चीनविरुद्ध संरा अमेरिकी व्यापार युद्धबारे
संरा अमेरिका र चीनबिचको व्यापार युद्ध र व्यापार युद्धको विगत – १
एउटा आर्थिकरूपमा शक्तिशाली देशले आफ्नो सर्वोच्चता कायम राख्न व्यापार संरक्षणवादी नीतिमार्फत अन्य उदीयमान देशहरूबाट गरिने आयातमा अत्यधिक महसुल, कर वा कोटा लाछ र अन्य देशले पनि आफू अनुकूल स्वाभाविक प्रतिवाद गर्छ भने त्यहाँ व्यापार युद्धको शङ्खघोष हुन्छ ।
आफ्नो देशको आन्तरिक उद्योग, कलकारखानाको संरक्षण गर्ने र रोजगारीको सृजना गर्ने स्वार्थबाट व्यापार युद्ध छेडिन्छ । छोटो अवधिका लागि यसले काम गरेजस्तो देखिए पनि कालान्तरमा यसले कुनै पनि देशको आर्थिक वृद्धिमा टेवा पु¥याउँदैन । बरु रोजगारीको वृद्धिदर घट्ने, आर्थिक गतिविधिहरूमा प्रत्यक्ष वा परोक्षरूपमा नकारात्मक असर बेहोर्नुपर्ने हुन्छ । आयात हुने सामानहरूमा कर बढाइँदा उपभोग्य सामानहरूको मूल्य वृद्धि हुन्छ । छोटो समयमै अर्थतन्त्रमा मुद्रास्फीतिको प्रभाव देखिन थाल्छ† उत्पादन र वितरणको प्रक्रिया बिथोलिन्छ । पुँजीको स्वाभाविक प्रवाहलाई रोक्छ । लामो समयसम्म चल्ने व्यापार युद्धले अन्तर्राष्ट्रियरूपमै आर्थिक मन्दीको वातावरण सृजना गर्ने सम्भावना बढाउँछ । अझ भनौँ, महामन्दी पनि निम्तिएला भन्न सकिन्न । अन्तर्राष्ट्रिय व्यापार नियम उल्लङ्घन र अनुशासनहीनता बढेर एक किसिमको व्यापारिक अराजकता हाबी हुन्छ ।
व्यापार युद्ध पुँजीवादी अर्थतन्त्र र अस्वस्थ व्यापार प्रतिस्पर्धी नीतिहरूको परिणति हो भन्दा फरक पर्दैन । व्यापार युद्धले अन्तर्राष्ट्रिय व्यापार र वस्तुहरूको उपभोगको अङ्कगणितीय रेखाचित्रमै ठुलो उतारचढाव र अस्थिरता पैदा गर्छ । व्यापार युद्धको थालनी गर्ने देशले पनि दीर्घकालीनरूपमा नाफा प्राप्त गरेको इतिहास छैन । बरु उक्त देश नै समयको गतिसँगै एक्लिँदै गएको पाइन्छ । व्यापार युद्धको घोषणा गर्ने देशको निहित स्वार्थ भनेकै अन्य प्रतिस्पर्धी देशको आर्थिक उन्नयन र तीव्र आर्थिक वृद्धि रोक्ने, आफ्नो उचाइसम्म पुग्न नदिने नै हो भन्दा अतिशयुक्ति हुँदैन । यो इतिहासले गरेको विश्लेषण हो ।
केही अर्थविद्हरू भन्छन्, “अहिलेसम्मको इतिहास व्यापार युद्धहरूको इतिहास हो ।” इतिहासको विभिन्न कालखण्डमा ठुला–साना व्यापार युद्धहरू भएका छन् । तीमध्ये केहीको यहाँ चर्चा गर्नु सान्दर्भिक हुनेछ ।
१) अफिम युद्ध (Opium War)
सन् १८२० तिर अर्थात् अफिम युद्ध हुनुअघि चीन सबैभन्दा ठुला अर्थतन्त्रको रूपमा विश्व मानचित्रमा स्थापित थियो । हिजोको चीनको त्यो सर्वोच्च स्थान पुनः प्राप्तिको लागि त्यसकारण पनि चिनियाँहरू आज भनिरहेका छन्, ‘हामी पुनर्जागरण (Rejuvenation) को बाटोमा छौँ ।’ पहिलो अफिम युद्ध छिङ वंश (Qing Dynasty) विरुद्ध बेलायती साम्राज्यले सन् १८४०–१८४२ मा छेडेको थियो । त्यो अवधिलाई ‘अपहेलनाको शताब्दी’ (Century of Humiliation) का रूपमा चिनियाँहरू आज पनि सम्झन्छन् । ब्रिटिस इस्ट इन्डिया कम्पनीलगायत अन्य साम्राज्यवादी देशहरूले चीनको सामान निर्यात र बेचबिखनमा प्रतिबन्ध लगाए । सन् १८५६–१८६० मा पुनः दोस्रो अफिम युद्ध भयो । चीनको अर्थतन्त्र कमजोर बन्दै गयो । त्यतिन्जेलसम्म चीनको अर्थतन्त्र पहिलाको तुलनामा आधा मात्र बाँकी रह्यो । चीनका राजा र नेतृत्वलाई अफिमको नशामा बेहोस बनाएर त्यहाँको सार्वभौमसत्ता र बलियो राजनैतिक व्यवस्था तहसनहस गरी भत्काउनु नै अफिम युद्धको मुख्य उद्देश्य थियो । यसको आवरण भने व्यापार युद्ध बन्यो । त्यतिबेला चीनमा बेलायत र फ्रान्सको निर्यात व्यापार बढाउन सम्पूर्ण चीनलाई विदेशी सामानको लागि खुला गर्न दबाब दिइयो । चीनका घरेलु उद्योगहरू बन्द हुन थाले । उत्पादन घट्यो, चिनियाँ जनताको रोजगारी गुम्न थाल्यो र एक किसिमको आर्थिक मन्दी चीनले बेहोर्नुपर्यो । यसरी यी दुई अफिम युद्धहरूले छिङ वंशलाई सबै किसिमले कमजोर बनाए । १९ औँ शताब्दीसम्ममा बेलायत भने बलियो अर्थतन्त्रको रूपमा उदाइसकेको थियो ।
२) स्मुट–हावले (Smoot Hawley) कर नीति १९३०
सन् १९३० को स्मुट हावले कर नीतिलाई आधुनिक अर्थतन्त्रमा एउटा प्रमुख व्यापार युद्धको रूपमा लिइन्छ । सन् १९२९ को उत्तराद्र्धमा संरा अमेरिकाको सिनेट वित्तीय समितिका अध्यक्ष रिड स्मुट (Reed Smoot, Chairman of Senate Finance Committee) र अमेरिकी राजनीतिज्ञ विलिस च्याटम्यान हावले (Willis Chatman Hawley) ले यस नीतिको निर्माण गरेका थिए । सोही वर्ष संसद्मा उक्त कर विधेयक संरा अमेरिकी राष्ट्रपति हर्बट हुवर (Herbert Hoover) बाट पेस गरियो ।
संरा अमेरिकाको खस्कँदो स्टक बजार (Stock Market) र घरेलु उद्योग व्यवसायलाई संरक्षण गर्न उक्त नीति लिइएको थियो । यस नीतिले आयात हुने करिब ४० देखि ४८ प्रतिशत सामग्रीमा अचाक्ली कर महसुल वृद्धि गर्यो र २० हजार वा सोभन्दा बढी उत्पादित कृषिजन्य अनि उद्योग निर्मित वस्तुहरूमा करको दर बढायो । यसको ठुलो असर त्यहाँका मजदुर र किसानहरूमा पर्यो । सन् १९३३ सम्ममा संरा अमेरिकाको आयातमा ६६ प्रतिशत र निर्यातमा ६१ प्रतिशतले कमी आयो । यसले ठुलो आर्थिक सङ्कत खडा गर्यो । आर्थिक सङ्कतको थिलथिलोमा परेका अमेरिकी जनताले आधारभूत खाद्यवस्तुमा समेत अत्यधिक मूल्यवृद्धिको सामना गर्नुपर्यो । विशेषतः व्यापार साझेदार देशहरू क्यानाडा, फ्रान्स, स्पेन, स्वीट्जरल्यान्डलगायतका देशहरूबाट अमेरिकामा आयात गरिने वस्तुहरूमा कर वृद्धि गरिएको थियो । यसले विश्व व्यापारमा ६५ प्रतिशतले कमी आयो र दोस्रो विश्वयुद्ध सुरु गर्न उक्सायो ।
३) चिकेन युद्ध (Chicken War)
