नेपाल मजदुर किसान पार्टीको लक्ष्य समाजवादी व्यवस्था स्थापना गर्नु हो । समाजवादी व्यवस्थाको स्थापना क्रान्तिबाट मात्र सम्भव छ । यसको लागि माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधारालाई देश अनुकूल प्रयोग गरी मजदुर, किसान तथा शोषितपीडित तल्लोवर्गलाई राजनैतिकरूपले सचेत र सङ्गठित गरी क्रान्तिको लागि तयार गर्नु खाँचो छ । कामदारवर्गलाई शासकवर्गमा उठाउनु नै नेपाल मजदुर किसान पार्टीको प्रमुख लक्ष्य हो । यसको अन्तिम गन्तव्य साम्यवाद हो । समाज परिवर्तन र देशको क्रान्तिको लागि माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधारालाई यस पार्टीले निर्देशक सिद्धान्तको रूपमा लिएको छ । यही सिद्धान्तको आत्मसात गरी नेमकिपा देश र जनताको सेवामा समर्पित छ ।
पार्टी स्थापनाका सैद्धान्तिक आधारहरू
तत्कालीन पार्टी अध्यक्ष पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको कम्युनिस्ट पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक मतभेदबाट नेपाल मजदुर किसान पार्टीको स्थापना वि.सं. २०३१ साल माघ १० गते भएको थियो । राजनैतिक र सैद्धान्तिक मतभेदलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष रोहितद्वारा लिखित ‘नेपाल कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारको खण्डन’ पुस्तकबाट प्रस्ट हुन्छ ।
नेपाल मजदुर किसान पार्टीको स्थापनाको आधार गाउँ–गाउँमा जालीफटाहा, सामन्त, जमिनदारको विरोधमा भएको किसान सङ्घर्ष र वर्गसङ्घर्ष पनि हो । कम्युनिस्ट पार्टीलाई आफ्नै खुट्टामा उभिन्न सक्ने शक्ति विकास गर्न पञ्चायती सामन्तवादको विरोधमा सङ्घर्ष नगरी तत्कालीन कम्युनिस्ट पार्टीका नेताहरू काङ्ग्रेसी पुच्छर समातेर खोटपूर्ण नीतिमा लाग्दा सोको विरोधमा सङ्घर्ष गर्नुपरेको थियो । कम्युनिस्ट पार्टीलाई काङ्ग्रेसको पुच्छर बनाउने पुष्पलाल श्रेष्ठको नेतृत्वसँग सैद्धान्तिक मतभेद नै पार्टी स्थापनाको प्रमुख आधारमध्ये एक हो ।
रुसी संशोधनवाद सामाजिक साम्राज्यवादको पतनको यथार्थलाई अस्वीकार गर्नु, रुसी सामाजिक साम्राज्यवादको अन्य राष्ट्रहरूमाथिको थिचोमिचोको विरोध नगर्नु तथा भारतीय विस्तारवादले पूर्वी पाकिस्तानलाई ‘मुक्ति आन्दोलन’ को नाउँमा भारतीय सेनाद्वारा ‘बङ्गलादेश’ स्थापना गर्नु र त्यसलाई कम्युनिस्ट पार्टीले समर्थन गर्नु पार्टी स्थापनाका अन्तर्राष्ट्रिय कारणहरू हुन् । भारतीय विस्तारवादको एकाधिकार र विदेशी साम्राज्यवादको विरोध गर्ने साहस तत्कालीन कम्युनिस्ट पार्टीमा देखिएन ।
