भक्तपुर, २९ चैत । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ४६ औँ शिक्षक दिवस शुक्रबार सम्पन्न भयो । २०३५/३६ सालको विद्यार्थी र शिक्षकहरूको आन्दोलनबाट राजनैतिक अधिकार र पेसागत अधिकार प्राप्त भएको र शिक्षक आन्दोलनले सफलता प्राप्त गरेको दिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रभुख सुनिल प्रजापतिले भन्नुभयो, “शिक्षकहरू जुनसुकै स्थानमा गए पनि नयाँ पुस्तालाई दक्ष, शिक्षित र देशभक्त बनाउन निरन्तर लाग्नुपर्दछ । हरेक आन्दोलन र सम्झौता गर्दा भविष्यमा के कस्तो असर पर्ला भनी विश्लेषण गर्नुपर्दछ ।”
हाल भइरहेको काठमाडौँकेन्द्रित शिक्षकहरूको पेसागत हक–हितको लागि भनिएको आन्दोलनले स्थानीय तहमा गएको अधिकार फिर्ता जान सक्ने सम्भावना रहेको औँल्याउँदै उहाँले सरकारमा गएका पार्टीहरूले आफ्ना शिक्षकहरूलाई सडकमा पठाएर संविधान संशोधन गर्ने आधार बनाउन खोजेको अनुमान गर्न सकिन्छ भन्नुभयो ।
जिल्ला शिक्षा कार्यालयलाई ब्युँताएर नगरपालिका र गाउँपालिकामा विकेन्द्रीकरण भएको अधिकार जिल्ला र केन्द्रमा फर्काउने योजना हुनसक्ने विचार व्यक्त गर्दै उहाँले लामो समयसम्म सामुदायिक विद्यालयहरू बन्द गर्नु निजी विद्यालयलाई मलजल गर्नु हो; हाल उच्च शिक्षामा विद्यार्थी सङ्ख्या घट्दै छ र कलेज बन्द हुँदैछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “विदेशमा गई अध्ययन गर्दा अरबौँ रूपैयाँ विदेसमा गएको छ । निजी कलेजमा चर्को शुल्क तिर्नुपर्ने हुँदा गरिबका सन्तानले अध्ययन गर्न पाउँदैनन् । सरकारले ख्वप विश्वविद्यालयको विधेयक पारित गर्दै सल्लाघारीको १०८ रोपनी जमिन मेडिकल कलेजलाई दियो भने देशको लागि स्वास्थ्य क्षेत्रमा पनि धेरै जनशक्ति तयार गर्न सकिन्छ ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले भन्नुभयो,“अहिले सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँका सडक आन्दोलनमा रहेको समयमा निजी विद्यालयले खचाखच भर्ना गरिरहेको छ । शिक्षामा नवउदारवाद र व्यापारीकरणको प्रभाव परिरहेको छ । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा ऐन तत्कालै जारी गर्न अध्यादेश विशेष अधिवेशन र वर्षे अधिवेशनमा शिक्षा ऐनलाई प्राथमिकता दिनुपर्ने अडान राख्दै आएको छ ।” महासङ्घमा नेपाली काङ्ग्रेस, एमाले माओवादीलगायतका शिक्षक सङ्गठनहरू आबद्ध रहेको चर्चा गर्दै उहाँले शिक्षक–कर्मचारीहरूलाई सडकमा उतार्नु आफ्नै सरकारको विरोध गर्नु हो भन्नुभयो ।
कार्यक्रममा ने.क्रा.शि. सङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले महासङ्घको माग, शिक्षा विधेयक र २०८० साल असोजमा भएको सम्झौताबारेमा बोल्नुभयो । नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त कार्यक्रममा केन्द्रीय समितिका सदस्य अम्बिका न्याइच्याई, जिल्ला समितिका उपाध्यक्ष घनश्याम खड्का र सचिव राजन लाखाले नेपालको शिक्षक आन्दोलनको इतिहासबारे बोल्नुभएको थियो ।