“हामी निर्वाचन घोषणापत्रलाई अक्षरशः कार्यान्वयन गर्ने कोसिस गर्दैछौँ”
नेपालभाषा साहित्य तःमुंज्या कामदारवर्गको साझा मञ्च हो । विगत ४४ वर्षदेखि नेपालभाषा साहित्य तःमुंज्याले साहित्य र संस्कृतिको माध्यमबाट कामदारवर्गको सेवा गर्दै आएको छ । भाषा र साहित्य हाम्रो पहिचान भएको हुँदा त्यसको संरक्षण गर्नु पनि हामी सबैको साझा कर्तव्य हो । भाषा र संस्कृतिको माध्यमबाट लामो समयदेखि नेपालको राजनैतिक परिवर्तनमा नेपालभाषा साहित्य तःमुंज्याले महत्वपूर्ण योगदान गर्दै आएको छ । आगामी दिनहरूमा झन् सशक्तरूपमा अगाडि बढ्न सकोस् हार्दिक शुभकामना !
नाचगानको राजधानी, सांस्कृतिक नगर, सम्पदा संरक्षित नगरको रूपमा परिचित भक्तपुरलाई जर्मनीमा एक प्रसिद्ध वास्तुकलाविद् नील गोत्सोले “संसारकै ठुलो जीवित सङ्ग्रहालयको” उपमा दिनुभएको छ । आज तःमुंज्याको मञ्चमा बोल्नु हुने कवयित्री जयन्ता पोखरेलले भक्तपुरलाई “इमानदार मानिसहरू बस्ने ठाउँ” र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेपालका सबै क्षेत्र भक्तपुरजस्तो भए नेपाल ‘स्वर्ग’ हुने भनी भक्तपुरको चर्चा गर्नुभयो । हामी उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजभन्दा तीन दशक अगाडिसम्म भक्तपुरका जनताले हेला र अपहेलित जीवन बिताउनुपथ्र्यो । अब सबैतिर भक्तपुरको चर्चा हुन थालेको छ । यो हाम्रा अग्रजहरूले देश र जनतालाई केन्द्रमा राखेर इमानदारीपूर्वक गर्नुभएको मेहनतको परिणाम हो । यसलाई अझ अगाडि बढाउने जिम्मेवारी अहिले हामीमा छ ।
आजभन्दा साढे दुई वर्षअघि २०७९ साल वैशाख महिनामा सम्पन्न स्थानीय निर्वाचनमा हामी दोस्रो कार्यकालका लागि निर्वाचित भयौँ । नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्र कार्यान्वयन गर्ने हाम्रो प्रतिबद्धता हो ।
शिक्षामा हाम्रो प्रतिबद्धता :
ख्वप विश्वविद्यालय सञ्चालनलाई अगाडि बढाउने र नयाँ नयाँ कलेजहरू सञ्चालन गर्ने निर्वाचन घोषणापत्रमा उल्लेख छ । त्यहीअनुसार निर्वाचित भएकै वर्ष २०७९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी ख्वप कलेज अफ ल सञ्चालन ग¥यौँ । विद्यार्थीहरूको धेरै माग हुँदाहुँदै पनि स्वीकृति प्राप्त ६० कोटामा ३ वर्ष गरी हाल १८० जना विद्यार्थीहरू पढाउँदैछौँ । थप कोटाको लागि हामी प्रयासरत छौँ ।
ख्वप विश्वविद्यालय विधेयक पारित गर्न नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले पटकपटक संसद्मा उठाउँदै आउनुभएको छ । ख्वपको भन्दा पछाडि आएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजश्री जनक विश्वविद्यालय, पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल विश्वविद्यालयलगायत धेरै वटा विधेयकहरू पारित भइसके । तर, ख्वप