साम्राज्यवादविरोधी आन्दोलन, प्रतिगमन र शोषणको विरोध तथा अरु देशको स्वतन्त्रता, स्वाधीनता र मुक्तिको निम्ति कलम चलाउने चार अन्तर्राष्ट्रवादी पत्रकारहरू अन्ना लुइस स्ट्रङ, जोनरीड, एडगर स्नो र विलफ्रेड ग्राहमको योगदानको हामीले स्मरण गर्नु आवश्यक छ । उनीहरू कर्मक्षेत्रमा पुगेर, खटेर गरिएको स्मरण र योगदानको कदर गर्दै प्रकाशित ‘चार अन्तर्राष्ट्रवादी पत्रकार’ हरूको पुस्तकबारे विशेषगरी सञ्चारकर्मीहरूमाझ चर्चाको विषय बन्नु स्वाभाविक हो । आफ्नो ज्यानको बाजी राखेर सही र वास्तविक घटना तथा शोषित–पीडित जनताको पक्षमा समर्पित चार अन्तर्राष्ट्रवादी पत्रकारहरूबारे वर्कर्स पब्लिकेसनले पुस्तक प्रकाशित गरेको हो ।
हरेक कम्युनिस्टहरू अन्तर्देशीय हुन्छन् । साम्राज्यवाद र उपनिवेशवादविरोधी आन्दोलन गर्ने देशभक्त, मुक्ति र स्वाधीनताका निम्ति आन्दोलन गर्ने प्रगतिशील, वामपन्थी र कम्युनिस्टहरूको छाप ती पत्रकारहरूमा परेका छन् । उनीहरूले कुनै पनि देशको स्वतन्त्रता, मुक्ति र स्वाधीनताको निम्ति भएको सङ्घर्ष र आन्दोलनमा साथ दिए, समर्थन गरे र विश्वसामु पु¥याउन प्रचार–प्रसार गरे । सङ्घर्ष र आन्दोलनका पाटा र मोडलाई विश्वमा चिनाउन अनुभवले सँगालेका स्मरणहरूलाई पत्रिकामा छापे र पुस्तक प्रकाशन गरे । देश र जनताप्रतिको उनीहरूको यो योगदान, समर्पण सबैको निम्ति स्मरणीय नै हुन्छ ।
पत्रकारहरू कति जीउँदा, जाग्दा र ज्यानको बाजी राखेर आफ्नो कर्मक्षेत्रमा खटिन्छन् भन्ने कुरा यो पुस्तक पढेपछि थाहा हुन्छ । आफ्नो जीउधन, परिवारको परवाह नगरी कार्यकर्ताकै युद्धको मोर्चामा पुगेर, बमबारुदको धुवाँभित्र पसेर कामदार जनताको आन्दोलनमा समर्थन गर्नु, ऐक्यबद्धता जनाउनु, समाचार सङ्कलन गर्नु र फोटो खिच्नु कम साहसको काम होइन । त्यस्ता पत्रकारहरूको सम्मान गर्नु, कदर गर्नु र उनीहरूको योगदानका स्मरणहरूबारे जनतामाझ पु¥याउनु हाम्रो कर्तव्य हो ।
स्वतन्त्रता, स्वाधीनता र मुक्तिको बाटोमा खटेका पत्रकारहरू साम्राज्यवादी, प्रतिक्रियावादी, शोषक, सामन्त, जालीफटाहा र भ्रष्टाचारीहरूका निम्ति आँखाका धुला हुन्छन् । प्रतिक्रियावादी, जनविरोधी र भ्रष्टाचारका समाचारहरू छाप्यो भनेरै ती पत्रकारहरू अनेक चुनौती र समस्याको सामना गर्न बाध्य हुन्छन् । ती पत्रकारहरूलाई अनेक धम्की दिइन्छ, मुद्दा लगाइन्छ, जेल–नेल ठोकिन्छ, सेवाबाट निकालिन्छ, शारीरिक र मानसिक यातना दिइन्छ र कतिको कुनै अपरिचित व्यक्ति, आफ्ना सुराकी या पैसाले पालेका पेशेवर व्यक्तिहरूबाट हत्या गराइन्छ । यसरी कष्ट