भक्तपुर, १९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १२ औँ बृहत् डकर्मी भेला मङ्गलबार सम्पन्न भयो ।
भेलामा अध्यक्ष बिजुक्छेँले डकर्मी सङ्घलगायत पेसागत सङ्गठनहरू विश्वविद्यालय र कलेजहरूजस्तै ज्ञान आर्जन गर्ने संस्था हुनुपर्ने र पेसागत सङ्गठनलाई साँझ–बिहान भए पनि कलेजजस्तै अध्ययन गर्ने स्थलको रूपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पाँचतले मन्दिर र पचपन्न झ्याले दरबार बनाउने डकर्मी र सिकर्मीहरू इन्जिनियरजस्तै अनुभवी हुन् । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गरेको बेला भक्तपुर साकोथाको सफूकोठा (पुस्तकालय) ७ दिनसम्म जलिरहेको थियो । त्यो आगलागीमा थुपै्र दस्ताबेजहरू नष्ट भए ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “किसानले खेती नगरे खानेकुरा उपलब्ध हुनेछैन । मजदुरले घर बनाउनेलगायत काम नगरे बस्ने ठाउँ पाउनेछैन । देश जित्ने शत्रुले सबभन्दा पहिला किसान र मजदुरको बस्तीमा आगो लगाउँछ ।”
नेपाली युवा करोडौँ सङ्ख्यामा वैदेशिक रोजगारीमा पठाएको हुँदा नेपाल र नेपाली जनतालाई दुःख भएको तर्फ सचेत हुनु जरुरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजा–महाराजा र सामन्तहरूले मजदुर, किसान, डकर्मी, सिकर्मीलगायत पेसामा लाग्नेलाई दाससरह व्यवहार गर्छन् ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “डकर्मी र सिकर्मीले सम्पदाको महत्वबारे जानकारी राख्नु आवश्यक छ । विदेशीले ५५ झ्याल दरबारको मर्मत स्थानीय जनताबाट सम्भव नहुने बताएको थियो, तर भक्तपुरका डकर्मी र सिकर्मीबाट यी सम्पदाहरूको मर्मत सफलतापूर्वक सम्पन्न भयो । सरकारका स्थानीय अधिकारी सम्पदा बुझेको हुनु जरुरी छ ।”
निर्वाचनमा सामान र पैसा बाँड्ने र भोज खुवाउने, उम्मेद्वार एवम् तिनको पार्टी जितेपछि देश र जनतालाई दुःख हुने र ‘विभीषण’ हरूका कारण शत्रु अगाडि बढ्नेतर्फ सचेत गराउँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पृथ्वीनारायण शाहले काठमाडौँ र पाटनमा आक्रमण गरी त्यहाँका दुवै राजालाई भक्तपुर शरणमा पठाए र विश्वासघात गरी भक्तपुरमा पनि आक्रमण गरे; शत्रु र मित्र नचिनेपछि भक्तपुरले समेत पराजय भोग्नुप¥यो ।”
उहाँले भन्नुभयो, “२००७ सालमा राजा त्रिभुवनलाई भारतीय दूतावासमा शरण दिइयो र प्रजातन्त्रपछि भारतले राजाको सचिव भारतीय र प्रधानमन्त्री मोहनशमशेर राणालाई नै बनायो । महेन्द्रले राणाकै छोरीहरूसँग विवाह गरेपछि राणा र शाहहरूको सम्बन्ध बलियो भयो र जनतालाई थप दुःख भयो ।”
मजदुरलाई रोजगारी नहुनुमा केही सीमित पुँजीपतिवर्गको कब्जामा पैसा पर्ने, सामान्य जनतासँग पैसा नहुने, नाफा एकै ठाउँमा पुग्ने नै मुख्य कारण भएको अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले जनताको अहिलेको असन्तुष्टि पुँजीवादी गणतन्त्रले नभई समाजवादी गणतन्त्रले मात्र सम्बोधन गर्न सकिने स्पष्ट पार्नुभयो ।
मजदुरलाई ८ घण्टाको काम, ८ घण्टाको आराम (सुत्ने) र ८ घण्टाको व्यायाम– मनोरञ्जनको व्यवस्था हुनु जरुरी भएको तर त्यस्तो व्यवस्था अहिलेको पुँजीवादी गणतन्त्रमा सम्भव नहुने उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “सरकारले देशको सन्तुलित विकास नगरी जिल्ला जिल्लाका जनतालाई राजधानी काठमाडौँमा बसाइँसराइ बढाएको हुँदा खानेपानी, फोहरमैला, प्रदूषणको समस्या बढ्यो; अपराधको सङ्ख्या पनि बढ्यो ।”
वैदेशिक रोजगारीमा गएका नेपाली महिलाहरू दुव्र्यवहार र अपमान सहेर बस्न बाध्य भएको र कतिपयको परिवार नै भताभुङ्ग भएको तर्फ सचेत हुनु जरुरी भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थामा जोताहा किसान र मजदुरवर्गलाई सदस्य बनाउनुपर्नेमा ठगसमेतलाई सदस्य बनाइँदा चार खर्ब रुपियाँभन्दा बढी जनताको बचत ठगी भएको र १७ हजार बढी सहकारी संस्था खारेज हुने सार्वजनिक भयो । नेपाल आर्थिकरूपले ‘खैरो’ सूचीमा परेको कारणमध्ये सहकारी संस्थाहरूमा ठगी हुनु पनि एक भएको सार्वजनिक भयो ।”
मदिरा र धूमपान सेवनले रोग लाग्नुको साथै नयाँ पुस्ताको मस्तिष्क कमजोर हुने र अध्ययनमा पछि पर्ने भएकोले यसबाट टाढा हुनुपर्नेतर्फ सचिव सुवालले सतर्क गराउनुभयो ।
उहाँले भन्नुभयो, “२०२१ सालको भूमिसम्बन्धी ऐन र २०१६ सालको बिर्ता उन्मूलन ऐन जोताहा किसानको पक्षमा कार्यान्वयन गरिएन । यसको कारण सरकारमा पुगेकाहरू सामन्त वर्गकै प्रतिनिधि हुनु हो । पश्चिमा साम्राज्यवादी देशहरूले इजरायलले प्यालेस्टिन र युक्रेनले रुसमाथि आक्रमण गराएको हो । यसकारण, नेमकिपाले संसारका न्यायप्रेमी जनताको समर्थन गर्दै ती आक्रमणको विरोध गरेको हो ।”
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरुको सभापतित्वमा सम्पन्न भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवाल, भक्तपुर सिकर्मी सङ्घका रामसुन्दर सुवाल, डकर्मी सङ्घका रमेश दुमरु र सूर्यनारायण फाँजुले भेलाको औचित्यबारे बोल्नुभएको थियो ।