वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम आयो । तर, कागलाई बेल पाक्यो हर्ष न विस्मात् भयो ।
यो नीति तथा कार्यक्रममा जनताले नयाँ कुरा भेटाउन सकेनन् । पद जोगाउनलाई दौडधुप गर्दैमा फुर्सद नभएका मन्त्रीहरूले लेख्न नभ्याएको हुनाले कर्मचारीले तयार गरेकै कुरा ल्याइएको चर्चा छ । कर्मचारीले पनि पुरानै फोटोकपी मात्र गरेको गाइँगुइँ सुनिन्छ । यसरी कतिञ्जेल इज्जत जोगिएला ?
सरकारले प्रस्तुत गरेको कार्यक्रम वाचन गर्नका लागि मात्र हो कि ? संसद्मा सुनायो, पुस्तिका निकाल्यो ! त्यसपछि सकियो ! यसरी जनताको आँखामा छारो हाल्ने काम कतिञ्जेलसम्म चल्छ ? सरकारको नीति तथा कार्यक्रम औपचारिकतामा सीमित हुनु नै दुःखको कुरो हो । व्यवहारमा लागु नहुने नीति र जनताको अवस्थामा कुनै परिवर्तन नल्याइने अर्थ न व्यर्थका कुरामा रमाएर प्रदेश सरकारलाई बोलेका कुरा व्यवहारमा लागु गरी देखाउन हामी चुनौती दिन्छौँ ।
विगतमा सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रम ल्याएको थियो । काम कति सक्यो ? सरकारले जवाफ देओस् ! किसानलाई ढाँट्ने काम किन ग¥यौँ ? मल कारखाना किन हरायो ? विदेशी कम्पनीले धम्की दियो कि ? हाम्रा मन्त्रीहरूलाई लोभ देखायो कि ? रासायनिक मल कारखाना आवश्यक छ । अन्यथा, हाम्रो कृषि क्षेत्र योभन्दा तहसनहस हुनेछ ।
यो सरकार वास्तविक किसानको पक्षमा भन्दा पनि बिचौलियाहरूको पक्षमा देखिन्छ । सिँचाइको बन्दोबस्त नगरी उब्जनी बढ्दैन । बीउबिजन, औजार, मलखादले उब्जनी कति होला भनी तय गर्दछ । स–साना किसानलाई कानुनले बाँध्ने, अनेकौँ तगारा हाल्ने र पेल्ने काम सरकारबाट भइरहेको छ । बहुुसङ्ख्यक स–साना किसानलाई साथ–सहयोग नदिएसम्म कृषि क्षेत्र माथि उठ्ने छैन । पशुपालन क्षेत्रका स–साना किसान ऋणको भारी बोक्न बाध्य छन् । माटोमा उब्जनी गर्ने वास्तविक किसान र जनसमुदायलाई खाद्यवस्तु उपलब्ध गराउने किसान खुसी नभएसम्म नेपाली सुखी बन्नै सक्दैनन् र नेपाल समृद्ध बन्न सक्दैन ।
त्यसैले, स–साना कृषक र मजदुरलाई हेरेर नीति बनाऊ, बजेट बनाऊ ! हामी बारम्बार यही भन्दै छौँ । यही कुरामा वाग्मती प्रदेश सरकार यो पटक पनि चुक्यो । त्यसप्रति हाम्रो खेद छ । वाग्मती प्रदेशको यो नीति तथा कार्यक्रम हात्ती आयो, हात्ती आयो, फुस्साझैँ भएको छ ।
(वाग्मती प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि जेठ १७ गते भएको छलफलमा भाग लिँदै वाग्मती प्रदेशसभा सदस्य गीता काप्mलेले व्यक्त गर्नुभएको विचार)