र पीडाको आँसु पिएर आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरिरहेका अन्ना, जोनरीड, एडगर स्नो र विलफ्रेडले पनि सहे, खपे । उनीहरू शत्रुसामु कहिल्यै झुकेनन् र आफ्नो बाटो बिराएनन् । बरु, हारेको सिपाही झन् राम्रोसित लड्छ भनेझैँ उनीहरू आफ्नो बाटोमा लागिरहे । उनीहरूको यो धैर्यता, साहस र भावना हाम्रो निम्ति अनुकरणीय छ ।
पुस्तक पढिसकेपछि यी अन्तर्राष्ट्रवादी पत्रकारहरू आस्थाको पत्रकारितामा विश्वास गर्ने र सिद्धान्तप्रति निष्ठावान रहेको पुष्टि हुन्छ । उनीहरू आफ्नो कर्तव्य पालनामा कहिल्यै पछि नपरेको, समाजवाद, क्रान्तिकारी, शोषित–पीडित जनताका पक्षपाती रहेको थाहा हुन्छ । मुक्ति, स्वाधीनता र स्वतन्त्रताका निम्ति ज्यानको बाजी राख्ने उनीहरू साहसिला, सच्चा र असल पत्रकारको रूपमा परिचित छन् भन्ने थाहा हुन्छ । आफ्नो देशले अरु देशमाथि गरेको आक्रमण, थिचोमिचो, अन्याय अत्याचारदेखि पटक्कै सहन नसक्ने स्वभावका यी पत्रकारहरू अरु देशमा हुने स्वतन्त्रता र मुक्ति आन्दोलनका समर्थक थिए । कुनै पनि देशमा भएको शोषण, दमन र थिचोमिचोको विरोध गर्ने र त्यसबारे जनतालाई सुसूचित पार्नु नै उनीहरूको उद्देश्य रहेको देखिन्छ । आफ्नो काममा जस्तोसुकै चुनौती र समस्याहरू आए पनि विचलित नहुने, काम फत्ते नभएसम्म सन्तोषको सास नफेर्ने उनीहरूको स्वभाव देखिन्छ ।
तर, हाम्रा कति पत्रकारहरू अवसरवादी छन्, जता मल्खु उतै ढल्कु भनेझँै सत्ताकेन्द्रित भएका छन् । सरकारको हेरफेरसँगै आफू पनि पल्टिन्छन्, विचारको कुनै ठेगान हुँदैन । जसको सरकार आए पनि उनीहरु ठीक ठान्छन, गुणगान गर्छन् । सरकारको हेरफेरसँगै विचार र भावना फेर्ने, चाकडी गर्ने, देश र जनताको सेवा र पिरभन्दा सरकारकै पछि दगुर्ने या पिछलग्गू हुने पत्रकारहरू कसरी देशभक्त हुन्छन्, देश र जनताप्रति समर्पित हुन्छन् ? विचारणीय छ ।
देश विदेशमा ज्ञान छर्ने, ज्ञानको ज्योति फैलाउने, जनतालाई परेको पिर मर्काबारे सम्बन्धित निकायको ध्यानाकर्षण गरेर समस्या समाधानको उपाय निकाल्न सहयोग गर्ने पत्रकारहरूको काम समाचार सङ्कलन गर्ने, लेख्ने, छाप्नेमात्र होइन । कुनै पनि देशको अतिक्रमण, थिचोमिचो, विदेशी दबाब, शोषण, दमनको विरोधमा विचार प्रवाह गर्नु पनि सञ्चारकर्मीहरूको काम हो । यसबारे हामी कति सचेत र गम्भीर हुनुपर्छ ।