विश्वविद्यालय विधेयक अझै अगाडि बढ्न सकेको छैन । विधेयक शिक्षा, अर्थ र कानुन मन्त्रालय हुँदै पुनः शिक्षा मन्त्रालयमा पुगेको जानकारी पाएका छौँ । कहिले अगाडि बढाउँछ अनिश्चित छ । तर, एउटा कुरामा भन्ने हामी आशावादी छौँ, ख्वप विश्वविद्यालय विधेयक एक दिन पारित गर्नैपर्ने हुन्छ । त्यसलाई कसैले रोक्न सक्ने छैन । हामी त्यो दिनको पर्खाइमा छौँ ।
ख्वप विश्वविद्यालयको लागि सल्लाघारीस्थित १०८ रोपनी जग्गा हामीले पहिलेदेखि माग गर्दै आएका थियौँ । राजा वीरेन्द्रको पालामा मोहीलाई ६०० र जग्गाधनीलाई १२००।– गरी प्रति रोपनी १८००।– मा प्राप्त गरेको त्यो जग्गा भक्तपुरबासीहरूकै साझा सम्पत्ती हो । २०५८ सालमा राजा वीरेन्द्रको हत्यापछि त्यसको स्वामित्व राजा ज्ञानेन्द्रको नाममा सरियो । २०६२/०६३ सालको आन्दोलनबाट गणतन्त्र स्थापना पछि राजा र राजपरिवारको नाउँमा रहेको सम्पूर्ण जग्गा जमीन र सम्पत्ती नेपाल ट्रस्टको स्वामित्वमा पुग्यो ।
ट्रस्ट ऐनमा शिक्षा र स्वास्थ्य प्रयोजनको लागि प्रयोग गर्ने उल्लेख छ । यसर्थ, ट्रस्टका वर्तमान अध्यक्ष भूमिसुधार मन्त्री बलराम अधिकारीलाई उक्त जग्गा ख्वप विश्वविद्यालयका लागि प्रदान गर्न २०८१ भदौ ३१ गते ध्यानाकर्षण पत्र बुझायौँ । मन्त्री स्वयं त्यसको भोलिपल्ट २०८१ असोज १ गते १०८ रोपनी जग्गाबारे जानकारी लिन भक्तपुर आउनुभयो । उहाँले भनपाद्वारा सञ्चालित अस्पताल र कलेजहरूको अवलोकन गर्नुभयो । विश्वविद्यालय सञ्चालनको लागि जग्गा प्रदान गर्न आफू सकारात्मक रहेको बताउँदै प्रक्रिया अगाडि बढाउने आश्वासन दिनुभयो ।
नपाद्वारा सञ्चालित कलेजहरूलाई नयाँ नयाँ विषयहरू अध्यापनको स्वीकृति दिएको छैन । त्यसबारे त्रिविका तत्कालीन उपकुलपति धर्मकान्त बास्टोलासँग भेट गरी आग्रह ग¥यौँ । उहाँले आङ्गिक कलेजहरूबाहेक अरुलाई स्वीकृति दिने नीति नभएको प्रस्ट पार्नुभयो । भेटमा उहाँले भागबन्डामा प्राध्यापकहरू नियुक्त हुने गरेको हुँदा काम गराउन गा¥हो भएको लाचारी व्यक्त गर्नुभयो । केही प्राध्यापकहरू विश्वविद्यालयले दिने तलबभन्दा बढी म्यानपावर कम्पनीहरूबाट तलब खाने रहेको पनि जानकारी दिनुभयो र विद्यार्थी विदेश जाने प्रसङ्ग उठ्दा त्यस्ता प्राध्यापकहरू पनि विद्यार्थी विदेश जानेमा दोषी रहेको बताउनुभयो ।
वर्तमान उपकुलपति डा. केशरजङ्ग बडालसँग पनि भेट गरेर नयाँ विषय सञ्चालनको स्वीकृति माग गर्यौँ । उहाँले गुणस्तर सुुनिश्चितता तथा प्रत्यायन चिह्न (क्यूएए) प्राप्त कलेजलाई मात्र नयाँ विषय स्वीकृति दिन सकिने बताउनुभयो । नगरपालिका स्वयं स्थानीय सरकार भएकोले सरकारी कलेजसरह मान्यता दिन जोड गर्दा उहाँले “बैठकमा राखेर छलफल गर्छु” भन्ने आश्वासन दिनुभयो ।