२०४६ सालमा नेपालमा काङ्ग्रेस र संयुक्त वाम मोर्चाले राष्ट्रिय जनआन्दोलन उत्थानमा कम्युनिस्ट आन्दोलन स्वयम् एक शक्तिको रूपमा विकास भएपछि मात्रै काङ्ग्रेस पार्टीले कम्युनिस्ट पार्टीहरूलाई साथ लिएको थियो । परिणाम बहुदल पुनः स्थापना गर्न सफल भयो ।
नेपाल मजदुर किसान पार्टीको दीर्घकालीन कार्यक्रम
पार्टीको दीर्घकालीन कार्यक्रम समाजवादी क्रान्ति हो । समाजवादपछि साम्यवाद अन्तिम लक्ष्य हो । यसको लागि एक ऐतिहासिक युग लाग्नेछ । भौतिक र मानसिक परिस्थिति तयार नभएसम्म देशमा समाजवादी क्रान्ति हुनेछैन । तर, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई विशेष अध्ययन गरेर समाजवादी क्रान्तिको लागि समाजवादी सिद्धान्त, विचार, समाजवादी क्रान्तिको इतिहासलाई व्यापक प्रचारप्रसार गरी मानसिकरूपमा तयार गर्नुपर्दछ । क्रान्तिको निम्ति भौतिक परिस्थिति परिपक्व हुनुपर्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास भन्नाले चिनियाँ ‘नयाँ जनवादी क्रान्ति’, रुसी अक्टोबर क्रान्ति, पूर्वी युरोपमा समाजवादी क्रान्ति, क्युवा, कोरिया, भियतनामको क्रान्ति, दक्षिण अमेरिका, चिल्ली र निकारागुवाको क्रान्ति आदिलाई लिन सकिन्छ । समाजवाद स्थापना नभएसम्म मजदुर, किसान तथा कामदारवर्गको साँचो हित हुनेछैन । समाजवादमा कामदार वर्गको राज्य हुनेछ । उत्पादनका साधनहरू पूर्णरूपमा सामाजिकीकरण हुनेछ । व्यक्तित्व विकासमा समान अवसर हुनेछ । योग्यताअनुसारको काम, कामअनुसारको ज्याला हुनेछ । सारा जनताको स्वास्थ्य शिक्षा निःशुल्क हुनेछ । कोही व्यक्ति बेरोजगार हुनुपर्ने छैन । बुद्धिजीवीकरणको बाटो अपनाइएको हुन्छ ।
नेपाल मजदुर किसान पार्टीको कार्यक्रमबारे
नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टी कार्यक्रमबारे धेरै मतभेद र बहस भएको थियो । पार्टीको कार्यक्रमबारे ‘नेपाल कम्युनिस्ट पार्टीको खोटा विचार खण्डनमा’ पार्टीका अध्यक्ष रोहितले सैद्धान्तिक व्याख्या गर्नुभएको छ । पुस्तकमा गलत ठम्याइको खण्डन गरिएको छ । दर्जनौँ कार्यक्रमभन्दा एक व्यावहारिक आन्दोलन बोझिलो हुन्छ भन्ने माक्र्सको दृष्टिकोणलाई सरलरूपमा व्याख्या गरिएको छ । संशोधनवादी र अवसरवादी सिद्धान्तअनुसार कार्य गर्ने पार्टीको कार्यक्रमको कुनै औचित्य रहँदैन ।
नेपाल मजदुर किसान पार्टीको तत्कालीन कार्यक्रम
माक्र्स र एङ्गेल्सद्वारा लिखित ‘घोषणापत्र’ नै विश्व कम्युनिस्ट आन्दोलनको पहिलो कम्युनिस्ट कार्यक्रम हो । नेपाल मजदुर किसान पार्टी समाजवादी क्रान्ति सम्पन्न गर्न व्यापक कामदारवर्गलाई राजनैतिक र सैद्धान्तिकरूपमा सचेत र सङ्गठित गर्नु नै तत्कालीन कार्यक्रम हुनेछ । आर्थिक र राजनैतिक आन्दोलनलाई निरन्तरता दिई तत्कालीन अवस्थामा क्रान्तिको लागि कानुनी, गैरकानुनी, शान्तिपूर्ण तथा सशस्त्र सङ्घर्षका विभिन्न रूपलाई प्रयोग गरी मानसिक र भौतिकरूपमा क्रान्तिको लागि तयार गर्नु तत्कालीन कार्य हुनेछ ।
