तःमुंज्याको शुभकामना ¥याली र सभा सम्पन्न : सबै जाति र भाषाको संरक्षण गर्न आवश्यक
भक्तपुर, १६ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा नेपाल संवत् ११४५ को नयाँ वर्षको अवसरमा शुक्रबार शुभकामना ¥याली तथा शुभकामना सभा भयो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “भाषा र संस्कृति हाम्रो धरोहर हो । नेपालका सरकारहरूले दाल, चामल, तरकारी, फलफूल आदि सबै विदेशीसँग किन्दै छन् । हाम्रो भनेको यही भाषा–संस्कृति मात्र बाँकी छन् ।”
नेपालमा १४८ भन्दा बढी जाति र १२६ भन्दा बढी भाषा भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “यीमध्ये केही जाति र भाषा लोप हुने अवस्थामा पुग्यो । हामीले सरकारलाई सबै जाति र भाषाको संरक्षण गर्न गराउन आग्रह गर्दै छौँ ।”
“जङ्गबहादुर राणाले सुरू गरेको राणा शासनको १०४ वर्ष नेपालको लागि अन्धकारको युग हो । राणाहरूको जहानिया शासनको बेला मास्टर जगतसुन्दर मल्लले शिक्षा प्रचार गर्नुभएको थियो । यसकारण, बर्सेनि उहाँको प्रतिमा अगाडि पुगेर हामीले सम्मान व्यक्त गर्दै छौँ”, सांसद सुवालले भन्नुभयो ।
कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र काङ्ग्रेसका नेता बीपी कोइराला दुवैले भारतीय विस्तारवादविरूद्ध आन्दोलन गर्नुभएको थियो । अहिले पुष्पलाल र बीपीका कार्यकर्ताहरूको सरकार छ तर, भारतीय एकाधिकार पुँजीको स्वार्थमा सरकार लागेको छ, उहाँले बताउनुभयो ।
नेका र एमालेको ओली सरकारले नौ ओटा सार्वजनिक संस्थान निजीकरण गर्ने तयारीको पछाडि भारतीय एकाधिकार पुँजीकै हात रहेको सांसद सुवालले स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ वर्षको यो अवसरमा हामीले अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता र नेपालको सैनिक ब्यारेज कब्जा गर्ने एसपीपी खारेज गर्नुपर्ने आवाज उठाएका छौँ ।”
अमेरिकी साम्राज्यवादले दुई वर्षअघि युक्रेनमा हतियार पठाएर रूसविरूद्ध युद्ध गराउँदै छ । अमेरिकी सरकारले नेपालका शासक दलका नेताहरूलाई फोनमार्फत धम्की दिएर संरा सङ्घमा युक्रेनको पक्षमा मतदान गरायो । नेपाल सरकारको यो कदम असंलग्न नीति विपरीत हो, सांसद सुवालले थप्नुभयो ।
मध्यपूर्वमा इजरायली फासीवादी सरकारको युद्धको कारण संसारको अर्थतन्त्र सङ्कटमा पर्ने हुँदा नेपाल सरकारले युद्धको विरोध गर्नु जरूरी भएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले संसारका ९०२ स्थानमा सेना र हतियार तैनाथ गरेको छ । भारतमा अमेरिकी सेना र हतियार तैनाथ गरिएको छ । नेपालमा पनि अमेरिकी सेना भित्रिएको समाचार सार्वजनिक भइरहेको छ । अमेरिकी सरकारले हतियार उत्पादन र बिक्री गरी नाफा कुम्ल्याइरहेको मानवताविपरीत हो । हतियारमा भइरहेको खर्चले संसारका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र आवासमा लगाउनु आवश्यक छ ।”
“देश र जनताको इमानदारीपूर्वक सेवा गरेको नेपाल मजदुर किसान पार्टीविरूद्ध प्रतिक्रियावादीहरूले षड्यन्त्र गर्दै छन् । २०३५ सालमा भारतको गोरखपुरमा अध्यक्ष बिजुक्छेँमाथि गोली प्रहार र २०४५ सालमा नेमकिपाको नेता कार्यकर्ताविरूद्ध झूटा ज्यान मुद्दा यसका उदाहरण हुन्”, सांसद सुवालले भन्नुभयो ।
