भक्तपुर, १६ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार भक्तपुरको सल्लाघारीमा आयोजित भव्य समारोहबिच गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले पार्टीको झण्डोतोलन, मूल व्यानर अनावरण र पानसमा दीप प्रज्ज्वलित गरी महाधिवेशन उद्घाटन गर्नुभयो ।
सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले नेपाल र नेपाली जनताको मुक्तिका निम्ति समाजवाद स्थापनाबाहेक अर्को विकल्प नभएको बताउनुभयो ।
काङ्ग्रेस र कम्युनिस्ट नामका पुँजीवादी पार्टीहरूले जनताको हितमा कुनै काम नगरेको विदेशी शक्ति केन्द्रहरूको निर्देशनअनुसार राष्ट्रघाती र जनघाती काम मात्र गरेको हुनाले नेपाली जनताले उत्पादनका साधनहरू राष्ट्रियकरण र सामाजिकीकरण हुने समाजवादी व्यवस्था स्थापनाको निम्ति अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “ऐन–कानुन र नीतिका कारण सारा जनताले दुःख पाएको हुँदा हामी पुँजीवादी व्यवस्थाकै विरोध गर्छौं । जनता र देशको विरोधमा लाग्ने शोषकहरू र विदेशको पक्षमा लागी देशलाई खाडलमा पु¥याउने नीति–निर्माता, संस्था र व्यक्तिहरूको विरोधमा कडा सङ्घर्ष गर्नु आवश्यक छ ।”
एमसीसीको सन्धि–सम्झौता, प्यालेस्टिनी जनताको दमनमा नेपाल सरकारको समर्थन र युक्रेनको काँधमा बन्दुक बिसाएर युक्रेनबाट रूसमाथिको आक्रमणको मौन समर्थनले नेपाललाई साम्राज्यवादी र उपनिवेशवादी शक्ति नाटोको पिछलग्गूको रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकारको यो नीति सरकारका साम्राज्यवादविरोधी र उपनिवेशवादविरोधी विकासशील देशहरूको विपक्षमा पुग्नेछ । यसकारण, वर्तमान काङ्ग्रेस र एमाले सरकारले प्रतिगामी शक्तिको पिछलग्गू नीतिलाई छोडेर देशको तटस्थ र असंलग्न परराष्ट्र नीतिमा फर्कनु आवश्यक छ ।”
“विश्व बैङ्क अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैङ्क सारमा संयुक्त राज्य अमेरिकी साम्राज्यवादका आर्थिक हातहतियार हुन् । देश खर्बौं विदेशी ऋणमा डुब्नुको मुख्य कारण विदेशमुखी अर्थनीतिकै कारण हो भन्ने कुरा छिमेकी देशहरूको आर्थिक सङ्कट र आर्थिक दुरवस्थाबाट प्रस्ट छ । ‘गाईमारी बाघ पोस्ने’ अर्थात् देशी र विदेशी शोषकहरूलाई पोस्ने र साम्राज्यवादी र नवउपनिवेशवादीहरूलाई पोस्ने सरकारको आर्थिक नीतिलाई उदाङ्ग्याउन व्यापक जनतामाझ नेमकिपाले अन्तरक्रिया, जनसभा, स–साना अध्ययन गोष्ठी गरेर बुद्धिजीवीलगायत सबै वर्ग तथा पेसाका जनतालाई सचेत पार्ने काम गरिरहेको छ, उहाँले भन्नुभयो ।
‘जमिन जोत्ने र मोहियानी हक’को नारा पुरानो भइसकेको छैन भन्दै उहाँले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला तलदेखि माथिसम्म लागु गर्नु आवश्यक छ र व्यक्तित्व विकास गर्न सबै युवा–युवती र जनतालाई समान अवसर दिनु महत्वपूर्ण विषय हो भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले निर्वाचनलाई लेनदेनको व्यवसाय बनाउनु, भोजभतेर, घर–घरमा माछा–मासु, सिलिन्डर, गुण्डाहरूलाई करोडौँ रकम बाँडेर अपराध बढाउनु देश ंर जनताको सेवा गर्ने राजनीतिलाई अपराधी उत्पादनको अवसर बनाउने शासक दलहरू स्वयं अपराध उत्पादन मेसिन हुन दिन नहुनेमा जोड दिनुभयो ।