लडाइँको मैदानमै मजदुरहरूको हडताल र सङ्घर्षको आगोमै होमिएर अन्ध राष्ट्रवाद र सङ्कीर्ण राष्ट्रवादको विरोधमा शोषणरहित समाज स्थापनाका निम्ति समर्पित अमेरिकी पत्रकार जोनरीड एक युद्ध संवाददाता थिए । उनले ‘विद्रोही मेक्सिको’ पुस्तक प्रकाशन गरेर कान्तिकारी किसानहरूको वीरताको तारिफ गरे । ‘पूर्वी युरोपमा युद्ध १९१६’ पुस्तक लेखेर आफ्नो देशले अरु देशमाथि गरेको आक्रमण र थिचोमिचोको विरोध गरे । ‘संसारलाई हल्लाउने दस दिन’ पुस्तक लेखेर विश्वभरि क्रान्तिकारी विचार फैलाउने काम गरे । यसरी उनी सर्वहारा अन्तर्राष्ट्रवादी पत्रकारको रूपमा उभे ।
अन्ना लुइस स्ट्रङ संसारलाई अमेरिकी आणविक आतङ्कबाट मुक्ति दिलाउन र माओ त्सेतुङको सन्देश विश्वमा पु¥याउन योगदान गर्ने अमेरिकी महिला पत्रकार हुन् । उनले क्रान्तिकारी र माक्र्सवादीहरूसँग सम्पर्क गरेर साम्राज्यवादी नीतिको विरोध गरे । उनी संयुक्त राज्य अमेरिकामा मजदुर सङ्घको दस्ताबेजमा सम्पादक भए । उनले ’मस्को दैनिक’ मा काम गरे । ‘मैले संसारलाई फेरेँ,’ ‘स्तालिन युग’ पुस्तक लेखेर चीनको परिस्थिति र स्तालिनको विरोधमा खुश्चेभले गरेको झूटा समाचारको खण्डन गरे । उनले ‘जनकम्युन उठान’ र ‘चीनका चिठीहरू’ लेखेर जनतालाई सुसूचित पार्ने काम गरे ।
एड्गर स्नो आफ्नो दुःख र कष्ट बिर्सेर, जीवनको खतरालाई हत्केलामा राखेर जङ्गल र पहाड हुँदै एसियाका समाचारहरू प्रचारप्रसार गर्ने अर्का अमेरिकी पत्रकार हुन् । उनले चीनमा ‘सिकागो समाचार’, ‘हेराल्ड ट्रिव्युन’, ‘चिनियाँ साप्ताहिक’, ‘न्यु योर्क सन’ र ‘लण्डन दैनिक हेराल्ड’ मा पनि काम गरे । उनले ‘एसियाको युद्ध’ पुस्तक लेखेर चिनियाँ कम्युनिस्ट पार्टी र माओ त्सेतुङ सर्वसत्तावादी होइनन् भन्ने पुष्टि गरे ।
विलफ्रेड ग्राहम बर्चेट अमेरिकाले जापानमा हानेको आणविक बमको विकीरणलाई प्लेग रोगको संज्ञा दिई संसारलाई सचेत गराउने एक अस्ट्रेलियाली पत्रकार हुन् । आफ्नो कर्तव्यमा कहिल्यै विचलित नहुने, साम्राज्यवादविरोधी विलफ्रेड स्वतन्त्र भूमिमा फासीवादविरोधीहरूलाई पाइला टेक्न दिन नहुने स्वभावका देशभक्त थिए ।
यसरी यिनीहरूको जीवनका स्मरणहरू हाम्रा निम्ति शिक्षाप्रद छन् । यसैले पनि यो ‘चार अन्तर्राष्ट्रवादी पत्रकार’ पुस्तक पठनीय छ, बोझिलो छ र हरेक पत्रकारले पढ्नैपर्ने पुस्तकको रूपमा रहेको छ ।
पुस्तकले पत्रकारहरूको दायित्वलाई इमानदारीपूर्वक पूरा गर्ने मार्गनिर्देश गरेको छ । यसले हामीलाई अझै काम गर्ने प्रेरणा दिएको महसुस हुन्छ । यसरी वर्कर्स पब्लिकेसनले देश र जनताका निम्ति काम गरेका पत्रकार, राजनीतिज्ञ तथा क्रान्तिकारीहरूको जीवनी आगामी दिनमा पनि छाप्ने आशा गर्छु ।
पुस्तकका लेखक कुमार र पुस्तक प्रकाशन गर्ने वर्कर्स पब्लिकेसनलाई साधुवाद छ ।
लेखक : विगोल