ललितपुर, २३ चैत । साहित्य क्रान्तिको एक सशक्त हतियार हो भन्ने उद्घोषका साथ ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ स्थित देवननी टोलमा चौथो नेपालभाषा साहित्य तःमुंज्या शनिबार सम्पन्न भयो ।
उक्त साहित्य तथा सांस्कृतिक सम्मेलनमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनताको साहित्य – गीत, कविता, कथा, गजल, हाइकू, ¥याप, भजन, गीतिनाटक सबै सरकारमा गएर निर्वाचनमा गरेको वाचाअनुसार नगरेका र चुनावमा सामान, पैसा बाँडेका, भोज खुवाएका पार्टी, प्रधानमन्त्री, मन्त्री र सांसदहरूको खण्डन गरी लेख्नु जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली जनतालाई सचेत र सङ्गठित गर्न शिक्षा दिनु जरूरी छ । भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी ७७ जिल्लाका ४३ हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिएको छ । यसमध्ये ९ हजारले इन्जिनियरिङ शिक्षा पाए भने त्यसमध्ये ललितपुर जिल्लाबाट झन्डै ३०० जना र काठमाडौँ जिल्लाबाट झन्डै ८०० जनाले इन्जिनियरिङ पढे ।”
चैत १५ गते तीनकुनेमा पुगेका सर्वसाधारण जनताको माग शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था रहेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “राजतन्त्रले सामन्तवर्गको प्रतिनिधित्व गर्छ । जनताको अहिलेको असन्तुष्टि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामको पुँजीवादी गणतन्त्रबाट सम्बोधन हुनेछैन । जनताको असन्तुष्टि सम्बोधन गर्न समाजवादी गणतन्त्र स्थापना गर्नु जरूरी छ ।”
“अमेरिकी राष्ट्रपति ट्रम्पको विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्र सङ्घको मानव अधिकार आयोग, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिर आउने घोषणा मानव जातिको हितमा छैन । ट्रम्पले १८५ देशको सामान अमेरिका प्रवेशमा कर बढाएर नयाँ व्यापार युद्ध सुरू गरे । यसले अमेरिकी जनतालाई नै नोक्सान हुनेछ”, सांसद सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थामा यसको सिद्धान्तअनुसार जोताहा किसान सदस्य हुने र संस्था आफैले उत्पादनको काम गराउनु जरूरी छ । अहिले सहकारी संस्थामा ठगहरूलाई सदस्य बनाइएको हुँदा जनताको ४ खर्ब रूपैयाँ ठगीमा परेको छ भने १७ हजार सहकारी संस्था खारेज गर्ने सरकारको निर्णय सार्वजनिक भयो । बचत ठगी गर्नेहरूको सम्पत्ति र लगानी जफत गरी जनतालाई फिर्ता नगरेसम्म समाधान आउने छैन ।”
महिला सचेतनाका अगुवा सुजिता महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्यद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजूले साहित्यको आवश्यकताबारे चर्चा गर्दै देश विदेशमा भइरहेको घटनाबारे बताउनुभयो ।
कार्यक्रममा थसी देय्का ज्येष्ठ नागरिक जितलाल महर्जनले सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनमा नेमकिपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
महेन्द्र ब्रह्मचार्यले साहित्य सम्मेलनको आवश्यकताबारे चर्चा गर्नुभयो भने मिकी महर्जनले स्वागत गर्नुभएको थियो ।
स्वागत गान गत आशिष डंगोलले गाउनुभएको थियो ।
बिचबिचमा गीत प्रस्तुत गरिएको उक्त सम्मेलनमा साँझपख सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।
साहित्य सम्मेलनमा विन्द्रा महर्जन प्रथम, सकुन्तला महर्जन दोस्रो, राजु कपाली तेस्रो र मनिष महर्जन सान्त्वना पर्नुभएको थियो ।