६० को दशकको सुरुआतबाट संरा अमेरिकाले कृषिलाई औद्योगिकीकरणसँग जोड्यो । ठुलो परिमाणमा कुखुराको मासुको उत्पादन गर्न थालियो । उत्पादन क्षमताको वृद्धिसँगै माग र पूर्तिको सन्तुलनबाट मूल्य घटाउनुपर्यो । दोस्रो विश्वयुद्धको विध्वंसबाट भर्खरै आर्थिकरूपमा तङ्ग्रिँदै गरेको फ्रान्स र जर्मनीको उपभोक्ता बजारलाई अमेरिकी कुखुराले ठ्याम्मै छोप्यो । जसले युरापेली कुखुराको माग घटायो र विस्थापन गर्यो । जर्मनी र फ्रान्सलाई यो अवस्था स्वीकार्य नभएपछि अमेरिकी कुखुराको मासुमा कर बढायो । यसको प्रतिउत्तरमा संरा अमेरिकाले युरोपबाट आयात गरिने थुप्रै वस्तुहरूमा करको दर बढायो । उदाहरणको लागि फ्रेन्च ब्रान्डी र भी.डब्लु. ट्रक आदिमा कर अचाक्ली बढायो । संरा अमेरिकाले नाटो सैनिक दललाई समेत युरोप नपठाउन धम्की र चेतावनी दियो । तथापि, फ्रान्स र जर्मनीले यो दबाबसामु घुँडा टेकेनन् । त्यस व्यापार युद्धबाट एटलान्टिक महासागर (Atlantic Ocean) का दुई किनारका जनताले वास्तवमा हार्नुपर्यो । यस व्यापार युद्ध चिकेन फ्रिक्सन (Chicken Friction) को नाममा पनि चर्चित छ ।
४) जापानमाथि व्यापार हमला (Jabs at Japan)
दोस्रो विश्वयुद्धको अन्त्यपछि संरा अमेरिकाको अर्थतन्त्रमा ठुलो खतराको सङ्केत देखापर्यो । सन् १९७१ को मे १० का दिन ‘टाइम्स’ म्यागाजिनले एक सनसनीपूर्ण खबर छाप्यो – ‘जापानको व्यापार आक्रमण कसरी सामना गर्ने ।’ चौध वर्षपछि सन् १९८५ को ‘ज्युयोर्क टाइम्स’ म्यागाजिनमा ‘जापानबाट खतरा’ शीर्षकमा लेख छापियो । ती लेखहरूमा दाबी गरिएको थियो, ‘दोस्रो विश्वयुद्धपश्चात् ४० वर्षमा जापान इतिहासकै ठुलो व्यापार आक्रमणको बाटोमा अगाडि बढ्दै छ, अमेरिकी उद्योगहरू भत्काउन लागिपरेको छ ।’ यसरी अमेरिकामा जापानको आर्थिक प्रगतिविरुद्ध अमेरिकी राष्ट्रवादको नारा लगाइयो ।
हामीले सेतो झन्डालाई पछ्याउन बन्द गर्नुपर्छ, अमेरिकी झन्डा पुनः फहराउनुपर्छ, बदलिनुपर्छ, सङ्घर्ष गर्नुपर्छ र रोजगारी यसै देशमा प्राप्त गर्न सकिने गरी अन्तर्राष्ट्रिय व्यापारमा ‘अमेरिका पहिलो’ बनाउनुपर्छ भन्ने अभिव्यक्ति चुलिइँदै गयो । आज चीनको हकमा पनि ट्रम्पले हिजोकै नीति पछ्याएको देखिन्छ ।
जापानको उदाउँदो अर्थतन्त्रलाई संरा अमेरिकाले प्रमुख चुनौतीका रूपमा हे¥यो । सँगै विश्व बजारमा जापानको औद्योगिक र व्यापारिक प्रभाव उँचो हुँदै गएपछि अमेरिकाले त्यसको प्रतिक्रियास्वरूप रणनीतिक चालबाजी थाल्यो । जापानविरुद्ध संरा अमेरिकाले व्यापार युद्ध छेड्यो । त्यसकारण, सन् १९८० को दशकमा जापान र अमेरिकाबिचको द्विदेशीय सम्बन्ध बिग्रियो । संरा अमेरिकाको व्यापार कानुन १९७५ को ‘खण्ड ३०१’ अनुसार सन् १९८९ मा जापानविरुद्ध जम्मा २४ वटा अनुसन्धानहरू गरिए ।
जापानजस्तो एक महत्वपूर्ण मित्रराष्ट्रविरुद्ध किन ‘खण्ड ३०१’ अनुसन्धान थाल्यो भन्ने प्रश्न विचारणीय रह्यो । जापानलाई व्यापार सम्झौताका लागि वार्तामा ल्याउन ‘खण्ड ३०१’ अनुसन्धान एउटा प्रभावकारी आधार बन्यो संरा अमेरिकाको लागि । जापानविरुद्ध त्यतिबेला ठुल्ठुला आधुनिक बम प्रहार गरिए । प्रजातान्त्रिक पार्टीका तात्कालीन सांसद ज्याक ब्रसले समेत हाकाहाकी बोले, “जापानमाथि चारवटा बम प्रहार गर्नुपथ्र्यो, दुई वटाले पुग्दैन ।”
जापानलाई आर्थिकरूपमा शिथिल बनाउन संरा अमेरिकाले हरसम्भव प्रयत्न गरिरहेको थियो । विशेषतः जापान निर्मित अटोमोबाइल, मोटरसाइकलहरू, सेमिकन्डक्टरहरू र उपभोग्य विद्युतीय सामग्रीहरूमा करको भार थोपरेको थियो ।
ऐतिहासिक तथ्यका अनुसार संरा अमेरिकाले आफ्नै मित्रराष्ट्र जापान (जो १९७० र १९८० को दशकमा एउटा शक्तिशाली आर्थिक शक्ति बनिसकेको थियो) माथि बारम्बार चलाखीपूर्वक ‘सुपर ३०१’ अनुसन्धानको नाममा जापानमाथि दबाब दिई नै रह्यो । जापानको उत्पादन स्याटलाइट, सुपरकम्प्युटर र वनजन्य उत्पादनका उद्योगहरूमा संरक्षणवादी नीति लिएर संरा अमेरिकाले दबायो । ‘खण्ड ३०१’ संरा अमेरिकाको व्यापार नीति हो जसलाई अन्तर्राष्ट्रिय व्यापार असङ्गति, असहमति भेदभावविरुद्ध खडा गर्ने एउटा हतियार बताए पनि अमेरिकाले आफू अनुकूल यसको प्रयोग गर्यो । हालै चीनसँगको व्यापार युद्धमा पनि अमेरिकाले यही नीतिलाई अघि सारेको छ । वास्तवमा ‘सुपर ३०१’ अनुसन्धान विश्व व्यापार बाधा तथा चुनौतीहरूको हल गर्न अघि सारिएको थियो । यद्यपि, संरा अमेरिकाले यसलाई आफू अनुकूल ढाली WTO लाई नै आफ्नो साधन बनायो । जापानको सामग्री बजार मूल्त्न्दा कम मूल्यमा निर्यात गर्न बाध्य बनाइयो । संरा अमेरिकाले निकै दबाब दिएपछि जापानले स्वयम्सेवी निर्यात नियन्त्रणको कार्यक्रम (Voluntary Export Restraint Program) अवलम्बन गर्यो । जापानी मुद्रा येनको अवमूल्यन र सामग्रीको मूल्य अवमूल्यन भएपछि जापानले सो नीति अवलम्बन गरेको थियो । यसले गर्दा अमेरिकी बजारमा जापानको सामान पुग्न सकेन । सन् १९८० को संरा अमेरिकी व्यापार घाटा कम गर्न यसले खासै भूमिका खेलेन, बरु अमेरिकी उद्योगहरूलाई संरक्षण गर्ने होडमा अमेरिकी उपभोक्ताहरूले निकै ठुलो सास्ती बेहोर्नुपर्यो ।
यो व्यापार युद्धले संरा अमेरिका आज मात्र होइन इतिहासमा पनि अन्य देशको आर्थिक प्रगति स्वीकार्न नसक्ने साम्राज्यवादी देश थियो भन्ने पुष्टि गर्छ ।
आज चीनविरुद्ध अमेरिकाले त्यही ब्वाँसो नीति अपनाउँदा इतिहासबारे जानकारहरू आश्चर्यचकित पक्कै छैनन् । चीन संरा अमेरिकाको लागि आर्थिक मात्र नभएर राजनीतिक, संस्थागतरूपमै बलियो प्रतिद्वन्द्वीको रूपमा उभिरहँदा धेरैले आज संरा अमेरिका र जापानबिचको व्यापार युद्धको सम्झना गर्दै छन् ।
५) काठको युद्ध (War of the Woods)