एकातिर विश्वविद्यालय अनुदान आयोगले क्यूएए स्वीकृति नदिने अर्कोतिर नयाँ विषय सञ्चालन गर्न क्यूएए अनिवार्य गर्ने सरकारको यो कस्तो नीति हो ? यो नियोजित तरिकाले विद्यार्थी विदेश पठाउने सरकारी चाल हो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानले सामान्य चिकित्सा, स्वास्थ्य प्रयोगशाला विज्ञान, औषधि विज्ञान, एक्स–रेसम्बन्धी विज्ञान पढाउन स्वीकृतिको लागि ४ लाख रूपैँया सीटीईभीटीलाई बुझाएको वर्षौ भइसक्यो तर अहिलेसम्म स्वीकृति पाएका छैनौँ । यसर्थ, हामीले जनताका छोराछोरीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने चाहना हुँदाहुँदै पनि विभिन्न बाधा अड्चनहरू भोगिरहेका छौँ । गरिब विद्यार्थीहरूलाई शैक्षिक ऋण, विभिन्न विषयहरूमा विद्यावारिधिसम्मको छात्रवृत्तिको व्यवस्था गरी भनपाले जनताका छोराछारीहरूलाई उच्च शिक्षा प्राप्तिको अवसर प्रदान गरिरहेकोे छ ।
स्वास्थ्यमा हाम्रो प्रतिबद्धता :
चुनावी घोषणापत्रमा ख्वप अस्पताललाई स्तरोन्नति गरी १०० शøयाको अस्पताल सञ्चालन गर्ने र सुविधासम्पन्न अस्पताल बनाउने उल्लेख भएबमोजिम ख्वप अस्पतालको स्तरोन्नति भइसकेको छ र अब सुविधासम्पन्न बनाउने प्रयासमा छौँ । आ.व. २०८०/८१ मा देशका ७० भन्दा बढी जिल्लामा २ लाख ५३ हजारभन्दा बढी सेवा दियो भने चालु आ.व. को साढे २ महिनामा ६८ हजारभन्दा बढी बिरामीहरूलाई सेवा दिइसकेको छ । अहिले त्यस अस्पतालमा २२३ जना चिकित्सक, नर्स र अन्य जनशक्ति कार्यरत छन् ।
सरकारले बीमाबापतको पैसा समयमा भुक्तानी नगरेको कारण ख्वप अस्पतालले आर्थिक समस्या भोग्दै छ । यद्यपि, देशभर बीमा सञ्चालन भएका ४८३ अस्पतालहरूमध्ये उत्कृष्ट सेवा दिने ख्वप अस्पताल सातौँ स्थानमा रहेको छ । हामी देशकै सबभन्दा राम्रो सेवा दिने अस्पतालको रूपमा विकास गर्न चाहन्छौँ । अहिले शिक्षण अस्पतालले बीमाको उपचार बन्द गरेको छ । पाटन अस्पतालले १८ करोडभन्दा बढी बाँकी भएकोले तलब दिनै मुस्किल भएको बताएको छ भने वीर अस्पतालले पनि समस्या भोग्न परेको समाचार पत्रहरूमा आइरहेका छन् । देशभरका सरकारी अस्पतालहरूको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । भनपाले नगरवासीहरूलाई निःशुल्क अक्सिजन र रगतको पनि व्यवस्था गर्दै आएको छ ।
घर देलौ नर्सिङमा एक वर्षमा ५१,४१९ जनाको सेवा गरे भने रिपोर्टअनुसार नगरवासीहरूमा सर्नेभन्दा नसर्ने रोगहरू बढिरहेको पाइएको छ । अहिले नगरवासीहरूमा उच्च रक्तचाप, मधुमेह, दमखोकी, कोलस्टोरल र हाडजोर्नी सबभन्दा बढी देखिएका छन् । यसको न्यूनीकरणका लागि भनपाले समय–समयमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यहरू गर्दै छ । त्यसैगरी, श्वासप्रश्वास केन्द्रमा ५ महिनामा १४०० भन्दा बढीको सेवा गरेको रेकर्ड छ । भक्तपुर अस्पताल, क्यान्सर र अङ्ग प्रत्यारोपण केन्द्र समेत गरी चारवटा सरकारी अस्पतालहरूले भक्तपुरवासीहरूलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्दै आएका छन् ।