नेपाल मजदुर किसान पार्टीको २०७६ असोज ३–५ सम्मको सातौँ महाधिवेशनबाट आगामी तत्कालीन कार्यक्रम ‘जनताको प्रजातन्त्र’ पास गरिएको छ । जनताको प्रजातन्त्र समाजवादी क्रान्ति सम्पन्न हुन अगाडि व्यापक मजदुर, किसान, देशभक्त र राष्ट्रिय पुँजीपतिवर्ग मिलेर स्थापना गर्ने सरकार हो । विदेशी पुँजीका ठेकेदार, दलाल, कालाबजारी, घरजग्गा, व्यापारी, तस्कर, विभिन्न क्षेत्रका बिचौलिया, अपराधी, विभिन्न काण्डमा मुछिएका व्यक्तिहरूको सरकार पुँजीवादी सरकार हो । यसको विरोधमा जनताको प्रजातन्त्र स्थापनाको लागि व्यापक जनतालाई परिचालन गर्ने दायित्व पार्टीको हो । यसको लागि पार्टीले सक्रिय भूमिका निर्वाह गर्नेछ । जनताको प्रजातन्त्र समाजवादी क्रान्ति अगाडिको एक आधार भूमि हुनेछ ।
निर्दलीय पञ्चायतविरुद्धको ३० वर्षको सङ्घर्ष
नेपाल मजदुर किसान पार्टी माक्र्सवाद–लेनिनवाद–माओ त्सेतुङ विचारधारालाई निर्देशक सिद्धान्त मान्दै आएको पार्टी हो । यसले ३० वर्षसम्म आफ्नै औकातले भ्याएअनुसार कहिले एक्लै कहिले संयुक्त आन्दोलनमा सरिक भएर बहुदलीय प्रजातन्त्रको पुनः स्थापनाको लागि सङ्घर्ष ग¥यो । नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध सङ्घर्ष ग¥यो । जोताहा किसानहरूमा मोहियानी हक सुरक्षा, सहकारीमा भ्रष्टाचारविरुद्ध आन्दोलन, गैरकानुनी कुत र मोहियानी हकविरुद्ध बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, जालीफटाहा, सामन्त, जमिनदारविरुद्ध मिटरब्याजी, तमसुक च्यात्ने, ढक तराजु जाँच गर्नेलगायत चितवन र भक्तपुरलगायतका जिल्लामा जनताले सङ्घर्ष गरेका थिए ।
राजनैतिक र मौलिक अधिकार फिर्ता गरी प्रजातन्त्र पुनःस्थापनाका निम्ति नेमकिपाले पञ्चायती निर्वाचनलाई लेनिनवादी सिद्धान्तअनुसार चुनावलाई वर्गीय र राजनैतिक सङ्घर्षको रूपमा उपयोग गर्यो र क्रान्तिकारी संसद्वादलाई नेपालको कम्युनिस्ट आन्दोलनमा जनताको पक्षमा प्रयोग ग¥यो । नेमकिपाले पञ्चायती व्यवस्थाको आयु लम्ब्याउने वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको विरोध ग¥यो । अन्ततः पञ्चायतलाई ढाल्न वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्तिको संयुक्त सङ्घर्ष अगाडि बढाउन सफल भयो । जनमतसङ्ग्रहको बहिष्कार, पञ्चायती निर्वाचनको बहिष्कार गरी पञ्चायती व्यवस्थाको विरोधको खोक्रो नारामा सीमित रहने वामपन्थी अवसरवादको विरोध पनि नेमकिपाले ग¥यो ।
