नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ५१ वर्ष अगाडि देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नको लागि नेपाल मजदुर किसान पार्टी स्थापना गर्नुभएको हो ।
उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरिए देश र जनताको निःस्वार्थ सेवा हुने भएकोले माक्र्स र एङ्गेल्सको शिक्षा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण नै हो । विकासको काम जनताको सहभागितामा उपभोक्ता समितिमार्फत भए सामाजिकीकरणमा मद्दत पुग्नेछ । सन् १९१७ मा भएको रुसी अक्टोबर समाजवादी क्रान्तिको १८–२० वर्षमा रुस संंसारको दोस्रो ठुलो अर्थतन्त्र भएको थियो ।
सरकारमा गएकाहरू पानीजहाज, रेल, भूउपग्रहलगायत ठुला कुरा गर्छन् । जिल्ला जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारीको बन्दोबस्त छैन, रौतहटको लालबकैया नदीको आडमा रहेको एउटा विद्यालयका विद्यार्थीहरू १७ वर्षदेखि बोरा ओछ्याएर पढ्दै छन् । नेपालका ६ लाख बालबालिका अझै विद्यालय बाहिर छन् । हेलिकप्टरबाट केही ठाउँमा सुत्केरी उद्धार गरिनु पर्याप्त होइन । प्रत्येक स्थानीय तहमा जनशक्ति र उपकरणसहितको बर्थिङ सेन्टर हुनु जरुरी छ । ठुला उपलब्धि स–साना कामबाट सम्भव हुने हो ।
सरकारमा गएका पार्टीले स्थानीय तहमा जनताको सहभागितामा निःस्वार्थपूर्वक काम गरेको भए देशको मुहार परिवर्तन हुने थियो । ७५३ ओटै स्थानीय पालिकामा व्यवस्थित सहर विकास गरिएको भए देशको सन्तुलित विकास हुने हो । टोल, वडा र जिल्लामा समेत व्यवस्थित गर्न नसक्नेहरू पैसाको भरमा चुनाव जितेर सरकारमा पुगेर देशको विकास हुनेछैन । सरकारमा पुगेकाहरू बाहिर हुँदा राम्रो तर मन्त्री भएपछि किन बिग्रिन्छन् ? भारतसँग महँगोमा बिजुली किन्ने सरकारका प्रधानमन्त्रीहरूबाट जनताले के आशा गर्ने ?
सरकारमा गएका पार्टीहरूले के के आश्वासन दिए, ती किन पूरा भएनन् ? समीक्षा गर्नु आवश्यक छ ।देशको सामान्य अवस्थामा सरकारले अध्यादेश जारी गरी कालो बजारी नियन्त्रणसम्बन्धी ऐन २०३२ मा रहेको २० प्रतिशतभन्दा बढी मुनाफा खान नहुने प्रावधान हटायो । अहिले सिमेन्ट उद्योगीहरूले प्रतिबोरा रु. ४०० को सिमेन्टलाई रु. ८०० पु¥यायो । सरकारले हेटौँडा र उदयपुर सिमेन्ट उद्योग बन्द गर्नु गरिब जनतालाई घर बनाउन नदिने नियत किन होइन ? औषधीको आयात र तिनका अधिक मूल्य र वस्तु एवं सेवाको गुणस्तरको ‘लेबल’ को अनुगमन भएको छैन । आपूर्तिमा अराजकता छ । उपभोक्ता अदालत छ तर उपभोक्ता ठगिएको रोकिएन ।
सरकारले करोड हाराहारीमा युवालाई वैदेशिक रोजगारीमा पठाएका छन् । दाल, चामल, तरकारी, फलफूलसमेत महँगोमा भारतसँग किन्नुपर्ने अवस्था भयो । सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई अभिभावकको घरखेत बेच्न लगाएर विदेश पढ्न पठायो । नेपालका ५ सत्न्दा बढी कलेजहरू विद्यार्थी नहुँदा बन्द हुने अवस्था छ ।
सरकारले नेपाल ट्रस्टको जग्गा र बाल मन्दिरको जग्गा व्यक्तिलाई रजाइ गर्न दियो । जनताको करलाई शिक्षा, स्वास्थ्य, बिजुलीमा खर्च गर्नुपर्नेमा दृश्य हेर्ने स्तम्भ बनाएर व्यक्तिलाई ठेक्का दिएर कमिशनमा लाग्यो । धरहरा पनि व्यक्तिलाई कुम्ल्याउन दिन जिम्मा लगाएको सरकारले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन भवन पनि व्यक्तिलाई जिम्मा लगाउने त होइन ? संसद् भवन पूरा भएपछि यो भवनको उपयोग सरकारबाट हुने छैन ।
सरकारले विदेशी नागरिकलाई अपार्टमेन्ट किन्न लगाउने कानुन बनायो । नेपालको खेतीयोग्य भूमि १३ प्रतिशत मात्र छ । यो सानो भूगोलमा अपार्टमेन्ट विदेशीलाई बेच्नु देश बेच्नुसरह हो । हिमाल, पहाड, तराईका नेपालीहरू कच्ची घरमा बस्न बाध्य छन् । सरकारको ध्यान यसतर्फ गएको छैन ।
ट्रम्प अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक आएका उनले अमेरिकालाई ‘शक्तिशाली’ र ‘महान्’ बनाउने दाबी दोहो¥याएका छन् । संसारका अन्य नेताहरू पृथ्वी सबैको साझा घर भएको हुँदा सबैलाई सम्पन्न बनाउनुपर्ने आवाज उठाउँदै छन् । बीआरआई मानव जातिको साझा हितसँग सम्बन्धित हो । ब्रिक्स कमजोर देशलाई पुँजी सहयोग दिने हो तर लगानी गर्ने संस्था होइन । यी दुवैमा कुनै सर्त छैन; तर एमसीसी सम्झौतामा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने सर्त छ ।
(नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा काठमाडौँ कीर्तिपुरस्थित त्रिवि स्मृति हलमा माघ १० गते सम्पन्न कार्यक्रममा पार्टी सचिव पे्रम सुवालले व्यक्त गर्नुभएको मन्तव्यको सार – सं.)
