शक्तिखोर, जेठ २४ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति, चितवनको आयोजनामा का.रोहितका सङ्कलित अन्तर्वार्ता समय र विचार–२ को अध्ययन गोष्ठी कार्यक्रम शनिबार कालिका नपास्थित शक्तिखोरमा सम्पन्न भयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष हरिप्रसाद दुवालले पार्टी प्रकाशनको नियमित अध्ययन र छलफल कार्यक्रमले कार्यकर्ताहरूको स्तर विकासको साथै सक्रियता पनि बढ्ने बताउनुभयो ।
उहाँले ३५ वर्षको बहुदलीय व्यवस्थामा सरकारमा जाने शासक दलहरू सबै पञ्चायतकै पथमा हिँडेकाले नेपाली जनताले दुःख पाएको भन्दै शासक दलहरूको खोटो विचार तथा देश र
जनताविरोधी गतिविधिबारे जनतामाझ व्यापक प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा व्यापक जनता शोषित र पीडित हुने भएकोले कामदारवर्गको व्यवस्था समाजवादी व्यवस्था स्थापना गर्नको लागि निरन्तर सङ्घर्षरत रहनु इमानदार कार्यकर्ताहरूको कर्तव्य भएको बताउनुभयो ।
उक्त कार्यक्रममा विष्णु शर्मा, मोहनबहादुर प्रजा, अस्मिता गुरुङ, मोहन चेपाङ, दिपेश चेपाङ, रोहित शर्मा, मोनिका चेपाङलगायतले आ–आफ्नो अध्ययन सार प्रस्तुत गर्नुभएको थियो ।