के नेपाल आफ्नै खुट्टामा उभिन सक्छ ?
आत्मनिर्भरता हाम्रो देशको स्वस्थ अर्थतन्त्रको मूल जरो हो । नेपाली जनताको पाखुरा र बुद्धिमा विश्वास गर्ने हो भने, इतिहासबाट शिक्षा लिन नहिच्किचाउने हो भने हामी अरूको मुख ताकेर अर्काको झिनो दयामा बाँच्नुपर्ने छैन । हामी आफ्नो खुट्टामा उभिन सक्छौँ । त्यसको निम्ति एउटै कुरा जरुरी छ त्यो हो, अभाव, सङ्कट र कठिनाइसँग भिड्ने राष्ट्रिय साहस, साम्राज्यवाद र उपनिवेशवादको विरोधमा लड्ने सङ्कल्प र देशलाई आफ्नै खुट्टामा उभ्याउनका निमित्त चाहिने मेहनत, उत्साह अनि त्यागको भावना ।
भारत बेलायती साम्राज्यवादको जुत्तामुनि दब्नुभन्दा पहिले र सुगौली सन्धिभन्दा अघि नेपाल आफ्नै खुट्टामा उभिएको थियो । त्यसबेलाको दाँजोमा आजको नेपालले भौतिकरूपले अवश्य पनि धेरै प्रगति गरिसकेको छ । नेपालको जनसङ्ख्या बढेको छ । उत्पादन र बौद्धिक काममा पनि धेरै प्रगति गरेको छ । विदेशी आक्रमण र उपनिवेशवादको विरोधमा लड्ने हरेक देशले पछि पूर्ण आत्मनिर्भरता र प्रगति हासिल गरेका थुप्रै उदाहरण पाइन्छन् । चीन, कोरिया र भियतनामका लाल इलाकाहरू नुनको निम्ति सङ्घर्ष गर्थे† झारपातको खरानीबाट नुनको काम लिन्थे । तर, नेपालमा नुनको खानी भेटिएको छ । क्युवा दसौँ वर्ष एक्लियो† दशकौँ नाकाबन्दीमा प¥यो । उसको जनसङ्ख्या हाम्रोभन्दा पनि कम छ । प्रगतिमा हामीभन्दा अगाडि छ । अल्बानिया आकार र जनसङ्ख्यामा हामीभन्दा सानो छ । तर, आर्थिक प्रगति र आत्मनिर्भर अर्थतन्त्रमा ऊ हामीभन्दा अगाडि छ । अमेरिकी स्वतन्त्रता आन्दोलनको बेला बेलायतले अमेरिकामाथि आर्थिक नाकाबन्दी लगायो । अमेरिकाले बेलायती सामान बहिष्कार गरेर खादीको लुगा लगाई आत्मनिर्भर सिद्धान्तको उदाहरण प्रस्तुत गर्यो । जापानविरोधी चीनको दीर्घकालीन लडाइँमा चिनियाँ जनताले जापानी मालसामान लुटेर आगो लगाइदिन्थे र ती सामानको प्रयोग बन्द गरेर स्वदेशी सामान उपभोग गर्थे । भारतीय जनताले समेत बेलायती सामान बहिष्कार गरी चर्खा चलाए । भारतको दाँजोमा नेपालको खाँचो सा¥है सानो भएकोले हामी त्यो बहिष्कार नीतिलाई अझ राम्रोसँग लागु गर्न सक्छौँ । भारतभन्दा नेपाल कम आधुनिक छ । नेपालभन्दा भारत अरू देशमा बढी निर्भर छ । नेपालको अत्यन्त ठुलो इलाका अझ पनि वन्य, गाउँले र सामन्ती अवस्थामा छन् । १०–२० लाख जनतामात्रै नयाँ ढङ्गले अरूको भरमा जीवन बिताउँछन् तर यही रोग भारतको जस्तो चर्को भने छैन । यसकारण, नेपाल कम कष्ट सहेरै आत्मनिर्भरताको बाटोमा अगाडि बढ्न सक्छ ।
कसैले प्रश्न गर्ला, ‘के नेपालसँग नुन छ ?’ हाम्रो उत्तर हुन्छ, ‘छ’ । हामीले पहिले भारतबाट नुन लिने गरेका थिएनौँ । समुद्रको नुनभन्दा खानीको नुन असल र शुद्ध हुन्छ । नेपालमा पनि नुनको खानी छ । नुन चामलजस्तो धेरै मात्रामा चाहिने वस्तु होइन ।