नेमकिपाले संशोधनवाद, साम्राज्यवाद, वामपन्थी अवसरवाद अर्थात् व्यक्ति हत्याको विरोधमा सैद्धान्तिक सङ्घर्ष ग¥यो ।
जनताका जनजीविकाका सवालहरू महँगी, बजारभाउ नियन्त्रणजस्ता दैनिक समस्याको समाधान विषयमा पार्टीले एक्लै वा संयुक्तरूपमा विरोध कार्यक्रम गर्दै रह्यो ।
निरङ्कुश पञ्चायती व्यवस्थाको आँखाको कसिङ्गर बनेका नेपालको कम्युनिस्ट आन्दोलनको प्रकाशस्तम्भको रूपमा उभिएको नेमकिपालाई समूल नष्ट गर्न २०४५ सालमा ‘भक्तपुर काण्ड’ रचियो । आफैले रचिएको भक्तपुर काण्डले २०४६ सालको नेपाली काङ्ग्रेस र संयुक्त वामपन्थी आन्दोलनले पञ्चायतलाई नै समाप्त पा¥यो । भक्तपुरका आन्दोलनकारी जनताले गोली खाए । आन्दोलनले देशमा प्रजातन्त्र पुनः स्थापना ग¥यो । नेमकिपाको भक्तपुर–काठमाडौँको विशाल जनताको प्रदर्शनले बहुदलीय प्रजातन्त्र पुनः स्थापना गराउन ठुलो योगदान ग¥यो ।
नेपाल मजदुर किसान पार्टी स्वाधीन देशलाई थिचोमिचो गर्ने, आक्रमण गर्ने विस्तारवादी तथा साम्राज्यवादी नीतिको सधैँ विरोध गर्दछ । अमेरिकी साम्राज्यवादले भियतनाममाथिको आक्रमण, भारतीय विस्तारवादले नेपाली सुस्तालगायत भूमिमाथि थिचोमिचो, नेपालको भूमि डुबान हुने गरी निर्माण गरिएका लक्ष्मणपुर, खुर्दलोटन बाँधलगायतको निर्माण, रुसी सामाजिक साम्राज्यवादले अफगानिस्तानमाथि गरेको आक्रमण, अफगानिस्तान इराकलगायत स्वतन्त्र मुलुकमा नाटोको संयुक्त फौजको आक्रमण र अमेरिकी र बेलायती साम्राज्यवादको आक्रमणको विरोधमा सङ्घर्ष गरियो ।
नेमकिपाले विश्वमा समाजवादी मुलुक कोरिया र क्युवामाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेप र समाजवादी आन्दोलनको पक्षमा रहेका पार्टीहरूको समर्थन र ऐक्यबद्धता जनायो । यो नेमकिपाको अन्तर्राष्ट्रवादको एक उदाहरण हो ।
विश्वमा भइरहेको अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैङ्क, बहुराष्ट्रिय कम्पनीको दबाबमा विश्वका धेरै राष्ट्रमा देशको राष्ट्रिय आधारभूत क्षेत्रमा समेत निजीकरण गरी मजदुर र किसानहरूको जीवनयापनमा तहसनहस गरी शोषण गर्ने नीतिको विरोधमा नेमकिपाले सशक्त विरोध र त्यस्ता निजीकरण र विश्वव्यापीकरणविरुद्ध हुने सङ्घर्षको समर्थन गर्दै आएको छ ।
नेमकिपा प्रतिगमनविरोधी आन्दोलनमा
२०५९ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रतिनिधिसभा भङ्ग गरियो । प्रतिगमनको सुरुवात भयो । सङ्कटकालमा प्रतिनिधिसभा विघटनपछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँबाट २०५९ असोज १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रतिनिधिसभा पुनः स्थापना गर्नुपर्ने आफ्ना विचार अगाडि राख्नुभयो ।