सम्पदा संरक्षणमा प्रतिबद्धता :
भक्तपुरको प्रसिद्ध भाज्यापोखरी यो कार्यकालमा सम्पन्न ग¥यौँ । लक्ष्मी नगरसिंह मन्दिर यो वर्ष सम्पन्न गर्ने तयारीमा छौँ । अरनिको सभाभवन, थंथु दरबार, इखालाछी मठ र हाडा छेँ निर्माणले गति लिएको छ । त्यसको अलावा नगरमा धेरै सम्पदाहरू पनि पुनःनिर्माण र जीर्णोद्धार गर्दैछौँ ।
अन्य :
देको मिवा आवास योजना पनि सम्पन्न गर्न लाग्दै छौँ । १६५३ रोपनी जग्गामा सञ्चालन गरिएको उक्त आवास योजना स्थानीय जनताको मागअनुसार नै भएको हो । त्यहाँ केही साथीहरूले आफ्नो असन्तुष्टि पोख्नुभएको छ । यस्ता आयोजनाहरूमा केही समस्याहरू आउनु स्वभाविक हो । त्यसलाई संवादद्वारा नै समाधान गर्ने हो । जथाभावी बोलेर हिँड्दा संवादलाई बाधामात्र पुग्द छ । यसबारे साथीहरूले बुझ्नु नै हुने छ ।
सर्वोच्च अदालतको केही समयअघि आएको एउटा पैmसलाले विद्यमान खोलाको मापदण्डमा थप २० मिटर छाड्नुपर्ने विषय जटील बनेको छ । पुरानो मापदण्डभित्र रहेर धेरै घरहरू निर्माण भइसके । त्यसलाई भत्काउन सक्ने सम्भावना छैन । त्याहाँ धेरै सम्पदाहरू पनि छन् । फैसला कार्यान्वयनमा ठुलो समस्या हुने छ । हामीले सरकारको पटकपटक ध्यानाकर्षण गरी सरकारको तर्पmबाट फैसला पुनरावलोकनको लागि निवेदन दर्ता भएको छ । अदालतले समस्यालाई बुझेर पुनर्विचार गर्ने जनताको अपेक्षा छ । साथै मापदण्ड कुन खोलामा कति राख्ने भन्ने सन्दर्भमा विस्तृत अध्ययन गरी लागू गर्ने अधिकार सरकारलाई दिनु राम्रो हुनेछ । सबै खोलामा एकै किसिमको मापदण्ड कायम गर्नु व्यवहारिक पनि हुँदैन ।
भक्तपुर नपाले सरसफाइ, खेलकुद र विभिन्न सीपमूलक तालिमहरू दिएर निर्वाचन घोषणापत्रलाई अक्षरशः पालना गर्ने प्रयास गर्दैछ । भक्तपुरलाई संसारकै हेर्न लायक नगर बनाउने का. रोहितले देख्नुभएको सपना ‘१०० वर्ष पछिको भक्तपुर’ का आधारहरू निर्माण गर्ने जिम्मेवारी अहिले हामो काँधमा छ । हामी क्रमशः त्यसको आधारहरू तयार गर्दै पनि छौँ र त्यसलाई निरन्तरता दिँदै जानेछौँ ।
भक्तपुर नगरपालिकाले गरेका कामहरूको अध्ययन गर्न देशका विभिन्न पालिकाका प्रमुखहरू, सांसद र मन्त्रीहरू आउनुभएको छ । त्यो यहाँका जनताले इमानदारीपूर्वक गरेका कार्यहरूको उच्च मूल्याङ्कन हो भन्ने लाग्छ । त्यसले हामीलाई अझ राम्रो काम गर्ने हौसला प्राप्त भएको छ ।
(भनपा प्रमुख सुनिल प्रजापतिले २०८१ असोज २८ गते सोमबार ४४ औँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिनमा व्यक्त गर्नुभएको मन्तव्यको सार सङ्क्षेप)