संरा अमेरिका र क्यानाडाबिचको बृहत्तर द्विदेशीय व्यापार सम्बन्धको एक समयमा व्यापक चर्चा थियो । निकै लामो समयसम्म त्यो व्यापार सम्बन्ध सहज र सुमधुर बन्यो । त्यही अवधि बिचमा सन् १९८२ तिर काठको अभाव विश्व बजारमा देखियो । त्यो समयमा संरा अमेरिकामा काठको व्यापार निजी क्षेत्रहरूले गर्यो भने क्यानाडामा प्रान्तीय सरकारले आफ्नो स्वामित्वमा राखेको थियो । काटिएको नरम काठको व्यापारको विषयमा संरा अमेरिका र क्यानाडाबिच विवाद र असमझदारी नराम्ररी चुलियो । क्यानाडाको नरम काठमाथि अमेरिकाले नियन्त्रण गर्न सुरु गर्यो । क्यानाडाको काठको कम मूल्याङ्कन गरी सस्तोमा बेच्नुपर्ने बाध्यता खडा गर्न थालियो । यो विवाद आज पनि अन्त्य भएको छैन ।
६) पास्ता युद्ध (Pasta Spat)
सन् १८८५ मा अमेरिकी रेगन प्रशासनले युरोपबाट आयात गरिने पास्तामा महसुल कर बढायो । संरा अमेरिकाले ऋष्तचगक (खट्टा) फलको उत्पादनमा देखिएको निराशाजनक उपलब्धिका कारण यस व्यापारयुद्धको सुरुआत गरेको विश्लेषण छ । यसको प्रतिवादमा युरोपले पनि संरा अमेरिकी कागती र ओखरमा चर्को कर वृद्धि गर्यो । सन् १९८६ को अगस्टमा दुवै पक्षले ‘साइट्रस’ विवाद अन्त्यको निम्ति सम्झौता पत्रमा हस्ताक्षर गरे र सन् १९८७ को अक्टोबरमा पास्ता स्पाट (Pasta Spat) को नामले चर्चित यस व्यापार युद्धको अन्त्य भयो ।
७) केरा युद्ध (Battle of Banana)
सन् १९९३ तिर युरोपले आफ्नो अधीनमा रहेका अफ्रिकी एवं क्यारेबियाली देशहरूमा फलफुलको आयात नियन्त्रण गर्न ल्याटिन अमेरिकाबाट भित्रिने केरामा भन्सारको दर उच्च बनायो । ल्याटिन अमेरिकाका अधिकांश केरा खेतीमा संरा अमेरिकाको लगानी थियो । त्यसकारण, संरा अमेरिकाले विश्व व्यापार सङ्गठनमा युरोपको पहलविरुद्ध आठ वटा मुद्दा दर्ता गर्यो । पछि सन् २००९ बाट युरोपियन युनियन पनि ल्याटिन अमेरिकाबाट भित्रिने केराको भन्सार कर घटाउन सहमत भयो । अन्त्यमा, सन् २०१२ मा युरोपियन युनियन र दस ल्याटिन अमेरिकी देशहरूले विश्व व्यापार सङ्गठनमा दर्ता भएका आठ मुद्दाहरूको अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरे र २० वर्ष लामो चलेको केरा युद्धको अन्त्य भयो ।
८) स्टिल युद्ध (Steel Salvoes)
सन् २००२ मा बुश प्रशासनले स्टिल निर्यातकर्ताहरूमा ८ देखि ३० प्रतिशतको हाराहारीमा भन्सार कर लगायो । जुन पहिलेको शून्य प्रतिशतदेखि १ प्रतिशतको वृद्धिदरभन्दा निकै उच्च थियो । संरा अमेरिकामा अवस्थित स्टिल उद्योग र व्यवसायलाई बलियो बनाउने उद्देश्यले सो कदम चालिएको थियो । NAFTA अन्तर्गत काम गर्ने हुँदा क्यानाडा र मेक्सिको करको दायराभन्दा पर थियो । स्वयम् संरा अमेरिकामा उक्त कदमले तात्कालीन प्रभाव थोरै पारे पनि खासै महत्वपूर्ण उपलब्धि हासिल भएन । यस कदमका विरुद्ध युरोपियन युनियनले संरा अमेरिकाको फ्लोरिडाबाट निर्यात गरिने सुन्तलामा कर लगाई कडा प्रतिकार गरेको थियो ।
९) संरा अमेरिका–चीन व्यापार युद्ध
अहिले अन्तर्राष्ट्रिय जगतमा संरा अमेरिका र चीनबिचको व्यापार युद्धको चर्चा शिखरमा छ । सम्भवतः आजसम्मको आर्थिक इतिहासमा सबभन्दा ठुलो व्यापार युद्ध यही हो ।
२०१८ जुलाई ६ का दिन करिब ३४ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ उत्पादनमा सुरुमा १० प्रतिशत र पछि बढाएर २५ प्रतिशत कर लादेर संरा अमेरिकाले व्यापार युद्धको सुरुआत गर्यो । हालै मात्र २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर वृद्धि गरेको तथ्याङ्क छ । अझै ५ खर्ब अमेरिकी डलर बराबरको सामानमा कर लगाउने अभिव्यक्ति ट्रम्प दिँदै छन् । यसले अन्तर्राष्ट्रिय जगतमा डोनाल्ड ट्रम्पमात्र बदनाम हुँदैन, सँगै संरा अमेरिकाको छविसमेत खराब बन्ने निश्चित छ ।
व्यापार युद्ध लड्नुका पनि स्वाभाविक कारण हुन्छन् । तर, यसपटक संरा अमेरिकाले विश्व व्यापार सङ्गठनको नियम नै उल्लङ्घन गरेको छ । संरा अमेरिकाको संरक्षणवादी नीतिले नकारात्मक असर पार्नेछ । यो एक किसिमको अराजकता र अनुशासनहीनता हो । विश्व अर्थतन्त्रमा यसले असामान्य असर पार्ने निश्चित छ । संरा अमेरिकाले व्यापार युद्धमार्फत स्वतन्त्र व्यापारको सिद्धान्तलाई उल्लङ्घन गरी आफ्नो प्रभुत्वलाई फेरि पनि कायम गर्न खोजिरहेको स्पष्ट हुन्छ ।
संरा अमेरिकाले करिब १३ सय किसिमका चिनियाँ उत्पादनहरूमा २५ प्रतिशतका दरले कर लगाउँदा चीनले पनि प्रतिकारस्वरूप सोही मूल्य बराबरका १ सय ६ अमेरिकी उत्पादनहरूमा २५ प्रतिशतले आयात कर वृद्धि गर्यो । भटमास, कार, रक्सी, फलफुल, सुँगुरको मासु, हवाईजहाजलगायतका वस्तुहरूमा कर लगाएर चीनले अमेरिकाको कदमलाई जवाफ दियो । यसरी चीनले बुद्धिमत्तापूर्वक तथा धैर्यपूर्वक व्यापार युद्धको सामना गर्दै छ । आफ्नो देशका जनताको जीवनस्तरमा पटक्कै आँच नपु¥याउन चीन सावधानीपूर्वक प्रतिकारमा उत्रेको देखिन्छ ।
शक्ति सन्तुलनको व्यवस्थाविरुद्ध डोनाल्ड ट्रम्पले पाइला चालेको ठहर यस व्यापार युद्धले गर्छ । ट्रम्पले व्यापार युद्धलाई उछाल्न संरा अमेरिकाको ‘राष्ट्रिय सुरक्षा’, ‘अमेरिका पहिलो’, घरेलु उद्योगको सशक्तीकरण र रोजगारीको सृजनाको मुद्दालाई अघि सार्नु एक किसिमको पाखण्ड नै हो ।
संरा अमेरिकाले व्यापार युद्धको प्रमुख कारण व्यापार घाटा न्यूनीकरण बताए पनि वास्तविकता अकाट्य छ । संरा अमेरिकाले व्यापार नाफातिर जाने उद्देश्य नै राखेको हो भने हातहतियार र सैनिक क्षेत्रमा जुन ठुलो धनराशी खर्चिरहेको छ त्यो न्यूनीकरण गरी घरेलु समस्याहरू सल्टाइ अघि बढ्नु उत्तम हुनेछ । व्यापार घाटासँगै सैन्य क्षेत्रमा संरा अमेरिकाको खर्च गहिरोसँग जोडिएको हुँदा व्यापार घाटा समाप्त गर्ने बाटो व्यापार युद्ध हुन नसक्ने विश्लेषण पनि छ । त्यसैगरी, अमेरिकाले चीनमा गरेको लगानीबाट नाफामात्र वार्षिकरूपमा ७०० विलियन डलर उठाइएको तथ्याङ्क छ । त्यसकारण, चीनसँगको व्यापारका कारण व्यापार घाटा बेहोर्नु परिरहेको भन्ने संरा अमेरिकाको अभिव्यक्ति गलत प्रमाणित हुन्छ ।