अध्यक्ष रोहितले नयाँ र पुराना पुस्ता मिलेर देशमा भइरहेको अन्याय, अत्याचार र सरकारको देशविरोधी नीतिको विरोधमा नयाँ सङ्घर्ष गर्नुपर्नेमा जोड दिँदै गलत नीति र तत्वहरूको अगाडि झुक्नु हुँदैन भन्नुभयो ।
समारोहमा स्वागत गर्दै नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “माक्र्स र एङ्गेल्सको शिक्षाअनुसार पार्टीले देश र जनताको निःस्वार्थरूपले सेवा गर्दै आएको छ । यो आठौँ महाधिवेशन गरिबवर्गको निम्ति एउटा राजनीतिक कक्षाको रूपमा सम्पन्न गर्ने हाम्रो प्रयास हो । पार्टीले संसारका सबै क्रान्तिबाट सिक्दै समाजवादी आचरणलाई व्यवहारमा लागु गर्न जोड दिइरहेको छ । कामदारवर्गलाई राजनीतिकरूपले शिक्षित, सचेत र सङ्गठित बनाउन पार्टीका हाम्रा प्रकाशनहरूको महत्वपूर्ण योगदान रहेको छ ।”
सचिव सुवालले भन्नुभयो, “विदेशी पुँजीको सेवा गर्ने सामन्तवर्गको पार्टीले समाजवादको नारा दिई देश र जनतालाई धोका दिइरहेको ७० वर्ष नाघिसकेको छ । सरकारी उद्योग तथा प्राकृतिक स्रोत व्यक्ति र विदेशीलाई कौडीको मोलमा बेच्नेहरूले कम्युनिस्ट दाबी गर्दै जनतालाई धोका दिइरहेको पनि ३५ वर्ष पुगिसकेको छ । सशस्त्र द्वन्द्वको नाममा भारतीय एकाधिकार पुँजीको श्याम कर्ण घोडा (ट्रोजन हर्स) बनेकाहरू कसरी कम्युनिस्ट हुन सक्छन् ? उनीहरू कम्युनिस्ट होइनन्, अराजकतावादी हुन् ।”
जाति, भाषा, धर्मको आडमा गरिब जनतालाई शासन गर्ने फासीवादीसँग आत्मसमर्पण गर्ने शासकहरूसँग नेपाल मजदुर किसान पार्टीको सङ्घर्ष चालु रहेको उल्लेख गर्दै सचिव सुवालले अगाडि भन्नुभयो, “मजदुर, किसान र गरिबवर्गको मत लिएर विदेशी पुँजीको सेवा गर्नेहरूको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बालुवाको घरजस्तै हो, झूटो हो । नेपाली जनतालाई २६ खर्ब बढी सार्वजनिक ऋण बोकाएर सडक र पुल निर्माण गरेको दाबी गर्नु र विद्युत् तथा टेलिफोन विस्तार गरेको दाबी गर्नु सरकारहरू आफ्नो खुट्टाले नहिँडी विदेशी लौरो टेकी हिँड्नु हो । यो समृद्ध नेपाल हुनसक्दैन । सरकारको यो झूटो नाराको पछि लाग्नु नेपाली जनताको लागि आफ्नो खुट्टामा आफैँ बन्चरो हान्नुजस्तै हो ।”
शोषण, असमानता, हिंसा, युद्धको कारक साम्राज्यवाद हो भएको धारणा राख्दै उहाँले हामी साम्राज्यवादीहरूको गरिब जनताविरूद्धको युद्धलाई सधैँ निन्दा र विरोध गर्छौँ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले युक्रेनको दुर्लभ खनिज कब्जा गर्दै छ भने त्यहाँको उर्वर लाखौँ हेक्टर कृषि भूमि किनेको र प्यालेस्टिनीहरूलाई उठिवास गराई त्यहाँको तेल, ग्यास खानी र जमिनमुनिको पानी भण्डारण कब्जा गर्दै गरेको प्रस्ट भएकोले नेमकिपा त्यसको विरोध गर्दछ ।”
समारोहमा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपालको संविधानले समाजवादउन्मुख राज्य घोषणा गरेको छ† समाजवादको अर्थ उत्पादनका साधनहरू सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचार निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हो भन्दै नेमकिपाका उम्मेदवारहरू निर्वाचित पालिकाहरूमा पार्टीको नीति र निर्देशनअनुसार जनताको हितमा काम भइरहेको बताउनुभयो ।
ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गर्न नदिनु राणाशासकहरूको मानसिकता र प्रतिक्रियावादी सोच र त्रास हो भन्दै प्रजापतिले अगाडि भन्नुभयो, “भक्तपुर नगरपालिकाद्वारा सञ्चालित २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरूले देशभरका जनताका छोराछोरीहरूलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन् । यी शैक्षिक संस्थाहरूमा हाल ७७ वटै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । यी कलेजहरूलाई समेटेर ख्वप विश्वविद्यालय सञ्चालनको निम्ति भक्तपुर नपाले तयारी गरिरहेको छ । सरकारले संविधानमा स्थानीय तहलाई विश्व विद्यालय चलाउने अधिकार नभएको निहुँ राखी भक्तपुर नगरपालिकालाई सञ्चालन स्वीकृति दिएको छैन । त्यसैले विश्वविद्यालय सञ्चालन गरेर जनताका छोराछोरीलाई सस्तोमा चिकित्सकलगायत जनशक्ति तयार गर्ने जनताको चाहना पूरा हुन सकेको छैन ।
स्थानीय तहलाई समानीकरण अनुदान बढाउनुपर्नेमा उल्टो सशर्त अनुदान बढाउँदै लानु, सङ्घीयता कार्यान्वयनमा आएको एक दशकसम्म स्थानीय तहका लागि आवश्यक कानुनहरू निर्माण नगर्नु, स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नदिनु र २ देखि ४ लाखको स–साना योजनासमेत सङ्घ र प्रदेशले सञ्चालन गर्नु सङ्घीयता, नेपालको संविधानको भावना र मर्मविपरीतका कार्यहरू हुन् । जिल्लास्तरीय धेरै सरकारी निकायहरू कायमै राखेका कारण राज्यको खर्च बढ्नुका साथै स्थानीय तहहरूले काम गर्न असहज स्थिति भोग्नु परिरहेका छन् ।”
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले कर्णालीजस्तो दुर्गम क्षेत्रमा नेमकिपाले नै कम्युनिस्ट आन्दोलनको रातो झन्डा फहराएको हो र कामदार वर्गीय जनतालाई माक्र्सवादको ज्ञान दिने काम हामीले जारी राखेका छौँ भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “नेमकिपाले प्रतिक्रियावादीवर्गविरूद्ध सङ्घर्षका गतिविधिलाई निरन्तर अगाडि बढाइरहेको छ । पञ्चायती व्यवस्थाले कर्णालीको नेमकिपाको सङ्गठनमाथि व्यापक दमन ग¥यो । तर, नेमकिपा दबिएन । बहुदलीय व्यवस्था स्थापनापछि कम्युनिस्टको खोल ओढेका पुँजीवादी पार्टीहरूले नै नेमकिपालाई तोड्न खोजे । शासक पार्टीहरूले सत्ताको दुरूपयोग गरेर, झूटो आश्वासन तथा प्रलोभन देखाएर निर्वाचन जित्ने शृङ्खला सुरू गरे । देशको राजनीतिमा शोषकवर्गकै रजगज चलेको कारणले जनताले वास्तविक विकासको स्वाद चाख्न पाएका छैनन् ।”
अर्का केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले शासक पार्टीहरूको अकर्मण्यता र अक्षमताले स्रोत सम्पन्न भएर पनि दुर्गतितिर उन्मुख भएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “नेपाल प्राकृतिक स्रोत सम्पन्न उर्वर भूमि हो । यसलाई विश्वमा प्रतिस्पर्धी बनाउन सकिन्छ । तर, सम्पन्न देशका हामी नागरिकलाई विपन्न र विदेशीको नोकर बनाइयो – सरकारको असमर्थताका कारण । जलविद्युत् विकासको मेरूदण्ड हो । हाम्रो देशमा पहिलो र पर्याप्त स्रोत पानी हो । जसलाई हाम्रो हिमाल रहेसम्म कसैले घटाउन सक्ने छैन । यसैमा आधारित खेती र उद्योग चलाएमा देश सम्पन्न हुनेछ ।”
