कामदारवर्ग राजनीतिकरूपमा सचेत नभएसम्म उनीहरूको हित हुनेछैन


भक्तपुर, १८ कार्तिक । प्रगतिशील सांस्कृतिक समाज, सूर्यविनायकको आयोजनामा नेपाल संवत् ११४५ को अवसरमा शनिबार न्हुँद भिन्तुना ¥याली भयो ।
इतपुखु (सिपाडोल) बाट सुरू भएको ¥याली विविचा, ननाबूँ, तौडेल हुँदै नंखेल (नन्दिकेश्वर महादेवस्थान) मा पुगी समापन भएको थियो ।
समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीति भएको चर्चा गर्दै भन्नुभयो, “पृथ्वीनारायण शाहबाट काठमाडौँ उपत्यकामा आक्रमणयता मल बोक्नेलाई राजनीति नचाहिने झूटा प्रचार गरियो । कामदारवर्ग राजनीतिकरूपमा सचेत नभएसम्म कामदारवर्गको हित हुनेछैन ।”
“मानिस जङ्गली युगलाई पार गरी बाहिर आएको ७ हजार वर्ष भयो । विवाह र परिवारसँगै व्यक्तिगत सम्पत्तिको उत्पत्ति भयो । राजा महाराजाहरूको घोषणासँगै समाज शोषण र शोषितवर्गमा विभाजन भयो । केही व्यक्तिको हातमा देशको स्रोत र साधन कब्जामा रहने पुँजीवाद हो । एउटा पुँजीवादी देशले अर्को देशको कच्चा सामान र बजार कब्जा गर्नु साम्राज्यवाद हो”, सांसद सुवालले भन्नुभयो ।
अमेरिकी जनताले बेलायती साम्राज्यवादको विरोधमा दुई सय वर्ष सङ्घर्ष गरेर स्वतन्त्रता पाएको उल्लेख गर्दै सांसद सुवालले भारतीय जनताले पनि बेलायती साम्राज्यवादविरूद्ध दुई सय वर्ष सङ्घर्ष गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जङ्गबहादुर राणा बेलायत गएयता उनी अङ्ग्रेजहरूको दलाल भए । बेलायती साम्राज्यवादको विरोध गरेका भारतीय प्रहरीको सिपाही विद्रोहलाई दबाउन जङ्गबहादुर राणा नेपाली सेना लिएर गएका थिए । कार्ल माक्र्सले जङ्गबहादुर राणालाई अङ्ग्रेजको कुकुर बताउनुभएको थियो ।”
“नेपाल कम्युनिस्ट पर्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेपाली काङ्ग्रेसका नेता बीपी कोइराला दुवैले राणा शासनलाई भारतीय पुँजीको सेवा गर्ने भनी विरोध गर्नुभएको थियो । बहुदलीय व्यवस्था पुनः स्थापनायता सरकारमा गएकाहरूले भारतीय पुँजीकै सेवा गर्दै छन् । २०४६ सालयता ३१ ओटा सार्वजनिक उद्योग निजी कामको नाममा बिक्री गरियो । अहिलेको नेका र एमालेको सरकारले थप ९ (नौ) ओटा सार्वजनिक उद्योग बिक्री गर्ने तयारी गर्दै छ । यो देशघात नै हो”, सांसद सुवालले स्पष्ट पार्दै भन्नुभयो ।
“कर्णाली प्रदेशका २६ प्रतिशत जनताले बिजुली नपाएको सार्वजनिक भयो । त्यहाँ मैनबत्ती बालेर सुत्केरी गराइँदै छ । सरकारहरू भारतलाई बिजुली बेच्दै छन् । आफ्नै देशको जनताले बिजुली नपाएको बेला भारतलाई बेच्नु देशघात नै हो । सरकारले नेपाली जनतालाई सस्तोमा बिजुली दिएर भारतबाट आयात भइरहेको खाना पकाउने ग्यासमा भइरहेको व्यापार घाटा घटाउनु जरूरी छ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “शिक्षा र स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारी नदिने सरकारमा गएका संसदीय दलहरूले समाजवादी र साम्यवादी दाबी गर्नु झूटा हो । सन् १९१७ मा अक्टोबर क्रान्ति भएयता १८–२० वर्षमा रूस संसारको दोस्रो अर्थतन्त्र भयो । नेपालमा बहुदल पुनः स्थापना भएको ३५ वर्ष भयो तर, सियो बनेको छैन । करोड सङ्ख्यामा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएर सरकारले अर्को देशघात गर्दै छ ।”
एसईई र कक्षा १२ को परीक्षा नतिजामा आधामात्र उत्तीर्ण भएको र अझै ६ लाख बालबालिका विद्यालय बाहिर रहेको उल्लेख गर्दै सांसद सुवालले भन्नुभयो, “परीक्षा नतिजामा विज्ञान, गणित र अङ्ग्रेजी विषय अनुत्तीर्ण हुने धेरै छन् । योग्य र दक्ष शिक्षकहरू नियुक्ति गरी परीक्षाको उत्तीर्णाङ्क ६० प्रतिशत पु¥याउनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “बहुदलयता ४–५ पटक मन्त्री भएकाले आफ्नो पुस्तकमा मन्त्री भनेकै भ्रष्टाचारी भएको उल्लेख गरे । एकजना सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताए । सरकारहरू सडक, पुल, भवन बनाएको दाबी गर्छन् तर, देशको ऋण २६ खर्बभन्दा बढी पुग्यो । सिंहदरबार शुद्ध नभएसम्म देश आत्मनिर्भर हुनेछैन ।”
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले कला, संस्कृति, भाषा–बाजागाजाको संरक्षण आवश्यक भएको र भिन्तुना ¥याली त्यसैको सिलसिला भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाढी–पहिरो पीडित जनताको उचित व्यवस्थापन र राहत वितरणमा सरकार उदासीन रह्यो । सरकारमा गएका पार्टीहरूको अनैतिक कार्य, भ्रष्टाचार र विकास निर्माणको नाममा भएका अनियमितताको विरोध गर्नु सबै जनताको कर्तव्य हो ।”
कार्यक्रममा राजाराम कासुला, श्यामसुन्दर सुवाल र रोशन मचामसीले पनि बोल्नुभएको थियो ।
¥यालीमा विभिन्न बाजागाजा, दाफा भजन र सङ्घसंस्थाको सहभागिता रहेको थियो ।

पार्टी गतिविधिहरु
समाचार