अरूले अर्कै प्रश्न गर्लान्, “के नेपालसँग कपास र लुगा छ ?” हामी जवाफ दिन्छौँ, “हामीकहाँ कपासलाई चाहिने माटो र हावापानी छ । हाम्रा पुर्खाले कपासको खेती गरेका थिए । त्यो हामी पनि गर्न सक्छौँ । हामीसँग कटुवा, चर्खा र तान छ । भेडाबाखा र ऊन छ । लौ, कपास छोडौँ, जुट त छ । जुटको मसिनो लुगा विदेशी मलमल र नैनसुतभन्दा बलियो अनि सस्तो हुन्छ । आज ढुङ्गाले कपडा बनाउने युग हो । रासायनिक वस्तुले कपडा बनाउने युग हो । हाम्रा उत्तरी अञ्चलहरू अझै पनि सक्षम र आत्मनिर्भर छन् ।”
विदेशीले भन्लान्, “नेपालसँग कागजको कारखाना छैन । विदेशीले कागज दिन बन्द गरे भने स्कूल, कलेज, अड्डा–अदालत, पढाइ लेखाइ बन्द हुनेछन् । छोटकरीमा भन्नुपर्दा केही समयलाई बुद्धिको काम रोकिनेछ । नेपाल फेरि ढुङ्गेयुगमा फर्किनेछ ।”
हामी भन्छौँ, “महाशय माफ गर्नुस्, पुरानो नेपाली कागज विदेशी कागजभन्दा बलियो थियो । कागज उद्योगमा नेपालले प्रगति गर्नेछ । जङ्गली काठपातबाट नेपालले धेरै किताबकापी बनाउनेछ ।”
“के नेपालसँग जुत्ता कारखाना छ त ?” तिनीहरूले निराशाजनक स्वरमा सोध्नेछन् । हामी सगर्व उत्तर दिनेछौँ, “छ ¤ नेपालमा मित्र देश चीनले दिएको छाला र जुत्ता कारखाना छ । त्यतिमात्र होइन, उहिले पलाञ्चोके जुत्ताबाट काम लिइन्थ्यो । नेपालमा हजारौँ–लाखौँ सार्कीका खप्पिस हात छन् । नेपाली छालाले भारतको कारखाना चल्छ ।”
विरोधीहरूले होच्याएर भन्लान्, “नेपाल उपचारमा विदेशीको भरमा छ ।” हामी भन्छौँ, “नेपाल जडीबुटीको देश हो । नेपालले जडीबुटी रोकिदियो भने एक बोरा जडीबुटी लिएर औषधिको सानो सिसी दिन पल्केका कारखानाले सोच्नुपर्ला । फेरि नेपाल स्वस्थ र सुन्दर देश हो । राम्रो हावापानी भएको देश हो । सफाइमा ध्यान दिएको खण्डमा विदेशी औषधिको भर पर्नुपर्दैन । त्यसो त हामीसँग पनि औषधि बनाउने विशेषज्ञ र वैद्यहरू तयार छन् ।”
विदेशीले हामीलाई सामान रोकेर आत्मनिर्भर बन्न बाध्य पार्छ भने त्यो राम्रो कुरा हो । आवश्यकता आविष्कारकी जननी हुन् । हामी झन् जोसिएर आफ्नो देश र जनतालाई माया गर्न थाल्नेछौँ । लडाइँ सम्झेर हामी नै जिउ–ज्यान दिएर बुद्धि लगाउनेछौँ र एक भएर आत्मनिर्भरताको निम्ति मेहनत गर्न थाल्नेछौँ ।
कसैले शक्तिको धम्की देखाउँछ भने हाम्रो उत्तर हाजीर छ, “महाशय, संसारको पहिलो पुँजीवादी देश बेलायतले नेपालको मारलाई बिर्सेको छैन होला ¤ आज नेपाली जनताले सामन्तवाद र साम्राज्यवादको तितोपिरोबाट धेरै सिकिसकेका छन् । अगाडि बढेको बेलायतलाई पिछडिएको संरा अमेरिकाले झुकायो । संसारको सबभन्दा ठुलो ‘मै हुँ’ भन्ने अमेरिकी साम्राज्यवाद केही करोड हिन्द–चिनी जनताबाट मार खाएर फर्कियो । प्रजग कोरिया र क्युवा टिकेकै छन् । हतियार र सङ्ख्यामात्रै सबै कुरा होइन । २५–३० लाख प्यालेस्टिनी जनताले सारा साम्राज्यवादी देश र अगाडि बढेको सैनिक हातहतियारलाई हाँक दिँदै छन् । नेपाल सानो छ (जित्न विकट ठाउँ छ । जनता साढे १ करोडमात्रै छन् तर जिउँदा छन् ।)† कठिनाइ र गा¥होफा¥हो त नेपालीको जीवन नै हो । फेरि विभिन्न लडाइँ र विदेशी पल्टनको शिक्षा पनि नेपालीहरूसँग बाँकी नै छ ।