“जलस्रोतलाई सानासाना जलविद्युत् आयोजना, सिँचाइ र प्रशोधित खानेपानीको लागि उपयोग गर्न सकिन्छ । यसलाई प्राथमिकता दिए देशलाई आत्मनिर्भर बनाउन ठुलो टेवा पु¥याउनेछ । तर, दुःखको कुरा सरकारले विद्युत्मा लगानी गर्न छाडिसक्यो । सरकारले जलविद्युत्मा लगानी नगरी सोलार र थर्मल प्लान्ट बनाई देशलाई एसिडबाट प्रभावित बनाउँदै छ । विदेशी लगानीको नाममा भारतीय एकाधिकार पुँजीको हातमा नेपालको जलविद्युत् सुम्पने काम गरेको छ । नेपाली विद्युत् आयोजना कमजोर हुँदै छ । हाम्रो देश ऊर्जा र सिँचाइ भारतको पञ्जामा पार्दै छ । यसको विरोध हामीले गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य नवराज कोइरालाले सुदूरपश्चिम प्रदेश राष्ट्रिय विकासको मूलधारमा समाहित भएको छैन भन्दै विगत्मा तत्कालीन पञ्चायती व्यवस्थामा बैतडी जिल्लाबाट र बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि डडेल्धुरा जिल्लाबाट पटक–पटक गरी दुई–दुई जना व्यक्ति प्रधानमन्त्री भए तापनि जनताका समस्या ‘ज्यूँका–त्यूँ’ छन् भन्नुभयो । स्वास्थ्य, शिक्षा, सडक र सिँचाइको व्यवस्था आशातीतरूपले गुणस्तरीय नभएको उल्लेख गर्दै उहाँले सुदूरपश्चिमेली जनताको जीवनमा परिवर्तनको अनुभूति गर्ने एउटा दृष्टान्तसम्म छैन भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य जग्यबहादुर शाहीले विगतमा भन्दा शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि, खानेपानीलगायतका सेवाहरू राम्रो हुँदै जाने र गरिब तथा विपन्न परिवारको पहुँचको सेवा पुग्ने जनताको अपेक्षाविपरीत शिक्षा, स्वास्थ्य महँगो हुँदै गइरहेको छ, युवायुवती गाउँमा बस्ने वातावरण नहुँदा कृषियोग्य जमिन बाँझो छ, बस्तीहरू उजाड छन् भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिरसिंह बिकले नेपालमा आफूलाई कम्युनिस्ट दाबी गरी सरकारमा गएकाहरूले समाजमा रहेका अन्धविश्वास र छुवाछुतलाई नियन्त्रण होइन झन् बढाउँदै छन् भन्दै यसले सरकारमा गएका ती कम्युनिस्टहरू सामन्तवर्गकै प्रतिनिधि भएको पुष्टि हुन्छ भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य नारायण महर्जनले शासक दलहरूको अदूरदर्शिता र अक्षमताले काठमाडौं उपत्यका खानेपानीको अभाव, अनेकौँ समस्या र अपराधको केन्द्र बनेको चर्चा गर्दै काठमाडौं उपत्यका बाहिरका जनताले उपत्यकाभित्र स्थायी बसाइँसराइ गर्न नपाइने बन्दोबस्त आवश्यक छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाली कम्युनिस्ट आन्दोलनको बीउ जोगाउन र नेपाली कामदार जनताको आफ्नै क्रान्तिकारी सङ्गठन निर्माण गर्न आजभन्दा एकाउन्न वर्ष अगाडि २०३१ साल माघ १० गते बिजारोपण गरिएको नेमकिपा आज राजनीतिक नैतिकता, विचार र सिद्धान्तको सतिसाल बनी संसारसमक्ष प्रस्तुत छ भन्नुभयो ।
अमेरिकी साम्राज्यवाद युद्ध, हमला, हस्तक्षेप र सत्तापलटका खेलहरूलाई निरन्तरता दिँदै र डलरलाई अर्को शक्तिशाली हतियार बनाई विश्वमा प्रभुत्व कायम राख्न कसरत गर्दै छ भने संसार अमेरिकी प्रभुत्वको पञ्जाबाट मुक्त हुन प्रयास गर्दै गरेको उहाँले बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले राजनीतिमा कामदारवर्गका महिलाहरूको सहभागिता कम हुँदा आज पनि सम्भ्रान्त र शोषकवर्गका महिलाहरूले हालमिुहाली गरिरहेका छन् भन्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैँजूले नेमकिपाले स्थापनाकालदेखि नै कामदार र गरिबवर्गलाई शिक्षित र सङ्गठित गर्ने कष्टसाध्य कार्य गर्दै आएको चर्चा गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य सरोजप्रसाद साहले भन्नुभयो, “तराईका बहुमत जनता कृषिमा आधारित भए पनि अधिकांश किसानहरूको नाममा खेत छैन । नेपाल मजदुर किसान पार्टीले जोत्नेलाई जमिन वितरण अर्थात् क्रान्तिकारी भूमिसुधारमार्फत कृषि उत्पादनमा जोड दिइरहेको छ । तर, शासकहरू किसानमाथि अन्याय र विश्वाघात गर्दै छन् ।” समारोहमा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले पनि बोल्नुभएको थियो ।