पार्टीमा लाग्नु बौद्धिक र सांस्कृतिक काम हो
नेपाल मजदुर किसान पार्टीको स्थापना देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न भएको हो । माक्र्स र एङ्गेल्सको शिक्षाको सार देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नु हो ।पार्टीको जनवर्गीय र पेसागत सङ्गठनको एक वर्ष काम गरिसकेकाहरूलाई मात्र पार्टीको उम्मेदवार सदस्य बनाउन सकिन्छ ।
पार्टीको निर्वाचित वडा समितिहरू सरकारको गाउँपालिका र नगरपालिकाका वडा कार्यालयहरूजस्ता होइनन् । प्रजातन्त्रको अर्थ सरकार होइन । पार्टी नभए गाउँपालिका र नगरपालिकासँगै देश नहुनेतर्फ कार्यकर्ताहरू सचेत हुनु आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टी स्वयम् विश्वविद्यालयजस्तै हो भने यसका समितिहरू विद्यालय र कलेजजस्तै हुन् । पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशन अध्ययन गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राख्नु जरुरी हुन्छ । यसको लागि संसारका पुराना र नयाँ मजदुर र कम्युनिस्ट आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्षबारे अध्ययन गर्नु उपयुक्त हुनेछ ।
संसारका नयाँ नयाँ सूचना, विज्ञान र प्रविधिबारे अध्ययन गरी कार्यकर्ताहरूले आफूलाई योग्य बनाउनु आवश्यक छ । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुनु समाजवाद हो । समाजवादबारे नबुझेकाहरूले समाजलाई परिवर्तन गर्ने कठिन हुनेछ । समाज निर्माण गर्ने काम छिटो पनि हुँदैन, एक सय वर्ष पनि लाग्न सक्छ । पार्टीमा लाग्नु एक बौद्धिक र सांस्कृतिक काम पनि हो ।
पार्टी कार्यकर्ताहरू व्यक्तिगत, जातीय, क्षेत्रीय, साम्प्रदायिक स्वार्थमा लाग्नु हुँदैन । घर छाडी जनताको सेवा गर्न तयार हुनु जरुरी छ । आफ्नो र परिवारको फाइदामा मात्र ध्यान दिनेहरू पार्टी कार्यकर्ता हुन सक्दैनन् । आम्दानीअनुसार पार्टीलाई सहयोग गर्नु पार्टी सदस्यहरूको कर्तव्य हो ।
संसद्वादी दलका स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद् र सरकारका मन्त्री भएकाहरू समेत ठेकेदार, म्यानपावर कम्पनी, सहकारीमार्फत जनताको सम्पत्ति ठगी गर्ने गरेको सार्वजनिक भइरहेको छ । यसलाई निःस्वार्थपूर्वक राजनीतिमा लागेको भन्न सकिँदैन । नेमकिपा निःस्वार्थपूर्वक जनताको सेवा गर्दछ ।
पार्टी केन्द्रीय समितिको अनुमतिबिना पार्टी कार्यकर्ताहरूले अन्य पार्टीसँग सहकार्य वा मोर्चा वा कुनै संयुक्त गतिविधि गर्नुहुँदैन । पार्टी अनुशासनमा नबस्ने कार्यकर्ताहरूबाट देश र जनताको हित हुनेछैन । पार्टी कार्यकर्ताहरूले शत्रुको पक्षमा एक वाक्य लेख्नु र बोल्नु पनि अनुशासनविपरीत हो ।
अमेरिकी राष्ट्रपतिमा ट्रम्पको कार्यकाल सुरुसँगै क्यानडा, ग्रिनलैन्ड र पानामा कब्जा गर्ने सार्वजनिक हुनु युद्धको सङ्केत हो । अमेरिका ‘महान्’ बनाउन आफूलाई ईश्वरले बचाएको जस्ता अन्धविश्वास अघि सारी ट्रम्पले अमेरिकी जनतालाई ‘मूर्ख ’ ठान्दै छन् ।
ट्रम्पले आफ्ना अग्रजहरूले रेल मार्ग, सडक मार्ग, गगनचुम्बी महल बनाएको, दुई ओटा विश्व युद्ध जितेको, फासीवादलाई हराएको दाबी गरे तर विश्व स्वास्थ्य सङ्घ र पेरिस जलवायु सम्झौताबाट बाहिरिने उनको निर्णय मानवताविरोधी अपराध नै हो ।
ट्रम्पले क्युवालाई ‘राज्य प्रायोजित आतङ्कवादी देश’ को आरोप लगाउनु क्युवालाई क्रूर नाकाबन्दी लगाउने हो । जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणा अघि अमेरिकी जनताले विरोध गर्दै छन् ।
(नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण ९ वडा समितिको आयोजनामा माघ १२ गते सम्पन्न कार्यकर्ता भेलामा पार्टी सचिव पे्रम सुवालले व्यक्त गर्नुभएको मन्तव्यको सार – सं.)