आफूसँग व्यापारिक सम्बन्ध भएका देशहरूलाई आफूतर्फ झुकाव राख्न बाध्य बनाउने नीतिहरू ल्याइए पनि व्यापार साझेदार देशहरू ट्रम्पको ब्वाँसो नीतिको चक्रब्युहमा फस्न अस्वीकार गर्दै छन् ।
ब्राजिल, क्यानाडा, युरोपियन युनियन, जापान, बेलायतलगायतका देशहरूले यस युद्धको तुरुन्तै समाधान खोज्नुपर्ने तर्क राख्दै आइरहेका छन् । संरा अमेरिकी सांसद र धनाढ्यहरूसमेतले ट्रम्पको यो नीतिविरुद्ध आवाज दिँदै छन् ।
चीनले भद्र ढङ्गले व्यापार युद्धको प्रतिकार गरिरहेको जगजाहेर छ । चिनियाँ विशेषज्ञहरू त ढुक्क छन्, ‘यस व्यापार युद्धले चीनको आर्थिक विकास रोक्ने सामर्थ्यथ्र्यत गर्छ । उत्पादकत्व उच्च भएको देश चीनले यो क्षति पनि बेहोर्ने क्षमता राख्छ । संरा अमेरिकामा चिनियाँ सामानको बढ्दो मागका कारण पनि क्षति न्यूनीकरण हुने विश्लेषण छ । यसरी चीनको अर्थतन्त्रमा यस व्यापार युद्धले गर्ने नगन्य असर नियन्त्रण गर्न सकिने खालको देखिन्छ । चिनियाँ अर्थतन्त्रको बहुपक्षीय हितको उद्देश्य, वस्तुहरूको आन्तरिक माग, बजार प्रतिस्पर्धामा राम्रो स्थान र विश्व बजारको असल र उत्कृष्ट निर्यातकर्ता हुनु नै व्यापार युद्धको असर नियन्त्रणका केही आधारहरू हुन् ।
अमेरिकी बजारमा करिब ५० प्रतिशत सामग्री चीनकै हुने गरेको कारण पनि संरा अमेरिकी बजारमा मुद्रास्फीतिको दर सन्तुलनमा रहने गरेको हो । अहिले संरा अमेरिकी बजार मूल्यवृद्धिले आतङ्कित छ । साथै संरा अमेरिकाले चीनमा जति पनि लगानी गरेको छ त्यो उत्पादनमुखी र सेवामुखी भएको हुँदा नाफा–घाटाको बढी प्रभाव संरा अमेरिकालाई नै पर्छ ।
चीनमा संरा अमेरिकी कम्पनीहरूको बिक्री अर्थात् व्यापार चीनले संरा अमेरिकामा गर्ने व्यापारको तुलनामा उल्लेख्यरूपमै उच्च छ । त्यसकारण, व्यापार युद्धको ठुलो मार संरा अमेरिका स्वय्मले बेहोर्नुपर्ने निश्चित छ भन्ने अभिव्यक्तिहरू आइरहेका छन् । इतिहासमा झँै ट्रम्पको व्यापार युद्धको निहित स्वार्थ अरु नै हुनसक्ने अनुमान पनि छ । चीनको आर्थिक विकास र वृद्धि, राजनीतिक व्यवस्था र नेतृत्व, चीन नम्बर १ निर्यातकर्ता र दोस्रो ठुलो अर्थतन्त्र हुनु, विश्वमा फैलिँदो चीनको बजार, आफूसँगै एसिया, अफ्रिका, ल्याटिन अमेरिका, पाकिस्तान, श्रीलङ्कालगायतका विकासोन्मुख राष्ट्रहरूलाई माथि उकास्ने एजेन्डा बनाउनु, बीआरआई जस्तो बृहत्तर परियोजना अघि सारिनु, विश्वमा चीनको बढ्दो लोकप्रियता, बलियो उपस्थिति आदि नै व्यापार युद्धका निहित कारणहरू हुनसक्ने विश्लेषण गरिँदै छ । संरा अमेरिकाले चीनको शान्त उदयलाई सहनै नसकेको अर्को प्रमाण ट्रम्पको ‘हिन्द प्रशान्त रणनीति’ हो । यो रणनीति सी चिङफिङको ‘एक क्षेत्र एक मार्ग अगुवाइ’ को अवधारणाविरुद्ध ट्रम्पले खडा गरेको रणनीति हो । यसले ट्रम्प र सिङ्गो संरा अमेरिका चीनको द्रुतत्तर विकासबाट अत्तालिएको पुष्टि गर्छ । हिन्द–प्रशान्त सैन्य गठबन्धन त्यसको उपज हो । वर्तमान परिवेशमा हेर्दा संरा अमेरिका सम्पूर्णरूपले आफ्नो सर्वोच्चता र आर्थिक साम्राज्य गुम्ने डरले जे पनि गर्ने, जे पनि बोल्ने अवस्थामा छ भन्दा अति हुन्न । ट्रम्पको यो अदूरदर्शी कदमबाट विश्व अर्थतन्त्रले नै आर्थिक सङ्कटको सामना पो गर्नुपर्ने हो कि भन्ने सन्देह पनि फैलाएको छ ।
हालैमात्र संरा अमेरिकी वित्तमन्त्री स्टेभेन मुन्युचनले चिनियाँ अधिकारीलाई नयाँ वार्ताका लागि आग्रह गरे । सँगै ट्रम्प भने २ खर्ब ६७ अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामग्रीमा कर वृद्धिको तयारीमा छन् । संरा अमेरिकाले यस्तो पूर्णतः विरोधाभासपूर्ण कदम चालेको अवस्था छ । गएको मे महिनामा दुई पक्षबिच भएको वार्ताको सम्झौतालाई पनि संरा अमेरिकाले कार्यान्वयन नगरेपछि चीनले व्यवस्थित ढङ्गबाट व्यापार युद्धमा प्रतिकार गरिरहेको छ । चिनियाँ उच्च पदाधिकारीले पेइचिङद्वारा सार्वजनिक गरेको श्वेतपत्रमा संरा अमेरिकाको स्वार्थपूर्ण पहलहरूको निन्दासमेत गरेको छ ।
यस व्यापार युद्धबाट संसारभरिका उपभोक्तासँगै संरा अमेरिकी उपभोक्ता, किसान र मजदुरहरू सबैभन्दा बढी मारमा पर्ने देखिन्छ । पछिल्लो तथ्याङ्कअनुसार संरा अमेरिकाले करिब ६०३१ किसिमका चिनियाँ सामानहरूमा कर वृद्धि गर्ने तयारी गरेको छ । त्यसमध्ये ६७ किसिमका चिनियाँ वस्तुहरूमा संरा अमेरिकाको पूर्ण निर्भरता रहेको अन्तर्राष्ट्रिय व्यापार अनुसन्धान केन्द्रले जनाएको छ । करिब १२७ किसिमका चिनियाँ वस्तुहरूमा संरा अमेरिकाको निर्भरता ९० देखि १०० प्रतिशत छ । करिब १९३ किसिमका चिनियाँ वस्तुमा ८० देखि ९० प्रतिशत, २०७ किसिमका चिनियाँ वस्तुहरूमा ७० देखि ८० प्रतिशत र ११५० किसिमका वस्तुहरूमा ५० प्रतिशत वा सोभन्दा माथिको अमेरिकी निर्भरता रहेको तथ्याङ्क छ । युरोपेली युनियनले समेत यो व्यापार युद्ध स्वयम् संरा अमेरिकाले हार्ने दाबी गरेको छ । यसरी आर्थिकरूपमा संरा अमेरिकाले नजित्ने यो व्यापार युद्धलाई राजनीतिक व्यवस्थामाथिको हमलाका रूपमा केही चिनियाँ विज्ञहरू व्याख्या गर्छन् ।
यसरी सन् १८३८ देखि २०१८ सम्मको १८० वर्षको लामो समयावधिमा जति पनि व्यापार युद्ध भएका छन्, ती सबैको साझा सन्देश भनेको व्यापार युद्ध सामान्यतः हितकर हुने गर्दैन । साथै व्यापार युद्ध शक्तिशाली देशद्वारा आर्थिकरूपमा उदीयमान देशको उदयमाथिको प्रहार हो र व्यापारिक मुद्दा भए पनि निहित स्वार्थ राजनीतिक सर्वोच्चताको प्रश्न हुने गर्दछ । व्यापार युद्धले बहुमत देशको हित गर्दैन । अझ विकासोन्मुख देशहरूको प्रगतिलाई वषौँवर्ष पछाडि ढकेल्छ । व्यापार युद्धले कसैको पूर्णतः जीत हुनसक्दैन, यो इतिहासले सिकाएको पाठ हो । संरा अमेरिका र चीनको वर्तमान व्यापार युद्ध पनि फरक ढङ्गले इतिहास दोहोरिएको मात्र हो ।
