भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको बन्द सत्र आइतबार पनि चालु रह्यो । बन्द सत्रमा प्रशिक्षण दिँदै पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले २०३५ सालमा भारत प्रवासको अवधिमा गोरखपुरमा आफूलाई गोली हानी हत्या दुष्प्रयास गरेको र २०४५ सालमा निर्दलीय पञ्चायती सरकारले पार्टीविरुद्ध ‘भक्तपुर काण्ड’ लगायत षड्यन्त्र भएको बताउँदै पार्टी बाहिरका र पार्टीभित्र घुसेका शत्रुहरू पहिचान गरी सचेत र सजग रहन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “सोभियत सङ्घको कम्युनिस्ट पार्टीमा घुसेका जर्मनी फासीवादका गुप्तचरहरूले लोकप्रिय मजदुर नेता किरोभको हत्या गरेका थिए र नेता स्तालिनमाथि दोषारोपण गरेका थिए । नेमकिपाभित्र प्रतिक्रियावादीहरू घुसेर अराजकता मच्चाउनेतर्फ सबै कार्यकर्ताहरू सचेत हुनु जरुरी छ ।”
बेलायत र संरा अमेरिकामा नयाँ सरकार गठनसँगै पुरानो सरकारले नियुक्ति गरेका मुख्य मुख्य कर्मचारीहरूलाई हटाउने स्प्वाइल सिस्टम लागु गरिएको बताउँदै उहाँले २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनः स्थापना भएपछि नेपाल मजदुर किसान पार्टीले २०४८ सालको संसद्मा निर्दलीय पञ्चायती सरकारका मुख्य मुख्य कर्मचारी हटाउने स्पवाइल सिस्टम लागु गर्नुपर्ने विषय उठाएको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “पञ्चायत कालदेखि भइरहेको ठगी र भ्रष्टाचारलाई हटाउन बहुदल र गणतन्त्रसम्मका सरकारहरू असफल भए । विदेशी ऋण ल्याएर सरकार चलाउने संसद्वादी दलहरूले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने छैनन् ।”
कार्यकर्ताहरूको खराबी हटाउन समयमै पार्टीभित्र आलोचनाको परिपाटी जरुरी छ भन्दै अध्यक्ष रोहितले मजदुरवर्गको सरकार नआएसम्म सारा जनताको मुक्ति हुनेछैन । मजदुर वर्गलाई शिक्षित र सङ्गठित गरी परिवर्तनको लागि अघि बढ्नु नै माक्र्स र एङ्गेल्सको शिक्षा हो भन्नुभयो ।
विश्वमा पुनः फासीवादको पुनरुत्थान भइरहेको र कम्युनिस्ट र प्रगतिशील पार्टीहरूमाथि हमला भइरहेको उल्लेख गर्दै विगतमा जर्मनी र इटालीका फासीवादी अर्थात् राष्ट्रिय समाजवादीहरूले सोभियत सङ्घको कम्युनिस्ट अन्तर्राष्ट्रवादविरुद्ध जनतालाई भड्काएका थिए । उहाँले अहिले भारतमा भारतीय जनता मोदी फासीवादबाट मुक्त हुन चाहेका छन् भन्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद र संशाधनवाद मुख्य खतरा रहेको बताउँदै अध्यक्ष रोहितले भन्नुभयो, “सशस्त्र आन्दोलन चाहिँदैन, शान्तिपूर्ण रूपमा सत्ता कब्जा हुन्छ भनी माक्र्सवादलाई बङ्ग्याउने माक्र्सकै शिष्य जर्मनीका बर्नस्टिनदेखि ख्रुश्चेभलगायत संशोधनवादीहरू थिए । नेपालमा कम्युनिस्ट दाबी गरी पुँजीवादी सरकारमा गएका संसद्वादी दलहरू बर्नस्टिनको बाटोमा छन् । नेमकिपाका कार्यकर्ताहरू सिद्धान्तमा चुक्नु हुँदैन ।”
साम्राज्यवादको पतन निश्चित रहेको बताउँदै उहाँले अगाडि भन्नुभयो, “बेलायत र अमेरिकाका सरकारहरू एक एक पाइला गरी साम्राज्यवादमा बदलिएका हुन् । ‘सूर्य नडुब्ने’ बेलायती साम्राज्यवादजस्तै अमेरिकी साम्राज्यवाद पनि बिस्तारै पतन हुनेछ ।”
उदारवाद सुन्दा राम्रो हो । प्रतिक्रियावादीहरूले उदारवादको नाममा शोषणको थप जाल बिछ्याउनु नवउदारवाद हो । लेनिनले सुधारबाट परिवर्तन २–३ सय वर्ष लाग्ने हुँदा क्रान्तिको जरुरी भएको बताउनुभएको थियो भन्दै उहाँले दोस्रो विश्वयुद्धमा अमेरिकी साम्राज्यवादले जापानमा बम खसालेर विध्वंस नगरेको भए संसारका धेरै देशमा समाजवाद आउने थियो भन्नुभयो ।
अर्को प्रसङ्गमा अध्यक्ष रोहितले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी सुधारवादी होइन, क्रान्तिकारी पार्टी हो । पुँजीवादी चुनावमा जितेर सरकारमा गएका दलहरू सुधारवादी हुन् । पुँजीवादी संसद्मा गएर देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नु क्रान्तिकारी संसद्वाद हो ।”
नेमकिपाले किसान आन्दोलनलाई जोड दिँदै २०२१ सालको भूमिसुधारलाई समर्थन गरेको र भारतीय हस्तक्षेपमा पाकिस्तानबाट पूर्वी पाकिस्तान टुक्र्याएर बङ्गलादेश घोषणाको विरोध सैद्धान्तिक हिसाबमा सही साबित भएको उहाँले बताउनुभयो ।
बन्द सत्र बैठकमा पार्टीका जनवर्गीय सङ्गठन र पार्टी जिल्ला समितिहरूको प्रतिवेदन पेस हुने क्रम जारी छ । आइतबारको बैठकमा नेपाल क्रान्तिकारी युवा सङ्घ, पत्रकार समाज नेपाल, कानुन अध्ययन समाज नेपाल, नेपाल प्राध्यापक समाज नेपाल तथा कैलाली, चितवन, पर्सा, रौतहट, चितवन, बर्दिया, काभ्रेलगायतका जिल्ला समितिहरूको प्रतिवेदन पेस भयो ।
बन्द सत्र फागुन १९ गते बिहान ८ः०० बजेसम्मकोे लागि स्थगित गरिएको छ ।