के शासक दलहरूले थाहा नपाएका हुन् र ?


काठमाडौँ, १० साउन । अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठक बिहीबार बस्यो । उक्त बैठकमा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले राख्नुभएको मन्तव्यको सार यसप्रकार छ –
सौर्य वायु सेवाको दुर्घटना भएको विमान ५२ वर्ष पुरानो भएको हो कि होइन ? सो विमान कति पटक बिक्री भएको हो ? सो विमान कुन देशबाट कहिले नेपाल ल्याइयो ? सौर्य विमान सेवाका प्राविधिक टोली राखेर पूर्ण मर्मतको लागि पोखरा किन पठाइयो ? पूर्णरूपले मर्मत गर्नुपर्ने जहाजलाई ‘क्लियर फर टेकअफ’ किन र कसले दिए ?
अमेरिकी कम्पनी र युरोपेली कम्पनीले नेपाललाई पहिलो हवाईजहाज बिक्री गर्दैनन्, दोस्रो, तेस्रो वा चौथोमात्र बिक्रीको लागि दिन्छन् । चिनियाँ नयाँ जहाज नचलाई कमिसनको लागि पुरानो जहाज चलाउन दिइएको होइन र ?
नेपाल सरकारले ठुलो अपराधमा ज्यान सजाय हुने भएको प्रावधान संविधानमा किन हटायो ? कमिसनको निम्ति पुरानो जहाज चलाउन दिनेहरू हत्यारा होइनन् र ?
सरकारमा पुगेको राजनीतिक नेतृत्वले नीतिमा एउटा त्रुटी गरे व्यवहारमा हजारौँ गल्ती हुनेछ । हवाई दुर्घटनाबारे पुरानै शैलीमा जाँचबुझ आयोग गठन झाराटार्ने कामजस्तो भयो । दुर्घटनाका पुराना सुझाव अध्ययन गरी एउटा प्रतिवेदन बुझाउने छानबिन समितिको औचित्य होला र ?
नागरिक उड्डयन मन्त्रीले नागरिक उड्डयन प्राधिकरण, वायुसेवा कम्पनी विमानस्थलको स्थलगत अध्ययनलाई प्राथमिकतामा राख्नुपर्दछ । कुनै पनि कमजोरीमा माथिल्लो पदका मानिसहरू दोषी हुन्छन् । देशको अर्थतन्त्र कमजोर हुनुमा ठुला उद्योगी–व्यापारीसँग सोधपुछ गर्नु जरूरी हुन्छ ।
सन् २०१८ देखि स्पेनका प्रधानमन्त्री भएका सान्चेजकी पत्नी वेगोना गोमेजले लाखौँ युरोको सार्वजनिक टेन्डरमा एक व्यवसायी जुआन कालास बारबरासँग लेनदेन गरेको आरोपमा प्रधानमन्त्री सान्चेजसँग अदालतले बयान लिँदै छ । नेपालमा मन्त्रिपरिषद्को निर्णयलाई नीतिगत निर्णय भनी प्रधानमन्त्रीहरूलाई मुक्ति दिनु गलत हो ।
विमान र पाइलट ठीक भएको नेपालको हवाईजहाज जापानमा उड्ने तर दक्षिण कोरियामा किन नउड्ने ? दक्षिण कोरियाको जहाजलाई पनि नेपालमा उडान रोक्नु जरूरी छ ।
७२ मिलियन डलर ऋण खर्च भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र २१६ मिलियन डलर ऋण खर्च भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुने भए ती विमानस्थल बनाउन अनुमति दिने को को हुन् ? यसको पनि छानबिन समिति गठन हुनुपर्दछ । यही अवस्थामा निजगढ विमानस्थल किन बनाउने ?
पुराना हवाईजहाज चलाउने निजी वायु सेवा कम्पनी, विद्युत् महसुल नतिर्ने उद्योगी, भन्सार चुहावट गर्ने व्यापारी, वैदेशिक रोजगारीको नाममा श्रमिकलाई तस्करीजस्तै गरेर ठगी गर्ने म्यानपावर कम्पनीसँग पनि बयान लिनु जरुरी छ । कुन कुन शासक पार्टीका नेता र मन्त्रीले कति कमिसन लिएर यस्तो गलत काम भइरहेको हो ? सोको सार्वजनिक हुनु जरुरी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसल कवल कुन शासक दलका नेता र मन्त्रीलाई कति कमिसन दिएर क–कसले लिएका हुन् ? यसबारे पनि सम्बन्धित पसल बहालमा लिनेहरूसँग बयान लिनु आवश्यक छ ।
अदालतको अन्तरिम आदेशमा कुन शासक पार्टीका व्यापारीको प्रभाव रहेको हो ? व्यापारीहरूलाई पनि छानबिनमा ल्याउनु आवश्यक छ ।
प्रधानमन्त्री र केही मन्त्रीको गल्तीले देश डुबिरहेको त होइन ? राणा शासन र पञ्चायती शासनको विरोध गरेकाहरू आज राणा शासन र पञ्चायती शासकजस्तै किन ? सरकारमा बसेकाहरूले विष पनि खाने हो र ? दुई टाउको भएको एउटा पेट भएको चरा छ, एउटाले विष खाएपछि दुवै मर्ने । के नेपालको अवस्था त्यस्तै हो र ? केटाकेटीले थाहा नपाएर विष पनि खान सक्छ । के सरकारमा गएकाहरू केटाकेटीजस्तै थाहा नपाएका हुन र ?
एमसीसी सम्झौतालाई भारतको अनुमति लिनुपर्ने प्रावधानसहित पारित गरियो । भारतले नेपालका हवाईजहाजलाई २० हजार फिट तल उड्न नदिने साथै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन अनुमति नदिएको खुलासा भयो । के विमानस्थल बनाउनु अघि सबै तयारी गर्नुपर्ने होइन र ?
देशको सन्तुलित विकास गर्ने अर्थात् काठमाडौँ उपत्यकामा बसाइँसराइ रोक्ने काम गर्नुपर्छ । प्रदूषण र फोहोरमैलाको कारण पनि काठमाडौँ उपत्यकावासीको मृत्यु बढ्नेछ । यस्तो विषयमा मन्त्रीको ध्यान जानु जरुरी छ ।

पार्टी गतिविधिहरु
समाचार