व्यापार युद्धविरुद्ध लड्न चीनसँग बलियो हतियार छ
साम्राज्यवाद कति हस्तक्षेपकारी हुन्छ, कति आक्रामक र विध्वंसकारी हुन्छ भन्ने पछिल्लो प्रमाण संरा अमेरिकाले एकतर्फीरूपमा सुरु गरेको व्यापार युद्ध हो । साम्राज्यवादले प्रभुत्ववाद र एकतन्त्रवादलाई हुर्काउँछ । प्रभुत्वविनाको साम्राज्यवाद असम्भव प्रायः हुन्छ । संसारलाई आफ्नो तखतमा राख्न हरसम्भव प्रयत्न गर्नु साम्राज्यवादको प्रमुख प्रवृत्ति हो । विश्व साम्राज्यवादका प्रमुख पात्र संरा अमेरिका यतिबेला संसारबाट आफ्नो प्रभुत्व गुम्ने ठुलो त्रासमा छ । विश्व बजारमा आफ्नो एकहट्टी कायम राख्न नसक्ला भन्ने पीडाले छटपटाउँदै छ । आफ्नो साम्राज्यको चिन्ताले बर्बराउन थालेको घटनाक्रमले साबित गर्छ । आफूभन्दा माथि उठ्न खोज्ने देशमा विध्वंस मच्चाउने र उदीयमान देशको वृद्धि निमोठ्न खोजेको पछिल्लो दृष्टान्त भन्सार कर वृद्धिमार्फत चीनमाथिको प्रहार हो । ट्रम्पको उक्त अदूरदर्शी कदमले दुई देशबिच व्यापार युद्ध सुरु भयो ।
ट्रम्पलाई लागेको हुनुपर्छ, व्यापार युद्धले चीनको उत्पादन प्रणाली, बजार र वितरण प्रणालीमा ठुलो प्रभाव पार्नेछ । तर, चीनको गार्हस्थ उत्पादनमा उच्च भन्सार दरले त्यति असर गर्न सकेन जति ट्रम्पले अनुमान गरेका थिए । उल्टै अमेरिकाको घरेलु बजार सङ्क्रमित बन्यो । त्यसपछि ट्रम्प जथाभावी अभिव्यक्ति दिँदै हिँड्न थाले । अमेरिकी बुद्धिजीवीहरूसमेत ट्रम्पको ठेगान नभएको बोलीबाट रुष्ट र हैरान हुन थाले ।
केही समय अगाडि अक्टोबर १४ आइतबारका दिन सीवीएसले लिएको एउटा अन्तर्वार्तामा उनले भने, “अहिलेको व्यापार युद्धमा चीन पराजित हुनेछ । चीनसँग व्यापारयुद्ध सामना गर्न पर्याप्त गोलाबारुद र हातहतियार छैन । व्यापार युद्धको क्षेप्यास्त्रलाई चीनले प्रतिकार गर्न सक्दैन ।”
उनको यो अभिव्यक्तिमा अहङ्कार र साम्राज्यवादी मानसिकता प्रतिबिम्बित भएको प्रस्ट छ । चीनको फैलँदो बजार नियन्त्रण गर्न अमेरिकाको हस्तक्षेपकारी प्रवृत्ति, आक्रामक आचरण र विध्वंसकारी नीति ट्रम्पको उक्त अभिव्यक्तिमा प्रतिबिम्बित भएको महसुस संसारले गर्यो । उनको त्यो अभिव्यक्ति साम्राज्यवादी चिन्तनको सिलसिला थियो । प्रश्न उठ्छ – ट्रम्पको उक्त अभिव्यक्तिपश्चात् के चीन चुपचाप बस्यो ? अहँ, बसेन । अन्तर्राष्ट्रिय चिनियाँ रेडियोले आधिकारिक टिप्पणीमार्फत जवाफ दियो ।
चीनलाई कम आक्नु शान्त देखिने समुद्रको गति छैन भन्नु जतिकै हुने जानकारहरू बताउँछन् । व्यापार युद्धसँग सामना गर्न आणविक हातहतियार होइन कूटनीतिक र रणनीतिक हातहतियार आवश्यक हुन्छ । यस आधारमा व्यापार युद्धमा भिड्न चीनसँग पर्याप्त र प्रशस्त हातहतियार छन् ।
संरा अमेरिकाबाट आयात गरिने करिब ५३.१ अर्ब अमेरिकी डलर (53.1 billion) बराबरको वस्तुमा चीनले अतिरिक्त भन्सार कर लगाई व्यापार युद्धको प्रतिकार गर्यो । चीनबाट आयात गरिने करिब २ खर्ब अमेरिकी डलर (200 billion) बराबरको वस्तुमा अमेरिकाले अतिरिक्त भन्सार कर लगायो । यो नै साँचो तथ्याङ्क हो । तर, ट्रम्पले भने १ खर्ब अमेरिकी डलर बराबरको मात्रै थप भन्सार कर लगाएको झूट प्रचार गर्दै हिँडेका छन् । चीनले चाहेको खण्डमा अमेरिकाबाट आयात गरिने २ खर्ब बराबरका सामग्रीमा भन्सार कर बढाउन सक्थ्यो तर गरेन । ट्रम्पले जस्तो झूट पनि बोलेन । यस आधारमा भन्न सकिन्छ कि सच्चाइ नै चीनको एउटा महत्वपूर्ण शक्ति हो ।
ट्रम्पलाई ज्ञान हुनुपर्ने हो कि व्यापार युद्ध केटाकेटीको खेल होइन न त यो अङ्कगणितको खेल नै हो । दुई देशबिच भइरहेको व्यापार युद्धको सुरुआती चरणदेखि चीनले आफ्नो संयम देखाउँदै आइरहेको छ तर यसको अर्थ यो होइन कि चीन कमजोर छ । यसको अर्थ यो पनि होइन कि चीन अमेरिकाको व्यापार युद्ध सामना गर्ने क्षमता राख्दैन । ट्रम्पको यस्तो तल्लो स्तरको अभिव्यक्तिको उल्टो व्यापार युद्धमा अमेरिकासँग लड्न चीनसँग गोलाबारुद एवम् हात हतियारको भण्डार नै छ ।
पहिलो, चीनको आर्थिक वृद्धिदर ६.७ र ६.९ प्रतिशतको बिचमा स्थिर हुँदै वृद्धिको चरणमा छ । यो समृद्ध अर्थतन्त्रको सङ्केत हो । यसले बलियो उपभोग र अनवरत लगानीलाई अझ बढावा दिन्छ । सन् २०१७ मा मात्र चीनले करिब १२७ खर्ब अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको तथ्याङ्क छ । त्यसमा २ खर्ब अमेरिकी डलर भनेको त कुल निर्यातको जम्मा ८.८ प्रतिशत मात्र हो । संसारकै उच्च निर्यात गर्ने देश चीनको समृद्ध अर्थतन्त्र नै संरा अमेरिकाको व्यापार युद्धसँग लड्ने एक शक्तिशाली हतियार हो भन्दा अत्युक्ति नहोला । चीनले गरिबी निवारणका लागि अवलम्बन गरेका विशेष पहलहरू पनि चीनको सशक्त हतियार नै हो ।
सन् २०२० को अन्त्यसम्म गरिबी निवारण गर्ने संवेदनशील युद्धमा जीत हासिल गर्नको निम्ति गरिबी निवारण एवम् न्यूनीकरणको लागि चीनले आफ्नो शक्तिलाई दोब्बर बढाउँदै छ । प्रयास र पहलहरूलाई विशेष प्राथमिकताका साथ अघि बढाइएको छ ।
सुधार र खुलापनको ४० वर्षमा चीनले गरिबी उन्मूलनको लागि निरन्तर अथक प्रयास गर्यो । बितेका ४ दशकमा करिब ७० करोडभन्दा बढी चिनियाँ जनतालाई गरिबीको रेखामुनिबाट माथि उकासेको छ । गरिबी निवारणको इतिहासमा यो उपलब्धि चमत्कार नै मान्न सकिन्छ । त्यसकारण, गरिबी विरुद्धको लडाइँ अब अझ कठिन र चुनौतीपूर्ण चरणमा प्रवेश गरेको छ ।
