पार्टीको आठौँ महाधिवेशन सफल पार्न देशका विभिन्न क्षेत्र र प्रदेशहरूबाट पाल्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाइ हार्दिक अभिवादन ।
नेपाल मजदुर किसान पार्टी स्थापनाको यस वर्ष ५१ औँ वर्ष प्रवेश गरेको छ । कर्णाली प्रदेशबाट म यहाँ आइरहेको छु । त्यो प्रदेशमा हँसिया हथौडाको झन्डा सर्वप्रथम फहराउने नेमकिपा हो । पञ्चायतकाल रात्रिको समयमा २०३४/३५ सालदेखि अहिलेसम्म यही पार्टीले त्यस क्षेत्रमा समाजवादी विचारको प्रचारप्रसार गरिरहेको छ । राष्ट्रघाती नागरिकता विधेयक, एमसीसी, एसपीपी, प्यालेस्टिनी नरसंहारविरुद्धको आवाजलाई बुलन्द गरिरहेको छ । देश सङ्घीयतामा प्रवेश गरेसँगै प्रदेश र स्थानीय सरकारहरू क्रियाशील रहेका छन् । विगतमा भन्दा शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि, खानेपानीलगायतका सेवाहरू राम्रो हुँदै जानेछन् र गरिब तथा विपन्न परिवारको पहुँचको सेवा पुग्ने जनताको अपेक्षा थियो । त्यसो हुनुको साटो शिक्षा, स्वास्थ्य महँगो हुँदै गइरहेको छ । युवा युवती गाउँमा बस्ने वातावरण नहुँदा कृषियोग्य जमिन बाँझो छन्, बस्तीहरू उजाड छन् । अधिकांश घरहरूमा ६० वर्ष माथिका नागरिकहरू मात्रै भेटिन्छन् । कतिपय बस्तीहरू बालबच्चाहरू समेत बोकेर मुग्लान (भारत) पसेका छन् भने कति युवा युवतीहरू खाडीलगायतका देशहरूमा पसिना चुहाइरहेका छन् । कर्णालीमा एकातिर नागरिकहरू यसप्रकारले पीडित छन् भने सरकारले सेवा प्रवाह गर्दा माथिबाटै आफन्तजन, नातागोता र कार्यकर्ताहरूलाई लक्षित गरी बजेट बाँडफाट गर्नुका साथै अन्य सेवाहरू पनि त्यसै गरी प्रवाह गर्ने गरिन्छ । कहीँकतै काम पाइहालियो भने पनि उचित ज्याला नपाउने, काम गरेको पैसा नै नपाउने समस्या चर्काे छ ।
एकातिर शिक्षामा महिनौँ र वर्षाैँसम्म पनि दरबन्दी पूरा नगर्ने, गणित विज्ञानजस्ता विषयगत शिक्षकहरू नै नपाउने समस्या छ भने अर्काेतिर सत्ता र शक्तिको दुरूपयोग गरी भागबन्डामा अयोग्य शिक्षकहरू नियुक्ति गर्ने प्रचलनजस्तै भएको छ । ठुलठुला योजना र संस्थाहरूमा गठबन्धन दलहरूको अग्रीम भागबन्डा सुनिश्चित गरिन्छ र त्यसो नभएसम्म कामलाई अगाडि बढाउने वातावरण बनाइँदैन । आफन्त र नातागोतालाई अवसर दिन खोज्दा कतिपय स्थानीय सरकारहरूमा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षहरू एउटै दलका हुँदा पनि बोलचाल बन्द भएका, हात हालाहालसम्मको अवस्था सृजना भएका प्रशस्तै उदाहारणहरू छन् ।
कर्णाली प्रदेश र यहाँका बासिन्दाहरू यी यावत समस्याहरू झेलिरहेका भए तापनि यहाँ विकासका सभावनाहरू पनि नभएका होइनन् । कृषि, पर्यटन, जडिबुटी, जलविद्युत्लगायतका थुप्रै सम्भावनाहरू कर्णालीले बोकेको छ । तर, सरकारहरू उदासीन छन् र परनिर्भतालाई बढावा दिइरहेका छन् । कर्णाली विकासमा पछाडि पर्नुमा आजसम्म सरकारमा गएको शासक दलहरू नै जिम्मेवार छन् ।