भक्तपुर, ३ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टी कार्यकर्ताहरूले आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
अध्यक्ष रोहितले आलोचना–आत्मालोचना तथा आत्मसमीक्षा गरी देश र जनताको सेवामा समर्पित हुन कार्यकर्ताहरूलाई मार्गनिर्देश गर्दै भन्नुभयो, “जिम्मा लिएका साथीहरूले सक्रियता देखाउनुपर्छ र जनताको व्यापक हित हुने कार्यको अगुवाइ गर्नुपर्छ । पुराना अनुभवी कार्यकर्ताहरूको त झन् बढी कर्तव्य हुन्छ ।”
अध्यक्ष रोहितले पार्टीका नयाँ कार्यकर्ताहरूले मनैदेखि काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीमा बसेर पार्टी गतिविधिलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “व्यक्तिगत फाइदा हुने काममा बढी लाग्ने र सामूहिक फाइदा हुने काममा कम लाग्ने भएपछि पार्टी र समाजलाई नोक्सान गर्छ ।”
अध्यक्ष बिजुक्छेँले व्यक्तिगत स्वार्थ नहटाई सामूहिक स्वार्थ अगाडि नबढ्ने विचार व्यक्त गर्दै पार्टी निर्देशन तथा पार्टी अनुशासनको परिपालना पार्टी जीवनमा प्रधान विषय भएको बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले नयाँ पुस्ताबिच साहित्यिक–सांस्कृतिक गतिविधि आवश्यक भएको चर्चा गर्दै प्रतिक्रियावादीले सामाजिक विद्वेष फैलाएर जन एकता भाँड्ने जालझेल गर्नेतर्फ कार्यकर्ताहरू सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले शासक दलका भ्रष्टाचार काण्ड उदाङ्ग्याउँदै जनतालाई सचेत पार्नुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेश काङ्ग्रेस–एमालेको भ्रष्टाचार तथा ब्रह्मलुट गर्ने अर्को अखडा भएको उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा जनवर्गीय तथा पेशागत सङ्गठन र पार्टीको गतिविधिको समीक्षा र पार्टीका प्रकाशनको अध्ययनको आवश्यकताबारे छलफल भएको थियो ।