काठमाडौँ, १२ मङ्सिर । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति कीर्तिपुरको आयोजनामा बुधबार कीर्तिपुर र पाँगाको दोबाटोमा चुनावी प्रचारसभा भयो ।
निर्वाचनमा भाग लिएर देश र जनताको इमानदारीपूर्वक सेवा गरौँ, मादल चिह्नमा छाप लगाई नेमकिपाका उम्मेदवारहरूलाई अत्यधिक मतले जिताऔँ भन्ने उद्घोषका साथ चुनावी सभा भएको थियो ।
सभामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले निर्वाचन एक वर्गसङ्घर्ष भएकोले यो उपनिर्वाचन पनि शोषक र शोषित वर्गबिचको लडाइँ भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले शोषितवर्गको प्रतिनिधित्व गर्छ । सम्पूर्ण शोषित मजदुर, किसान र कामदारवर्गको पार्टी नेमकिपा हो । यसको चुनाव चिह्न मादल हो । मादल चिह्नमा छाप लगाई नेमकिपाका उम्मेदवाहरूलाई निर्वाचित गराऔँ ।”
मजदुरवर्गका गुरू एङ्गेल्सले निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भन्नुभएको स्मरण गर्दै सचिव सुवालले शोषकवर्गका पार्टी र तिनका उम्मेदवारहरूलाई मत दिनु भनेको जनताको चेतनास्तर कमजोर हुनु हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “२०४६ र ०६२ सालको आन्दोलनले राजा फाल्यो, तर सिंहदरबारमा निर्वाचित राजाहरूको शासन चालु रह्यो । यसकारण, ३५ वर्षको यो बहुदल र गणतन्त्रको अवधिमा नेपाली जनताको लागि शिक्षा र स्वास्थ्यको राम्रो बन्दोबस्त भएन । करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाइयो । सार्वजनिक उद्योग बेचबिखन गरियो, नदीनाला भारतलाई दिइयो । २६ खर्ब रूपैयाँ ऋण ल्याई भ्रष्टाचार गरियो । यो चुनावमा संसदीय दलहरूलाई मत दिनु भष्मासुरलाई बरदान दिनुजस्तै हुनेछ ।”
“संसदीय दलका नेताहरू शोषकहरूको मध्यस्थतामा मार्सी चामलको भात खाएर सरकार गठन र पुनर्गठन गर्छन् । प्रधानमन्त्रीहरू खर्ब डलरपतिलाई फोन गरेर नेपालमा पनि संसद्मा खराब ठेकेदार, म्यानपावर कम्पनी, सहकारी ठगहरूलाई मन्त्री र सांसद बनाउँछन्”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गरी देशभरिका जनताका छोराछोरीलाई चिकित्सा शिक्षा दिने तयारी ग¥यो तर, सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित नगरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको घर पनि भत्काइदिन्छ भनेजस्तै सिंहदरबारमा गएका सरकारहरूको बाँदरे बुद्धिको कारण ख्वप विश्वविद्यालय विधेयक पारित भएन ।”
सचिव सुवालले भन्नुभयो, “नेपालको नदीनालाबाट नेपालकै लगानीमा बिजुली उत्पादन गर्नुपर्छ । भारतबाट महँगोमा खाना पकाउने ग्याँस ल्याउनुपर्ने छैन । तर, कुनै पनि प्रमले नेपालीकै लगानीमा बिजुली उत्पादन गरेनन् ।”
अर्बपतिहरूसँग बिजुली महसुल अर्बौँ रूपैयाँ नउठाउने, सर्वसाधारण जनतासँग दुई–चार सय रूपैयाँ बिजुलीको महसुल बक्यौता भए बिजुलीको लाइन काट्ने सरकारहरू जनविरोधी हुन्, उहाँले स्पष्ट पार्नुभयो ।
“काठमाडौँ उपत्यकाको जमिन अन्तबाट ल्याएर थुपारिएको माटोजस्तो भएको भूगर्भ शास्त्रीहरूको मत रहेको छ । तर, सरकारहरूले काठमाडौँ उपत्यकामा कङ्क्रिटको जङ्गल ठड्याउँदै छन् । यी भारि संरचनाहरू कुनै पनि बेला भाँसिने खतरा छ । नेपालको जङ्गलको काठ तस्करी गराइएको छ । नेपालीलाई काठ उपलब्ध गराई भारतमा भइरहेको काठ तस्करी रोक्नुपर्छ । सिमेन्टको भवनमा उत्पन्न हुने रोडोन ग्यासले क्यान्सर गराउने भौतिकशास्त्रीहरूको मत रहेको छ । यो विषयमा सरकारहरू सचेत भएनन्”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले बहुदलीय व्यवस्थामा दलको विकल्पमा स्वतन्त्र उम्मेदवार हुन नसक्ने स्पष्ट पार्दैै भन्नुभयो, “शासक दलहरूको विकल्प नेमकिपा नै हो । कीर्तिपुरवासीहरूले हरेक आन्दोलन र परिवर्तनहरूमा अग्रपङ्क्तिमा रहेर योगदान गरेका छन् ।”
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पटकपटक स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा गइसकेका पार्टीहरूको झूटा आश्वासनमा परेर ती पार्टीहरूलाई मत नदिन आग्रह गर्नुभयो ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार श्रीकृष्ण महर्जनले जनताको मतले आफू निर्वाचित भएमा सबै जनप्रतिनिधि र नगरवासीसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा जनगायक विनोद विक, चन्द्रबहादुर श्रेष्ठ, जनगायिका सपना शाहीले नेमकिपाको मादल चिह्नमा छाप लगाउने आह्वानसहितको गीत प्रस्तुत गर्नुभयो ।