०४६ सालपछि प्राप्त बहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्नुको सट्टा आ–आफ्नो पार्टी बलियो बनाउन र सत्तामा टिकिराख्न सुरासुन्दरी भिडाएर सांसद बैङ्कक पु¥याउने, सांसद अपहरण गर्ने, जित्नकै लागि आफ्नो पार्टीको चुनावी चिह्न छोडाएर अर्कै चुनाव चिह्न लिएर संयुक्त गठबन्धन गर्ने, पजेरो, निवृत्त पेन्सन, जलपान खर्च दिएर सांसदहरूलाई भ्रष्ट बनाउने विकृति त्यसबेला व्याप्त थियो । यसैलाई निहुँ बनाएर प्रतिगमन थोपर्ने मौका राजालाई तत्कालीन पार्टीले दियो ।
तर, प्रजातन्त्र पुनर्बहाली गर्न सङ्घर्ष गर्नुपर्ने कुरालाई छोडेर प्रतिगमन आधा सच्चियो भन्दै नेकाका नेता शेरबहादुर देउवा, एमालेका नेता माधव नेपाल आदि राजाको सत्तामा पुगे । प्रतिगमनविरोधी आन्दोलनलाई कमजोर बनाउन ती नेताले राजालाई सहयोग गरे ।
नेपाल मजदुर किसान पार्टी प्रतिगमनविरोधी आन्दोलन गाउँ–गाउँ र जिल्ला–जिल्लामा पु¥याउनुपर्ने कुरामा जोड दिँदै आन्दोलनमा सहभागी भयो ।
जब २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले सबै अधिकार आफ्नो हात लिए तब सरकारमा सामेल भएका मन्त्रीमण्डललाई सत्ताबाट फाले । तत्पश्चात् काङ्ग्रेसका शेरबहादुर समूह, एमाले संयुक्त आन्दोलनमा समाहित हुन पुगे । गाउँ, सहर, जिल्लाबाट जनता उठ्न थाले । गाउँ र जिल्लाबाट आन्दोलनमा जनता सहभागी भए ।
२०६३ वैशाख ९ गतेको भक्तपुर–काठमाडौँको विशाल पैदल ¥यालीमाथि त्रिपुरेश्वर, थापाथलीमा गोली चल्यो, आन्दोलन चर्कियो । २०६३ वैशाख ११ गते प्रतिनिधिसभा पुनः स्थापना गर्न बाध्य भयो । मरेको मान्छे जिउँदो हुन सक्दैन भन्ने प्रतिनिधिसभा विघटनलाई जनताको अजय शक्तिले जवाफ फर्कायो । अन्तमा, प्रतिगमनको अन्त्य भयो । प्रतिगमन अन्त्यसँगै राजतन्त्रको पनि समाप्त भयो ।
नेमकिपा जनताको सङ्घर्षको साथमा
प्रतिनिधिसभा पुनः स्थापनासँगै संविधानसभाको निर्वाचनमा पनि पार्टी सक्रिय रह्यो । समाजवादउन्मुख संविधान बनाउन पार्टीको प्रचार अभियानले पनि ठुलो भूमिका खेलेको देखिन्छ ।
देशघाती एमसीसी सम्झौताको विरोधमा नेमकिपाले सशक्त प्रतिरोध आन्दोलन गरेको थियो । २०७८ फागुन १५ गते अमेरिकी साम्राज्यवादको दबाबमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरियो । यो कालो दिन निम्त्याउने काङ्ग्रेस, एमाले, माओवादीहरू नै जिम्मेवार छन् । यसबारे जनताबिच उदाङ्ग्याउँदै जानुपर्दछ ।
स्रोत :
– नेपाल मजदुर किसान पार्टी ‘प्रकाश स्तम्भ’
– का. रोहितको समय र विचार
– प्रतिगमनविरोधी आन्दोलनमा नेमकिपा
– एमसीसी सम्झौताविरुद्ध नेमकिपा
– सातौँ महाधिवेशनको दस्ताबेज