काभ्रे, २४ जेठ । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा बनेपामा शनिबार अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले शासकहरू दूरदर्शी नभएकाले देशले विकासको गति लिन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देश झन्झन् परनिर्भर हुँदै जानुमा शासकहरू दोषी भएको र शासकहरूमा नैतिकताको खडेरी परेको छ । शासकहरू सिद्धान्तनिष्ठ राजनीति गर्दैनन् । त्यसैले देशमा बेथिति बढेको हो ।”
उहाँले भन्नुभयो, “सामन्तवादी व्यवस्थामा व्यक्तिको राजनीतिक अधिकार र कर्तव्य निर्धारण भूमिको आधारमा गरिन्थ्यो । सामन्तहरूका पनि थुप्रै श्रेणीहरू हुन्थे, जसमा शीर्ष स्थानमा राजा हुने गथ्र्यो । पुँजीवादी व्यवस्थामा उत्पादनका साधनमाथि निजी स्वामित्व हुन्छ । यसलाई व्यक्तिगत रूपमा हेर्ने गरिन्छ । पुँजीवाद लाभको लागि चलाइन्छ जसमा लगानी, वितरण, आय उत्पादन मूल्य, बजार मूल्य इत्यादि निर्धारण प्रतिस्पर्धाद्वारा गरिन्छ । समाजवाद एक राजनीतिक र आर्थिक प्रणाली हो, जहाँ उत्पादन, वितरण र विनिमयका साधनहरूको स्वामित्व वा नियमन सामूहिक रूपमा गरिन्छ । समाजवादको लक्ष्य भनेको सामाजिक समानतालाई बढावा दिनु वर्गभेदलाई कम गर्नु र सम्पत्ति र स्रोतलाई जनसङ्ख्यामा समान रूपमा वितरण रहेको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्य निःशुल्क, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, उत्पादनका मुख्य मुख्य साधनहरूको सामाजिकीकरण, विभेद र शोषणको अन्त्य आदि समाजवादका विशेषता हुन् भन्नुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले नीतिगत निर्णय भनेर शासकहरू गिरीबन्धु टी स्टेटको जग्गा, पतञ्जलीको जग्गा खरिद बिक्री, ललिता निवासको सरकारी जग्गा हिनामिनालगायत भ्रष्टाचारमा मुछिएको पत्रपत्रिका र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपा बनेपा नगर समितिका उपाध्यक्ष सत्यनारायण श्रेष्ठ, सदस्य राममन्दिल श्रेष्ठले देशका शासकहरू भ्रष्टाचार र अनियमिततामा लागेकाले देश डुब्न बेर नलाग्ने र यसबारे शासकहरू बेलैमा गम्भीर र संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।