देश र जनताको निःस्वार्थ सेवा गरौँ ! समाजवादी आचरणलाई व्यवहारमा लागु गरौँ ! संसारका सबै क्रान्तिहरूबाट सिकौँ ! नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पारौँ भन्ने नाराका साथ हुन गइरहेको यस आठौँ महाधिवेशनको हार्दिक सफलताको कामना गर्न चाहन्छु ।
हाल देशभर उच्च शिक्षामा लगभग ५ लाख ५६ हजार विद्यार्थी अध्ययनरत छन् । विगत २६ वर्षदेखि विदेशी विश्वविद्यालयबाट पनि सम्बन्धन लिएर शैक्षिक कार्यक्रमहरू नेपालमा सञ्चालित छन् । नेपालमा बेलायत, अमेरिका, मलेसिया, थाइल्यान्डलगायतका ९ देशका ३५ विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । दिनदिनै विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको सङ्ख्या बढिरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा १ लाख ८ हजार ४ सय ७६ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिए । १० वर्ष यता ६ लाख विद्यार्थी अध्ययनका लागि विदेश गइसकेका छन् ।
गत आर्थिक वर्षमा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूसँगै १ खर्ब २५ अर्ब १३ करोड रुपियाँ बाहिरियो । जुन अघिल्लो वर्षको तुलनामा एकचौथाइ बढी हो । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मङ्सिर) मा नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीले ४७ अर्ब ४० करोड ७५ लाख रुपियाँ बराबरको सटही सुविधा पाए ।
चालु आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारले शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपियाँ (१०.९४ प्रतिशत) विनियोजन गरेको छ । शिक्षालाई निःशुल्क र सर्वसुलभ बनाउन कुल बजेटको २४ प्रतिशत शिक्षामा खर्च गर्नुपथ्र्यो । चालु आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको बजेट २६ अर्ब १६ करोड ८७ लाखमात्र छ । देशको ठुलो विश्वविद्यालयको बजेटभन्दा बढी रकम विदेश अध्ययनका लागि देशबाट ४–५ महिनामा बाहिरिनुले देश खोक्रो हुँदै गएको देखाउँछ । भारत अध्ययन गर्न जाने विद्यार्थीहरूको स्पष्ट तथ्याङ्क समावेश छैन । भारतको कालिङ्गा इन्स्टिच्युट अफ इन्ड्रस्टियल टेक्नोलोजीमा मात्र १५०० भन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको जानकारी प्राप्त भयो । त्यहाँ नेपाली विद्यार्थीको मृत्यु र अपमानपूर्वक कलेज होस्टलबाट नेपाली विद्यार्थीहरूलाई निष्काशन गरिएको घटनाले देशबाहिर अध्ययन गर्ने विद्यार्थीको दयनीय अवस्था देखाएको छ । सरकारले भइरहेका विश्वविद्यालय र शैक्षिक संस्थाहरूको अवस्था सुधार गरेर नेपालमै अध्यापन गराउन आवश्यक छ । यस्तो अवस्थामा पनि जनस्तरबाट गुणस्तरीय र कम शुल्कमा अध्यापन गराउँछु भनेर यहीँ स्थानमा खोल्ने तयारी गरिएको ख्वप विश्वविद्यालय लामो समयदेखि रोकिराख्नुले राणा शासकको झल्को दिएको छ ।
हाम्रो खेतबारीमा प्रयोग गर्ने कीटनाशकले पनि क्यान्सर गराउने गर्छ । तीमध्ये आर्सेनिक, इथाइलिन अक्साइड÷लिन्डेन पहिलो समूहका क्यान्सर गराउन सक्ने वस्तु हुन् । विषादीको प्रयोगले मधुमेह, पार्किन्सन्स र अन्य धेरै रोगहरूको जोखिम बढ्ने गर्छ ।
सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गर्दा भन्सारमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण गर्न खोज्यो । भारतबाट नेपाल भित्याउन लागिएका तरकारी तथा फलफूल भन्सारमा रोकिए । त्यसपश्चात, भारतीय दूतावासले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन नेकपा अध्यक्ष प्रचण्ड, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादवलाई दबाब दियो । राजदूतावासले परराष्ट्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालको सीमा नाकामा आइपुगेका कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न दबाब दियो । त्यसपश्चात्, सरकारले लाचार भएर उक्त निर्णय फिर्ता लियो । भारतीय एकाधिकार पुँजीको सेवामा शासक दलले नेपाली जनतालाई धोका दिँदै छन् । तिनीहरूको प्रतिरोध गर्नुको हाम्रो विकल्प छैन ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले कामदार जनताका छोराछोरीहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित पार्दै आइरहेको छ । यो सङ्घ निःशुल्क, अनिवार्य, वैज्ञानिक र उत्पादन श्रमसँग जोडिएको समाजवादी शिक्षा व्यवस्थाका निम्ति सङ्घर्ष गर्दै छ । शिक्षा क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचार, अराजकताविरुद्ध नेक्राविसङ्घ निरन्तर लडिरहेको छ । सङ्घले सरकार सामाजिक सेवाको क्षेत्रबाट पन्छिने, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्र पनि निजी क्षेत्रलाई दिने नवउदारवादी नीतिको विरोध गर्दै आइरहेको छ । सरकारी क्याम्पसहरूमा निजी कार्यक्रमहरू सञ्चालन गर्ने, उपयुक्त विकल्पबिना त्रिविले प्रवीणता प्रमाणपत्र तह खारेज गर्ने, विनातयारी सेमेस्टर प्रणाली लागु गर्नेलगायतका विद्यार्थी विरोधी निर्णयको हामीले विरोध ग¥यौँ ।
नेक्राविसङ्घले जनजीविकाको पक्षमा पनि निरन्तर आवाज उठाइरहेको छ । नेपालका मात्र नभई विश्वका विभिन्न स्थानमा भइरहेको शोषण, अन्याय, अत्याचार र दमनको विरोधमा आवाज उठाउँदै आफ्नो अन्तर्राष्ट्रिय कर्तव्य पनि पूरा गर्दै आइरहेको छ । इजरायली फासीवादले अमेरिकी साम्राज्यवादको निर्देशनमा प्यालेस्टिनी जनतामाथि गरेको बर्बर हमला, शैक्षिक संस्था केन्द्रित हमला, निर्दोष बालबालिकाको हत्याको विरोधमा देशका विभिन्न ठाउँमा विरोध जुलुस प्रदर्शन गरेको थियो ।
अन्तमा, आठौँ महाधिवेशनको सफलताको कामना गर्दै बिदा हुन्छु ।
(नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले फागुन १६ गते भएको पार्टीको आठौँ महाधिवेशन उद्घाटन समारोहमा व्यक्त मन्तव्यको सार– सं.)