समारोहमा अध्यक्ष रोहितको २०७६ यताका अन्तर्वार्ता सङ्कलन ‘समय र विचार –२’ र ‘श्रमिक’ साप्ताहिकका सम्पादकीय लेखहरूको सङ्कलन पुस्तक सार्वजनिकीकरण अध्यक्ष रोहितले गर्नुभयो । त्यस्तै विभिन्न जिल्लाका कलाकारहरूले प्रगतिशील गीत , देउडा नाच, तामाङ सेलो गीत, थारु नृत्य आदि प्रस्तुत गरेका थिए ।
उद्घाटन समारोह अगाडि काठमाडौँको कोटेश्वर, भक्तपुरको लान्चा फल्चा, चाँगु नपाको पकुनेपाटी, फैढोका र सूर्यविनायक नपाको सूर्यविनायकबाट उद्घाटन ¥यालीहरू विभिन्न नारा र बाजागाजाका साथ समारोहस्थल सल्लाघारी पुगेको थियो ।
नेमकिपाको आठौँ महाधिवेशनको सफलताको कामना गर्दै चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त शुभकामना सन्देशको सार
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग समितिको तर्पmबाट न्यानो बधाई ज्ञापन गर्दछु । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको नेतृत्वमा हुने आठौँ महाधिवेशन पूर्णरूपमा सफल हुने दृढ विश्वास व्यक्त गर्दछु ।
नेपाल र चीन हिमाल, पहाड र नदीले जोडिएका दुई मित्र देश हुन् । नेपाल–चीनबिचको मित्रता पछिल्लो समय सुमधुर बन्दै छ र विकसित हुँदै छ । दुवै देशले अप्ठ्यारो परिस्थितिमा समेत एकआपसमा साथ, सहयोग तथा सहकार्यलाई निरन्तरता दिँदै अगाडि बढिरहेका छन् । आपसी विकास, क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि आपसी सहकार्यलाई सक्रियतापूर्वक अगाडि बढाउँदै छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल मजदुर किसान पार्टीसँग मित्रवत आदानप्रदान अगाडि बढाउँदै आइरहेको छ । नयाँ विकसित परिवेशमा चिनियाँ कम्युनिस्ट पार्टी नेपाल मजदुर किसान पार्टी र नेपालका अन्य राजनीतिक दलहरूसँग मैत्रीपूर्ण आदानप्रदान विकास गर्न र अनुभव आदानप्रदान गर्न उत्सुक छ ।
कोरियाली मजदुर पार्टीको बधाई सन्देशको सार
कोरियाली मजदुर पार्टी नेमकिपाको आठौँ महाधिवेशनको सफलताको हार्दिक कामना गर्दछ र नेमकिपाका सम्पूर्ण कार्यकर्ताहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।
यो महाधिवेशन पार्टीका गतिविधि र सङ्गठन थप एकताबद्ध एवम् बलियो बनाउन महत्वपूर्ण अवसर साबित हुने विश्वास छ । कोरियाली मजदुर पार्टी र नेपाल मजदुर किसान पार्टीबिच रहँदै आएको भाइचारा सम्बन्ध समयसँगै विकसित हुँदै जाने विश्वास छ । महाधिवेशनको पूर्ण सफलताको कामनासहित ।
श्रीलङ्काको जनमुक्ति पार्टीको शुभकामना सन्देश
नेमकिपाको आठौँ महाधिवेशनको शुभकामना सन्देश पठाइरहँदा हामी हर्षित छौँ ।
नेपालको वर्तमान राजनीतिक–आर्थिक सङ्कटमाथि विजय प्राप्त गर्ने जनताको उद्देश्य हासिल गर्न रचनात्मक उपायबारे छलफल गरी अगाडि बढ्न यो महाधिवेशन सफल हुने विश्वास छ । माक्र्सवाद – लेनिनवादको मर्मबमोजिम नेपाललाई सम्पूर्ण नागरिकहरू बस्नलायक सुन्दर देश बनाउने कार्यमा जनतालाई सचेत बनाउन सफलता प्राप्त हुने पनि विश्वास गर्दछौँ ।