो ।
सम्पदाको सन्दर्भमा उहाँले भन्नुभयो, “सम्पदा पुर्खाको नासो हो† त्यसको उचित संरक्षण गर्नुपर्छ ।”
कवि प्रा.डा. रामप्रसाद ज्ञवालीले अपसंस्कृतिले राज गरिरहेको वर्तमान अवस्थामा भक्तपुरले संस्कृतिको जगेर्ना भइरहेको अत्यन्त प्रशंसनीय छ भन्नुभयो । जनता पुँजीवाद र नवउदारवादको मारमा परिरहेको अवस्थामा सर्वत्र निराशा छाए पनि भक्तपुरमा आशाको बीउ जोगाएको बताउनुभयो ।
साहित्यकारहरू सङ्कटकै बेलामा खाँचो पर्ने बताउँदै साहित्यमा सङ्कटको समाधान गर्ने शक्ति हुने विचार व्यक्त गर्दै उहाँले भोको पेट भएसम्म शान्ति नहुने भावले युक्त कविता पनि वाचन गर्नुभयो ।
गीतकार एवं कवि नारायणकुमार आचार्यले आफू २०५६–५७ सालमा डीएसपी भई भक्तपुरमा काम गर्दा रचेको रचना ‘यो नगर भक्तपुर’ मार्फत् आज दिनहुँ भक्तपुरमा आकर्षित गरिरहेको चर्चा गर्दै पहिलोचोटि रचेको तीन हाइकु सुनाउनुभयो ।
लेखक एवं इन्जिनियर रामबिन्दु श्रेष्ठले भाषा हाम्रो पहिचान हो भन्दै वाग्लुङे नेपालभाषामा कविता सुनाउनुभयो । नेपालभाषाभाषीहरू अझै जिउँदा छन् भन्ने एउटा जिउँदो जाग्दो प्रमाण यो तःमुंज्या हो भन्दै उहाँले मुर्दा समानका शासकले शासन गरिरहनु नै देशको दुर्भाग्य भएको भाव व्यक्त गर्नुभयो ।
उहाँले जनवादीहरू धनवादी हुँदा पनि भक्तपुर भने अझै प्रगतिवादी गीत गाइरहने ‘कुवाको भ्यागुतो’ भनी व्यङ्ग्य कविता पनि वाचन गर्नुभयो ।
कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. राजेन्द्र कोजुले मुटु रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू समेटिएको ‘मुटुको कथा’ कविता वाचन गर्दै मुटु बचाउन व्यायाम, खानपान, आहारविहारमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
ज्योतिषशास्त्री वीरेन्द्र कायष्ठले बिस्का जात्रा, लक्ष्मी पूजा र किजा पूजा (भाइ टीका) बारे चर्चा गर्नुभयो भने कवयित्री जयन्ता पोखरेलबाट पनि कविता वाचन गरिएको उक्त कार्यक्रममा कवि मोहन दुवालले आफू तःमुंज्याको ‘जनता म्वास भाषा म्वाई’ नाराबाट प्रभावित भएको बताउनुभयो ।
शिक्षक एवं कवि हरिहर तिमिल्सिनाले नेपाली युवा कि निराशा कि परदेशमा रहेको अवस्थामा भक्तपुरका युवा साहित्यिक क्रियाकलापमा लागिरहेको पाउँदा अत्यन्त गौरव लाग्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले साहित्य सभ्यताको चिन्ह हो, जीवन अनुभवको सार हो भन्नुभयो ।
इतिहासकार एवं नियात्राकार देवीचन्द्र श्रेष्ठले इतिहासमा महत्वपूर्ण स्थानमा रहेको भक्तपुरलाई पछिल्लो समय उपेक्षा गर्न थालेको चर्चा गर्दै शासकहरूले अनेक विवाद गरेर भक्तपुरलाई पछाडि पार्ने दुष्प्रयास गरिरहेको विचार व्यक्त गर्नुभयो ।
कवि अनिल पौडेलले साहित्य नभएको सहर मुर्दा समान हुने बताउँदै धेरै माथिको तलामा नबस त्यहाँ अक्सिजनको अभाव हुन्छ† जमिन छोड्नुहुँदैन भन्ने भावको कविता वाचन गर्नुभयो ।
सम्मेलनमा बाँसुरी बाजा समूहले सांस्कृतिक बाँसुरी धुन बजाई साथ दिएको थियो भने सम्मेलनको सुरुमा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले स्वागत मन्तव्य दिनुभएको थियो ।
विष्णुगोपाल कुसीद्वारा रचित स्वागत गान रवि हाडा, राजेश हाडा, लक्ष्मण पालिखे र सुलोचना छ्वाजुको स्वरमा गाइएको थियो ।
ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य इ. रत्नशोभा प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा जनकवि चन्द्रबहादुर उलकले प्यालेस्टिनी जनताको पक्षमा कविता वाचन गर्नुभएको थियो भने तःमुंज्याका अध्यक्ष आशाकुमार चिकबन्जारले पनि बोल्नुभएको थियो ।
सोमबार पहिलो दिनको सांस्कृतिक कार्यक्रम बेलुका ७ बजेदेखि सांस्कृतिक कार्यक्रम सुरु भएको थियो भने दोस्रो दिनको साहित्य सम्मेलन मङ्गलबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।