राष्ट्रपति सि चिङ फिङ र सरकार स्वयम्ले गरिबीविरुद्धको संवेदनशील र कठिन लडाइँको लागि सम्पूर्ण चिनियाँ जनताले आफ्नो उत्तरदायित्वबोध गर्नुका साथै आवश्यक पहल गरी सङ्गठित हुन पटक–पटक आह्वान गरिरहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ राष्ट्रिय सम्मेलनबाट गरिबी निवारणको विषय प्रमुख रूपमा उठ्न थालेको हो । सन् २०२० सम्ममा सम्पूर्ण गाउँ क्षेत्रहरूमा गरिबी उन्मूलन गर्ने लक्ष्यअनुरूप चीन अघि बढ्दै छ । गत वर्षको अन्त्यको तथ्याङ्कअनुसार करिब ३ करोड ४ लाख ६० हजार मानिसहरू अझै गरिबीको रेखामुनि रहेको देखिन्छ । यसको लागि चीनले एकताबद्ध बलियो पहल र ग्रामीण क्षेत्रदेखि सुरु गर्ने रणनीति अघि सार्यो । गएको ५ वर्षमा मात्र ६ करोड ८० लाख चिनियाँहरू गरिबीको रेखामुनिबाट माथि उठेको तथ्याङ्क छ भने ८३ लाख चिनियाँहरूलाई बस्न योग्य क्षेत्रमा स्थानान्तरण गरेको सरकारी प्रतिवेदनले जनाएको छ ।
संसारको सबभन्दा ठुलो जनसङ्ख्या भएको देश चीनको घरेलु बजार नै उसको ठुलो शक्ति हो । विज्ञान र प्रविधिमा विश्वलाई चकित तुल्याउने कार्यशैली तथा उपलब्धिहरू चीनको ठुलो बल हो । आफ्नै जगमा उठेको अर्थतन्त्र भएको उच्चस्तरीय वृद्धिले अमेरिकी बुद्धिजीवीसमेत चकित भएको यो बेला ट्रम्पको अभिव्यक्ति खोटो नभन्ने को होला ? अमेरिकी लेखक एवम् हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ग्राहम अलिसनले आफ्नो पुस्तक ‘Destined for WarM Can America and China Escape Thucydides Trap ?’ मा लेखेका छन्, “सुधार र खुलापनको चालिस वर्षमा चीनले आधुनिक निर्माण प्रविधिलगायत थुप्रै क्षेत्रमा अद्वितीय उपलब्धि हासिल गरी अमेरिकालाई पनि पाठ सिकाएको छ ।” त्यसको पछिल्लो उदाहरण पेइचिङमा करिब ४३ घण्टामै निर्मित सानयान पुल हो । अमेरिकालाई अन्डरसन पुल (Anderson Bridge) निर्माण गर्न ४ वर्ष पनि पर्याप्त भएन । यसले के देखाउँछ भने चीनको अर्को शक्ति भनेको आधुनिक संरचनाहरूको निर्माण क्षमता हो । विश्वलाई चीनको यो पक्षले आकर्षित गरेको छ । चीनसँग प्रविधि सँगसँगै सम्पूर्ण क्षेत्रमा सक्षम जनशक्ति पनि उत्तिकै रहेको प्रस्ट छ ।
चीन अहिले विश्वको एउटा अत्यन्त ठुलो अर्थतन्त्र हो । चीन संसारकै ठुलो वैदेशिक मुद्रा सञ्चय (Largest Foreign Reserves) भएको देश हो । त्यो भनेको ३२ खर्ब (3.2 trillion) अमेरिकी डलर बराबर हो । चीन विश्वको दोस्रो कुल गार्हस्थ उत्पादन हुने देश हो । त्यो भनेको १२० खर्ब (120 trillion) अमेरिकी डलर बराबरको उत्पादन हो । चीनमा प्रत्यक्ष वैदेशिक लगानीमात्र १ खर्ब ३५ अर्ब (135 billion) अमेरिकी डलर बराबरको छ । त्यस्तै विश्व अर्थतन्त्रमा चीनको अंश १९७८ मा १.८ प्रतिशत मात्र थियो, त्यो बढेर २०१८ सम्ममा १५ प्रतिशत पुग्यो । यो चढ्दो तथ्याङ्कले चीन कमजोर नभएको छर्लङ्ग पार्छ ।
चीनको सहरीकरण अर्को शक्ति हो । महत्वपूर्ण सहरहरू पेइचिङ, साङ्घाइको द्रुत रूपान्तरण, पूर्वाधार विकास, विमानस्थल, उपमार्ग, गगनचुम्बी महल निर्माण, गाडी, कारको उत्पादनले चीनको वर्तमान तस्बिर देखाउँछ । त्यसकारण, चीनको बलियो राजनीतिक व्यवस्थामा उभिएको बलियो अर्थतन्त्र नै व्यापार युद्धसँग लड्ने महत्वपूर्ण र बलियो हतियार हो ।
दोस्रो, चीनले अर्थतन्त्रमा खुलापनको अवधारणामा नयाँ अध्यायको सुरुआत गर्दै छ । जसले विश्वका अधिकांश देशहरूसँग आर्थिक परियोजनामा र बजार संयन्त्र विकासको मार्ग खुला गरेको छ । देश–देशबिचको बौद्धिक सम्पत्तिको अधिकार सुरक्षित तथा संरक्षण गर्ने अगुवाइ गरिरहेको छ । बजार विस्तारसँगै बजारको आर्थिक वृद्धिदर अत्यन्त न्यूनत्तम तोकिएको छ । वैदेशिक लगानीको नकारात्मक पक्ष निर्मूल गर्न एउटा नवीन अगुवाइ चीनबाट भइरहेको छ । चीनको यो अगुवाइ पनि सशक्त हतियार हो ।
अन्तर्राष्ट्रिय जगतसँग सहकार्यको नीति, शालीन व्यवहार र सहयोगको कार्यनीति व्यापार युद्धसँग लड्ने चीनको अर्को हतियार हो । चीनको सहकार्यका केही अगुवाइको यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
१) चीन रूसको सम्बन्ध र सहमति
विशेषगरी ऊर्जा र नवीनत्तम नमुना विकासका क्षेत्रमा चीन र रुसको सहकार्य अघि बढाउने सहमति भएको छ । अक्टोबर १७ का दिन चिनियाँ राष्ट्रपति सि चिङ फिङ र एसियाली फेडरेसन र राष्ट्रपतीय कार्यकारी कार्यालयका प्रमुख ‘एन्टोन भाइनो’ (Anton Vaino) बिचको भेटमा सो सहमति भएको ’चाइना डेली’ अक्टोबर १८,२०१८ ले जनायो ।
इतिहासभन्दा पनि पुरानो र आत्मीय चीन–रुसबिचको मित्रवत् सम्बन्ध अब सहकार्य र साझेदारीको नयाँ अध्यायमा पुगेको छ । दुई देशबिच बेलामौकामा हुने गरेका उच्चस्तरीय भेटघाट र आदानप्रदानले सहकार्यलाई अझ बलियो मोडमा पु¥याएको छ । चीनले अगुवाइ गरिरहेको एक क्षेत्र एक मार्ग परियोजनासँग रुस नजिकबाट जोडिएको छ । यो सम्पर्कले युरेसिया आर्थिक सङ्घसँगको समन्वयलाई अझ दरिलो बनाउने विश्वास गर्न सकिन्छ ।
दुई देशबिच परामर्श संयन्त्र सन् २०१४ मा स्थापना भएको थियो जसले दुई देशीय सम्बन्ध, सहकार्य र साझेदारीमा अत्यन्त ठुलो महत्व राख्दछ । रुसको कूटनीतिक पक्षको विकाससँगै चीनसँग पनि रुसले कूटनीतिक र रणनीतिक सहकार्यलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ ।
हाल विश्व जगतले चीन–रुसको मित्रवत् सम्बन्धलाई अन्तर्राष्ट्रिय सम्बन्धको एउटा राम्रो नमुनाको रूपमा लिइरहेको छ । यो सम्बन्ध र सहकार्यको जरा भने दुई देशबिचको परम्परागत मित्रता र सांस्कृतिक सम्बन्ध नै हो । आपसी सम्मानको आधारशिलामा स्थापित दुई देशबिचको सम्बन्ध सहकार्यमार्फत अघि बढ्ने निश्चित छ ।
२) संरा अमेरिकाको एकतन्त्रवादविरुद्ध एसिया र युरोपको एकता निश्चित
संरा अमेरिकाले आफ्नो एकतन्त्रवाद र संरक्षणवादलाई निरन्तरता दिइरहे एसिया र युरोपले आफ्नो सहकार्यलाई सशक्तीकरणतर्फ लाने देखिन्छ । अक्टोबर १८ र १९ मा बेल्जियमको ब्रसेल्समा भएको १२ जी एसिया–युरोप सम्मेलनले (ASEM) यही विषयमा गहन छलफल ग¥यो ।
असेम दुई महादेशबिच छलफल गर्ने उच्चस्तरीय मञ्च हो । यो पटकको सम्मेलनको मुख्य विषयवस्तु भनेकै एसिया–युरोपको सहकार्य र साझेदारीलाई अघि बढाउनु हो । ‘विश्वव्यापी चुनौतीहरूको सामनाका लागि विश्वव्यापी साझेदारहरू’ भन्ने मूल नारा सम्मेलनको थियो ।
विश्वव्यापी व्यापार र लगानी व्यवस्थामाथि संरा अमेरिकाको बलमिच्चाइ र मनोमानीविरुद्ध उत्रेर देश–देशबिचको आपसी सहकार्य तथा सम्बन्ध बलियो बनाउने उद्देश्य सम्मेलनले लिएको थियो । यो वर्षको सुरुआतदेखि नै संरा अमेरिकाले आफ्नो व्यापार संरक्षणवादी नीतिमार्फत विश्वव्यापी व्यापार संरचना र व्यवस्था नै बिथोल्न कोसिस गर्यो । संरा अमेरिकाले आफ्नो व्यापार साझेदार देशहरू युरोपेली सङ्घ र एसियाली देशहरू चीन, जापान र दक्षिण कोरियामाथि बिनाकारण, बिनाआधार अनावश्यक बाधा अड्चन खडा ग¥यो । साझेदार देशहरूलाई अमेरिकाले आफ्नो तखतमा राख्न खोज्नु उसको मूर्खता हो । संरा अमेरिका आफँै पनि बहुपक्षीय व्यापार र आर्थिक सुशासन मञ्चबाट बाहिरिन अनेक निहुँ खोज्दै छ भने अन्य देशहरूलाई पनि उक्साउने र दबाब दिने काम गर्दै छ । अन्य देशहरूको आत्मगौरव र अस्तित्वको परवाह नगरिनाले विश्वव्यापी समन्वय र सहकार्यमा थप चुनौतीहरू निम्तिनेमा दुईमत नहोला ।
हाल ऋणको अत्यधिक भार वृद्धि र पर्यावरणीय परिवर्तन प्रमुख चुनौतीको रूपमा वडा छ । यी प्रमुख चुनौतीलगायतका अप्ठ्याराहरूसँग लड्न युरोप र एसियाले साझा धरातल निर्माण गर्ने अगुवाइ गरेको छ । युरोप र एसियालाई जोड्ने साझा पुलको निर्माणले आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयवादको विशाल शक्ति प्रदर्शन गर्नेछ । साथै यो नै अमेरिकाको एकतन्त्रवाद र संरक्षणवादविरुद्धको चोटिलो र पेचिलो जवाफ सिद्ध हुनेमा कुनै शङ्का छैन ।
युरोप र एसियालाई एक–अर्कामा जोडेर अघि बढाउने एउटा महत्वपूर्ण सम्भावना भनेको चीनले प्रस्ताव गरेको ’एक क्षेत्र एक मार्ग अगुवाइ’ नै हो । यस बृहत्तर कार्यक्रमले दुई छुट्टाछुटै महादेशहरूलाई अझ नजिक ल्याउने निश्चित छ । नियमसम्मत् व्यापार र लगानी आदानप्रदानजस्ता साझा सरोकारका विषयहरूले दुवै पक्षलाई अझ नजिक ल्याउनेछ ।
चीनले अघि सारेको एक क्षेत्र एक मार्ग परियोजना र युरोपेली सङ्घ नयाँ रणनीति दुबै एक अर्कासँग सहकार्य र समन्वयमार्फत अघि बढ्ने देखिन्छ । यो प्रयासले दुई महादेशलाई मात्र लाभ हुने होइन सिङ्गो विश्वलाई फाइदा पु¥याउनेछ ।
आपसी आदानप्रदान, आपसी विश्वास तथा सम्मान र सहमतिको जगमा दुई महादेश अघि बढ्नेछ । संरा अमेरिकाको गलत नीतिविरुद्ध दुई महादेशका जनताको हितको लागि एकताबद्ध हुनु संसारकै लागि सुखद पक्ष हुने देखिन्छ ।
३) चीन–युरोपेली सङ्घबिच दुईपक्षीय लगानी सम्झौता र बेल्जियम
चीन र युरोपेली सङ्घले एक अर्काका लागि व्यापार र लगानी खुला गर्न दुईपक्षीय लगानी सम्झौताले अहम् भूमिका खेलेको छ । बेल्जियमका इच्छुक लगानीकर्ताका निम्ति चीनको बजार खुला छ । साथै बेल्जियमको बजारसम्म चीन पुग्न तयार छ । दुवै पक्षले एक अर्कालाई आपसी उन्नयनका निम्ति स्वागत गरिरहेको अवस्था छ ।
दुईपक्षीय प्रतिबद्धता र एकअर्को देशको कानुनप्रति सम्मानको सिद्धान्तको आधारमा चीन र बेल्जियमबिच नविनत्तम एवम् उच्च प्रविधि र आविष्कारको क्षेत्रमा सहकार्य गर्न दुबै पक्ष तत्पर देखिन्छन् । साथै दुबै पक्ष आणविक ऊर्जाको सुरक्षित उत्पादनको क्षेत्रमा पनि अघि बढ्न प्रतिबद्ध छन् ।
बेल्जियमको उच्चस्तरीय प्रविधिको बजार सम्भाव्यता चीनमा बढी छ र चीनले त्यसलाई बौद्धिक सम्पत्तिको रूपमा ग्रहण गरी संरक्षण गर्ने योजना बनाएको छ । यसर्थ, चीनले युरोपेली सङ्घसँगको सम्बन्ध विकाससँगै बेल्जियमसँगको सम्बन्ध विस्तार र विकासमा आफूलाई केन्द्रित गरेको देखिन्छ । अन्तर्राष्ट्रिय व्यवस्था र खुला बजारको निम्ति पनि यो आवश्यक छ । बेल्जियमबाट उच्चस्तरीय कृषिजन्य उत्पादन आयातले चीन लाभान्वित हुनेछ । संयुक्त राष्ट्रसङ्घको नीति नियमअन्तर्गत रहेर चीनले बेल्जियमसँग कृषि, ऊर्जा, पूर्वाधार, सञ्चार र संयन्त्र विकासको क्षेत्रमा गर्ने सहकार्य र समन्वयले विश्व अर्थतन्त्रमा ठुलो महत्व राख्दछ ।
४) चीन र अफ्रिकी देशहरूबिच सहकार्यको नयाँ गति
इतिहास जतिकै पुरानो चीन–अफ्रिका सम्बन्ध एउटा नयाँ चरणमा प्रवेश गरेको छ, सहकार्यको चरण । आर्थिकरूपमा पछाडि परेका अफ्रिकी देशहरूलाई माथि उठाउने र अफ्रिकाको सम्भावना भएका क्षेत्रमा द्रुत विकास गर्ने योजना अघि बढाउने उद्देश्यसहित चीनले अफ्रिकी महादेशका ५४ देशहरूसँग हातेमालो गरिसकेको छ । ३ करोड वर्ग किमि क्षेत्रफलमा फैलिएको अफ्रिका महादेश जनशक्ति र प्राकृतिक हिसाबले उच्च सम्भावना भएको महादेश हो । १० करोडभन्दा बढी जनसङ्ख्या भएको अफ्रिका महादेश एउटा महत्वपूर्ण बजारको रूपमा विकास हुनेमा दुईमत छैन । साथै अफ्रिकाको कृषिजन्य, खानीजन्य उत्पादनको ठुलो बजार चीन हुनेमा पनि शङ्का छैन । सन् २००० अक्टोबरमा चीन–अफ्रिका सहकार्य मञ्च अर्थात् फोकाक (FOCAC) को सुरुसँगै दुई पक्षबिचको सांस्कृतिक र राजनीतिक आदानप्रदान अझ तीव्र बनेको र दुई पक्षबिचको सम्बन्ध अझ गहिरो तथा बलियो बनेको विश्लेषण छ । हाल अफ्रिका र चीनबिचको सम्बन्धमा भइरहेको यो सकारात्मक प्रगतिले विश्व राजनीतिमा आशालाग्दो नयाँ क्षितिज उघारेको अनुभव गरिँदै छ ।
पश्चिमा देशहरूको ऋणभारले थिचिएका अफ्रिकी देशहरूलाई ऋणमुक्त गर्नुका साथै एक असल ऋणदाता देशको रूपमा चीन अफ्रिकी महादेशमा लोकप्रिय छ र अफ्रिकी जनता एक भरपर्दो मित्र पाएकोमा खुसी छन् ।
अफ्रिकाको लागि चीन ऋणदाता र लगानीकर्ता मात्र होइन एक असल सहयोगी पनि हो । करिब २००० भन्दा बढी चिनियाँ कम्पनीहरू अफ्रिकाका विभिन्न क्षेत्रमा कार्यरत छन् । करिब ४० वटा अफ्रिकी देशहरूमा सडक, ३० वटा अस्पताल, ५० वटा विद्यालय र १०० वटा ऊर्जा आयोजना निर्माण गरी अफ्रिकी जनतालाई सहयोग गर्दै छ । साथै करिब ३०००० अफ्रिकीहरूलाई प्राविधिक तालिम दिएर र १८००० अफ्रिकी विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएर चीनले अफ्रिकालाई आफ्नो खुट्टामा उभिन टेवा पु¥याइरहेको छ ।
यसरी बिनास्वार्थ आपसी हितका लागि बिना कुनै हस्तक्षेप सहमतिमा आधारित सम्बन्धको अगुवाइ चीनले गरिरहेको छ । चीनको एक क्षेत्र एक मार्ग अगुवाइ’ अफ्रिकाका सागि बरदान साबित हुनेमा सन्देह छैन । चीन–अफ्रिका सहकार्य मञ्चको सम्मेलन २०१८ का क्रममा चिनियाँ राष्ट्रपति सीचिङ फिङले अफ्रिकी राष्ट्रपतिहरू र प्रधानमन्त्रीहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए । भेटवार्ताको प्रमुख प्राथमिकता दई पक्षबिचको आपसी सहकार्य, आपसी लाभ सेविकास नै थियो । अफ्रिका पश्चिमा देशसँग भन्दा दिन प्रतिदिन चीनसँग अत्यन्त नजिक र निकट हुँदै छ । विश्वजगतकै लागि यो सुखद सन्देश पनि हो ।
५) युरोपेली सङ्घ, जापान, बेलायत र चीनसँग संरा अमेरिकाको व्यापार स्थिति
संरा अमेरिकाको युरोपेली सङ्घसँगको व्यापार सम्झौता, संरा अमेरिकाको जापान, बेलायत, क्यानाडा, मेक्सिकोसँगको खुला व्यापार सम्झौता यतिबेला पुनः छलफलमा ल्याइएको छ । यसको कारण संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खडा गरेको असन्तुलित व्यापार हो । अमेरिका व्यापार असन्तुलनको मार्गतर्फ उन्मुख रहेको जापान र बेलायतले चाल पाइसकेका छन् । त्यस्तै अमेरिकाले थोपरेको करजन्य र गैरकरजन्य बाधा व्यवधानले जापानलगायत कसैबाट लुकेको वस्तु उत्पादन प्रणालीमा परिवर्तन आएसँगै एउटा बिक्रीयोग्य वस्तु तयार हुन विभिन्न देशहरूको योगदान रहन्छ । चीनको उत्पादनमा ल्याटिन अमेरिका, ब्राजिल, जापान, बेलायतलगायत थुप्रै देशहरूमार्फत कच्चा पदार्थ, पार्टपुर्जा आयात गरिन्छ । बिक्रीयोग्य वस्तुमा कर थोपर्नु भनेको यी सम्पूर्ण देशहरूबाट आयात गरिने वस्तुमा पनि कर जोडिन्छ । यसको अर्थ संरा अमेरिकाले आफ्नो साझेदार देशहरूसँग स्वस्थ र सन्तुलित व्यापार सम्बन्ध राख्न नसकेकै हो भन्ने पुष्टि हुँदै छ । यसमा ट्रम्पको प्रमुख कमजोरी छ । ट्रम्पले अमेरिकी व्यापार साझेदार देशहरूसँग ‘हार्डबल’ (Hardball) खेलिरहेको विश्वजगतको टिप्पणी छ ।
वस्तुको व्यापार र लामो समयदेखि संरा अमेरिकाको घटिरहेको निर्यातको तथ्याङ्कलाई उल्टाउन कर र चेतावनीको बलमा ट्रम्पले जुन खेल खेलिरहेको छ त्यसले राम्रो नतिजा भने अवश्य दिँदैन । अन्तर्राष्ट्रिय मुद्राकोषको पनि यही प्रक्षेपण हो । ट्रम्पले वस्तुमा करको दर बढाएर विश्वका अधिकांश देशको अर्थतन्त्रलाई असर गर्नुका साथै युरोपेली सङ्घसँगको परम्परागत एवम् ऐतिहासिक सम्बन्धसमेत बिगारेको छ ।
यसरी उच्च भन्सार कर र त्यसको प्रतिकारका लागि लगाइएको करले वित्तीय अवस्थालाई सङ्कुचनतर्फ लान्छ । यसले विश्व अर्थतन्त्र एवम् वित्तीय स्थितामा नकारात्मक प्रभाव पार्छ । अगस्ट महिनाको अन्त्यतिर करिब ६ महिनामा संरा अमेरिकाको व्यापार घाटा उच्च दरले बढेको संरा अमेरिकी प्रशासनले जनायो । तथ्याङ्कअनुसार संरा अमेरिकी उपभोक्ताहरूले चीनबाट कार र मोबाइल फोन अत्यधिक आयात गर्ने गरेका थिए । अमेरिकी व्यापारी र साना उत्पादकहरू आफ्नो राष्ट्रपतिसँग अत्यन्त असन्तुष्ट छन् ।
भटमास आयातमा चीन विश्वकै प्रमुख देश हो । संरा अमेरिकाले छेडेको व्यापार युद्ध र असमझदारीका कारण चीनले संरा अमेरिकाबाट भटमास आयात घटाएको थियो । यसबाट अमेरिकी भटमास बजारमा अत्यन्त ठुलो नोक्सान भयो ।
अमेरिकी भटमास सङ्घका अध्यक्ष जोन हेइसडोर्फरले भनेका छन्, “चीनसँगको व्यापार सम्बन्धमा सुधार चाहन्छौँ । चीनमाथि व्यापार युद्ध छेडेर ठुलो क्षति अमेरिकालाई नै भएको छ, जुन गलत हो । त्यसकारण, भटमासको ठुलो निर्यातलाई सफल बनाउन पनि चीनसँगको सम्बन्ध राम्रो हुन जरुरी छ ।”
अमेरिकी व्यापारी र उपभोक्ताहरूको असन्तुष्टिको यो पछिल्लो दृष्टान्त मात्रै हो । वास्तवमै भन्ने हो भने अमेरिकी उपभोक्ता चिनियाँ वस्तुहरूमा निर्भर रहेको यथार्थ लुकाउन खोजिए पनि लुकाउन गा¥हो छ ।
जुलाइसम्ममा संरा अमेरिकाको व्यापार घाटा ६.४ प्रतिशतले बढेर ५३ अर्ब २ करोड पुग्यो । यो आँकडा बढ्ने क्रममा छ । प्रश्न उठ्छ – व्यापार घाटाको यात्रा गरिरहेको देश शक्तिशाली हुन्छ कि मुनाफातिर गइरहेको देश ? व्यापार साझेदार देशहरूसँग सम्बन्ध चिस्याउँदै लाने देश बलियो हुन्छ कि अन्य देशहरूसँग सहकार्यको हात बढाउने देश ? अन्य देशहरूको अस्तित्व मेट्न खोज्ने साम्राज्यवादी चिन्तनबाट अघि बढेको देश सफल हुन्छ कि आपसी सम्मानको आधारशीलामा सारा युरोप, ल्याटिन अमेरिका, एसिया, अफ्रिकाका देशहरूको आर्थिक समृद्धिका लागि सहकार्य गर्न अघि सरिरहेको देश सफल हुन्छ ?
त्यसकारण अमेरिकाले छेडेको व्यापार युद्धसँग मात्र होइन अन्य थुप्रै क्षेप्यास्त्रसँग प्रतिकार गर्ने अझ परिष्कृत र आधुनिक क्षेप्यास्त्र चीनसँग छ । आफ्नो हातमा यी सम्पूर्ण हातहतियार, गोलाबारुद हुँदाहुँदै पनि चीन संरा अमेरिकाले छेडेको व्यापार युद्ध लड्न नचाहनुको एउटै कारण विश्व जगतको भलाइ चिताउने चीनको नीति हो । व्यापार युद्धले कसैलाई विजेता नबनाउने सत्य चीनले इतिहासबाट सिकेको पाठ हो । समयमै संरा अमेरिकाले व्यापार युद्धको अन्त्य घोषणा गरी आफ्नो गल्तीलाई सुधारे सबैको भलाइ हुनेछ । नत्र संरा अमेरिकाले त्यस्तो चीनको सामना गर्नुपर्ने छ जुन चीनलाई संरा अमेरिकाले कहिल्यै सामना गर्न परेको थिएन भनी जानकारहरू बताउँछन् । चीन हरेक हिसाबले व्यापार युद्धको प्रतिकार गर्न तयार देखिन्छ ।