चिनियाँ मित्रहरूले पहिरो र डुबान पीडितहरू नेका, एमाले, माओवादी, रास्वपा, एस पार्टीमार्फत सामान र नगद वितरण गरेकोलाई नेमकिपासमेत सहभागी भएको भनी ‘यो हो टेलिभिजन’ का पत्रकार जीवराम भण्डारीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । यसको हामीले खण्डन गरेका छौँ, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालको जल, जङ्गल, जमिन, खानी विदेशीलाई दिने संसद्वादी दलहरू देशभक्त पार्टी होइनन् । सार्वजनिक संस्थानहरू निजीकरणको नाममा बिक्री गर्नेहरू पनि देशभक्त होइनन् । उनीहरू देशद्रोही हुन् ।”
सुगौली सन्धिमा नेपालको भूमि साँगुरो पारेर आफूलाई भारतमा जग्गा लिने गजराज मिश्र र चन्द्रशेखर उपाध्याय पनि देशद्रोही हुन् । पृथ्वीनारायण शाहले भक्तपुरका राजाका छोरासँग मित लगाए तर आक्रमण गरी मितघात गरे । नालापानीमा अङ्ग्रेजहरूले नेपालीसँग मित लगाए र मितसँग सोधेर पानीको मुहान थुनिदिए । पानी नपाएर नेपाली सेना युद्धमा हारे । यी सबै विषयबाट नेपाली जनताले पाठ सिक्नु जरूरी छ” सांसद सुवालले भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष एवं सभाका सभापति आशाकुमार चिकबन्जारले आफ्नो मौलिकता र पहिचानलाई जीवन्तता दिनुपर्नेमा जोड दिँदै तःमुंज्याको मञ्च जनतालाई शिक्षित गर्ने शिक्षालय रहेको बताउनुभयो ।
४४ औँ नेपालभाषा साहित्य तःमुंज्याको आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुले जगतसुन्दर मल्लको सम्मानबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने आवश्यकताबारे चर्चा गर्दै तःमुंज्या भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्न र कामदार जनतालाई राजनीतिक, सांस्कृतिक र वैचारिकरूपमा प्रशिक्षित गर्ने मञ्च हो भन्नुभयो ।
सभामा सञ्जय मानन्धरले पनि बोल्नुभएको थियो ।
सभाअघि भक्तपुरको टौमढीबाट वडा नं. १ देखि ५ सम्मका र सूर्यमढीबाट वडा नं. ६ देखि १० सम्मका किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, साहित्यकार, कलाकार, भाषाप्रेमी, व्यापारी, व्यवसायी, बुद्धिजीवी, सहकारी, विद्यालय, सामाजिक सङ्घ संस्था, स्काउट र वाद्यवादन टोलीले नगर परिक्रमा गरेका थिए । खौमामा रहेको मास्टर जगत सुन्दर मल्लको प्रतिमामा माल्यार्पण गर्दै लाय्कुमा सभा भएको थियो ।
सूर्यमढीमा भएको भेलामा नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका सल्लाहकार ज्ञानसागर प्रजापतिले देशलाई ऋण मुक्त गर्न सरकार नलागेकोमा चिन्ता व्यक्त गर्दै आत्मनिर्भर अर्थतन्त्रविना देश विकास सम्भव छैन भन्नुभयो ।
सार्वभौमिकता र स्वतन्त्रताको निम्ति सङ्घर्ष र ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सभामा रमेश प्रजापतिले पनि बोल्नुभएको थियो ।
टौमढीमा भएको भेलामा प्रेमगोपाल कर्माचार्य र केशव तमखुले बोल्नुभएको थियो ।
शुभकामना ¥यालीमा सत्न्दा बढी बाजा, सङ्घ संस्था सहभागी भएको आयोजकले जनाएको छ ।
मास्टर जगतसुन्दर मल्लको प्रतिमामा नेमकिपाका सचिव प्रेम सुवाल, पार्टी कार्यकर्ता, तःमुंज्याका प्रतिनिधि, विभिन्न सङ्घ संस्था र वाद्यवादन टोलीका गुरू तथा पदाधिकारीहरूले माल्यार्पण गर्नुभएको थियो ।