नेपालभन्दा साना र कम इलाका भएका अफ्रिकी देशहरूसमेत स्वतन्त्र हुँदै गइरहेको समयमा के नेपालले अरूको दासतामा बाँच्न स्वीकार गर्ला ? थिचोमिचो र उपनिवेश बनाउने आक्रमण र आक्रामक देश आखिरमा सानो र निर्बलियो देशको अगाडि झुक्दै जानुपरेको उदाहरण आज विश्व इतिहासले दिँदै छ । युगलाई हेर्न नसक्ने अति महत्वाकाङ्क्षा लिएका केही बडाराष्ट्र अहङ्कारवादीहरू अरू साम्राज्यवादीहरूजस्तै साँघुरो ठाउँमा गएर जाक्किनुपर्नेछ ।
इतिहासबाट शिक्षा लिन नचाहनेहरूलाई पनि हामीले इतिहासमा देखेका छौँ । हिटलर, मुसोलिनी, टोजोजस्ता मानिस संसारमा आज पनि जीवित छन् । यसकारण, सम्भावित सङ्कट र विपत्ति, आणविक युद्ध र महाशक्तिहरूको हानथापलाई समेत ध्यान दिएर हामीले छिट्टै आत्मनिर्भरताको बाटोमा हिँड्न सुरु गर्नुपर्छ ।
टिपोटहरू :
१) संरा अमेरिका र नेटो सेनाको कारण सन् १९९०–१९९१ मा अल्बानियामा पनि पुँजीवादको पुनःस्थापना भयो । निजीकरण, उदार अर्थतन्त्रको कारण त्यहाँको समाजवादी अर्थतन्त्र सबै ध्वस्त गरियो । आज त्यो देश जातीय र भाषिक झै–झगडा एवम् युद्धले ध्वस्त भइरहेको छ ।
२) चीन सरकारको सहयोगमा भृकुटी कागज कारखाना स्थापना भएको थियो; जहाँ गुणस्तरीय कागज उत्पादन हुन्थ्यो तर नेकाको सरकारले त्यसलाई ‘कौडीको मूल्यमा’ निजीकरण गरी विदेशी पुँजीको हातमा सुम्पियो । आज सस्तो र राम्रो कागज देशबाहिर गयो अनि महँगो र कमसल कागज देशमा भित्रिँदै छ ।
३) बाँसबारी छाला जुत्ता कारखाना नेका सरकारले निजीकरण गरिसकेको छ ।
४) क्यान्सर, मुटुको रोग, रक्तचापलगायत थुप्रै रोगहरूको औषधि एवम् तागतवर्धक सामग्री बनाउन सकिने जडीबुटी नेपालमा पाइन्छ । नेपाली जडीबुटीबाट एड्सजस्ता प्राणघातक रोगको उपचार हुने दाबी गरिएको छ† यौन शक्तिवद्र्धक जडीबुटी पनि नेपालमा पाइएको छ ।
५) सन् २०२२ को गणनाअनुसार प्यालेस्टिनी जनसङ्ख्या साढे ५ लाख छ ।
६) २०४८ सालको जनगणनाअनुसार जनसङ्ख्या करिब १,८५,००,००० थियो भने २०७८ सालको जनगणना अनुसार २,९१,६४,५७८ छ ।
७) नेपाली सेना र प्रहरी संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामा संसारका विभिन्न क्षेत्रमा भाग लिँदै छन् । त्यसका साथै, हाइटीमा नेपाली सेना पठाएपछि नेपालको सैनिक सम्बन्ध बेलायत र भारतसँग मात्रै होइन संरा अमेरिकासँग समेत जोडियो ।
८) सोभियत सङ्घको विखण्डन र पूर्वी युरोपमा समाजवादको पतनपछि विश्व एकध्रुवीय भएको छ तर महाशक्ति संरा अमेरिकाले पनि चुनौतीहरू सामना गर्दै छ ।
स्रोत : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास