काठमाडौँ, २४ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले बुधबार प्रतिनिधिसभाको बैठकमा नीति तथा छलफल कार्यक्रममा आफ्नो धारणा राख्नुभयो । कार्यक्रममा उहाँले राख्नुभएको मन्तव्यको सार –
देशमा पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिकामा पुडकोपना रहेको, कम तौलका १९ प्रतिशत, कुपोषण ८ प्रतिशत, रक्तअल्पता ४४ प्रतिशत भएका र १५ देखि १९ वर्षका गर्भवती महिला ४० प्रतिशतमा पोषण कमी भएको साथसाथै कर्णालीमा मात्र पुडकोपना ३८ प्रतिशत रहेको सार्वजनिक भयो । ३५ वर्ष यता सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरूको राम्रो काम यही हो र ?
के नेपालको परराष्ट्र नीति नाफा कमाउने विदेशी कम्पनीको दलाल बन्ने हो र ? के यसैकारण करोडौँ नेपाली युवालाई म्यानपावर कम्पनी नामक गल्लावालहरूमार्फत वैदेशिक रोजगारीमा सरकारले पठाइरहेको हो ? के सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैङ्क; गरिब देशमा माछा मार्ने बल्छी बोकेका साम्राज्यवादी देशका माझी भएको थाहा छैन र ? नेपाली काङ्ग्रेसले बीपी कोइरालाको समाजवाद म्याद नाघेको औषधि ठानेका भए, नीति कार्यक्रममा त्यो स्पष्ट आउनुपर्ने थियो । एमाले कम्युनिस्ट आचरण मान्ने भए, उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण गर्ने नीति प्रस्टरूपमा आउनुपर्ने थियो । नेका र एमाले नेतृत्वको वर्तमान सरकार प्रजातान्त्रिक समाजवादी नभएको यथार्थ मन्त्री परिषद्को हालैको बैठकले सातवटा सरकारी उद्योग निजीकरण गर्ने निर्णय गरेबाट प्रस्ट हुन्छ । हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ भनेको के यो होइन र ? के नेका र एमालेले आफ्ना माथिला तहका नेतादेखि जनतालाई विश्वासघात गरेका होइनन् र ? के नेका र एमालेमा सिद्धान्तनिष्ठ नेता र कार्यकर्ता कोही नभएका हुन् ? दास युगमा नपढेका नलेखेका दासहरूले दासमालिकको अन्यायको विरोध गरेका थिए । नेका र एमालेका प्राध्यापक, शिक्षक, इन्जिनियर, चिकित्सक, वकिल, पत्रकार, नर्सलगायतको सङ्गठनमा बुद्धिजीवीहरू छन् । तीमध्ये कतिले जेलनेल पनि भोगेका छन् । के आफ्नो पद र बढुवा गुम्ला भने डरले बुद्धिजीवीहरू सरकारको लाचार छायाँमा परेका हुन् र ?
पतञ्जली योगपिठको जग्गा अनियमितता प्रकरण, बाल मन्दिरको जग्गा हिनामिना प्रकरण, सुर्तीजन्य पदार्थमा कम कर लगाइएको बारे प्रधानमन्त्री र अर्थमन्त्रीलाई संसद्मा जानकारी दिन लगाउनु जरूरी छ ।