नेपालमा आफूलाई कम्युनिस्ट दाबी गरी सरकारमा गएकाहरूले समाजमा रहेका अन्धविश्वास र छुवाछुतलाई नियन्त्रण होइन झन् बढाउँदै छन् । यसले सरकारमा गएका ती कम्युनिस्टहरू सामन्तवर्गकै प्रतिनिधि भएको पुष्टि हुन्छ । समाज दुई वर्गमा विभाजित छ । एउटा शासकवर्ग र अर्को शोषित । नेपालका सबै जाति र भाषाभित्र यी दुई वर्ग छन् । यी दुई वर्गबिच सुरुदेखि नै सङ्घर्ष भइरहेको छ । छुवाछुतको बन्दोबस्त सामन्त वर्गको दृष्टिकोण हो । वर्गीय समाजको अन्त्य भएपछि मात्र छुवाछुतलगायत अन्धविश्वास अन्त्य हुनेछ ।
नेपाल मजदुर किसान पार्टीले यो विषयबारे गरिबवर्गलाई शिक्षित र सङ्गठित गर्दै आएको छ । हालै सर्लाही जिल्लामा नेहा रौनियार र सत्येन्द्र रामबिचको विवाहको विरोध पनि सामन्ती दृष्टिकोण हो ।
सांस्कृतिकरूपले सचेत मानिसहरूको सङ्ख्या बढ्दै आएपछि छुवाछुतको साथै अन्य अन्धविश्वास र भेदभाव अन्त्य हुनेछ । धर्म सांस्कृतिक विषय हो । धर्मको नाममा अन्धविश्वास र छुवाछुत कायम गर्नु कुसंस्कार हो । वर्गीय समाज अन्त्य गर्ने एउटै उपाय सामाजिकीकरण हो, आर्थिक समानता र सामाजिक न्याय हो । यसले छुवाछुत पनि समाप्त गर्नेछ ।
नेपालमा कानुनतः छुवाछुत अमान्य छ । तर, सामान्तवर्गको प्रतिनिधित्व गरेका शासकहरू विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा छुवाछुतविरुद्धको विषय पर्याप्त समावेश गरेर जनतालाई सचेत र शिक्षित पार्ने काममा विलम्ब गर्दै छन् ।
पार्टीको यो आठौँ महाधिवेशनको उद्घाटन समारोहमा जातीय छुवाछुत र अन्धविश्वासको विरोधमा सङ्घर्ष गर्नुभएका श्रमिक र गरिबवर्गका महान् गुरुहरू माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओ त्सेतुङलगायत सम्पूर्ण योद्धाप्रति हार्दिक नमन गर्न चाहन्छु ।