काठमाडौँ, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा नेक्राविसङ्घले शनिबार ‘नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घको भूमिका’ विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले नेक्राविसङ्घले सानो स्वार्थको निम्ति निरङ्कुश व्यवस्थासामु आत्मसमर्पण गर्ने प्रवृत्तिविरूद्ध सङ्घर्ष गरेको भनाइ राख्नुभयो ।
उहाँले दोस्रो जनआन्दोलनको क्रममा नेक्राविसङ्घले समाजवादी गणतन्त्रको नारा दिएको उल्लेख गर्दै गणतन्त्रमात्र भनेर नपुग्ने र पुँजीवादी गणतन्त्र र संवैधानिक राजतन्त्रमा तात्विक भिन्नता नहुनेबारे आन्दोलनकारी विद्यार्थीहरूलाई सचेत पार्ने काम गरेको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको अराजकतावादविरूद्ध नेक्राविसङ्घले सङ्घर्ष गरेको भन्दै अखिल क्रान्तिकारीले अनिश्चितकालीन शैक्षिक हडताल गरेको बेला नेक्राविसङ्घले सैद्धान्तिक आलोचना गरेको भनाइ राख्नुभयो ।
उहाँले बन्द हडतालले कामदारवर्गका छोराछोरी पीडित भएको उल्लेख गर्दैै नेक्राविसङ्घले संयुक्त विद्यार्थी आन्दोलनको क्रममा राजनीतिक गतिविधिसहितका बन्द तथा हडतालको प्रस्ताव गरेको घटना प्रस्तुत गर्नुभयो ।
पटक पटक सरकारमा गएका शासक पार्टीहरूले २०५९ बाट सुरू भएको विद्यार्थी आन्दोलनको क्रममा आठ विद्यार्थी सङ्गठनले अगाडि सारेका मागमा आजसम्म ध्यान नदिएको उहाँको धारणा थियो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले नेपालमा भएका सबै संयुक्त विद्यार्थी आन्दोलनहरूमा शासक दलका विद्यार्थी सङ्गठनहरूले बिचैमा आन्दोलनलाई तिलाञ्जली दिई आफ्नो स्वार्थ पूरा गरी बदमासी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादको कारण अहिलेको व्यवस्था देखेर नयाँ पुस्तामा निराशा छाएको छ, यस्तो स्थिति आउनुमा अहिलेका अवसरवादी शासक दलहरू नै दोषी छन् ।”
“अहिले नेपालको सम्पूर्ण विश्वविद्यालयहरूमा ढिलासुस्ती, भ्रष्टाचार, अराजकता, भागबन्डाजस्ता अनेकौँ समस्याहरू भएको हुनाले यसको उपचारको निम्ति नेक्राविसङ्घले सशक्त भूमिका निभाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेक्राविसङ्घ सुस्ताविरोधी आन्दोलनबाट स्थापना भएको स्मरण गर्दै उहाँले अहिले पनि विद्यार्थी सङ्घले देशमाथि भइरहेको थिचोमिचोको विषयमा निरन्तर प्रशिक्षित गरी भारत र चीनले नेपाललाई हेर्ने दृष्टिकोणबारे नयाँ पुस्तालाई प्रस्ट पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले नेपालमा भएको विद्यार्थी आन्दोलन र नेक्राविसङ्घको भूमिका र नेक्राविसङ्घले गरेका विभिन्न कार्यक्रमहरूको जानकारी गराउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय कोषाध्यक्ष प्रमिला ज्याख्व र केन्द्रीय सदस्य बिलम सुवालले पनि बोल्नुभएको थियो ।